नेभिगेशन
दृष्टिकोण

विष बन्ने विषादी नियन्त्रण होस्

नेपालका कृषकहरूले उत्पादन बढाएर अधिक आर्थिक लाभको लोभमा परेर रासायनिक विषादीको अत्यधिक र जथाभावी प्रयोग गर्नु चिन्ताको विषय हो । खासगरी आमजनताले दैनिक उपभोग गर्ने तरकारी तथा अन्य खाद्यान्नहरू गोलभेंडा, आलु, केरा, मकैलगायतमा अत्यधिक विषादी प्रयोग हुनु मानवीय स्वास्थ्यमा सिधै आधात गर्ने विषय हो । त्यसबाहेक अत्यधिक विषादीले पर्यावरणीय चक्र भत्काउने हुँदा पछि गएर सामाजिक संरचना नै पनि
खल्बल्याउने खतरा हुन्छ ।

प्रत्येक वर्ष विषादीको प्रयोग १० प्रतिशतले बढ्दै गएको तथ्यांकले हामीलाई अब यसको नियन्त्रण कसरी गर्ने भन्नेतर्फ सोच्न र काम गर्न झक्झकाइरहेको छ । किनभने यी कतिपय विषादीमा शरीररमा क्यान्सर उत्पन्न गराउने रसायन पाइन्छन् । विषादीको नियमित उपयोग गर्ने किसानहरूमा टाउको दुख्ने, छाला चिलाउने, वाकवाकी लाग्ने समस्या तत्काल देखिएका परिणाम हुन् भने त्यसले दीर्घकालमा क्यान्सर गराउने, मिर्गौला बिगार्ने, अपांगता गराउने जोखिम पनि उत्तिकै छ । अर्कोतिर खेतीका लागि गुणी मानिएका परागसेचनमा सहयोग पुर्‍याउने मित्र किराहरूको संख्या पनि लोप हुने डर छ । मान्छेले जुन सुखको लोभमा अहिले विषादीको प्रयोगलाई बढाइरहेको छ, पछि त्यही नै दुःखको कारक बन्न जाने हुँदा बेलैमा सचेत हुनुको विकल्प छैन ।

यसको न्यूनीकरण गर्न किसानहरूलाई खेती गर्ने उन्नत प्राविधिक ज्ञान दिनुपर्ने देखिन्छ । विषादी बेच्ने एग्रोभेटहरूको नियमनलाई बलियो बनाउनुपर्छ । हुन त ‘विषादी व्यवस्थापन ऐन २०७६’ मा नियन्त्रण र नियमनको केही विधि र बुँदा उल्लेख भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन भन्ने पुष्टि भएको छ ।

यसतर्फ अबका दिनमा स्थानीय सरकारले पनि प्रभावकारी कदम चाल्नुपर्ने हुन्छ । सरकार, गैरसरकारी संस्थाहरू र कृषि विस्तार सेवा प्रदायक निकायले एकीकृत रणनीति बनाएर किसानहरूलाई कीट व्यवस्थापनका बारेमा सचेतना दिनु आवश्यक छ । कृषिका सम्बन्धित निकायहरू मन्त्रालय, अनुसन्धान केन्द्र, विश्वविद्यालयले दिगो कृषि खेती अभ्यासका बारेमा अनुसन्धान अघि बढाउनुपर्ने देखिन्छ ।

स्थानीय नगरपालिका र वडा कार्यालयहरू जो किसानको नजिक हुन्छन् उनीहरूलाई कीटनाशक प्रयोगको अनुगमन गर्न, निरीक्षण गर्न स्रोत र साधनको व्यवस्था गर्न प्रदेश सरकार र संघीय सरकार जागरुक हुनुपर्नेछ । यसका साथै, सरकारले जैविक खेतीका लागि कार्यक्रमहरू विस्तार गर्नुपर्छ भने विषादीको अत्यधिक प्रयोगलाई न्यूनीकरण गर्न किसान, सरकारी तथा गैरसरकारी निकायको सामूहिक प्रयास अघि बढाउनुपर्छ ।

विगतमा नेपालमा चाउचाउ भित्र्याउने गण्डकी नुडल्सले सुरुमा चाउचाउ यसरी खाने भनेर सिकाउनुपरेको थियो । चाउचाउ बारे अनभिज्ञ नेपाली समाजलाई त्यसको खपत कसरी गर्ने भन्ने थाहा थिएन । पछि आएका कम्पनीलाई चाउचाउ कसरी पकाउने, कसरी खाने भन्ने सिकाउन परेन । त्यस्तै, विगतमा सार्वजनिक बसमा पनि डुङडुङती चुरोट खाने चलन थियो, अहिले छैन । यी दुई उदाहरणले मान्छेलाई सिकाउँदा सिक्छ, मनाउन सक्दा मान्छ भन्ने पुष्टि हुन्छ । तर, त्यो त्यसै हुँदैन । 

योजनाबद्ध ढंगले काम गरेर आएका परिणति हुन् ती । त्यस्तो हुनको लागि एउटा त चेतनाको अभिवृद्धि गर्ने अभियान चलाउनुपर्छ । विषादीको अनावश्यक र अत्यधिक प्रयोगले मान्छेको ज्यानमै असर पर्छ भन्ने भएपछि मान्छेले त्यसको उपयोगलाई कम गर्नतिर लाग्छ । उपयोगको न्यूनीकरणकै लागि नियम, कानून बनाउन सकिन्छ, र बनेका कानून छन् भने तिनलाई कार्यान्वयन गर्नुपर्दछ । जसले अपेक्षित परिणाम हासिल गर्न सकियोस् ।

किसानले डेक्लोफेनेक नामक औषधिको उपयोग गर्दा सो औषधि ख्वाइएका मृत पशुको सिनो खाने गिद्धहरू भटाभट मर्न थालेपछि सो औषधि प्रतिबन्धित गरियो । सचेतना जगाइयो । कानून बनाइयो । पछि क्रमशः लोपोन्मुख गिद्धको संख्या सुधार हुँदै आयो । त्यसकारण हाम्रा विगतका सफलताका अनुभवलाई पनि तरकारीमा हुने अत्यधिक विषादीको नियन्त्रण गर्न योजना, सचेतना, कानून निर्माण र कार्यान्वयनका तहमा लागू गर्नुपर्ने देखिन्छ । केहीको स्वार्थका खारित जनताको ज्यान जोखिममा पार्ने र प्रकृतिलाई हानी गर्ने कामको अन्त्य गर्ने  पहलकदमी रोकिनुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्