‘बिरामी छु, एकपटकका लागि मात्र अध्यक्ष बनाइदिनुस्, म रोगी पनि छु’ भन्दै प्रस्तुत भएका केपी ओली तेस्रोपटक नेकपा एमाले अध्यक्षमा निर्वाचित भएका छन् । दशौं महाधिवेशनमा ईश्वर पोखरेललाई अध्यक्ष बनाउने सहमति भए तापनि आफ्नो प्रवृत्ति अनुसार ओलीले के प्रमाणित गरे भने उनी शासनसत्ताका लागि जे पनि गर्न सक्छन् । दशौं महाधिवेशनमा कलाविहीन नाटक मञ्चन गर्न खोजिए तापनि त्यसमा सफलता हात लागेन । आफ्नो प्रवृत्तिअनुसार विधान महाधिवेशनको मसी नसुक्दै ओलीले दशौं महाधिवेशनमा पनि पार्टीको विधान संशोधन गरे, गर्न लगाए । सोको प्रतिवाद हुँदा कुनै सुनवाइ भएन । धन्न ईश्वर पोखरेल समूहले एघारौं महाधिवेशनलाई कलाविहीन नाटक हुन दिएनन् । केपीको चक्रवर्ती सम्राटको चाहना यसपटक पनि पूरा भएन । निर्वाचन भयो । विजय–पराजय भयो ।
सरकारी साधन, स्रोत प्रभाव एवं अनेकौं प्रकारको त्रास, धम्की, प्रलोभन दिएर ‘सुधारिएको पञ्चायती व्यवस्था’ जनमत संग्रहमा विजयी भएको थियो । त्यो विजय नै पञ्चायती व्यवस्थाको समाप्तिको कारण बन्यो । एघारौं महाधिवेशनमा केपी विजयी भए तर उनको राजनीतिक यात्राको समाप्तिको थालनी पनि यहीँबाट भएको छ । निर्वाचन हुनु नै ईश्वर समूहको विजय र केपी प्रवृत्तिको पराजय थियो ।
वास्तविकता बेग्लै भए तापनि माओवादी एवं नेपाली कांग्रेसमा जेनजी आन्दोलनको चर्चा निकै चल्यो । हस्तान्तरण एवं पुस्तान्तरणको नाटक चल्यो । तर वास्तविकता जेनजी आन्दोलनको मर्मअनुसार थिएन । नेकपा एमाले नै यस्तो दल बन्यो जसले जेनजी आन्दोलनको प्रथम दिनदेखि नै विरोध गर्दै आएको छ । एघारौं महाधिवेशनमा पनि एमालेले जेनजी आन्दोलनको खुलेर विरोध गर्यो । ईश्वर समूहले समयको मागलाई बुझ्नुपर्छ, सँगै हिँड्नुपर्छ भन्ने भनाइलाई केपी प्रवृत्ति एमालेले ठाडै अस्वीकार गर्दै जेनजी आन्दोलनलाई प्रतिगामी आन्दोलनका रूपमा चित्रित गर्यो; वर्तमान सरकारलाई हाहाहुहुको सरकारको संज्ञा दियो । महाधिवेशनको परिणामपश्चात् केपी नेतृत्वको एमाले पूरै विक्षिप्त भएर प्रतिशोधमा ओर्लिने कुरा गर्नु ओलीभित्र रहेको ‘हिटलरी’ त्रास हो ।
गोदावरी विधान अधिवेशनमै केपीले देवत्वप्राप्त गरेको ठाने । ईश्वर समूहको सशक्त भूमिका हुन सकेन । यो विधान अधिवेशनको कमजोर पक्ष थियो । तर भाद्र २३ को घटना घट्यो । नेपालको इतिहासमै केपीको प्रधानमन्त्रीत्वकालले ४५ जनालाई सहिद बनायो; मृतकको संख्या ७४ पुग्यो । ज्यान जोगाएर केपी भागे । राजीनामा दिनुपर्यो । सुरक्षा निकायले ज्यान जोगाइदियो । गुण्डुको संरक्षणमा फर्किएका दिनदेखि केपी विक्षिप्त मनोरोगीझैं अभिव्यक्ति दिन थाले । जेनजी आन्दोलन सरकार एवं विविध पक्षमा उनको नकारात्मक टिप्पणीले उनको भययुक्त मनोविज्ञानको झल्को दिन थाल्यो ।
प्रतिनिधि सभाको पुनस्र्थापनाको माग त्यही मनस्थितिको प्रतीक थियो । आफ्नै प्रधानमन्त्रीत्वकालमा सर्वोच्चको निर्णय विपरीत दुई–दुईपटक प्रतिनिधिसभा विघटन गर्नेले प्रतिनिधि सभाको पुनस्र्थापनाको माग गर्नु कुनै पनि कोणबाट ठिक थिएन । एकातिर सातौं पटक प्रधानमन्त्री हुन्छु भन्ने प्रवृत्तिलाई लोभ देखाउनु र अर्कोतर्फ आफ्नो हालीमुहाली चलाउनु ‘मैले सम्बोधन गरेपछि महाधिवेशन सकिन्छ’ भन्ने उद्घोष लाज नै नमानेर गरे । अनेकौं प्रकारको प्रलोभन डर त्रास धम्कीको प्रयोग हुँदा पनि ईश्वर समूह नमानेपछि बाध्यतावश निर्वाचनमा जानुपर्ने भयो । प्रतिनिधि छनोटदेखि नै एकलौटी गर्न थालियो । विभाग, निकायलगायत मनोनयन गर्ने प्रतिनिधिसमेत एकलौटी गरिए । राष्ट्रिय सभा एवं प्रतिनिधिसभा निर्वाचनमा टिकटको प्रलोभनलगायत विभिन्न प्रकारका हतकण्डा प्रयोग गरिए ।
एमालेको एघारौं महाधिवेशनलाई जनजिब्रोले दशौं महाधिवेशनजस्तै केपी महाधिवेशन भनेका छन् । एघारौं महाधिवेशनले प्रष्टरूपमा ओलीको तानाशाही एकलौटीपन दम्भी अहंकारी, ढाँट्ने, ठग्ने प्रलोभन दिने प्रवृत्तिको अन्त्य हुने संकेत प्रष्टरूपमा दिएको छ । ईश्वर समूहको बैठकले मुलुकभर नै अन्तरक्रिया गर्ने निर्णय गरेको छ र आत्मसमर्पण नगर्ने निर्णय गरेको छ । मनपरी ढंगले पार्टी सञ्चालन गर्ने छुट नदिने संकेत प्रष्टरूपमा दिएको छ । यो सकारात्मक सन्देश हो । महाधिवेशनमा जेनजीका हस्तान्तरण एवं पुस्तान्तरणका कुरा पूर्णरूपमा बेवास्ता गरिएको छ । निर्वाचनमा जनताबीच भ्रम छर्न युवापुस्ताको कुरा उठाइएको छ । भाद्र २२ गते गोदावरीमा व्यक्त अभिव्यक्तिले केपीको मनस्थिति जेनजी एवं युवा पुस्ताबार प्रष्ट पारेको थियो ।
टालटुले रूपमा केही भन्न खोजिएको जस्तो गरे तापनि एघाराैंमहाधिवेशनले मुलुकको कुनै पनि समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गरने । यो पनि असफलताको प्रतीक बन्न पुग्यो । निर्वाचनको परिणाम आउनेबित्तिकै ‘पार्टी एक ढिक्का हुने’, ‘एकताबद्ध भएर लाग्ने’ आदिआदि जस्ता अभिव्यक्तिले पार्टी आन्तरिकरूपमा कति कमजोर रहेछ भन्ने कुरा उजागर गरेको छ । आजको खुला समाज एवं विश्वमा पार्टी सम्बन्धका कुरा बाहिर उठाउन एवं भन्न पाइँदैन भन्नेजस्ता ओली अभिव्यक्तिले एमालेमा लोकतन्त्र समाप्त भइसकेको कुरा प्रमाणित गरेको छ ।
जेएस मिलको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता मानव जातिलाई अनुपम उपहार हो । तर यो कुरा संसारको कुनै पनि तानाशाहीलाई मन पर्दैन । ओलीलाई मनपर्ने कुरा नै भएन । अरिंगालको कुरा गर्ने ओलीले एघारौं महाधिवेशनपश्चात् ‘आर्मी’ को कुरा गर्नु; ‘टोलटोलमा सुरक्षाको कुरा गर्नु’ भित्रैबाट त्रासको मनोविज्ञान बोलेको हो । सत्ता एवं शक्तिको भरमा सबैलाई डराउन, फसाउन, फकाउन सकिन्छ भन्ने प्रत्येक तानाशाहको स्वभाविक प्रवृत्ति हो । ओलीको मनोविज्ञान त्यही ‘त्रास मनोविज्ञान’ हो । हिटलर, मुसोलिनी, चाउचेस्कु आदि सबै त्रास मनोविज्ञानका उदाहरण हुन् । कोही आत्महत्या गर्छन् कोही भाग्न खोज्छन् । हिटलरले आत्महत्या गरे; मुसो लिनी र चाउचेस्कु भाग्न खोजे । त्यसकारण केपी प्रवृत्तिले अरिंगाल आर्मी सुरक्षा आदिको कुरा गर्नु स्वभाविक कुरा हो । आम नेपाली जनतामा केपी प्रवृत्तिभित्र रहेको त्रास मनोविज्ञान छर्लंग भएको छ ।
गणतन्त्रको प्रसंगमा ‘वयलगाडा चढेर अमेरिका पुग्ने’ कुरा गर्ने ओलीले हाल संविधान मिचिएको कुरा गर्दा हाँसो उठ्छ । संविधानविपरीत प्रतिनिधि सभामा दुई–दुईपटक विघटन गरेको कुरा जनताले बिर्सेका छैनन् । सत्ता र शक्तिमा रमाउने प्रवृत्तिले आफू नरहे मुलुक एवं पार्टी नै नरहने भाष्य तयार गररे झोलेमार्फत प्रचारप्रसार गर्न गरी राखेको पाइन्छ । भर्सेलिज सम्झौतापश्चात् राष्ट्रवादको नारा दिएर हिटलरले दोस्रो विश्वयुद्ध गराउनमा अहम् भूमिका खेले । फलस्वरूप लाखौंलाख निर्दोष व्यक्ति मारिए । उनका सञ्चारमन्त्री गोयबल्स सयपटक प्रचार गरियो भन्ने असत्य पनि सत्य हुन्छ भन्ने मान्यता राख्थे । दोस्रो विश्वयुद्धपश्चात् हिटलरले आत्महत्या गरे । गोयवल्स दोषी ठहरिए र अन्ततः नाजी पार्टी जनताबाट तिरस्कृत भयो ।
ओली नेतृत्वको एमाले पनि ढिलो चाँडो जनताबाट तिरस्कृत हुने निश्चित छ । यदि ओलीले पार्टी नेतृत्व गरिरहे यो मौन सन्देश मूर्त बन्नेछ । पार्टी झन् तानाशाही र स्वेच्छाचारी ढंगबाट सञ्चालित हुने सम्भावना प्रबल छ । हिटलरको राष्ट्रवाद नरसंहारमा परिणत भयो ।
ओलीको राष्ट्रवाद महाकाली सन्धि र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार सामन्त गोयलसँग बालुवाटारमा पार्टी तथा सरकारको जानकारीबिना घण्टौं गोप्य कुराकानीले प्रमाणित गरेको छ । निवेदन हालेर मोदीलाई भेट्ने उनको इच्छा पूरा हुन सकेन । ओली नेतृत्वमा आएपश्चात् पार्टी विभाजन हुँदै गयो । दुई तिहाइको सरकार चल्न सकेन । उनको अक्षमता आउने दिनमा अझ देखिनेछ । महाधिवेशन भयो तर महाधिवेशनले मुठभेडलाई निम्तो दिएको छ । प्रतिगमनतर्फको मनसाय प्रष्ट पारेको छ । प्रतिनिधि सभाको पुनस्र्थापना र २१ गतेको निर्वाचनमा भाग लिने दोहोरो मापदण्डले कार्यकर्तालाई अल्मल्याउन सफल भए तापनि अदालतको निर्णय आउन बाँकी छ । ओलीको दम्भ शैली नसप्रिएमा एमालेको पतन निश्चित छ । मात्र समयको कुरा हो ।
आफ्नो विचारसँग असहमति राख्नासाथ शत्रु देख्ने प्रवृत्तिको नेतृत्वले राष्ट्रिय शक्तिको निर्माणको संकल्प हावादारी नारा हो । अपहरणकर्तालाई स्वागत गर्ने, विद्या भण्डारीलाई निषेध गर्ने प्रवृत्तिबाट पार्टी कसरी बलियो हुन सक्छ ? ४५ जनालाई सहिद बनाएको सरकारको नेतृत्वकर्ता पार्टीले ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारालाई नेपाली जनताले कसरी लिने ? यस्ता थुप्रै गम्भीर प्रश्न छन् । आम निर्वाचन एघारौं महाधिवेशनमा आएका प्रतिनिधिबीच मात्र हुने हो भन्ने भन्नु केही छैन, तर नेपाली जनताबीच जाने हो भन्ने प्रत्येक नेपालीको घरमा झुण्डिएको ४५ सहिदको तस्बिरलाई ओली–एमाले के उत्तर दिने हो ?
मुलुकको आर्थिक, राजनीतिकलगायत विभिन्न समस्या गम्भीरतापूर्वक महाधिवेशनमा उठ्ने आशा थियो । तर सम्पूर्ण ध्यान सत्ता केन्द्रित भयो । त्रास मनोविज्ञान एवं प्रतिशोधको मनोविज्ञान निर्वाचन परिणामलगत्तै छताछुल्ल भयो । एमाले नेतृत्वलाई छोए मुलुक ठप्प पार्ने हुकुम जारी भयो । अब जस्तोसुकै फैजदारी आरोप लागे पनि एमाले हुनासाथ केही पनि नहुने भयो । मधेशबाट सांसद अपहरण गरे पनि छुट छ । बालुवाटारको जग्गा छोराको नाम गरेर पछि फिर्ता गर्नेलाई पनि छुट छ । यति, ओम्नी आदि काण्डमा संलग्नहरूलाई पनि छुट छ । संक्षेपमा ओली–एमालेलाई जे गर्न पनि छुट छ भन्ने मनसाय अभिव्यक्त भयो । सातौं महाधिवेशनदेखि नै खुलारूपमा गुटगत गतिविधि गर्ने ओली प्रवृत्तिलाई सबैले बुझेका छन् । संक्षेपमा ११औं महाधिवेशनको मूल सन्देश ‘प्रतिशोधको प्रतिरोध’ एवं ‘आत्मसमर्पण’ नगर्ने भएको छ, हेरौं भविष्यले के भन्छ ।
लेखक राजनीतिशास्त्री समाजका अध्यक्ष हुन् ।