नेपाली महिला उद्यमीको अवस्था कस्तो छ ? उनीहरूले भोगिरहेका समस्या के–के छन् ?
जब मैले उद्योग स्थापना गरेँ, त्यतिबेला उद्योग क्षेत्रमा महिलाको उपस्थिति अत्यन्तै कम थियो । त्यतिबेला धेरै महिला घरबाहिर ननिस्किने र आत्मनिर्भर हुनुपर्ने चेतना पनि न्यूनतममात्र थियो । तर, विगत ३३ वर्षको मेरो उद्योगिक यात्रामा मैले धेरै महिला उद्यमी दिदीबहिनीलाई भेटेको छु र उनीहरूमा आत्मनिर्भर बन्ने, आफ्नो व्यवसाय गर्ने र अरूको घरमा परनिर्भर नहुने भावना देखेको छु । अहिले धेरै महिला घरमै बसेर वा खुलेर साना–साना उद्योग सञ्चालन गर्दै आएका छन्, जसले उनीहरूको समाज र परिवारमा पनि योगदान पु¥याइरहेको छ । तर, व्यवसाय सञ्चालनको क्रममा महिलाले धेरै चुनौतीको सामना गर्नुपरेको छ ।
परिवार, समाज र व्यवसायका जिम्मेवारी सँगसँगै मिलाउनुपर्ने दबाब महिलाका लागि पहिलो ठूलो चुनौती हो । यसैगरी, समाजमा महिलाले बाहिर काम गर्दा कतिपय समय फरक दृष्टिकोण र पूर्वाग्रहको सामना गर्नुपर्छ, जसले व्यावसायिक निर्णय लिन कहिलेकाहीँ कठिनाइ सिर्जना गर्छ । आर्थिक चुनौती पनि महिला उद्यमीका लागि महत्वपूर्ण छ । उद्योग सुरु गर्न र सञ्चालन गर्न पर्याप्त पुँजी नपाउनु, वित्तीय स्रोतहरूसँग पहुँच सीमित हुनु महिलाको व्यावसायिक विकासमा बाधक बनेको छ ।
आजको प्रविधि र डिजिटल युगमा व्यवसाय सञ्चालन गर्न प्रविधिमैत्री हुनुपर्ने आवश्यकता छ । तर केही महिला, विशेष गरी पहिलेका दिदीबहिनी, पर्याप्त शिक्षा प्राप्त गर्न नपाएकाले प्रविधिको प्रयोगमा कठिनाइ भोगिरहेका छन् । विश्व बजारसँग प्रतिस्पर्धा गर्न र उत्पादनलाई विदेशसम्म पु¥याउन प्रविधिको ज्ञान आवश्यक भए पनि यसमा सबै महिला सजिलै पहुँच बनाउन सकिरहेका छैनन् । त्यसैगरी, हाम्रो समाज पैतृक र परम्परागत संरचनामा आधारित भएको कारण महिला उद्यमीले व्यवसाय गर्न परिवारको स्वीकृति पाउनुपर्ने बाध्यता पनि भोगिरहेका छन् । कतिपय अवस्थामा परिवारबाट आवश्यक स्वीकृति नपाउनु व्यावसायिक चुनौतीको रूपमा देखा पर्छ ।
यी सबै चुनौती र कठिनाइका बाबजुद, नेपाली महिला उद्यमीले आफ्नो आत्मनिर्भरता र व्यावसायिक यात्रा जारी राख्दै आएका छन् । उनीहरूको दृढता र संघर्षले देखाउँछ कि महिलाले साना–साना उद्योगदेखि ठूला व्यवसायसम्ममा पनि क्षमता र योगदान देखाइरहेका छन् र समाजमा महिलाको उपस्थिति र प्रभाव अझ सशक्त हुँदै गएको छ ।
महिला उद्यमीको दृष्टिले भर्खरै सम्पन्न निर्वाचनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? नयाँ बन्ने सरकारसँग तपाईंहरूका आशा र अपेक्षा के के छन् ?
नेपाल घरेलु तथा उद्योग महासंघ, निजी क्षेत्रका उद्यमीहरूको संस्था भएकाले सधैं सरकारसँग हाम्रो व्यवसाय प्रवद्र्धनका लागि नीति बनाउन आग्रह गर्दै आएका छौं । हाम्रो मुख्य अपेक्षा भनेको महिलामैत्री नीति हो, जसले महिलालाई उद्यम गर्न हौसला दिने र उनीहरूको उद्योग व्यवसाय प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम ल्याउनेछ । विगतका सरकारहरूले केही हदसम्म महिला उद्यमीको समस्यालाई सम्बोधन गरे पनि पर्याप्त थिएन ।
हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि हामी खुसी छौं कि नयाँ सरकारले महिला उद्यमी र युवा उद्यमशीलतालाई लक्षित गरेर नीति ल्याउने विश्वास छ । अब बन्ने युवाको नयाँ सरकारले महिला उद्यमीको उद्योग विकासका लागि प्रोत्साहनात्मक नीति ल्याओस् । विदेशमा मात्र भविष्य खोजिरहेका युवालाई पनि देशभित्रै सीप सिक्ने र रोजगारी पाउने अवसर प्रदान गरोस् । अहिले काम गरिरहेका उद्यमीलाई पनि आवश्यक सहयोग र प्रोत्साहन प्रदान गरोस् । नयाँ सरकारले यस्तो नीति निर्माण गरेर हाम्रो अपेक्षा पूरा गर्ने पूर्ण विश्वास छ ।
महिला उद्यमीका समस्या के के छन् ?
महिला उद्यमीको प्रमुख समस्या वित्तीय पहुँच नै हो । यसका लागि सरकारले विगतका वर्षहरूमा केही पहल गरेको छ । उदाहरणका लागि महिला उद्यमी संस्था विकास कोषमार्फत महिलालाई निश्चित सीमाभित्र बिना धितो कर्जा उपलब्ध गराइएको छ । त्यस्तै, विभिन्न समयमा सहुलियतपूर्ण कर्जा र स्थानीय तथा प्रदेश सरकारले महिला उद्यमी संस्थाका लागि बजेट छुट्याएका छन् । तर, यी सबै पहल पर्याप्त छैनन् र प्रक्रिया निकै झन्झटिलो भएकाले महिलाले सजिलै पहुँच पाउँदैनन् । कर्जा र लगानीका यी साधन सरल र सहज तरिकाले उपलब्ध हुने हो भने महिला उद्यमीलाई धेरै लाभ पुग्न सक्छ ।
अर्को समस्या प्रविधिसँग सम्बन्धित छ । अहिले विश्व डिजिटलाइज्ड भइसकेको छ तर हाम्रा धेरै दिदीबहिनी प्रविधिमैत्री हुन सकेका छैनन् । डिजिटल प्लेटफर्ममा आफ्ना उत्पादन र व्यवसाय विस्तार गर्ने तरिका अझै पनि धेरै महिला उद्यमीका लागि गाह्रो छ । यसका लागि उनीहरूलाई प्रविधि प्रयोग र डिजिटल बजारसम्बन्धी ज्ञान आवश्यक छ । सामाजिक बाधा पनि महिलाको व्यावसायिक यात्रामा चुनौती बनेको छ । उद्योग र व्यवसाय सञ्चालन गर्दा महिलाले परिवारको व्यवस्थापन गर्नुपर्ने हुन्छ, जसले समय र ऊर्जा दुबैको खपत गर्छ । साथै, समाजको दृष्टिकोण र पूर्वाग्रहले पनि महिला उद्यमीलाई प्रभाव पार्छ । कहिलेकाहीँ समाजले महिलाले व्यवसाय गर्ने काममा ढिलाइ वा असमान दृष्टिकोण राख्ने हुँदा उनीहरूको व्यावसायिक निर्णयमा बाधा पुग्छ ।
वित्तीय पहुँचका विशेष समस्यामा, पहिले सरकारले महिला उद्यमी संस्था विकास कोषमार्फत बिना धितोको पाँच लाख रुपैयाँसम्मको कर्जा कम ब्याजदरमा उपलब्ध गराउँथ्यो । पछि २०७५ सालमा महिला उद्यमीका लागि सरल र सहुलियतपूर्ण कर्जा योजना पनि ल्याइयो, जसको सीमा विस्तार गर्दै करिब २० लाख रूपैयाँसम्म पु¥याइएको छ । तर, यस कर्जा प्रक्रियामा महिलाले सहज पहुँच पाउन सकेका छैनन् । कारण के हो भने बैंकले माग्ने विभिन्न कागजात तयार पार्न, परियोजना योजना बनाउन र कर्जाका लागि आवेदन दिन धेरै दिदीबहिनी सक्षम हुन सक्दैनन् ।
यसलाई सुधार्न बैंक वा सम्बन्धित निकायले सहजीकरणको व्यवस्था, कागजात तयार पार्न सहयोग र प्रक्रिया सरल बनाउन आवश्यक छ । साथै, सरकारले दिएको सहुलियतपूर्ण ऋणको उचित अनुगमन पनि हुनु आवश्यक छ ताकि सरकार र नागरिकको लगानी सुरक्षित रहोस् । विगतमा केही महिला उद्यमीले यो ऋणको सदुपयोग गरेर उद्योग सञ्चालन गर्न सफल भएका छन् भने कतिपयले दुरुपयोग गरेको पनि सुन्नमा आएको छ । यसका लागि पारदर्शिता, अनुगमन र प्रक्रियागत सुधार अनिवार्य छ ।
नेपालमा महिला उद्यमीको भविष्य कस्तो देख्नुहुन्छ ? जेनजी युवालाई कसरी उद्यमशील बनाउन सकिन्छ ?
मैले यस क्षेत्रमा लामो समय काम गर्दै धेरै अनुभव प्राप्त गरेको छु । हाम्रो देशमा महिला उद्यमीको भविष्य एकदम उज्ज्वल देख्छु । नेपाल सम्भावनाले भरिपूर्ण देश हो । हामीले कृषि, पर्यटन, उत्पादनमूलक क्षेत्र र स्थानीय स्रोतको सदुपयोग गरेर आफ्नै देशमा उत्पादन गर्न सक्छौं । महिला उद्यमीका लागि एउटा अनुकूल वातावरण आवश्यक छ । उद्यमशीलता बढाउन सरकारले नीति र कार्यक्रममार्फत उत्पादनमूलक सीप विकासका तालिम प्रदान गर्नुपर्छ । उत्पादनको बजारीकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी गराउन सहयोग गर्नुपर्छ । यसो भएमा महिला उद्यमशीलता र उद्योग व्यवसायमा उत्कृष्ट प्रगति गर्न सक्छन् ।
युवा पुस्ता, विशेषगरी जेनेरेसन जेड, आफ्नै देशमा भविष्य खोजिरहेको छ । हाम्रो देशमा अद्वितीय उत्पादनहरू, हस्तकला, कृषिजन्य सामग्री र जडीबुटीका स्रोत छन् । हामीले नयाँ प्रविधि र विश्व बजारसँगको सम्बन्ध स्थापित गरेर यी स्रोतलाई बजारमा ल्याउन सके युवा पुस्ताले पनि हाम्रो देशमै सफल उद्यम गर्न सक्छ । यसका लागि सरकार, निजी क्षेत्र र सहकारी संस्थाबीच समन्वय आवश्यक छ । बच्चा र युवा पुस्तालाई देशमै उद्यमशीलता गर्न सकिने अवसर र प्रेरणा दिनुपर्छ । पाठ्यक्रम र प्रशिक्षणमार्फत युवालाई भविष्यमा आफ्नै देशमा उद्यम गर्न सक्ने सीप र आत्मविश्वास प्रदान गर्नुपर्छ ।
(शोभा गुरुङ एक अनुभवी उद्यमी र व्यवसायी हुन् । उनले सन् १९९४ मा कार्पेट उद्योग स्थापना गरी सञ्चालन गर्दै आइरहेकी छन् । उनको उद्योगले उत्पादन गर्ने कार्पेट विश्वका विभिन्न देशहरूमा निर्यात हुँदै आएको छ । उनी व्यावसायिक क्षेत्रमा सीमित नभई विभिन्न सामाजिक संस्थामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् ।)