नेपालका महिला उद्यमीले भोगिरहेका मुख्य चुनौती के के हुन् ?
महिला उद्यमीका लागि समस्या धेरै छन् । सामाजिक र आर्थिक दुवै पक्षबाट उनीहरुलाई समस्या छ । सम्पत्तिमा पहुँच नभएका कारण काम गर्न कठिनाइ हुन्छ । काम गर्न पैसा चाहिँदा परिवारबाट सहयोग हुँदैन । बैंकबाट सहज रुपमा कर्जा पाउन सक्ने अवस्था छैन । सामाजिक पक्षबाट हेर्दा पनि महिलाले बाहिर काम गरे पनि घरको काम गर्नुपर्ने हुन्छ । कतिपय पुरुषले सहयोग गर्छन् तर पनि घरको सम्पूर्ण जिम्मेवारी प्रायः महिलाले मात्र सम्हाल्नुपर्छ । यसकारण उनीहरू माथि दोहोरो भार पर्छ, जुन गाह्रो र चुनौतीपूर्ण हुन्छ । कतिपय महिला त्यसलाई व्यवस्थापन गर्दै आफ्ना काम अघि बढाइरहेका छन् ।
महिला उद्यमीलाई बैंकबाट सहज रुपमा कर्जा उपलब्ध गराउन कसले कसरी सहयोग गर्नुपर्ला ?
महिला उद्यमीलाई बैंकबाट सहज रूपमा कर्जा उपलब्ध गराउन सरकार, बैंक तथा वित्तीय संस्था, स्थानीय तह, तथा विभिन्न संघ–संस्थाहरूले मिलेर सहयोग गर्न आवश्यक छ । धेरै महिला अझै पनि पूर्ण रूपमा शिक्षित नभएका कारण उनीहरूलाई व्यवसाय सञ्चालन गर्न र आर्थिक व्यवस्थापन तथा कर्जा प्रयोग गर्ने तरिकाबारे पर्याप्त ज्ञान नहुन सक्छ । त्यसैले सबैभन्दा पहिले, बैंक तथा वित्तीय संस्थाहरूले महिलामैत्री कर्जा नीति, सरल प्रक्रिया र कम धितोमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । सरकारले पनि महिला उद्यमशीलता प्रवद्र्धन गर्ने नीति, सहुलियत ब्याजदर तथा ग्यारेन्टी योजनामार्फत सहयोग गर्न सक्छ ।
यसका साथै स्थानीय तह, सहकारी संस्था तथा विभिन्न तालिम दिने संस्थाहरूले महिलालाई व्यावसायिक सीप विकास, उद्यम सञ्चालन, बजेट व्यवस्थापन तथा बजार व्यवस्थापनसम्बन्धी तालिम प्रदान गर्नुपर्छ । जब महिलालाई कर्जासँगै आवश्यक सीप, ज्ञान र मार्गदर्शन पनि दिइन्छ, तब मात्र उनीहरूले प्राप्त गरेको कर्जालाई सही तरिकाले प्रयोग गरेर सफल उद्यम सञ्चालन गर्न सक्छन् । यसरी कर्जासँगै सीप, तालिम र निरन्तर मार्गदर्शनको व्यवस्था भयो भने महिला उद्यमी आत्मनिर्भर बन्न सक्छन् र देशको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पु-याउन सक्छन् ।
हालै मात्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको छ, नयाँ सरकार बन्ने क्रममा छ । अब बन्ने सरकारसँग तपाईंहरुका अपेक्षा के के छन् ?
नयाँ सरकारसँग हाम्रो मुख्य अपेक्षा भनेको विगतका सरकारले गरेका कमी–कमजोरी सुधार गर्दै देशलाई सही दिशातर्फ अघि बढाउनु हो । अहिले नेपालबाट ठूलो संख्यामा काम गर्ने उमेरका युवायुवती विदेश पलायन भइरहेका छन् । पुरुषमात्र होइन, महिला पनि रोजगारीको अभावका कारण विदेश जान बाध्य भइरहेका छन् । यसलाई रोक्नका लागि देशभित्रै रोजगारी सिर्जना गर्ने, सीपअनुसार कामको अवसर उपलब्ध गराउने र युवालाई स्वदेशमै बस्ने वातावरण बनाउने किसिमका नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ ।
हालसम्म सरकारको ध्यान धेरै हदसम्म वैदेशिक रोजगारीमा मानिस पठाउने र रेमिट्यान्स भिœयाउनेमा मात्र केन्द्रित देखिन्छ । तर, दीर्घकालीन रूपमा देशको विकासका लागि यो गलत भइरहेको छ । विदेशबाट सामान आयात गर्ने मात्र होइन, ती वस्तु देशमै उत्पादन गर्न सकिने वातावरण सिर्जना गर्नुपर्छ । उद्योग, कृषि र उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिएर आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ सरकार लाग्नुपर्छ । यसरी स्वदेशमै उत्पादन र रोजगारीका अवसर बढाउन सके युवालाई विदेश जानुपर्ने बाध्यता कम हुन्छ र देशको ठूलो व्यापार घाटा पनि क्रमशः घट्दै जान सक्छ । त्यसैले नयाँ सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष ध्यान दिनुपर्छ ।
हाल महिला उद्यमीले कस्ता वस्तु उत्पादन गरिरहेका छन् ?
हालका महिला उद्यमीले घरेलु वस्तु र हस्तकलाका उत्पादनमा विशेष योगदान पु¥याइरहेकी छन् । मेरो अनुभवमा, म विशेष रूपमा सिल्क र रेशम उत्पादनमा केन्द्रित छु । हाम्रो गाउँघरमा उत्पादित कोकुनहरू संकलन गरी तिनलाई प्रक्रिया गरी मूल्यवान रेशम उत्पादन गर्ने र त्यसलाई निर्यात गर्ने काम म गर्दैछु । रेशम एक अत्यन्तै मूल्यवान वस्तु हो । यसमा सरकारको अलिक सहयोगले वर्षभरि निरन्तर उत्पादन सम्भव हुन्छ । विदेशका कतिपय देशमा श्रम खर्च उच्च भएकाले, घरमै उत्पादन गर्नु राम्रो विकल्प बन्न सक्छ । सरकारले रेशम उत्पादन र प्रवद्र्धनका लागि योजना र समर्थन ल्याएमा, यसले ग्रामीण महिलालाई आत्मनिर्भर बनाउन मात्र नभई, रोजगार सिर्जना गर्न पनि ठूलो योगदान पु¥याउन सक्छ ।
हाम्रो गाउँघरमा खेतीबारीका पर्याप्त स्रोत उपलब्ध छन् । यसलाई सदुपयोग गरेर रेशम उत्पादनका लागि कीरा पालन, मलजल र अन्य सम्बन्धित खेतीका गतिविधि व्यवस्थित गर्न सकिन्छ । यसरी गाउँघरमा उपलब्ध स्रोतलाई उत्पादनमा रूपान्तरण गरेर निरन्तर रोजगार र आर्थिक सशक्तीकरण सुनिश्चित गर्न सकिन्छ ।
महिला उद्यमशीलताको विकास, रोजगारी सिर्जना र युवाको विदेश पलायन रोक्न के गर्नुपर्छ ?
सबैभन्दा पहिले भन्नुपर्छ, रोजगारी सिर्जना नै सबैभन्दा महत्वपूर्ण कुरा हो । जब काम उपलब्ध हुँदैन, तब युवा विदेश जान बाध्य हुन्छन् । हाम्रो देशमा उपलब्ध जनशक्तिलाई पूर्णरूपमा उपयोग गरेर यहाँ उत्पादन गर्दा धेरैले रोजगारी पाउने थिए । अहिले अवस्था यस्तो छैन कि मानिसले सहजै काम गर्न सकून्, त्यसैले बाध्य भएर बाहिर जानुपरेको छ । यसले उद्योगधन्दा सञ्चालन गर्न पनि समस्या ल्याउँछ किनभने काम गर्ने पर्याप्त जनशक्ति हुँदैन ।
महिला उद्यमशीलता विकास गर्न तिनीहरूलाई तालिम, वित्तीय पहुँच र व्यवसाय सञ्चालनमा मार्गदर्शन आवश्यक छ । महिलाले उत्पादन गरेका वस्तुको गुणस्तर सुधार गर्न, बजारीकरण गर्न र बिक्रीमा सहजीकरण गर्न सहयोग गर्नुपर्छ । साना र मझौला उद्योग स्थापना गरेर, उपलब्ध जनशक्तिलाई पूर्ण रूपमा प्रयोग गर्दा मात्र रोजगारी सिर्जना सुनिश्चित हुन्छ । सरकारले नेपालमै उत्पादन हुने वस्तुहरूको प्रवर्धन गर्न नीति बनाउनुपर्छ । अहिलेको अवस्था उल्टो छ – उत्पादन गर्दा महँगो तर विदेशबाट आयात गर्दा सस्तो । आयातमा उच्च कर लगाइन्छ र स्थानीय उत्पादनलाई प्राथमिकता दिइन्छ भने नेपाली उद्योग र महिला उद्यमीलाई फाइदा हुन्छ । यसरी, पैसाको हिसाबले पनि मानिसले नेपाली उत्पादन रोज्ने वातावरण तयार हुन्छ । त्यसैगरी, उत्पादन गर्ने, बजारमा ल्याउने र बिक्री गर्ने प्रक्रियामा महिलालाई सहजीकरण दिनुपर्छ । संघ–संस्थाहरू, सहकारी र गैर–सरकारी संगठनहरूले पनि महिलालाई बजारमा पहुँच दिन र व्यवसाय सञ्चालनमा सहयोग गर्न सक्छन् ।
मूलतः रोजगारी सिर्जना, क्षमता विकास, उत्पादन प्रवर्धन र सरकारी सहजीकरणबिना महिला उद्यमशीलता विकास र युवाको विदेश पलायन रोक्न सम्भव छैन । यसो गर्दा महिलाको आर्थिक स्थिति बलियो हुन्छ, देशमै रोजगारी बढ्छ र युवालाई आफ्नै देशमै भविष्य निर्माण गर्ने अवसर मिल्छ ।
(नेपाल पस्मिना उद्योग संघकी सचिव गीता श्रेष्ठ पस्मिना र सिल्क उत्पादनमा परिचित नाम हो । २०५६–५७ सालबाट पस्मिनाका कपडा उत्पादन गर्दै आएकी उनले २०६६ सालदेखि रेशम धागो र कपडा उत्पादनलाई उच्च प्राथमिकतामा राखेकी छन् । उनको उद्योगमा अधिकांश नेपाली कच्चा पदार्थ नै प्रयोग हुन्छ । करिब दुई सय किसान उनीसँगै रेशम कच्चा पदार्थ उत्पादनमा जोडिएका छन् भने प्रत्यक्ष २०–२५ जनाले रोजगारी पाएका छन् । नेपाल सिल्क एन्ड पस्मिना क्राफ्टले स्थानीय बजारका अलावा जापान, अमेरिका, बेलायत, हङहङलगायत देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको छ ।)