नेभिगेशन
राजनीति

निर्वाचन नजिकिदै गर्दा नयाँ भर्सेज पुरानाबीच ध्रुवीकरण

न्यूज २४ संवाददाता
काठमाडौं, पुस ११
फागुन २१ मा हुने निर्वाचन नेपालका प्रमुख राजनीतिक दलहरु र वैकल्पिक नयाँ शक्तिबीच हुने गरी ध्रुवीकरण हुने देखिएको छ । पछिल्लो समय कांग्रेस र एमालेबीच चुनावी तालमेल हुने सम्भावना देखिदै जाँदा आउँदो चुनाव नयाँ र पुरानाबीचको वर्चश्वको लडाइँमा परिणत हुने देखिएको हो ।

यो लडाइँ घनीभूत हुने देखिए पुराना शक्ति कांग्रेस–एमालेले निर्वाचन सार्ने सम्भावना केही विश्लेषकहरुले गरिरहेका छन् । एमालेले बाहिर निर्वाचनका लागि आफू सहमत भएको देखाए पनि प्रत्यक्ष रुपमा उसले सुरक्षा चुनौतीका कुरा उठाइरहेको छ । सुरक्षा चुनौतीलाई देखाएर चुनाव टार्न सकिन्छ कि भन्ने आशय उसका अभिव्यक्तिहरुमा देखिने गरेको छ ।

खासगरी पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई शक्तिकेन्द्रझैं प्रस्तुत गर्दै विभिन्न व्यक्ति तथा पार्टीका नेतासँग भेट गर्न थालेपछि केहीले यस पटक चुनाव भए, पुराना पार्टी भर्सेज नयाँ पार्टीबीचको प्रतिस्पर्धा हुने देखिएको छ ।

बाहिरी रुपमा निर्वाचनको कसैले विरोध गर्न सकेको भने देखिएको छैन । त्यसै पनि २०८४ मा हुन लागेको निर्वाचनलाई २०८२ सारिएको, जेनजी आन्दोलनको भावनाअनुरुप सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सुशीला कार्कीको सरकारले रत्ति काम गर्न नसकेकोमा बुद्धिजीवी वर्गले यो निर्वाचनलाई उति महŒव दिएको छैन ।

यसका बाबजुद पनि यो चुनाव संविधान रक्षाका लागि आवश्यक रहेको धेरैको एक मत छ । त्यसैले पनि कसैले यो चुनावको विरोध गर्न सकेको छैन । पार्टीहरु पनि बेमनले यसको समर्थन गरिरहेका छन् । यो चुनावले उनीहरुलाई जनतामाझ जाने र बिग्रिएको सम्बन्धलाई जोड्ने अवसरका रुपमा लिइरहेको देख्न सकिन्छ ।

हुन पनि लामो समयदेखि अन्योल, अविश्वास र शक्ति–संघर्षले थलिएको राजनीतिलाई चुनावको माहोलले गर्माउँदै लगेको छ । 

निर्वाचनलाई ‘निकास’ बनाउने माओवादी गणित
यतिबेला चुनावलाई अस्वीकार गर्नु पुराना पार्टीका लागि फलामको च्यूरा साबित हुन सक्छ । यो बुझेका पूर्वमाओवादी र हालको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘निर्वाचनको विकल्प छैन’ भनिरहेका छन् ।
चुनावले नै पार्टीहरुलाई सान्दर्भिक बनाउने भएकाले उनी यसमा सहमत देखिएका छन् । चुनावले विगतका विवाद, संसद् पुनस्र्थापनाजस्ता बहसबाट पार्टीलाई बाहिर निकाल्दै नयाँ राजनीतिक मैदानमा प्रचण्डले उभ्याउने प्रयास गरिरहेका छन् ।

माओवादी धारका लागि चुनाव दुईवटा अर्थमा महत्वपूर्ण छ । पहिलो, वैधताको पुनःस्थापना । लामो समय सत्ता–राजनीतिमा उतारचढाव खेपेको दल जनताको प्रत्यक्ष मतमार्फत आफूलाई पुनःस्थापित गर्न चाहन्छ । दोस्रो, वाम ध्रुवीकरण । यसमा कम्युनिष्ट शक्तिबीच उनले एकता अपरिहार्य भएको जोड दिइरहेका छन् । पूर्वएमाले–पूर्वमाओवादी नेताहरुसँगै उभिएर एमाले र अन्य वाम घटकलाई नैतिक दबाब दिने रणनीतिमा प्रचण्ड रहेको देखिन्छ । एमालेमा नअटेका नेता–कार्यकर्तालाई नेपाली कम्युनिस्ट पार्टीमा भित्र्याउनुको यही संकेत हो ।

प्रचण्डका भनाइले नेकपा चुनावलाई प्रतिस्पर्धाका रूपमा नराखी पुनर्संरचनाको अवसरका रूपमा हेरिरहेको देखाउँछ ।

यसैगरी एमालेले हतारको नभई स्थायित्वको सन्देश दिन खोजेको छ । नेपालगञ्जमा एमाले महासचिव शंकर पोखरेलले बोलेको भाषा भने फरक छ । उनले अहिलेको चुनाव ‘तातै खाऔँ, जल्दै मरौं’को अवस्थामा रहेको संकेत गरेका छन् । प्रत्यक्ष रूपमा आवेगात्मक र आन्दोलनमुखी राजनीतिप्रति उनले लक्षित गरेको देखिन्छ । एमाले आफूलाई जिम्मेवार, संस्थागत र दीर्घकालीन सोच भएको दलका रूपमा प्रस्तुत गर्ने उनको सोच भाषणमार्फत देखाएका छन् । 

एमालेको चुनावी मनशाय स्थिरता र निरन्तरतामा छ । युवालाई भावनामा होइन, तथ्य र ज्ञानमा आधारित निर्णय गर्न उनले आग्रह गरेका छन् । त्यस्तै उनले भाषणमा तीन पुस्ताको संयोजनको कुरा उठाएका छन् भने पेशागत वर्गलाई सम्बोधन गर्दै एमालेको मुख्य मतदाता आधारलाई सुदृढ बनाउने प्रयास गरिरहेका छन् ।

एमालेका लागि चुनाव परिवर्तनको हल्ला होइन, राष्ट्र निर्माणको क्रम निरन्तर अघि बढाउने माध्यम हो भन्ने सन्देश दिन खोजिरहेको छ ।

यसैगरी कांग्रेसको ध्यान भने संगठन र मैदान दुवैतर्फ केन्द्रित भएको देखिएको छ । नेपाली कांग्रेसले चुनावलाई संगठनात्मक तयारीसँग जोडेर हेरिरहेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भनाइले कांग्रेस अब अन्योलमा छैन भन्ने संकेत दिएको छ । महाधिवेशन र आमनिर्वाचन दुवैलाई अनिवार्य ठान्नु कांग्रेसको व्यावहारिक राजनीतिक दृष्टिकोण हो ।

कांग्रेसको रणनीति तलबाट माथिसम्म संगठन बलियो बनाउने देखिए पनि पार्टी फुटको संघारमा रहेको केहीको विश्लेषण छ । गगन थापा र विश्वप्रकाशको एउटा समूह नेतृत्वले महाधिवेशनमा गरिरहेको अलमललाई परिवर्तनप्रति बेइमानी गरिरहेको बुझाइ छ । जसका कारण उनीहरु यस पटकको चुनावमा भाग लिने कि नलिने भन्ने चर्चा चलाएर नेतृत्वलाई पटरीमा ल्याउने प्रयास गरिरहेका छन् ।

कांग्रेसका लागि आन्तरिक विवाद सल्ट्याउने भन्दा पनि निर्वाचनलाई कार्यकर्ता सक्रिय बनाउने अवसरका रुपमा हेरिरहेको छ । क्रियाशील सदस्यता वितरण, शुभेच्छुक संस्थाको विस्तार र पेशागत समूहसँगको सम्बन्धमा कांग्रेसले यतिबेला सक्रियता देखाउनुले कालान्तरमा उसलाई चुनावी अंकगणितका लागि सघाउने नै छ । यसले कांग्रेसलाई सत्ता फिर्तीको अवसर नदिएका खण्डमा पनि पार्टी पुनर्जीवनको अभियानका रूपमा यो चुनाव उपयोग गर्ने रणनीतिमा रहेको देखिन्छ ।

एउटै चुनाव, फरक–फरक सपना
शुक्रबार तीन ठूला दलका प्रमुख नेताहरूले विभिन्न स्थानमा गरेको सम्बोधन र तिनले दिएको अभिव्यक्तिले एउटा अब चुनाव टार्ने निहुँ राजनीतिक रुपमा नरहेको देखाएको छ । प्राविधिक समस्या देखाएर यसलाई रोक्ने अनेक अड्कोहरुमध्ये संसद् पुनस्र्थापना, सर्वोच्च अदालतमा परेका मुद्दाहरु भने यथावत् रुपमा छँदैछन् । त्यसैले पनि यी पार्टीहरुको चुनावप्रतिको दृष्टिकोण भने फरक–फरक अवसरका रुपमा देखिएको छ ।

माओवादी केन्द्रका लागि चुनाव ध्रुवीकरण र वैचारिक पुनर्संयोजन हो । एमालेका लागि चुनाव स्थायित्व र जिम्मेवार नेतृत्वको परीक्षा हो । कांग्रेसका लागि चुनाव संगठन विस्तार र सत्ता पुनरागमनको बाटो हो ।

त्यसैले आसन्न संसदीय चुनाव सिटको प्रतिस्पर्धा मात्र नभई नेपाल कुन राजनीतिक दिशातर्फ जाने भन्ने निर्णायक क्षण पनि हो । तर यसका लागि नयाँ दलहरु पनि उत्तिकै निर्णायक रहेका छन् । खासगरी पछिल्लो समय बालेन शाहको सक्रियताले नयाँ आकांक्षीहरुको महत्वाकांक्षा पनि उत्तिकै देखिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्