नेभिगेशन
मनोरञ्जन

कन्सर्टअर्थात पैसा छाप्ने मेसिन

सन् २०२४ मा चर्चित पप स्टार टेलर स्विफ्टको ‘द एराज’ टुरको अन्तिम गन्तव्य क्यानाडा थियो । यो संगीत उद्योगको इतिहासमै अहिलेसम्मकै सबैभन्दा बढी नाफा कमाउने म्युजिक टुर बन्यो ।

टेलर स्विफ्टको यो मेगा टुर दुई वर्षसम्म चल्यो, जसमा उनले पाँच महादेशका विभिन्न देशहरूमा १४९ वटा लाइभ म्युजिक कन्सर्टहरू गरिन् । यस टुरले दुई अर्ब डलर भन्दा बढी कमाई गर्‍यो । यसअघिका कुनै पनि मेगा टुरको कमाई यसको आधा पनि थिएन । टेलर स्वीफ्टले संगीत उद्योगमा एउटा नयाँ कीर्तिमान स्थापित गरेकी छन् ।

यसको नौ महिनापछि पप ब्यान्ड कोल्डप्लेले आफ्नो ‘म्युजिक अफ द स्फियर्स’ वल्र्ड टुरको अर्को चरण पूरा गर्‍यो । कोल्डप्लेको यो मेगा टुरले अहिलेसम्म १.५ अर्ब डलरभन्दा बढी कमाइसकेको छ । प्रश्न उठ्छ, म्युजिक मेगा टुरहरू कसरी यति भारी नाफाको स्रोत बने ?

ठूलो फ्यान बेस

म्युजिक ब्यान्डहरूले आफ्नो फ्यान बेस कसरी बढाइरहेका छन् भन्ने बुझ्न दक्षिण कोरियाली संगीत शैली के–पपका कलाकारहरूको प्रयास हेर्नु जरुरी छ ।

के–पप कोरियाली र पश्चिमी संगीत शैलीको मिश्रण हो, जसमा जोसिलो बिट्स र आकर्षक डान्स हुन्छ । सोलस्थित म्युजिक डिस्ट्रिब्युसन कम्पनी ’रुट नोट्स’ का एसिया प्रमुख केभिन किमका अनुसार, कोरियाली कलाकारहरू सधैं अनलाइन रहन्छन् र युट्युबमार्फत फ्यानसँग जोडिइरहन्छन् । धेरै कलाकारहरू ’बबल’जस्ता एपमार्फत फ्यानसँग सिधै च्याट गर्छन् ।

केभिन भन्छन्, ‘यस्ता एपका कारण उनीहरूलाई आफ्ना फ्यानहरू कुन क्षेत्रमा बढी छन् भन्ने थाहा हुन्छ र सोही आधारमा टुर र कार्यक्रमहरूको घोषणा गरिन्छ ।’ कन्सर्टको माहोललाई रंगीन बनाउन फ्यानहरू ’लाइट स्टिक’ बोकेर आउँछन् । यो लाइट स्टिक निकै एडभान्स प्रविधिबाट बनेको हुन्छ, जसको रंग र रोशनी कन्सर्ट आयोजकले संगीतको तालसँगै परिवर्तन गरिदिन्छन् । यसले दर्शकलाई आफू पनि संगीतको एक हिस्सा भएको महसुस गराउँछ । यसबाहेक ब्यान्डका पोस्टर, टी–शर्ट र की–चेन जस्ता सामग्री (मर्चेन्डाइज) को बिक्रीबाट पनि ठूलो आम्दानी हुन्छ ।

डिजिटल परिवर्तन

पहिले कलाकारहरू आफ्नो नयाँ एल्बम वा सीडीको प्रवद्र्धन गर्न टुर गर्थे । तर अहिले डिजिटल प्रविधिको विकास र इन्टरनेटमा निःशुल्क वा अवैध रूपमा गीत डाउनलोड हुने क्रम बढेपछि संगीत उद्योगको समीकरण बदलिएको छ । मियामी विश्वविद्यालयकी प्रोफेसर सेरोना एल्टन भन्छिन्, ‘जब रेकर्डको बिक्री घट्न थाल्यो, कलाकारहरूले कन्सर्ट टुरबाट पैसा कमाउने विकल्प रोजे ।’

कन्सर्ट अहिले केवल गीत गाउने ठाउँ मात्र रहेन, यो एक भव्य ‘मास्टरपिस’ बनेको छ । विशाल स्टेडियममा पछाडि बस्ने दर्शकले पनि कलाकारलाई स्पष्ट देख्न सकून् भनेर ठूला भिडियो स्क्रिन, अत्याधुनिक लाइट र साउन्ड सिस्टम प्रयोग गरिन्छ । यति ठूलो व्यवस्थापन एक ठाउँबाट अर्को ठाउँ लैजान महँगो भए पनि यसले दिने प्रतिफल निकै ठूलो हुन्छ ।

टुरको विशिष्टता

न्यू कासल विश्वविद्यालयका एडम बेहरका अनुसार, डिजिटल युगमा गीतहरूको अनलाइन स्ट्रिमिङ असीमित भए पनि कन्सर्टको टिकट सीमित हुन्छ । लाइभ म्युजिकको अनुभव ‘एक्सक्लुसिभ’ हुने भएकाले मानिसहरू यसका लागि महँगो शुल्क तिर्न तयार हुन्छन् । स्पोटिफाईजस्ता प्लेटफर्मबाट कुन सहरमा कति श्रोता छन् भन्ने थाहा पाउन सजिलो भएको छ, जसले टुरको स्थान तय गर्न मद्दत गर्छ ।

घुम्ती अर्थतन्त्र

म्युजिक जर्नालिस्ट पपी रिडका अनुसार, यस्ता मेगा टुरहरूले स्थानीय अर्थतन्त्रलाई पनि ठूलो टेवा पुर्‍याउँछन् । कलाकार र उनको ठूलो टिम जुन सहरमा बस्छन्, त्यहाँका होटल, रेस्टुरेन्ट र यातायात क्षेत्रले ठूलो आम्दानी गर्छन् । टेलर स्विफ्ट र कोल्डप्ले जस्ता ब्यान्डलाई आफ्नो देशमा बोलाउन क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्यूडो र ब्राजिलका राष्ट्रपति लुलाजस्ता नेताहरूले समेत अपिल गरेका थिए ।

टुर सकिएपछि पनि कमाई रोकिँदैन । टेलर स्विफ्टले आफ्नो टुरमा आधारित डकुमेन्ट्री बनाएर डिज्नी प्लससँग सहकार्य गरिन्, जुन आम्दानीको अर्को स्रोत बन्यो । सन् २०२४ मा उनको कन्सर्टको १५ करोड टिकट बिक्री भएको थियो । फ्यानहरू एउटै कलाकारको कन्सर्ट पटक–पटक हेर्न समेत तयार हुन्छन् ।

डिजिटल प्रविधिले संगीत सुन्ने तरिका बदले पनि लाइभ कन्सर्टको जादु र कलाकारसँग प्रत्यक्ष जोडिने चाहनाले नै यी मेगा टुरहरूलाई आजको समयमा ‘पैसा छाप्ने मेसिन’ बनाइदिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
यमले ल्याए एक साथ तीन गीत

यमले ल्याए एक साथ तीन गीत

विजयको दोस्रो इनिङ

विजयको दोस्रो इनिङ