कृषि विकास बैंक ५९औं वर्षमा प्रवेश गरेको छ । सरकारी स्वामित्वको यो बैंकको नेतृत्व तीन वर्षदेखि अनुभवी बैंकर गोविन्द गुरुङले गरिरहेका छन् । म्यानमारको म्यानमार सिटिजन्स बैंकको प्रमुख कार्यकारी एवं विभिन्न स्वदेशी निजी बैंकको नेतृत्व गरेको अनुभवबाट गुरुङले सरकारी बैंकलाई अन्य वाणिज्य बैंकको तुलनामा अब्बल बनाउने दिशामा अघि बढाइरहेका छन् । स्वदेशी एवं विदेशी बैंकमा २६ वर्ष काम गरेर कृषि विकास बैंकमा प्रवेश गरेका उनकै कुशल नेतृत्वका कारण बैंकका वित्तीय सूचकहरू तीन वर्षअघिको तुलनामा निकै बलिया देखिन्छन् । हिमालयन बैंकबाट करियर सुरु गरेका गुरुङले नेपाल कमर्स क्याम्पसबाट व्यवस्थापन विषयमा प्रथम श्रेणीमा एमबीए गरेका छन् । बैंकले हाल संस्थागत सुशासनतर्फ पनि फड्को मारिरहेको छ । स्थापनाको ५८ वर्ष पार गर्दा बैंकले लिएका नीति, कर्जा परिचालनको अवस्था, खराब कर्जाको स्थिति र आगामी योजनामा केन्द्रित रहेर बैंकका सीईओ गुरुङसँग न्यूज२४ दैनिकका प्रधान सम्पादक नवराज चालिसेले गरेको कुराकानीको सम्पादित अंश :
लामो समय निजी क्षेत्रका बैंकहरूको नेतृत्व गर्नुभयो, अहिले सरकारी स्वामित्वको कृषि विकास बैंकको पनि सफलतापूर्वक नेतृत्व गरिरहनुभएको छ । ६ दशकको इतिहास बोकेको बैंकको स्थापना दिवसको अवसरमा यहाँको सन्देश के छ ?
कृषि विकास बैंक गौरवमय इतिहास बोकेको बैंक हो । २०२४ सालमा स्थापना भएदेखि नै यस बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका किसान दाजुभाइ तथा दिदीबहिनीहरू र कृषि उद्यमीहरूलाई लक्षित गर्दै कृषि कर्जा, वित्तीय साक्षरता तथा वित्तीय पहुँच विस्तारमा निरन्तर योगदान गर्दै आएको छ । नेपालमा कृषि क्षेत्रको उत्थान र कृषक तथा कृषि उद्यमीहरूको जीवनस्तर उकास्ने दिशामा बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
आज यस बैंकको ५९औं वार्षिकोत्सवको सुखद् अवसरमा सम्पूर्ण कृषक, कृषि उद्यमी दाजुभाइ तथा दिदीबहिनीहरू, बचतकर्ता, ऋणी, सबै क्षेत्रका ग्राहक, नियमनकारी निकायहरू, नेपाल सरकार, कृषि विकास बैंकसँग आबद्ध सम्बन्धित मन्त्रालय तथा विभागहरू, नियामक नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
कृषि विकास बैंकलाई आजको यस अवस्थासम्म पुर्याउन यहाँहरूले गर्नुभएको सहयोगप्रति आभार व्यक्त गर्दै सहयोगको निरन्तरताको अपेक्षा गर्दछु। साथै, कृषि विकास बैंकले पनि एक जिम्मेवार संस्थागत नागरिक तथा बैंक तथा वित्तीय संस्थाको हैसियतले निर्वाह गर्नुपर्ने सम्पूर्ण दायित्व इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
बैंकको निष्क्रिय कर्जाको अवस्था कस्तो छ ? निष्क्रिय कर्जा व्यवस्थापन गर्न बैंकले के–कस्ता उपाय अपनाइरहेको छ ?
हालको अवस्थामा निष्क्रिय कर्जा अर्थात् खराब कर्जाको अवस्था निकै चुनौतीपूर्ण छ । विशेष गरी विगत तीन–चार वर्षदेखि देखिएको पोस्ट–कोभिड प्रभावका कारण नेपालको अर्थतन्त्र प्रायः मन्दीको अवस्थामा गएको छ । यसले सबै क्षेत्रमा असर पारेको छ । त्यसको प्रत्यक्ष प्रभाव व्यावसायिक र औद्योगिक क्षेत्रमा देखिन गएको छ । जब यी क्षेत्र प्रभावित हुन्छन्, त्यसको असर स्वाभाविक रूपमा बैंकिङ क्षेत्रमा पनि पर्ने गर्छ । यसै कारणले गर्दा निष्क्रिय कर्जा बढ्दो अवस्थामा छ र कर्जा असुली कार्य पनि चुनौतीपूर्ण बनेको छ ।
यद्यपि, कृषि विकास बैंकले यस अवस्थालाई व्यवस्थापन गर्न विभिन्न रणनीति योजनाहरू निर्माण गरी कार्यान्वयन गर्दै आएको छ । विशेष गरी ग्राहकसँग निरन्तर संवादमा रहँदै नेपाल राष्ट्र बैंकबाट जारी भएका नीति, निर्देशन तथा सहजीकरणका व्यवस्थाहरूको दायराभित्र रही हामीले कर्जा व्यवस्थापन गरिरहेका छौं । नेपाल राष्ट्र बैंकले विभिन्न समयमा निर्माण क्षेत्र, साना तथा मझौला किसान र विभिन्न समयका आन्दोलनका कारण समस्यामा परेका ग्राहकका लागि सहजीकरणसम्बन्धी नीति निर्देशनहरू जारी गरेको छ । ती निर्देशनहरूको पालना गर्दै बैंकले ग्राहकसँग छलफल र सहमतिको माध्यमबाट समाधान खोज्ने प्रयास गरिरहेको छ ।
जहाँ नियम र कानूनअनुसार कडाइका साथ कर्जा असुली गर्नुपर्ने अवस्था छ, त्यहाँ आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको छ । तर जहाँसम्म सम्भव छ, कानूनको सीमाभित्र रही लचकता अपनाउँदै सहजीकरणमार्फत कर्जा असुली कार्यक्रम सञ्चालन गरिएको छ । परिणामस्वरूप, गत असार मसान्तसम्म कृषि विकास बैंकको कर्जा असुली अवस्था बैंकिङ उद्योगको औसतसँग तुलना गर्दा सन्तोषजनक नै छ । अडिटअघि बैंकको खराब कर्जा करिब ३.६ प्रतिशत रहेकोमा अडिट सम्पन्न भएपछि ३.४ प्रतिशत देखिएको छ । जुन हालको बैंकिङ उद्योगको अवस्थाको तुलनामा राम्रो मानिन्छ । साथै, चालु आर्थिक वर्षको पुस मसान्तसम्मको बैंकको प्रगति सन्तोषजनक नै छ ।
अहिलेको जस्तो कठिन परिस्थितिमा एसेट म्यानेजमेन्ट कम्पनीको आवश्यकता कत्तिको महसुस भइरहेको छ ?
एसेट म्यानेजमेन्ट कम्पनीको आवश्यकता कुनै पनि चलायमान बैंक तथा वित्तीय क्षेत्र भएको ठाउँमा स्वाभाविकरूपमा हुन्छ । जहाँ कर्जा प्रवाह हुन्छ, त्यहाँ रिस्क एसेट्स र डिफल्टहरू हुने नै हुन्छन् । त्यसैले बैंकिङ व्यवसायसँगै एसेट म्यानेजमेन्ट कम्पनीको आवश्यकता सधैं रहन्छ ।
अहिलेको चुनौतीपूर्ण अवस्थामा त यसको आवश्यकता झन् टड्कारो रूपमा महसुस भएको छ । यद्यपि, सामान्य अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाहरूले खराब कर्जाबाट सिर्जित गैरबैंकिङ सम्पत्तिहरू व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनीको आवश्यकता पर्छ ।
कमर्सियल बैंकहरूको मुख्य भूमिका भनेको बिग्रिएका सम्पत्तिहरू व्यवस्थापन गरेर बस्ने होइन । त्यस्तो क्षमता छुट्टै संस्थाले विकास गर्ने विषय हो । बैंकहरूको मूल भूमिका भनेको नयाँ–नयाँ उद्यमीहरू सिर्जना गर्नु, कर्जा प्रवाह गर्नु र समग्र आर्थिक तथा जीडीपी वृद्धिमा योगदान गर्नु हो ।
जसरी बिमा बैंकहरूका लागि अपरिहार्य छ, त्यसरी नै एसेट म्यानेजमेन्ट कम्पनी पनि बैंकहरूका लागि अपरिहार्य संरचना हो । एसेट म्यानेजमेन्ट कम्पनीले बिग्रिएका कर्जाबाट सिर्जित रियल इस्टेट सम्पत्तिहरूको व्यवस्थापन मात्र होइन, त्यसबाहेक अन्य विभिन्न गैर–बैंकिङ सम्पत्तिहरूको व्यवस्थापन गर्ने व्यापक दायरा समेट्छ । त्यसकारण, अहिलेको अवस्थामा मात्र होइन, दीर्घकालीन रूपमा पनि एसेट म्यानेजमेन्ट कम्पनीको आवश्यकता अत्यन्तै महत्वपूर्ण र अपरिहार्य छ ।
अहिले बैंकहरूसँग लगानी योग्य रकम अत्यधिक छ । यस अवस्थामा कर्जा प्रवाह कसरी बढाउन सकिन्छ ? बैंकको योजना र रणनीति के छ ?
हो, लगानी योग्य रकम धेरै छ । कृषि विकास बैंकसँग मात्रै पनि ८० अर्बभन्दा बढी लगानी योग्य रकम छ । बैंकिङ इन्डस्ट्रीमा १४ सय अर्ब हाराहारी पुगिसक्यो । यो अवस्थामा कर्जा लगानी कसरी बढाउन सकिन्छ भनेर विभिन्न उपायहरू अपनाएका छौं ।
हाम्रो प्राथमिकता सधैं कृषि क्षेत्रमा छ । यस वर्षको कुल कर्जा लक्ष्यमा, हामीले असार मसान्तको तुलनामा साढे १४ प्रतिशतले कर्जा वृद्धि गर्ने लक्ष्य राखेका छौं, त्यो भनेको ३२ अर्ब जति हो । यस लक्ष्यभित्र कम्तीमा ५० प्रतिशत रकम कृषि क्षेत्रमा लगानी गर्ने योजना छ ।
कृषि क्षेत्रमा लक्षित कर्जा वितरण तीन मुख्य समूहमा केन्द्रित हुनेछ– कृषि, कृषक र कृषि उद्यमी । यसका लागि हामीले ब्याजदरमा पनि विशेष सहुलियत उपलब्ध गराएका छौं । अरू क्षेत्रको तुलनामा कृषि उद्यमीहरूले कम प्रिमियम (केवल १ प्रतिशत) मा कर्जा पाउँछन् । त्यसैगरी, बैंकको ५९औं वार्षिकोत्सवका अवसरमा किसान र कृषि उद्यमीहरूलाई नयाँ चालु पुँजी कर्जा अथवा भइरहेको कर्जामा थप चालु पुँजी माग गरेमा केवल ०.५ प्रतिशत प्रिमियम लागू गर्ने निर्णय गरेका छौं ।
हामीले ग्राहकसँग प्रत्यक्ष संवादमा जोड दिएका छौं । किसान र कृषि उद्यमीलाई घरमै गई संवाद गर्ने , उनीहरूको आवश्यकताहरू बुझ्ने, बैंकिङ साक्षरताको कार्यक्रम सञ्चालन गर्ने र उत्पादनको भौगोलिक सम्भावनाअनुसार फोकस गरेर उनीहरूलाई प्रशिक्षित गर्ने योजना छ । उदाहरणका लागि अलैंची उत्पादनमा केन्द्रित क्षेत्रका किसानलाई विशेष फोकस दिने तर किसानहरू भैंसी, बाख्रा वा अन्य पशुपालनमा पनि इच्छुक छन् भने तिनीहरूलाई पनि सहजीकरण गर्ने व्यवस्था गरेका छौं ।
देशभरका २७५ शाखा मध्ये, सहरी शाखाबाहेक, सबै शाखामा ‘फोकस इन वान, ओपन फर अल’ रणनीति अपनाइएको छ । यसमार्फत एक वर्षभित्र ५० हजार किसानसम्म पुग्ने हाम्रो लक्ष्य छ ।
कृषिबाहेक ऊर्जा (हाइड्रो, सोलार), पर्यटन र होटल उद्योग, निर्माण सामग्री र उत्पादन क्षेत्र (स्टिल, सिमेन्ट), आयात–निर्यात व्यापारमा पनि लगानी वृद्धि गर्ने योजना छ । हालको समय ब्याजदरको हिसाबले लगानीका लागि अत्यन्त उपयुक्त छ । तर, आर्थिक मन्दी, सामाजिक– राजनीतिक अवस्था र उपभोगमा कमीका कारण कन्फिडेन्स बढेको पाइँदैन । त्यसलाई सुधार्न हामी विशेष कार्यक्रमहरू सञ्चालन गर्दै छौं । यसले केवल कर्जा प्रवाहमा वृद्धि मात्र गर्ने छैन, कृषिमा विशेष लगानी बढाउने हाम्रो मुख्य लक्ष्यलाई पनि साकार बनाउनेछ ।
हाल नेपालमा कृषिमा स्टार्टअप सुरु गर्न चाहने उद्यमी वा विदेशबाट फर्किएका युवाहरूले कृषि कर्जा लिन सक्ने अवस्था के–कस्तो छ ?
अहिले हामी सबैखाले उद्यमी, व्यवसायी र कृषकलाई स्वागत गर्छौं । त्यसमा नवप्रवर्तनकर्ता (स्टार्टअप)हरू पनि पर्छन् । विशेष कार्यक्रम दक्षिण कोरियाबाट फर्किएकाहरूका लागि लक्षित छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)सँग र नेपाल सरकारबीच भएको सम्झौताअनुसार हामीले कोरियाबाट फर्किएकाहरूलाई ब्याज अनुदान कार्यक्रमअन्तर्गत निश्चित रकम सहायता प्रदान गर्छौं ।
कोरियाबाट फर्किएकाहरूले कोइकाबाट तालिम पाउँछन् । त्यो तालिम पास गरेपछि कोइकाले उनीहरूलाई सिफारिस गर्छ । हामी हाम्रो कर्जाको मापदण्डअनुसार उपयुक्त ठहरिएपछि उनीहरूलाई कर्जा प्रदान गर्छौं । यस कर्जामा ५ प्रतिशतसम्मको ब्याज अनुदान सुविधा उपलब्ध छ ।
आजको मितिमा हाम्रो आधार दर ५.१९ प्रतिशत छ । प्रिमियम १ प्रतिशत थपियो भने यो ६.१९ प्रतिशत पुग्छ । ६.१९ प्रतिशतमा ५ प्रतिशत ब्याज अनुदान लागू भएमा ग्राहकले तिर्नुपर्ने वास्तविक ब्याजदर केवल १.१९ प्रतिशतमात्र हुन्छ । अर्थात्, उनीहरूले ५ प्रतिशत ब्याज फिर्ता पाउँछन् र तिर्नुपर्ने वास्तविक ब्याज मात्र १.१९ प्रतिशत हुन्छ । यो सुविधा हाल कोरियाबाट फर्किएका युवाहरूका लागि मात्र छ किनभने कोरियाली सरकारले विशेष अनुदान दिएको हुनाले हामीसँग सहकार्य सम्भव भएको हो । अन्य खाडी मुलुक वा देशबाट फर्किएका व्यक्तिहरूका लागि यस्तो व्यवस्था छैन ।
त्यसैगरी हामीले बागमती प्रदेश सरकार, कोशी प्रदेश सरकार र केही स्थानीय तहहरूसँग समन्वय गरी सरकारबाट सिफारिस भएका योग्य व्यक्तिलाई २० लाख रुपैयाँसम्मको कर्जा ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराएका छौं । विश्व बैंकमार्फत एफपीपी अर्थात् ‘फरेस्ट फर प्रोस्पेरिटी’ प्रोजेक्ट सञ्चालन भइरहेको छ । यसमा नेपाल सरकारले कृषि विकास बैंकलाई ५ प्रतिशत ब्याजमा कर्जा दिएको छ । हामीले आफ्नो अपरेटिङ लागत २ प्रतिशत मात्र राखेर ग्राहकलाई ७ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँछौं । यसमा १० वर्षका अवधिका लागि ब्याजदर फिक्स्ड हुन्छ । भविष्यमा बजार ब्याजदर बढेर १३ प्रतिशत भए पनि ग्राहकका लागि ७ प्रतिशतमा मात्र लागू हुन्छ ।
भ्यालु चेन फर इन्क्लिुसिभ ट्रान्फर्मे सन अफ एग्रिकल्चर (भिटा) प्रोजेक्टमार्फत साना किसानहरूलाई १२ प्रकारका कृषि उपजका लागि कर्जा प्रदान गरिएको छ । यो प्रोजेक्ट लुम्बिनी, मधेश र बागमती प्रदेशका आठ जिल्ला समेटेर ९५ वटा शाखामार्फत सञ्चालन भइरहेको छ । फन्ड प्रोभाइडर आइफाड हो, जसले नेपाल सरकारलाई पैसा दिएको छ र सरकारमार्फत हामीलाई कर्जा उपलब्ध गराइएको छ । यसमा पनि ब्याजदर फिक्स्ड छ ।
यी प्रोजेक्टबाहेक हाम्रो बैंकले आफ्नो मापदण्डअनुसार सबै ग्राहकलाई कर्जा सुविधा उपलब्ध गराउँछ । यसमा हामीले विशेष समूह र परियोजनाहरूको साथमा काम गर्दै आएका छौं तर मूल कुरा मापदण्ड पूरा गर्नुपर्छ । हामी सबैखाले ग्राहकलाई स्वागत गर्छौं ।
अहिले कर्जाको मागको अवस्था चाहिँ कस्तो छ ?
अहिले कर्जाको मागको अत्यन्तै सुस्त छ । कुनै ठूलो माग नै छैन । जेनजी आन्दोलनअघि होटल र टुरिजम क्षेत्रबाट केही माग आउँदै थियो भने अहिले त्यहाँ माग शून्य छ । हाइड्रो क्षेत्रमा भने सामान्य प्रक्रियाअनुसार नै चलिरहेको छ । कुनै अत्यधिक घटबढ छैन, सबै कुरा नियमित गतिमा भइरहेको छ । अन्य क्षेत्रहरूको अवस्था भने लगभग शून्य छ । कृषि क्षेत्रको अवस्था पनि त्यस्तै छ ।
हालको कर्जा वृद्धि लक्ष्य गत वर्षको तुलनामा धेरै ठूलो छैन । अघिल्लो वर्ष कर्जा ७.०१ प्रतिशतले मात्र बढेको थियो । २०८२ असारमा बैंकिङ इन्डस्ट्रीको कर्जा ८.४२ प्रतिशतले मात्र बढेको थियो । कृषि विकास बैंकको हकमा अघिल्लो वर्ष हामीले १३.०२ प्रतिशतको ग्रोथ गरेका थियौं । गत वर्ष ८.४२ प्रतिशतको ग्रोथ छ । यस हिसाबले हाम्रो ग्रोथ हालको इन्डस्ट्रीको औसतसँग मेल खान्छ ।
६ महिनाको अवधिमा पनि हामी इन्डस्ट्री औसतकै स्तरमा छौं । ६ महिनामा हामीले करिब ६ अर्ब रुपैयाँको ग्रोथ गरेका छौं । यो ६ अर्बको वृद्धि इन्डस्ट्रीको औसतसँग बराबर छ । कुल मिलाएर हालको अवस्था स्थिर र औसत छ ।
तपाईंसँग नेपालको निजी बैंक र विदेशको बैंकमा समेत काम गरेको अनुभव छ । अहिले सरकारको स्वामित्व भएको बैंकमा काम गर्दै हुनुहुन्छ । यस बैंकलाई भविष्यमा सुधारेर उत्कृष्ट बनाउन तपाईंसँग कस्ता योजना छन्?
म नेपालको निजी क्षेत्र र अन्तर्राष्ट्रिय बैंकिङमा अनुभव हासिल गरेर यहाँ आएको हुँ । सरकारी बैंकको प्रक्रिया र प्रणाली बुझ्न पाएको छु। तर, नेपाली निजी र अन्तर्राष्ट्रिय बैंकमा प्राप्त अनुभवले यहाँ थप नयाँ दृष्टिकोण ल्याएको छ । त्यसैले मेरो उद्देश्य यी दुवै अनुभवको मिश्रणमार्फत बैंकको प्रगति सुनिश्चित गर्नु हो ।
बैंकको प्रगति मापन गर्दा वित्तीय सूचकांकलाई हेर्ने हो भने हाल २० वटा वाणिज्य बैंकमा हाम्रो बैंकको नाफा करिब ५ अर्ब २२ करोड रुपैयाँ छ, जुन प्राविधिक हिसाबले छैटौं स्थानमा पर्छ । प्रतिसेयर आम्दानीका आधारमा हामी चौथो स्थानमा छौं । लाभांश वितरणको हिसाबले यसपालि हामी तेस्रो स्थानमा आएका छौं, गत वर्ष चौथोमा थियौं ।
बैंकको व्यावसायिक आकार हेर्दा, जोखिमयुक्त सम्पत्ति (रिस्क एसेट)को हिसाबले हामी ११औं वा १२औं स्थानमा छौं । यसले आम्दानीको स्रोत विविधीकरण, खर्च नियन्त्रण र व्यवसाय विविधीकरणमा महत्वपूर्ण भूमिका खेलेको स्पष्ट गर्छ ।
विगत दुई वर्षमा, हामीले ट्रेड फाइनान्स, विदेशी मुद्रा र अन्य नयाँ व्यवसायमा उल्लेखनीय सुधार गरेका छौं । यद्यपि, निर्माण क्षेत्रको व्यवसायमा अरू बैंकको जस्तै हाम्रो बैंकमा पनि कमी आएको छ ।
यसरी व्यवसाय र आम्दानीका स्रोतहरूको विविधीकरण, लिकेज नियन्त्रण, खर्च नियन्त्रण र नयाँ व्यवसाय प्रवर्धनले हाम्रो नाफामा सकारात्मक योगदान पुर्याएको छ । यस प्रगतिमा बैंकको तल्लो तहदेखि माथिल्लो तहका कर्मचारी र बोर्डसम्मको सामूहिक प्रयास रहेको छ ।
निजी क्षेत्रबाट सरकारी बैंकमा आउँदा केही चुनौतीहरू अवश्य छन् । मैले त्यसलाई समस्या नभई चुनौतीका रूपमा लिएको छु। सरकारी प्रणालीका केही पक्ष राम्रा छन् भने केहीमा साना अप्ठ्यारा चुनौती छन्, जसलाई व्यवस्थापन गर्दै अगाडि बढ्ने लक्ष्य छ । समग्रमा, बैंकको अवस्था राम्रो छ र आफ्नो अनुभवको मिश्रणले बैंकलाई अझ सशक्त र प्रतिस्पर्धी बनाउने दिशामा काम भइरहेको छ ।
यसको अर्थ बैंकको प्रगति सन्तोषजनक छ भन्ने हो?
हाम्रो बैंकको प्रगति सन्तोषजनकमात्र होइन, उत्साहजनक छ । यसपाली हामीले व्यावसायिक नाफा मात्र होइन, संस्थागत सुशासनको हिसाबले पनि उल्लेख्य प्रगति गरेका छौं । यस प्रगतिको मापन कसरी हुन्छ भने राष्ट्र बैंकको दृष्टिकोणले हामीलाई मार्गदर्शन गर्छ । हामीले राष्ट्र बैंकका सम्पूर्ण नियम, निर्देशन र अनुपालनका मापदण्डलाई आत्मसात् गर्दै अगाडि बढेका छौं ।
त्यसैसँगै, हामीले बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको अवार्ड पनि प्राप्त गरेका छौं । आईक्यानद्वारा प्रदान गरिने अवार्डमा हामीले सिल्भर क्याटगोरीको पुरस्कार प्राप्त गरेका छौं । यो पुरस्कार विशेष गरी संस्थागत सुशासन, पारदर्शिता, डिस्क्लोजर, नाफा, नोक्सान, खर्च व्यवस्थापन, जोखिम व्यवस्थापन आदिका मापदण्डमा आधारित छ ।
हामीले साधारणसभा (एजीएम) समयमा सम्पन्न गरेको भए, हामी गोल्ड पुरस्कारका लागि योग्य थियौं । पोहोर साल एजीएम पुस मसान्तमा सम्पन्न भएको थियो भने यसपालि मंसिर मसान्तमा सम्पन्न गर्यौँ । मंसिरमा एजीएम सम्पन्न गर्नु हाम्रो बैंकको इतिहासमै पहिलोपटक हो । अर्को वर्ष हामीले असोज मसान्तमै एजीएम सम्पन्न गर्ने योजना बनाएका छौं ।
समयमै एजीएम सम्पन्न गर्नु पनि कर्पोरेट गभर्नेन्सको एउटा महत्वपूर्ण पक्ष हो । यस हिसाबले हामीले रिपोर्टिङ, डिस्क्लोजर, एनुअल रिपोर्ट प्रेजेन्टेसन र नियामक निर्देशनहरूको पालनासमेतमा राम्रो प्रगति गरेका छौं ।
यस प्रगतिले बैंकलाई सबै बाह्य चुनौती र केही आन्तरिक चुनौतीहरूका बाबजुद पनि उत्कृष्ट प्रदर्शन गर्न सहयोग पुर्याएको छ । हाम्रो टिमले चुनौतीहरू पार गर्दै आफ्नै क्षमताअनुसार काम गरेको छ । साथै, नियामक निकाय, मन्त्रालय र ग्राहकको सहयोगले पनि हाम्रो उपलब्धि सम्भव भएको छ । म यो उपलब्धिमा अत्यन्त उत्साहित छु।
जेनजी आन्दोलनपछिको स्थिति अलिकति कठिन भएको हो?
जेनजी आन्दोलनपछि स्थिति अलिकति कठिन भएको देखिन्छ । आन्दोलनपछि व्यवसायी र उद्यमीहरूको आत्मविश्वासमा स्पष्ट असर परेको छ । कर्जा माग कम हुनु यसको मुख्य कारण हो । बैंकहरूको ब्याजदर कम भए पनि व्यवसायीहरूले व्यवसाय विस्तार गर्न हिम्मत गर्न सकिरहेका छैनन् । व्यवसायको भोल्युम बढाएर के हासिल हुन्छ भन्ने अनिश्चित देखिन्छ ।
यो अवस्था वित्तीय क्षेत्रमा मात्रै होइन, समग्र आर्थिक क्षेत्रलाई पनि यसले असर गरेको छ । लामो समयदेखिको राजनीतिक अस्थिरता, अन्योल र त्यसबाट सिर्जित सामाजिक असरले व्यवसायीहरूको आत्मबल घटाएको हो । जेनजी आन्दोलनको प्रभाव मात्र नभई पछिल्ला विकसित राजनीतिक घटनाक्रमले जन्माएको अस्थिरताले व्यवसायमा आत्मविश्वासलाई कमजोर बनाएको छ ।
तर, सकारात्मक पक्ष पनि छ । एसएमई (साना तथा मझौला उद्यम) क्षेत्रमा क्रमशः नवप्रवर्धन विस्तार भइरहेको छ । ऊर्जा क्षेत्रमा भने वृद्धिको सम्भावना देखिन्छ । तर, केही अन्य क्षेत्रमा भने उत्साह कम देखिन्छ । युवा वर्गको विदेश जाने प्रवृत्ति र ४०–५० लाखभन्दा बढी युवा विदेश गएकाले आन्तरिक माग कम भएको छ ।
समग्रमा, यो अवस्था केवल जेनजी आन्दोलनसँग मात्र जोडिएको छैन । यसमा लामो समयदेखिका विकसित राजनीतिक घटनाक्रम, सामाजिक अस्थिरता र त्यसबाट सिर्जित आर्थिक प्रभावहरूले पनि महत्वपूर्ण भूमिका खेलेका छन् ।