सिरहामा जन्मिएका एससी सुमन बालखैमा हजुरआमाका मुखबाट मैथिली गीत र कथाहरू सुन्थे । त्यसबाट मुग्ध भएका उनले तिनै भावलाई चित्रमा उतार्न थाले । उनले गाउँमा छँदा टाटी/भित्तामा कोरिएका मिथिला चित्रका अर्थहरू समयक्रममा बुझ्ने प्रयास गरे । अहिले त्यो बुझाइ एउटा फराकिलो करियर मात्र बनेको छैन, उनी अग्रणी मिथिला कलाकारका रूपमा समेत स्थापित भइसकेका छन् । विगत ४० वर्षदेखि मिथिला चित्रकलामा मौलिक पहिचान बनाएका उनले संसारका विभिन्न देशमा मिथिला चित्रकला प्रदर्शनी गरिसकेका छन् । यतिबेला काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीमा उनको २३औं एकल प्रदर्शनी चलिरहेको छ । ‘मिथिला कसमस ७’ शीर्षकको प्रदर्शनमा उनका ३२ वटा चित्रहरू प्रदर्शनमा राखेका छन् ।
‘पत्रकारहरू लेख्नमा बडो जान्ने हुन्छन्,’ उनले भने, ‘हामीलाई लेख्न आउँदैन । हामीले आफ्नो भावना बगाउने ठाउँ सीमित हुन्छन् । क्यानभासमा पोखिने मसी नै हाम्रो भावना हो ।’ ग्यालरीमा चित्रहरू मिलाएर राखिएका छन् । सुरुमा गणेशको एक्रेलिक चित्र छ । प्रदर्शनीमा छिर्नेबित्तिकै गणेशको दर्शन गरेर भित्र छिरिन्छ । त्यसपछि सुरु हुन्छ कृष्ण र गोपिनीको रासलीला ।
‘यी हरेक चित्रकलाले केही न केही कथा कहेकै हुन्छन्,’ उनी भन्छन्, ‘अथवा, कुनै कुराबाट म प्रभावित भएपछि ती भाव यहाँ पोखिएका छन् ।’
जस्तो, एक दिन उनी गौतम बुद्धको चित्र बनाउँदै थिए । सुनील पोखरेलले उनलाई नाटक हेर्न डाके । नाटक उनलाई यति मन पर्यो कि चित्रमा ‘गच्छामि’ नाटकको प्रभाव पनि त्यसमा पोखे । जब–जब उनी यो चित्र हेर्छन्, उनी सुनील पोखरेललाई सम्झन्छन् ।
कोभिड १९ को महामारीपछि उनले यो प्रदर्शनी गरेका हुन् । उनीसँग भएका सयौं पेन्टिङबाट छानेर उनले ‘मिथिला शृंखला’अन्तर्गत यो प्रदर्शनी गरेका हुन् । उनी भन्छन्, ‘कुनै एकल प्रदर्शनीमा जानु भनेको चित्रहरू मात्र हेर्नु होइन । यो त दशकौंको साधनालाई एकै ठाउँमा उभिएर अवलोकन गर्न पाउनु हो । यसले कलाकारको साधना, अनुभूति र आत्मसंवाद परख गर्ने अवसर दिन्छ ।’ यो प्रदर्शनीमा धार्मिक आख्यान, पौराणिक कथा, लोकविश्वास, प्रकृति, मानव जीवन, तीर्थ, उत्सवलाई आधार बनाएर चित्र कोरेका छन् । एउटा चित्र चाहिँ महाभारतको युद्धमा आधारित भने अर्को दशैंको नौरथाका बेला बनाएको चित्र छ । यी दुवै चित्रको भव्यताले दर्शकलाई बेग्लै भावमा लैजान्छन् ।
‘नवदुर्गा’ र ‘गीतासार’ चित्रमा मन्त्रहरू पनि अंकित छन् । उनले भने, ‘नवदुर्गा शीर्षकको चित्र बनाउँदा नौरथा सुरु भएको थियो । दशमीको दिनमा मैले यो चित्र बनाइसकेँ । यस हिसाबले यो चित्र पूरा गर्न पूरै १० दिन लाग्यो ।’ चित्रको विषय र भव्यताले चित्र पूरा गर्न समय लाग्ने उनी बताउँछन् ।
उनले यो प्रदर्शनीलाई यात्रासँग जोड्न रुचाएका छन् । ‘हामी सधैं यात्रारत छौं,’ उनी भन्छन्, ‘यो प्रदर्शनी पनि ब्रह्माण्डको यात्राको निरन्तरताको प्रतीक हो । सानो कीटपतंगदेखि मान्छे र स्वयं व्रह्माण्ड पनि निरन्तर यात्रामा छौं । तपाईंले प्रदर्शनीका हरेक चित्र यात्रामा रहेको देख्नुहुन्छ या संकेत पाउनुहुन्छ । यो यात्रा तीर्थसम्मको हो । त्यो तीर्थ कसैको सीमित हुन्छ भने कसैको अनन्तसम्मको हुनसक्छ ।’
प्रदर्शनीले हामी को हौं, हाम्रो जरा कहाँ छ र आधुनिकताले हामीलाई कता लैजाँदैछ भन्ने प्रश्नहरू सोध्ने उनी बताउँछन् ।
सातौं शृंखलासम्म उनले मिथिला कसमस प्रदर्शनी गरिसकेका छन् । मिथिला संस्कृतिमा हुर्किंदा पाएको जीवनदृष्टि नै यो शृंखलामा आफूले पोख्न सहज मान्ने गरेका छन् । मेरो उद्देश्य मिथिला चित्रकलालाई सजावटी लोकलाबाट बाहिर ल्याएर दार्शनिक र समकालीन विमर्शको केन्द्रमा राख्नु थियो । अहिले पनि उनले यसलाई जारी राखेका छन् ।
उनी भन्छन्, ‘मिथिला भूगोल मात्र होइन । यो त एउटा चेतना हो । समय, समाज र सभ्यताबाट निश्रित चेतना । त्यसैले पनि बारम्बार यही शृंखलामा फर्कन्छु। यसले मेरो आत्मिक यात्रालाई निरन्तरता दिन सघाउँछ ।