नेभिगेशन
राजनीति

चुनावमा प्रियतावाद हाबी

सुरज खड्का 
काठमाडौ । माघ २३ 

यसपटक निर्वाचन पुराना दल र नयाँ दलमा प्रतिस्पर्धा हुने देखिएको छ । एकातिर बालेन शाह, रवि लामिछाने र हर्क साङपाङजस्ता नेताहरू छन् भने अर्कोतर्फ स्थापित पुराना पार्टीहरू छन् । चुनाव पूरापूर नयाँ र पुराना दलबीचको प्रतिस्पर्धा हुने देखिएको छ । जेनजी आन्दोलनलाई आफ्नै मुद्दा बनाउने प्रयास गर्दै आएका नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यतिबेला नयाँ शक्तिहरूप्रति आक्रामक अभिव्यक्ति दिइरहेका छन् । शुक्रबार पनि उनले यस्तै अभिव्यक्ति दोहो¥याए । उनले मुलुकलाई गणतन्त्रमा प्रवेश गराएका कारण आफ्नो पार्टीमा सबै भन्दा नयाँ विचार धारा रहेको दाबी गर्दै नयाँ शक्तिहरूलाई विदेशी दलालको एजेन्ट भएको आरोप लगाए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि सार्वजनिक भएदेखि नै जेनजी विद्रोह, आगजनी र लुटपाटलाई विदेशीको इसारामा भएको दाबी गरे । र, उनले हालसम्म यही अभिव्यक्तिलाई निरन्तरता दिइरहेका छन् । शुक्रबार चुनावी सभालाई सम्बोधन गर्न कास्की पुगेका कांग्रेस सभापति गगन थापाले पनि नयाँ शक्तिविरुद्ध आफ्नो अभिव्यक्ति दिए । उनले कांग्रेस देश बिगार्ने पार्टी नभएको भन्दै रास्वपालाई लक्षित गरेर देश जलाउने पार्टीको संज्ञा दिएका छन् । 

मूल घोषणापत्रमा भन्दापनि पार्टीहरू सर्वसाधारणलाई उत्तेजित पार्ने र तिनको भावनालाई भोटमा परिणत गर्ने प्रयासमा छन् । यसलाई केही विश्लेषकहरूले प्रियतावाद (पपुलिज्म) हाबी भइरहेको रूपमा लिन थालेका छन् । प्रियतावाद (पपुलिज्म)का सकारात्मक र नकारात्मक दुवै कोणबाट चर्चा भइरहेको छ । राष्ट्रिय स् तन्त्र पार्टीका रवि लामिछाने र बालेन शाहलाई पपुलिस्ट राजनीतिबाट उदाएको भन्दै आशंकाको दृष्टिबाट समेत हेरिँदै आएको छ । पपुलिस्ट राजनीति भन्नाले आम जनताको असन्तोष, आक्रोश र भावनालाई सिधा सम्बोधन गर्ने राजनीतिक शैली हो । यसले समाजलाई प्रायः सामान्य जनता र भ्रष्ट, शक्तिशाली अभिजात वर्गमा विभाजन गर्दै आफूलाई जनताको एकमात्र साँचो प्रतिनिधि भएको जिकिर गर्छ । नीति, संस्थागत प्रक्रिया र दीर्घकालीन योजनाभन्दा भावनात्मक भाषण, सरल नारा र तुरुन्त समाधानको आश्वासन प्रियतावादी राजनीतिको मुख्य विशेषता हो । 

प्रियतावादी राजनीतिको अभ्यास 
यस्तो राजनीति १९औं शताब्दीको अन्त्यतिर सुरु भएको हो । अमेरिकामा किसानहरूको आन्दोलनबाट यस किसिमको राजनीतिको उदय भएको मानिन्छ । आन्दोलन किसान र श्रमिकहरूको हकहितमा केन्द्रित थियो । यसअघि रुसमा पनि सन् १८७० को दशकतिर यस्ता विचारहरूले प्रश्रय पाएका थिए । पछि २०औंं शताब्दीमा ल्याटिन अमेरिकाको केही देशहरूमा प्रियतावादी राजनीति ह्वात्तै मौलायो । आर्थिक संकट, वैश्वीकरण र डिजिटल परिवर्तनले प्रियतावादलाई मलजल गरिरहेको विज्ञहरूको मत छ ।
 
प्रियतावादले डुबाउन सक्छ 
प्रियतावादले राजनीतिक विचार वा नेताका चर्का भाषण सुन्दा जति आनन्द दिन्छ, यसले संस्थागत लोकतन्त्रलाई उति कमजोर बनाउने विज्ञहरू बताउँछन् । यसले जनताको नाममा अदालत, मिडिया, संवैधानिक निकाय, पुराना राजनीतिक दल तथा नेताहरूलाई आक्रमण गर्छ । संस्थागत सुशासनका कुरा गर्नेहरूलाई जनताका शत्रुका रूपमा चित्रित गरिन्छ । यसले समाजमा व्यापक ध्रुवीकरण बढाउँछ । अल्पसंख्यकलाई दोषी ठहराउँदै दीर्घकालीन नीतिभन्दा छोटो अवधिका लोकप्रिय वाचाहरूलाई प्राथमिकतामा राख्छ । यस्ता विचारहरूबाट अक्सर मानिसहरू भावनात्मक उक्साहटमा आउँछन् र विस्तारै लोकतन्त्र नै खतरामा पर्दै जान्छ । 

नेपाली प्रियतावाद
नेपाल पनि पछिल्लो समय पपुलिस्ट राजनीतिको दलदलमा नराम्रो सँग फसिसकेको छ । पुराना दल र नेता सबै भ्रष्ट र कामै नलाग्ने भन्ने भाष्यलाई करिब करिब सेट गरि सकिएको छ । भदौ २३ र २४ गते भएको जेनजी विद्रोह त्यही भाष्यको उत्कर्ष थियो । जेनजी विद्रोहमा सामाजिक सञ्जाल बन्द, आर्थिक संकट, बेरोजगारी र भ्रष्टाचार विरुद्ध जनआक्रोश सडकमा पोखियो । उक्त आन्दोलनले पुराना दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, तत्कालिन माओवादी केन्द्रजस्ता दलहरूलाई स्थापित अभिजात, भ्रष्ट, विकासविरोधी र शत्रु मान्दै विकल्पमा नयाँ दल र नयाँ अनुहारहरू अगाडि सारिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने र काठमाडौ ंका निवर्तमान मेयर बालेन शाहजस्ता उम्मेदवारलाई यो लहरमा राखिएको छ भने उनीहरूले पनि आफूअनुकूल जनमत सिर्जना गर्न अधिकतम प्रयास गरिरहेका छन् । उनीहरुले पुरानो राजनीतिको अन्त्य र जनताको सत्ताको नारा दिँदै पपुलिस्ट राजनीतिलाई नै बढावा दिइरहेका छन् । 

प्रियतावादी राजनीतिको आशनन निर्वाचनमा प्रभाव पर्ने देखिएको छ । नबोलीकनै बालेनले रास्वपाको पक्षमा देशव्यापी जनमत बढाइरहेका छन् भने रास्वपा सभापति रवि लामिछानेले आक्रामकरूपमा पुराना दलहरूमाथि खनिँदै उनीहरूको औचित्य सकिएको बताइरहेका छन् । यसमा उनी सफल पनि देखिँदै आएका छन् । तसर्थ आगामी निर्वाचन पुरानो दल र नयाँ बीचको द्वन्द्वमा परिणत हुँदैछ । विश्लेषकहरूले प्रियतावादको यो ध्रुवीकरणले नेपालको संघीय लोकतन्त्रलाई नयाँ दिशा दिन सक्ने वा झनै अस्थिरता निम्त्याउन सक्ने कोणबाट हेरिरहेका छन् । अहिले उग्र भाषण गर्ने नेताहरू नै बढी लोकप्रिय बन्दै गएका छन् । पुराना सबै खराब, नयाँ सबै ठीक भन्ने भाष्यले यतिबेला ध्यान खिचिरहेको छ । तर नीति, अनुभव र संस्थागत निरन्तरताबिना लोकप्रियताले मात्रै लोकतन्त्रलाई बलियो बनाउन नसक्ने विज्ञहरूको धारणा छ । यो पछिल्लो माहोलका कारण आगामी निर्वाचनपछि देशको माहोल अझ अस्थिर बन्न पनि सक्ने सम्भावना रहेको केही विश्लेषकहरुको आशंका छ । नयाँ अनुहारहरूको उग्र भाषण र नारामा रमाइरहेका नागरिक चुनावपछि त्यहीअनुसारको परिणाम खोज्न थाल्दा चाँडै असन्तुष्ट बन्ने मात्रै होइन कि उल्टो प्रतिक्रियात्मक क्रियाकलापमा उत्रिन सक्ने खतरा देख्नेहरू पनि छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्