नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेपाली राजनीतिमा धेरैले आशा गरेका नेता हुन् । त्रिचन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापति, नेविसंघको महामन्त्री हुँदै पार्टी महामन्त्री बनेका थापा अहिले पार्टी संगठनलाई रुपान्तरण र समय सापेक्ष बनाउन विशेष महाधिवेशनको तयारीमा जुटेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट तीन पटक सांसद भइसकेका थापाले स्वास्थ्यमन्त्री भएर छोटो समयमै लोकप्रियता कमाएका थिए । उनकै नेतृत्वमा कांग्रेसको विशेष महाधिवेशन शुरु हुँदैछ । राजतन्त्रका बेलामा गणतन्त्रका पक्षमा उभिएर चर्चामा आएका थापा अहिले पार्टीभित्र संस्थापन पक्षका विरुद्धमा उभिएर चर्चामा छन् । विशेष महाधिवेशनले पार्टी विभाजन हुने चर्चाका बीच विशेष महाधिवेशन, आगामी यात्रा र जेनजी आन्दोलनपछि पार्टीको रणनीति तथा योजनाका विषयमा न्यूज२४ दैनिकका प्रधान सम्पादक नवराज चालिसेले महामन्त्री थापासँग गरेको कुराकानीको सम्पादित अंश :
मुलुक आमनिर्वाचनतर्फ अग्रसर हुँदै गर्दा नेपाली कांग्रेस भने विशेष महाधिवेशन गर्दैछ ? यसबाट पार्टी विभाजनको संघारमा पुगेको विषयमा कांग्रेसका नेता कार्यकर्ताहरुमा निकै चिन्ता देखिएको छ नि ? किन महामन्त्रीहरुले यो बाटो रोज्नु भयो ?
यो विषयमा धेरै जिज्ञासा आएका छन् । कतै पार्टी फुट्ने पो हो कि भन्ने जिज्ञासा विभिन्न एङ्गलहरूबाट आइराखेका छन् । पार्टी विभाजन गर्न विशेष महाधिवेशन गरिरहेको होइन । यो पार्टीका साथीहरू, समर्थक, शुभेच्छुक, आमनागरिकहरू, पाठकहरू सबैको बीचमा यो कुरा प्रष्ट पार्न चाहन्छु । यो अभियान लिएर हामी डेढ दुई वर्षदेखि हिँडेका छौँ ।
म आज एउटा कुरा स्पष्ट गर्न चाहन्छु । विशेष महाधिवेशन यो पार्टीको आन्तरिक जीवनसँग जोडिएको कुरा हो । पार्टीको जीवन र बाहिरको जीवनसँग जोडिएको कुरा हो । पार्टीको हरेक बैठकमा पार्टी रुपान्तरणको कुरा उठाउँदै आएको छु । पार्टी अहिले संवेदनशील घडीमा छ । यस्तो संवेदनशील घडीमा अधिवेशन गर्नु हुँदैन भन्ने कुरामा मैले असहमति राखेँे । यस्तो संवेदनशील घडी भएकोले नै विशेष अधिवेशन गर्नु परेको हो । यस्तो संवेदनशील घडी नभएको भए यो अधिवेशन गर्नु पर्दैन थियो । अहिले पार्टीभित्र विशेष अधिवेशन र नियमित अधिवेशन भनेर पार्टीभित्र शक्ति सङ्घर्ष चलेको छ ।
मैले नवजवान साथीहरूसँग कुरा गर्दाखेरि, जसलाई पार्टी राजनीतिको बारेमा एकदम कम चासो छ वा रुचि छैन, उनीहरूलाई नेपाली कांग्रेसमा अहिले भइरहेको कुरालाई कसरी हेर्छन् होला । कतिपय साथीहरुलाई लाग्न सक्छ, युवा साथीहरूले पनि भन्न सक्छन्, यो तपाईँहरू पार्टीभित्रको लडाईं हो, शक्ति सङ्घर्ष हो, को सभापति हुने, को नहुने भन्ने ढङ्गले हेरेको पनि मैले पाएँ । तर यो अधिवेशन शक्ति संघर्ष वा सभापति को बन्ने भन्ने विषय होइन । अब नियमित अधिवेशन, विशेष अधिवेशन भनेर विवाद गर्नुपर्ने समय होइन किनभने यो अहिलेको परिस्थितिले ल्याएको अवस्था हो । यो कुरा हामीले अलिकति बुझाउन पनि सकेनौं भन्ने लाग्छ । मैले औपचारिक, अनौपचारिक सबै ठाउँमा यो कुरा भन्दै आएको छु कि भाद्र २२ गते र भाद्र २५ गतेको नेपाल एउटै होइन । भाद्र २२ गते एउटा परिस्थिति थियो, एउटा मनस्थिति थियो । त्यो परिस्थिति अनुसार नेपाली काँग्रेस पार्टीभित्रको म महामन्त्री थिएँ, मेरो आफ्नो सभापतिसगँको आफ्नो सहमति थियो, सहकार्य थियो, सबै कुरा थियो । तर, परिस्थिति अनुसारको मनस्थिति के थियो भने, पार्टीभित्रै कुरा गर्दाखेरि अब एक वर्षपछि मात्र अधिवेशन गर्ने भन्ने थियो ।
हाम्रो पार्टीको आन्तरिक जीवनमा त्यही नै कुरा राखिएको, त्यसै नै सोचेको थियो । त्यो परिस्थिति त्यही थियो । तर २३ र २४ गतेको उथलपुथलले समय बदलियो । भाद्र २३ गते र अर्को २४ गते एउटा घटना भयो । त्यसभित्रका अनेक विषयहरु छन् । ती कुराहरूको बारेमा पछि छानविन होला । अन्य विषयहरु पछि थाहा होला । तर विशेष महाधिवेशन फरक परिस्थितिमा आएको भनेर सबैले बुझ्न जरुरी छ ।
जेनजी आन्दोलन पछिको अहिलेको यो कठिन अवस्थामा किन तपाईंहरुले विशेष महाधिवेशन गर्नुपर्ने अवस्था बन्यो, स्पष्ट पार्नु हुन्छ कि ?
भदौ २३ र २४ गतेको नेपाल र त्यस पछिको अवस्था फरक स्थिति हो । भदौ २३ गतेको अवस्थालाई हामीले ध्यान दिनुपर्छ । त्यस भित्रको मर्म, त्यसभित्र व्यक्त भएको भावलाई बुझ्न आवश्यक छ । भदौ २४ गते भएको विद्रोहले संसद् पनि उडाइदियो, सरकार पनि बदलिदियो, पार्टीहरूमा आक्रमण भए । तर त्योभन्दा पनि ठुलो कुरा नेपालको डेमोक्रेसीको इमेजिनेसनले नसोचेको कुरा भयो । हाम्रो राजनीतिक अधिकार खोसियो, अधिकार खोसिएपछि त्यसको पुनस्र्थापनालाई हामीले कुरा उठाएका छौँ । यो अवस्था हामीले अहिलेसम्म भोग्दै नभोगेको भिन्न अवस्था हो । हामीले सोच्दै नसोचेको अवस्थामा देश पुग्यो । अहिलेको अवस्था बिल्कुलै फरक हो । हामीले सोचेभन्दा फरक अवस्थामा देश पुग्यो । म के भन्छु भने यो एक प्रकारको ट्रस्टको कोल्याप्स (विश्वासको संकट) हो ।
दलप्रतिको अविश्वास, नेताहरूप्रतिको अविश्वास, संस्थाप्रतिको अविश्वास, संसद्प्रतिको, सबै प्रतिको विश्वासको संकट हो । यो सानो घटना होइन । यत्रो कुरा भइसकेपछि केही पनि नभएको जस्तो वा जे थियो त्यही भएको जस्तो हिँड्ने अवस्था होइन । हामीसँग त्यस्तो सुविधा छैन । केही पनि भएको होइन भनेर हामी पुरानै अवस्थामा रहने अहिलेको बेला होइन । हामीसँग त्यो सुविधा पनि थियो । तर त्यो छनौटमा हामी पुग्न सक्दैनौं । अब त्यो बाटो हिँड्न उचित हुँदैन थियो । २३ र २४ गते केही भएको होइन । भदौ २३ र २४ गते भन्दा अगाडि त हाम्रो सरकार थियो । हामी ठूलो पार्टी थियौं ।
अबको अगाडिको यात्रामा देश र जनतालाई नेपाली कांग्रेस पार्टीले त बताउनु प¥यो नि ! त्यो बेलामा के गलत भयो वा के गलत बुझियो ? अहिले के नयाँ कुरा भयो ? अब हामी के नयाँ कुरा गर्छौँ ? यो चाहिँ केन्द्रीय समितिको हामी चार पाँचजना बसेर बैठक गरेर हुँदैन । एउटा परिपत्र बनाएर हुँदैन, निर्णय गरेर हुँदैन । यसलाई व्यापक रूपमा हेर्नुपर्छ । अब को नेतृत्वमा आउने भन्ने कुरा सेकेन्डरी कुरा हो । प्राइमरी कुरा भनेको हामी तयार भयौँ कि भएनौँ भन्ने हो । त्यो कुरा एक्सेप्ट (स्वीकार) गर्न हामी तयार हुनुपर्छ । यो नै अधिवेशनसँग जोडिएको विषय हो ।
त्यसो भए विशेष अधिवेशनले पार्टीलाई नयाँ बाटो र नीतिगत तहमा नयाँ रुपमा लिएर जान्छ भन्ने आधार के हो त ?
हो, हामी नयाँ रुप र अवस्थाबाट जानका लागि नै यो विशेष अधिवेशनमा जान लागेको हो । अहिलेको अवस्थामा नेकपा एमालेले पनि अधिवेशन ग¥यो । एमालेको अधिवेशनले गरेको निर्णय अहिलेको परिवर्तनलाई असहमत हुने गरी भयो । एमालेको अधिवेशनले देश बाइस गते पनि ठीक थियो । तेइस र चौबिस गते गलत भयो, हामी गलत भएको होइन, अहिले पनि हामी सही छौं भन्ने छ तर अवस्था चाहिँ फरक हो । एमालेले त्यही निर्णय ग¥यो, त्यो उसको बाटो थियो ।
तर हामी राजनीतिक हिसाबले चाहिँ त्यो बाटो होइन भन्ने कुरामा सहमत हुनुपर्छ । हाम्रो पार्टीको अघिल्ला निर्णयहरुमा त्यसो भएको पनि छ । तर हाम्रो व्यवहारले चाहिँ कुन बाटो हो त भन्ने स्पष्ट हुन सकेन, त्यस कारणले गर्दा विशेष अधिवेशन गर्नु परेको हो । त्यसैले पार्टीसँग सरोकार नभएको भए पनि हिजोको जेनजी मुभमेन्टमा जोडिएको विषयलाई हामीले गम्भीर रुपमा हेर्नुपर्छ ।
अब तपाईंहरुले आयोजना गर्दै गरेको विशेष महाधिवेशनको बारेमा स्पष्ट पारिदिनुस् न त ?
हाम्रो विशेष महाधिवेशन अगाडि बढिसकेको छ । हाम्रो २७ र २८ गते कार्यक्रम हुन्छ । त्यो कसरी टुंगिन्छ भन्ने हाउसले जे भन्छ, त्यसको आधारमा टुंगिएला । तर अहिले भइरहेको यो प्रयत्नलाई भने तपाईंले के भनिदिनु पर्छ भने यो प्रयत्न विशेष अवस्थाबाट सिर्जित भएको अवस्था हो । यो नेपाली कांग्रेस भित्रको सामान्य शक्ति सघंर्षको विषय होइन, यो सभापति र महामन्त्री बीचको लडाईं होइन । यो को सभापति बन्ने हो भन्ने लडाईं पनि होइन । यो पार्टी के हो ? पार्टी र समाजको सम्बन्ध के हो ? पार्टी र नागरिकको बीचको सम्बन्ध के हो ? पार्टीले देशलाई कसरी हेर्नुपर्छ ? यो एउटा विचारहरूको विषयको लडाईं पनि हो । हामी अहिले जो अधिवेशन हुनुपर्छ, अधिवेशनमा छलफल हुनुपर्छ, नेता नेतृत्व सबै परिवर्तन हुनुपर्छ, नीति परिवर्तन हुनुपर्छ भनिरहेका छौं । त्यो कहाँ जाला, कसरी जाला, त्यो सेकेन्डरी कुरा, प्राइमरी कुरा कम्तीमा हाम्रो आफ्नो कर्म जुन गरिरहेका छौँ, यो कर्म गर्ने भनेको हामीले एकचोटि देशसँग एकपटक संवाद गर्नुपर्छ ।
हामीले गरेको गल्ती कमजोरी स्वीकार्नुपर्छ । हामीले आफूलाई बदल्नु पर्छ । बटमलाइन भनेको कांग्रेस आफू नबदलिने, देश बदल्ने भनेर सम्भव छैन । पहिला आफू बदलिनु पर्छ भन्ने कुरा हो । २७ गते भृकुटीमण्डपमा भइरहेको छलफल विशेष अवस्था हो । यो राजनीतिक विषय हो । यसपछिको विषय विधानसँग जोडिएको विषय हो । जसका बारेमा मैले पार्टीको केन्द्रीय समितिको बैठकमा त्यही कुरा राखेर आएको छु । जस्तो उहाँहरू विशेषमा अधिवेशनको मागकर्ता हुन्, उहाँ सबै होइन, उहाँहरू मागकर्ता हुँदै गर्दाखेरि त नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति भित्रको म एउटा जिम्मेवार पदाधिकारी पनि हो । एउटा बंैकमा, एउटा सहकारीमा पनि, एउटा विद्यालयमा पनि जहाँ मेम्बरशिप हुन्छन्, हामीले वार्षिक बैठकहरू व्यवस्था गरेका हुन्छौँ, त्यहाँ चाहिँ एक्जीक्युटिभले बैठक बोलाएन भने त्यहाँको केही प्रतिशत सदस्यहरूले बैठक बोलाउन पाउने वा आह्वान गर्न पाउने वा माग गर्न पाउने सबै ठाउँमा यो वैधानिक व्यवस्था गरिएको हुन्छ । हाम्रो पार्टीमा पनि छ ।
हामीकहाँ केन्द्रीय समितिको बैठक भएन भने पनि केन्द्रीय समितिको बैठक माग गर्न पाइन्छ, केही सदस्यहरू मिलेर बोलाइन्छ । तर महाधिवेशन चाहिँ एकदम ठूलो कुरा भएको हुनाले भनेर चालिस पर्सेन्ट भनेको हो । त्यसैले चालिस पर्सेन्ट महाधिवेशन प्रतिनिधिले एक ठाउँ जम्मा भएपछि केन्द्र बाध्य हुनुपर्छ । वैधानिक छलफलमा प्रश्न के आयो भने, केन्द्रले त बैठक अरूले बोलाउन पाइन्न भनेको छ नि ? त्यो केन्द्रले बाहेक अरूले बोलाउन पाइँदैन भनेको कुरा उहाँहरूले के आधार भन्नु भएको हो ? चालिस पर्सेन्टले आफ्नो वैधानिक अधिकार प्रयोग गरेर मागिसकेपछि बोलाउँदिनँ भन्ने कुरा त कल्पनै गरिएको छैन । अब पर्सी चुनाव भयो, चुनाव भइसकेपछि प्रधानमन्त्री सुशीला कार्कीले संसद्को बैठक राख्नलाई उहाँले निर्णय गरेर भन्नुपर्छ भनेर प्रधानमन्त्री सुशीला कार्कीले संसद्को बैठक बोलाइदिनु भएन, के गर्ने भनेकै छैन ।
हामीकहाँ पनि अब त्यो विधानमा यसरी लेखेको छ कि चालिस पर्सेन्टले मागेपछि त्यो दिनै प¥यो । नदिए के गर्ने भन्ने लेखेकै छैन । अब कहाँ गएर टुंगिन्छ यो अधिवेशन ? यो हाउसको जिम्मेवारीको कुरा भयो किनकि केन्द्रीय कार्यसमितिले बोलाएको भए केन्द्रीय कार्यसमितिले एउटा कार्यक्रम बनाउँथ्यो, त्यहाँ एजेन्डा तयार गथ्र्यो, त्यो एजेन्डामा त्यहाँ छलफल हुन्थ्यो । त्यो एजेन्डाभन्दा बाहिर पनि हाउसले भन्न पाउँथ्यो । म यो एजेन्डाभन्दा बाहिर जान्छु अथवा हाउसको यो बहुमतको कुरा हुन्थ्यो । अब कम्प्लिट्ली यो कुरा हाउसमा रह्यो, उसको हकको कुरा, उसले आफ्नो हक मागेको कुरा हो । त्यसकारण अहिलेको अवस्था फरक हो । यो महामन्त्रीको रूपमा हाम्रो एउटा लिगल ड्युटी पनि हो । पार्टीको विधानको, त्यसभित्रको कार्यान्वयन गर्ने निकायको रूपमा जानुपर्छ भन्ने हिसाबले यो वैधानिक विषय बन्यो ।
यो विशेष महाधिवेशन कसरी अघि बढ्छ त ? यसको बारेमा थप कुरा स्पष्ट गर्नु हुन्छ कि ?
यो वैधानिक विषय पनि हो । पार्टीको सोभरेन्टी कोसँग हुन्छ ? पार्टीभित्र । आखिर त पार्टीको हामी सभापति, महामन्त्री भनेको त पार्टी भित्रको जिम्मेवारी वहन गर्न बसेको न हो ! हामी आफैंमा सार्वभौम भएर हामीले जे निर्णय गरे पनि हुँदैन । मलाई मन लागेन भन्न पाइँदैन । पार्टीभित्र नेताभन्दा सदस्य बलियो हुनुपर्छ, सदस्यभन्दा नागरिक बलियो हुनुपर्छ । सिम्पल यही त हो ! यसको होल प्रोसेस भनेको बलियो पार्टी नै हो । जुन हामी नेताराज भनेर भन्छौं, अहिले भएको त्यही हो ।
तीनजना नेता अस्ति बस्नुभो, तीनजना नेता बसिसकेपछि एकैपल्ट के निर्णय गर्नुभो भने देश र संविधान जोगाउन राष्ट्रिय सभामा मिल्नुपर्छ । हाम्रो पोलिटिक्स पछिल्लो समयमा पाँच सात वर्षभित्रमा दुईटा तीनटा नेता बसेर निर्णय गरेर गठबन्धन बनेको छ, भत्केको छ । यो आज अहिले मात्रै भएको होइन । यो कुरा हामीले स्वीकार गर्नु भनेको सबै कुरालाई हिजोकै जस्तो स्वीकार गर्नु हो । मैले त्यसलाई स्वीकार गर्न सक्ने अवस्था भएन । मैले त्यो पार्लियामेन्टमै उभिएर भनेको छु । कांग्रेस र एमाले मिलेर सरकार बनेको कुरा मैले पनि मिडियाबाट थाहा पाएको हो ।
समाचार हेरर पढेर थाहा पाएको हो । मलाई पनि कांग्रेस एमाले गठबन्धनको विषयमा पत्रकार साथीहरूले सोधेपछि थाहा पाएँ । त्यसपछि सभापतिलाई सोधेँ, ‘पार्टी तपाईँको प्राइभेट कम्पनी हो ? तपाईंले यसरी निर्णय गर्न पाउनुहुन्छ ?’ उहाँले भइहाल्यो भाइ, यस्तो अरू चोटी हुँदैन भन्नुभयो । हामीले बिस्तारै त्यसलाई मान्दै गयौँ, अरू चोटी हुँदैन भन्ने ठान्यौँ । पार्टीको जिम्मेवारी लिँदै गएपछि अथोरिटी मसँग छ, सोभरेन्टी मसँग छ, मैले जे निर्णय गरे हुन्छ भन्ने कुराले हाम्रो पार्टीमा मात्र होइन, अरू पार्टीमा पनि कार्यकर्ता कमजोर भए, सदस्य कमजोर भए, पार्टीको सदस्य कमजोर हुँदै गर्दा पार्टी कमजोर भयो, नागरिकसँग सम्पर्क कमजोर भयो । यसपालिको हाम्रो भएको बहस पनि यही हो । त्यसैले यो दोस्रो विशेष अधिवेशन कि नियमित अधिवेशन भन्ने झगडा गरिरहेका छन् भन्ने कुरा होइन । पार्टीहरू, राजनीतिक दलहरू भनेका सार्वजनिक संस्था हुन् । यसमा सबै बलियो हुनुपर्छ ।
सदस्य बलियो भए दल प्रभावकारी हुन्छ भन्ने नै हो । यो ब्याटल अफ आइडियाज् हो । यो अहिले दुइटा आइडियामा ब्याटल चलिराखेको छ । एउटा आइडिया भदौ तेइस र चौबिसको दृष्टिकोण अनि अर्को आइडिया भनेको त्यो पार्टी के हो भन्ने बारेको ब्याटल अफ आइडियाज्को हो । यसमा कांग्रेसभित्र चलिरहेको बहस पनि हो । यसले भोलि अरू पार्टीलाई पनि प्रभावित गर्छ । नयाँ आउने पार्टीलाई पनि प्रभावित गर्ला । किनभने अरू कति त नयाँ पार्टीहरू बल्ल बन्दैछन् । हाम्रो त बनेको पार्टी भित्रको लडाईं हो । यो सजिलो बाटो छैन, उठाएको जोखिम हो ।
हामी एउटा सीमाभित्र, मर्यादाभित्र बसेर राजनीतिक संघर्ष अगाडि बढाउन चाहन्छौँ । हामीले साथीहरूलाई पनि आह्वान गरेका छौँ, कि यो पुस २७ र २८ गते हुने अधिवेशन कुनै व्यक्तिगत लडाईं होइन, अरू पार्टीसँग त गर्नुहुन्न भनेर आफ्नै पार्टीभित्र, आफ्नै घरभित्र हाम्रा कुरा राख्दा हाम्रो पार्टीमा सैद्धान्तिक बहसको विषय हो ।
यसमा हामी व्यक्तिगत गाली गलौजको विषय होइन । कुनै पनि विवाद र द्वन्द्व नहोस् भन्ने कुरामा हामी सचेत छौँ । यो पार्टी भित्रको कुरा हो । सभापतिविरुद्ध पनि होइन । कसैका विरुद्धमा पनि होइन । हामी राजनीतिक लडाईं लड्ने हो । त्यसलाई राजनीतिक हिसाबले नै टुङ्गोमा पु¥याउनु पर्छ भन्नेमा हामी सजग छौँ । त्यो हलले जे भन्छ, त्यही कुरामा निर्भर हुन्छ । सबै कुरा एउटा मर्यादाभित्र बसेर गर्नुपर्छ । यो कुरालाई सबै साथीहरूले बुझिदिनुपर्छ । हामी एउटै पार्टी भित्रको एउटा खालको अभियानमा पनि छौँ भन्ने कुरालाई पनि बुझिदिनुपर्छ ।
तपाईहरुको यो अभियानले पार्टी फुट्न सक्छ । पार्टी कतै भोलि विभाजनको रेखातिर जान सक्छ भन्ने कुरा पनि व्यापक रुपमा उठेको छ नि ?
पार्टीको विधान पालना गर्दाखेरी पार्टी फुट्छ भन्ने अभिव्यक्ति नै आफैँमा बद्नियतपूर्ण छ । पार्टी कसरी फुट्छ ? त्यो अभिव्यक्ति नै बद्नियतपूर्ण छ । अहिले के गरिएको छ, पार्टीको जिम्मेवार साथीले पनि पार्टी फुट्छ भनेको सुनेँ । त्यो हुन सक्दैन । पार्टीका सिनियर साथीहरुको चिन्ता र चासोप्रति हामी गम्भीर छौँ ।
देशभरिको महाधिवेशन प्रतिनिधि साथीहरूलाई नेताहरूले अहिले कार्यविभाजन गरेर फोन गरिरहनुभएको छ । तपाईं नआउनुहोस्, पार्टी विभाजन हुन्छ । पहिला पनि पार्टी विभाजन हुन्छ, सिग्नेचर नगर्नुहोस्, चालीस पर्सेन्ट नपु¥याउने भन्नेमा हल्ला चल्यो । अब अहिले पचास पर्सेन्ट नदिने भन्नेमा चलिराखेको छ । साथीहरूको विवेकमाथि विश्वास गर्ने हो । हामीले कसैलाई जबरजस्ती तपाईं आउनुपर्छ भनेका छैनौं । हामीले त खुला आह्वान गरिरहेका छौँ, तपाईं आउनुहोस् । उहाँहरुले तपाईं नआउनुहोस् भनेर भनिराख्नु भएको तर लाइन लागेर टेलिफोन गर्ने, कतिपय ठाउँमा मुख्यमन्त्रीहरूले पनि फोन गर्नु भएको छ ।
किन नआउनु भन्ने ? विधानसम्मत छैन भन्न मिलेन । अनि पार्टी फुट्न लाग्यो, पार्टी फुट्छ भन्ने हल्ला चलाइएको छ । त्यसैले यसको बारेमा प्रतिक्रिया दिने कुरा पनि गलत हुन्छ भनेर मैले त्यसरी नबोलेको हो । यो पार्टीको आन्तरिक जीवनमा भएको संघर्ष हो । अहिलेको अवस्था भनेको को सभापति हुने, को महामन्त्री हुने लडाईं होइन । मुलुकमा विकसित भएको भदौ २३ र २४ गतेको घटनापछि पार्टीलाई कसरी नागरिक तहमा लिएर जाने भन्ने लडाईं हो । पार्टी विभाजन हुन्छ र फुट्छ भन्ने कुरा हुन सक्दैन ।