नेपाल विद्यार्थी संघको राजनीति हुँदै राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन्, प्रदीप पौडेल । तनहुँ स्थायी घर भएका पौडेल विद्यार्थी अवस्था देखिनै नेविसंघमा सक्रिय भए । सिद्धार्थ वनस्थली स्कुलमा पढ्दानै नेविसंघमा सक्रिय बनेका पौडेल अमृत साइन्स क्याम्पसमा स्ववियु सभापति भए । विद्यार्थी राजनीतिमा सक्रिय रहँदै राष्ट्रिय पहिचान बनाइसकेका पौडेल नेविसंघको केन्द्रीय अध्यक्ष हुँदै कांग्रेस केन्द्रीय सदस्य बने । पार्टीको १४औं महाधिवेशनमा भने उनी महामन्त्रीमा पराजित हुन पुगे । शालिन स्वभावका पौडेल कांग्रेसभित्र सम्भावना बोकेका नेताका रुपमा हेरिन्छन् । काठमाडौं ५ बाट प्रतिनिधिसभामा एमालेका नेता इश्वर पोखरेललाई पराजित गर्दै संसद् प्रवेश गरेका पौडेलले स्वास्थ्य मन्त्रालयसमेत सम्हालिसकेका छन् ।
फागुन २१ को आम निर्वाचनअघि नेतृत्व परिवर्तन गरेर जानुपर्ने पक्षमा उभिएका पौडेल अहिले विशेष महाधिवेशनको मागको पक्षमा उभिएका छन् । कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउँदा संस्थापन पक्षले नियमित महाधिवेशनको नयाँ कार्यतालिका कार्यसम्पादन समूहको बहुमतबाट अघि बढाएको छ । यही कारण कांग्रेस फुट्ने चर्चा शुरु भएपनि पौडेल कुनै हालमा कांग्रेस नफुट्ने दाबी गर्छन् । कांग्रेस केन्द्रीय सदस्य उनै पौडेलसँग न्युज २४ दैनिकका लागि प्रधानसम्पादक नवराज चालिसे र वरिष्ठ संवाददाता जगन्नाथ दुलालले कांग्रेसभित्र अहिले देखिएको बहस, नयाँ राजनीतिक दलको एकतासँगै पार्टीमाथिको चुनौती सरकारको कामकारवाहीमा केन्द्रीत रहेको गरेको संवादको सम्पादित अंश :
नेपाली कांग्रेसभित्र नियमित कि विशेष महाधिवेशनको विषय अझै टुंगो लागेको छैन । तपाईहरु फेरि विशेष महाधिवेशनमै फर्कनुभयो नी, किन ?
हाम्रो पार्टीमा अब प्रतिनिधिसभाको निर्वाचनअगाडी नियमित महाधिवेशनको विषय टुंगियो । कार्यतालिका अनुसार काम हुन सकेन । तल्लो तहका अधिवेशनको कार्यतालिका प्रभावित भएपछि नियमित महाधिवेशन अब फागुन २१ को चुनाव अघि नहुने भयो । नियमित महाधिवेशन गर्ने भएपछि विशेष महाधिवेशनको प्रस्ताव स्थगन भएको थियो । तर, नियमित नहुने भएपछि पार्टी विधानको व्यवस्थाअनुसार अब कांग्रेस विशेष महाधिवेशनका लागि अघि बढेको छ । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले ३ महिनाअगाडी विशेष महाधिवेशन माग केन्द्रीय कार्यालयमा दर्ता गराउनुभएको थियो । पार्टी विधानको धारा १७(२)को व्यवस्थाअनुसार अब विशेष महाधिवेशनको पूक्रिया अगाडी बडढेको छ । अहिले विशेष महाधिवेशनको अर्को विकल्प छैन ।
तर, सभापति शेरबहादुर देउवा र उहाँ पक्षधर फागुन २१ को चुनावअघि विशेष महाधिवेशन गर्दा चुनावमा असर गर्छ, भनिरहनुभएको छ । तपाईंहरुलाई त्यस्तो लाग्दैन ?
निर्वाचनको नजिक भएकाले अहिले विशेष महाधिवेशन गर्दा पार्टीलाई विभिन्न खालका असरहरु पर्छन् नगरौ भन्ने आग्रह पनि छ । तर, कुरा के छ भने पार्टीलाई असर पर्ने विषय भन्दा पनि विधानको जे प्रस्ट व्यवस्था हो त्यो व्यवस्थालाई कार्यान्वयन गरेर जानुको विकलप हामसिँग छैन । अब देशको संविधान कार्यान्वयन हुन नसक्ने, पार्टीको विधान कार्यान्वयन हुन नसक्ने हो भने त्यो कुरा स्वभाविक हुन सक्दैन । वैधानिक रुपमा प्रष्ट पारिएका विषय कार्यान्वयन नगर्नुको विकल्प छैन । त्यसैले अहिले विशेष महाधिवेशनको विषयमा देखिएको फरक मत भन्नुस् वा मतभेद राखिरहनुपर्ने देख्दिँन । विधानको धारा १७ (२) ले प्रष्ट रुपमा व्यवस्था गरेको विषय हो । विधानको व्यवस्थालाई कार्यान्वयन गर्ने जिम्मेवारी सभापतिको, पदाधिकारीको, केन्द्रीय समितिको हो भन्ने मलाई लाग्छ ।
विशेष महाधिवेशनको प्रस्ताव ३ महिना अगाडि नै दर्ता भएको हो । यो बिचमा हामीले वडा अधिवेशन गरेर नयाँ क्षेत्रीय प्रतिनिधिहरू निर्वाचित गराएको भए यो प्रस्ताव आफैँ निष्क्रिय हुन्थ्यो । हामीले समयको सही सदुपयोग गर्न सकेनौँ । बैठकहरू धेरै लामा भए, कार्यतालिका अनुसार फास्ट ट्रयाकमा काम हुन सकेन । यस्तो अवस्थामा विशेष महाधिवेशन प्रस्तावक साथीहरू आश्वस्त हुन सक्ने स्थिति भएन ।
हामीलाई के लाग्छ भने नियमित महाधिवेशन या विशेष महाधिवेशन जे गरेर भए पनि कांग्रेसको नेतृत्व र नीति बदलेर जान सक्यौ, नयाँ बनाएर जान सक्याँै भने निर्वाचनमा हामीलाई मत थप्नका लागि मद्दत पुग्छ । कुनै पनि राजनीतिक दल अहिले उठेका विषयहरुका बारेमा प्रष्ट हुन सकेन भने निर्वाचनमा उसले आम नागरिकको मन जित्ने स्थिति हँुदैन । त्यसैले बैचारिक ढंगबाट पनि हामी विषयगत हिसाबले प्रष्ट हुन जरुरी छ । त्यो प्रष्टता दिने, पार्टीको प्रष्ट नीति निर्माण गर्ने महाधिवेशनले नै हो । महासमितिको बैठकले पनि त्यो गर्न सक्थ्यो । तर, महाधिवेशन हुने वर्ष महासमितिको बैठक बस्न सक्दैन। अब त्यसमाथि हामीले चाहिँ त्यो प्रष्ट हुने मौका विशेष अधिवेशन गरेर प्राप्त गरेको स्थिति छ । त्यसैले निर्वाचनलाई फाइदा हुने अवस्थामा निर्वाचनका कारणले सम्भव छैन भनेर भन्न मिल्दैन ।
तपाईंको बुझाइमा महाधिवेशन गरेर जाँदा चुनावमा फाइदा पुग्छ भन्ने हो ?
अधिवेशन गरेर जाँदानै निर्वाचनलाई फाइदा गर्छ । त्यसैले अहिले परिस्थिति छैन भनेर भन्न मिल्दैन । अर्को कुरा, अब परिस्थिति छ र छैन भन्ने कुरा चाहिँ वैधानिक व्यवस्थाले निर्धारण गर्ने हो । परिस्थिति बनाउने वैधानिक व्यवस्थाले हो । अब परिस्थिति छैन तर विधानमा व्यवस्था भए पनि हुदैन भन्न त मिल्दैन नि ?
अहिले महामन्त्रीहरुले पुस २६ देखि २८ र कार्यसम्पादन समितिले वैशाख अन्तिम साताका लागि महाधिवेशन गर्ने घोषणा गरेका छन् । भनेपछि अब कांग्रेस फुट्ने निश्चित भएको हो ?
यो दुइटा कार्यतालिका भन्न मिलेन । अहिले नयाँ कार्यतालिका भनेको चाहिँ विशेष महाधिवेशनलाई बेवास्ता गरेर अर्को कार्यतालिका बनाइएको स्थिति हो । नेतृत्वले विशेष महाधिवेशनका प्रस्तावकहरुलाई कन्भिन्स गरेर उहाँहरुलाई नै निवेदन फिर्ता लगाउन सक्नुभयो भने ठीके मान्न सकिएला । तर, निवेदन यथावत राखेर अर्को निर्णय कसरी गर्न पाइन्छौ ? विशेष महाधिवेशनले पार्टी फुट्छ भनेर पनि अहिले कतिपयले भनिरहेको सुन्छु । विशेष अधिवेशन विधान भित्र भएको प्रक्रिया हो । यो प्रक्रियालाई प्रयोग गर्न मात्रै खोजिएको हो । अब यो प्रक्रिया पार्टी सबल बनाउनका निम्ति,पार्टी सशक्त बनाउनका निम्ति प्रयोग गर्ने हो । पार्टी फुटाउनका निम्ति प्रयोग गर्ने होइन ।
वैधानिक व्यवस्था कार्यान्वयन गर्ने प्रक्रियामा जाँदा पार्टी कसरी फुट्छ ? विधानको पालना गर्नु नेतृत्व र कार्यसमितिको कर्तव्य हो । नेतृत्वले विशेष महाधिवेशनका प्रस्तावकहरूलाई ‘चुनाव नजिक छ, प्रस्ताव फिर्ता लिनुहोस्, यसको विकल्प यस्तो हुन्छ’ भनेर कुनै मध्यमार्गी बाटो दिन सकेको भए यो निष्क्रिय हुन सक्थ्यो । तर, विधानलाई नै वास्ता नगर्ने ढंगले बुझिँदा समस्या आएको हो । विधान कार्यान्वयनले त पार्टीलाई वैधता दिन्छ, विभाजन गर्दैन । के ढुक्क हुनुस्, भने, विशेष महाधिवेशनले पार्टी फुट्दैन । हामी फुट्न दिँदैनौं । हामीलाई पनि पार्टीको माया छ । पार्टी फुट्ने भए यसअघि नै धेरै कुरा भइसक्थ्यो । पार्टीलाई थप बलियो, बनाउन अझ सुदृढ गर्ने हो ।
संस्थापन पक्षले त नियमित महाधिवेशनको मिति घोषणापछि विशेष महाधिवेशनको औचित्य छैन भनेका छन् नी ?
त्यस्तो होइन । विशेष महाधिवेशनको प्रक्रियाका बारेमा विधानमा व्यवस्था छ । हामीले विधान हेर्ने हो । विधानअनुसार पार्टी चल्ने हो । अब कोही व्यक्तिले भनेर भएन नि । विधानको व्यवस्थाले निर्धारण गरेको विषय प्रष्ट हुँदाहँुदै औचित्यता सकियो भनेर कसरी भन्न मिल्छ ? त्यसैले कुरा के हो भने विशेष महाधिवेशनको विषयलाई जति सामान्य ढंगले हेरिएको छ, त्यति सामान्य होइन । यो विषयलाई बेवास्ता गरेर बलमिच्याई गर्न खोजिँदैछ । त्यसले राम्रो परिणाम दिँदैन । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गर्ने साथीहरु पार्टीकै नेताहरु हो । उहाँहरुले पनि पार्टीमा धेरै योगदान पु¥याउनु भएको छ । उहाँहरुले विशिष्ट अवस्थामा पार्टीकै हितको निम्ति विशेष महाधिवेशनको माग गर्नुभएको छ ।
त्यसैले पार्टीमै रहेका हामीहरु कि त पहिला उहाँहरुसँग समन्वय गरौ । छलफल गरेर विशेष महाधिवेशन नगर्ने विकल्प केहि छ भने उहाँहरुलाई नै सोधौँ । केन्द्रीय कार्यसम्पादन समिति बसेर उहाँहरुलाई सोधखोजे नगरिकनैे विशेष महाधिवेशनको निवेदन चाहिँ सिद्धियो । अब त्यसको सान्दर्भिकता छैन भनेर निर्णय गर्दिएर मात्रै पुग्दैन ।
उहाँहरुले पनि अहिलेको परिस्थिति बुझ्नुभएको छ । कि त उहाँहरुसँग बसेर समन्वय गरेर निचोड निकाल्न सक्नुप¥यो । होइन भने विशेष महाधिवेशन गरेर नया शिराबाट अगाडी जाने जुन मौका छ, त्यसलाई प्रयोग गर्नुपर्छ ।
विशेष महाधिवेशनको मुख्य एजेन्डा चाहिँ के हो ?
महाधिवेशनले नै आफ्ना एजेन्डाहरू तय गर्छ । सुरुमा केन्द्रीय कार्यालयमा दर्ता गर्दा नीतिगत स्पष्टता र नेतृत्व परिवर्तन दुवै कुरा प्रस्तुत गरिएको छ । महाधिवेशनमा सहभागीहरूले नै के प्रयोजनका लागि यो आवश्यक छ भन्ने कुराको निर्णय गर्नेछन् ।
महाधिवेशन भनेपछि नेतृत्वको कुरा आइनै हाल्छ । महाधिवेशनमा यसपटक यहाँको दाबी कुन पदमा रहन्छ ?
अहिले हामी महाधिवेशनको विषयमा पार्टीभित्रै सहमति जुटाउन प्रयास गरिरहेका छौं । महाधिवेशनका लागि एउटा माहोल बनेपछि नेतृत्वबारे चर्चा गर्नु उपयुक्त हुन्छ भन्ने लाग्छ । अब साथीहरुले घोषणा गरेको भनेर पनि ल्याइदिनु भएको छ । पहिला महाधिवेशन सुनिश्चित गरौ, महाधिवेशन सुनिश्चित भएपछि म मेरो आकांक्षा साथीहरुका बिचमा राख्ने छु भनेर मैले भनेको थिए ।
तर, मानिसहरुले सामान्यतया अनुमान गर्दा पहिले पनि महामन्त्री लडेको । त्यो बेलामा सफल हुने नसकेको कारणले फेरी पनि महामन्त्री लड्छ भन्ने साथीहरुको अनुमान छ । त्यस्तै हुन पनि सक्छ । तर मेरो कुरा चाहिँ पहिला मेरो विषयमा जानु भन्दा अगाडी महाधिवेशनका बारेमा पार्टीभित्र एउटा साझा मत बनाएर जानुपर्छ भन्ने मलाई लाग्छ ।
पार्टी सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक दिनुभएको छ । उहाँले निकास निकाल्न नसकेको अवस्थामा सभापतिसँग के भन्न चाहनुहुन्छ ?
विशेष महाधिवेशन विषय टुंगाउनका निम्ति सभापतिज्यू गम्भीर हुन आवश्यक छ । त्यसलाई संस्थागत ढँगबाटै आयोजना गरेर अगाडी लैजाने, वैचारिक रुपमा कांग्रेसलाई थप स्पष्ट बनाउने र त्यो उर्जालाई पनि निर्वाचन अघि पार्टी बलियो बनाउनका लागि प्रयोग गर्ने सन्दर्भमा आदरणी सभापतिज्यूले समन्वय गर्न जरुरी छ । उहाँसँग त्यही भूमिकाको अपेक्षा गर्दछु ।
कांग्रेसपछि सरकारका बारेमा कुरा गरौँ । ‘नागरिक सरकार’ भनिएको सुशीला कार्की नेतृत्वको सरकारका केही मन्त्री पार्टीमा आबद्ध भएका छन् । केही हुने तयारीमा देखिन्छन् । समग्रमा सरकारको कामकारवाहीलाई यहाँहरुले कसरी हेर्नुभएको छ ?
यो नागरिक सरकार हो भन्ने कुरा सरकार स्वयंले ख्याल गर्नुपर्छ । नागरिक सरकार हो भने सरकारमा रहनुभएका भएकाहरुले के गर्नुहुन्छ ? के गर्नुहुँदैन ? भनेर उहाँहरुले नै जान्नुपर्ने कुरा हो । निर्वाचन गर्न आएको सरकारले सबैको विश्वास जितेको हुनुपर्छ । त्यस अनुसारको निष्पक्षता कायम गर्न सक्नुपर्छ । पार्टीगत आबद्धताबाट टाढै रहेको हुनुपर्छ । अब त्यस्तो छ कि छैन म सरकारलाई नै सोध्न चाहन्छु ।
फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई लिएर कतिपयले अझै आशंका गरिररहेका छन् । चुनाव हुनेमा तपाई कत्तिको आश्वस्त हुनुहुन्छ ?
सरकारले चाहिँ निर्वाचनको वातावरण बनाउनुपर्छ । निर्वाचनमा निष्पक्षता कायम हुन्छ, शान्ति सुरक्षा चाहिँ एकदम सुनिश्चित हुन्छ भन्ने अवस्था सरकारले बनाउन सक्नुपर्छ । सरकारले कुनै पनि ढंगबाट ति विषयहरुमा आशंका हुने स्थिति राख्नुहँदैन ।
कांग्रेस जहिले पनि निर्वाचनको पक्षमा छ । त्यसैले फागुन २१ को निर्वाचनमा हामी जान्छौ भनेर पार्टीले संस्थागत निर्णय गरेको स्थिति छ । नेपाली कांग्रेसको संस्थागत धारणा चाहिँ त्यही नै हो । सरकारले निर्वाचनका लागि माहोल बनाउन पैयत्ननै गरेन भन्न मिल्दैन । केही प्रयासहरु भएका छन् । तर, यति नै पर्याप्त छ भन्ने मलाई लाग्दैन ।
चुनावमा जाँदा कांग्रेस के एजेण्डा लिएर जान्छ ?
नागरिकले अहिले चुस्त र सहज सेवा खोजेका छन् । अब प्रभावकारी सेवा उपलब्ध गराउन सक्नुपर्नेछ । नेपालमा केही नै भएन भन्ने भाष्य बनाउन खोजिएको छ । जुन गलत छ । देशमा थुप्रै कामहरु भएको छ । तर, त्यसबाट आम नागरिक सन्तुष्ट देखिनुहुन्न । भ्रष्टाचार रहेसम्म, सुशासन नभएसम्म , सेवासुविधा प्रभावकारी ढंगबाट प्राप्त हुने स्थिति नभएसम्म अरु जे गरेपनि त्यो नदेखिने रहेछ । त्यसैले सुशासन कसरी कायम गर्ने हो त्यो बारेमा स्पष्ट दृष्टिकोण जरुरी छ । कांग्रेस पार्टी त्यसमा गम्भीर छ ।
निर्वाचन नजिकिएपछि नयाँ पार्टीहरु एकीकृत भएका छन् । नयाँ अनुहारहरु राजनीतिमा सत्रmिय भएका छन् । यसले गर्दा पुराना पार्टीलाई धक्का पुग्छ भन्ने चर्चा भइरहँदा यहाँहरुले कत्तिको चुनौती महसुस गर्नुभएको छ ?
नेपालको राजनीतिमा प्र्रतिस्पर्धाका लागि नयाँ अनुहारहरु आए भनेर हामीले दुख मान्नुपर्ने केही छैन । राष्ट्रिय राजनीतिमा लोकप्रियता आर्जन गर्नुभएका साथीहरु जोडिनुभएको छ । उहाँहरु विषयगत ढँगले प्रतिस्पर्धा गर्न आउनुहुन्छ होला । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । कांग्रेसले चुनौती थपिएको स्विकार गरेर पार्टीलाई व्यवस्थित गर्नुपर्छ । हिजो हामी प्रजातन्त्रका लागि लडेका शक्ति हौं, प्रजातन्त्रका लागि हामीलाई मत दिनुस् भनेर आग्रह गर्ने गथ्र्यौ । अब त्यही अस्त्रले काम गर्ने स्थिती छैन । अहिले सबै लोकतान्त्रिक हो । सबै चुनावमा प्रतिस्पर्धा गर्न आउनुभएको छ । त्यसकारण अब हामीले एजेण्डाका आधारमा प्रतिस्पर्धा हुने अवस्था बनाउन सक्नुपर्छ । त्यसैले हामी एजेण्डामा प्रष्ट हुनुप¥यो ।
हामीमाथि भएका टिकाटिप्पणी, उठेका प्रश्नहरुको स्पष्ट सँगले जवाफ दिने अवस्था निर्माण गर्नुप¥यो । विगतमा हामीले धेरै कामहरु गरेका छौं । तर, केही त्रुटी भयो भन्ने कुरा पनि हाम िमाथि गरिएको छ । ती त्रुटीहरुको बचाउ गर्ने होइन स्विकार गर्ने । र, सच्चिएर जाने प्रतिवद्धता गरेर अगाडी बढ्नु्पर्छ । काम गर्नेले नै गल्ती गर्छ । हात बाँधेर बस्नेले त गल्ती गर्दैन । केही गल्ती भए होलान् । अब हामी ती विषय सच्याउँछौं । यी विषयमा हाम्रो धारणा यो हो भनेर हामी जानुपर्छ । जान्छौं । प्रतिस्पर्धाृत्मक राजनीतिको विकास कांग्रेसले गरेको हो । नेपाली समाजमा हामीले विकास गरेको पद्धती सबैले मान्ने अवस्था बनेको छ । यसमा त हामी खुशी हुनुपर्छ । त्यो योगदान ग¥यौ त्यसैले हामीले जित्नुपर्छ भन्ने हुँदैन । आजको सन्दर्भमा आफ्ना एजेण्डा अगाडी बढाएर नागरिकको मन र मत जित्नुपर्छ । प्रतिस्पर्धाबाटै श्रेष्ठता हासिल गर्नुपर्छ । त्यसमा कांग्रेस लाग्छ ।
प्रतिनिधिसभा चुनावमा कांग्रेसले अरु दलसँग गठबन्धन गर्छ कि गर्दैन ?
चुनावमा गठबन्धन नगर्ने भन्ने हाम्रो पार्टीको महासमिति बैठकको निर्णय छ । सत्तामा जानका लागि सिद्धान्त नमिल्ने सँग पनि मिलेर गयौं, पार्टीका साथीहरुलाई अरु चुनाव चिन्हमा पनि मत हाल्न लगायौं भनेर पनि आलोचना भएको छ । त्यसैले अब कांग्रेस एकल रुपमा चुनावमा जानुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।