नेपाल फर्मा एक्सपोको दशौं संस्करण फागुन २८ देखि ३० सम्म काठमाडौंको भृकुटी मण्डपमा हुँदैछ । विगतमा प्रत्येक दुई वर्षमा नियमित आयोजना हुँदै आएको यो एक्सपो यसअघि चितवनमा दुईपटक सम्पन्न भइसकेको छ । यसपटकको एक्सपोका लागि नेपाल औषधि उत्पादक संघ (एपोन)ले स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागसँग सहकार्य गरेको छ । यसपटकको फर्मा एक्सपोका विशेषता, एक्सपोका नयाँ कार्यक्रम, नयाँ प्रविधि, नयाँ अवधारणालगायत विषयमा केन्द्रित रहेर एपोनका अध्यक्ष विप्लव अधिकारीसँग न्यूज२४ दैनिकका संवाददाता सुजाता थापाले गरेको कुराकानीको सम्पादित अंशः
भृकुटीमण्डपमा बिहीबारदेखि सुरु हुने फर्मा एक्सपोका मुख्य विशेषता के–के छन् ? यसपटक के नयाँ कार्यक्रम, प्रविधि वा अवधारणा समावेश गरेर एक्सपो आयोजना गर्नुभएको छ ?
यसपटकको दसौं नेपाल फर्मा एक्सपो २०२६ मा हामीले स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागसँग सहकार्य गरेका छौँ । औषधि उद्योग यस्तो क्षेत्र हो, जहाँ औषधि उत्पादनका लागि प्रयोग हुने उपकरण र प्रविधि निरन्तर रूपमा अद्यावधिक भइरहेका हुन्छन् । हिजो सामान्य कोठाबाट आयुर्वेदिक उत्पादनबाट सुरु भएको औषधि निर्माण आज क्यान्सरलगायत जटिल रोगहरूको औषधि उत्पादन गर्न सक्षम भइसकेको छ । यो उपलब्धि आधुनिक प्रविधि र उपकरणको विकासका कारण सम्भव भएको हो ।
यस एक्सपोको मुख्य उद्देश्य औषधि उत्पादनमा प्रयोग हुने नवीनतम प्रविधिबारे जानकारी गराउनु हो । दुई वर्षअघि प्रयोग भएका प्रविधि र आजका प्रविधिबीच परिवर्तन आइसकेको छ । नेपाली औषधि उद्योगहरूले ती प्रविधि आत्मसात् गरिसकेका छन् र थप आत्मसात् गर्न आवश्यक छ । औषधि उद्योग सुरु गर्न इच्छुक नयाँ उद्यमी, यस क्षेत्रमा कार्यरत जनशक्ति तथा उपभोक्तालाई समेत आधुनिक प्रविधिबारे जानकारी गराउने उद्देश्यले एक्सपो आयोजना गरिएको हो । यसपटक पनि प्रविधि प्रदर्शन नै प्रमुख आकर्षण रहनेछ । साथै नेपालले आधुनिक प्रविधि आत्मसात् गरिसकेको सन्देश प्रवाह गर्नु नै हाम्रो मुख्य लक्ष्य हो ।
औषधि उद्योगको विगत र वर्तमानलाई कसरी तुलना गर्नुहुन्छ ?
धेरै परिवर्तन भएको छ । पहिले सामान्य रूपमा मात्र औषधि उत्पादन हुने गथ्र्यो भने अहिले अत्यन्त विशिष्ट प्रविधिहरू औषधि उद्योगले आत्मसात् गरिसकेको अवस्था छ । विश्व परिवेशमा पनि औषधिसम्बन्धी प्रविधिहरू दिनहुँ नयाँ–नयाँ आइरहेका छन् र ती प्रविधि आत्मसात् नगरी नयाँ औषधि निर्माण गर्न सम्भव हुँदैन । आजको दिनमा नेपालमा क्यान्सरसम्बन्धी औषधि, सलाइन, इन्जेक्टेबल तथा सुईजन्य पदार्थहरू पनि उत्पादन गर्न थालिसकेका छौँ । त्यसैले यी सबै प्रविधि हामीले आत्मसात् गरेका छौँ र यस एक्सपोको उद्देश्य देशलाई औषधिमा आत्मनिर्भर बनाउने तथा विदेशबाट औषधि ल्याउन नपर्ने अवस्था सिर्जना गर्नु हो ।
हाल नेपालका औषधि उद्योगले कस्ता चुनौती खेपिरहेका छन् ?
नीतिगत रूपमा, जसरी औषधि क्षेत्रको प्रविधि अत्यन्त छिटो विकास गर्दै छ, त्यस्तै प्रविधिअनुसार सरकारले पनि नीतिगत सुधारहरू गर्न आवश्यक छ । ती सुधारहरूका लागि सरकारले पनि चाँडो क्रियाशील भएर आवश्यक कदम चाल्नुपर्छ । अहिले नेपालमा औषधि उद्योग राम्रोसँग सञ्चालन गर्न सकिन्छ र नेपालमा मात्र होइन, हामीले उत्पादन गरेका औषधिहरू विदेशमा पनि निर्यात गर्न सकिने अवस्था छ । हामी बंगलादेश र भारतको अवस्था हेर्न सक्छौँ । प्रविधिको हिसाबले हामी कुनै पनि दृष्टिले कमजोर छैनौँ । हामी उत्कृष्ट रूपमा औषधि उत्पादन गर्न सक्षम छौँ । विगतमा सामान्य रूपमा सुरु गरिएको औषधि उद्योग आज पूर्ण रूपमा विश्व प्रविधिमा आधारित भएर अगाडि बढेको छ र हामीले त्यसअनुसार काम गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित पनि गरिसकेका छौँ ।
अहिले औषधि उद्योगको अवस्था कस्तो छ ? यसका अवसर र सम्भावनाबारे यहाँको विश्लेषण के छ ?
औषधि अत्यन्त आवश्यक चिज हो । मैले तपाईंलाई कोभिडको समयको उदाहरण दिन्छु । भारतले २६ प्रकारका औषधि नेपाललाई वा अन्य कुनै देशमा निर्यात नगर्ने निर्णय गर्दा यस देशमा प्यारासिटामोलसम्म पाउन कठिन भएको थियो र जनजीवन ठूलो संकटमा थियो । जब औषधि समयमा उपलब्ध हुँदैन, यसले मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्छ र राज्यले यसलाई त्यही अनुसार प्राथमिकताका साथ हेर्नुपर्छ । नीतिगत रूपमा स्वदेशमै औषधि उत्पादन गर्न सक्ने र स्वदेशी औषधि प्रयोग गर्ने वातावरण नेपाल सरकारले सिर्जना गर्नु आवश्यक छ । यसको लागि आवश्यक सबै नीतिगत सुधारहरू पूर्णरूपले गर्नुपर्ने हुन्छ ।
औषधिको मूल्य समायोजनको विषय पटक–पटक उठ्दै आएको छ तर किन कार्यान्वयन भइरहेको छैन ?
औषधिको मूल्य राजनीतिक विषय बनाएर प्रस्तुत गरिएको छ । आवश्यकताअनुसार औषधिलाई औषधि भनेर नबुझेर सस्तो रूपमा बुझ्ने प्रवृत्तिका कारण मूल्यसम्बन्धी विषयहरू उठेका हुन् । मूल्यभन्दा बढी, स्वदेशमै औषधि उत्पादन गर्न सक्नु र उत्पादन गर्न सकिनु धेरै गर्वको कुरा हो । म तपाईंलाई मूल्यसम्बन्धी कुरा पनि स्पष्ट पार्न चाहन्छु– हामी संसारकै सबैभन्दा सस्तो मूल्यमा औषधि उपलब्ध गराइरहेका छौँ । नेपाल औषधि उत्पादक संघको अध्यक्षको हैसियतले म चुनौतीसाथ भन्छु, कुन देशभन्दा हाम्रो नेपालमा औषधि महँगो छ ? भारतभन्दा, बंगलादेशभन्दा, पाकिस्तानभन्दा, अमेरिका वा जापानभन्दा ? हामी संसारकै सबैभन्दा सस्तो औषधि उपलब्ध गराइरहेका छौँ, त्यसमाथि संसारकै अत्याधुनिक प्रविधि प्रयोग गरेर ।
कच्चा पदार्थको उपलब्धता कति सहज छ र आयात गर्दा कस्ता चुनौती खेप्नुपरिरहेको छ ?
औषधिको कच्चा पदार्थको विषयमा हामीमा एउटा भ्रम छ कि हाम्रै देशमा कच्चा पदार्थ उत्पादन हुँदैन । वास्तविकता यो हो कि विश्वमा औषधि कच्चा पदार्थको ७० प्रतिशत चीनले उत्पादन गर्छ । विश्वभरि उत्पादन हुने औषधिको ७० प्रतिशत कच्चा पदार्थ चीनमा बनाइन्छ र त्यसैबाट विश्वभर औषधि उत्पादन हुन्छ । तर, कच्चा पदार्थ उत्पादन भएरमात्र औषधि बन्ने होइन । हामीले देखिरहेका केही वस्तुहरू पनि कच्चा पदार्थको रूपमा प्रयोग हुन्छन् तर त्यसको उपयोग, देशभित्रको खपत र बाहिर निर्यात कति सम्भव छ भन्ने कुरा अलग विषय हो । यद्यपि, नेपालमा आजको दिनमा कच्चा पदार्थ उत्पादनका लागि केही उद्योग सुरु भइसकेका छन् । तर, म स्पष्टसँग भन्छु– यो देशमा औषधि उद्योगलाई राम्रोसँग सञ्चालन गर्न आवश्यक नीति नहुँदा कच्चा पदार्थसम्बन्धी कुनै कानुन नै छैन ।
कच्चा पदार्थ सहज रूपमा प्राप्त गर्न सकिरहनुभएको छ त ?
हामीले संसारभरिबाट कच्चा पदार्थ सहज रूपमा उपलब्ध गराउन सकिरहेका छौँ । विशेषगरी, मैले पहिले पनि उल्लेख गरेको जस्तै ः चीनले विश्वका ७० प्रतिशत कच्चा पदार्थ उत्पादन गर्छ । भारतमा पनि केही कच्चा पदार्थ उत्पादन हुन्छ । ठूलो मात्रामा कच्चा पदार्थ आवश्यक परेमा हामी सिधै चीनबाट आयात गरिरहेका छौँ भने सानो मात्रामा खपत हुने कच्चा पदार्थ भारतलगायतका देशबाट प्राप्त गरिरहेका छौँ ।
सरकारले ७५ अर्बभन्दा बढी लगानी भएको औषधि उद्योगलाई पनि सहयोग गरेको पाइँदैन, किन होला ?
हामी औषधि उद्योगप्रति संवेदनशील नै छैनौं भन्ने उदाहरण हो यो । औषधि उद्योगमात्र नभई, अत्यावश्यक वस्तु हो । सरकारले अन्य क्षेत्रमा जस्तै बजेट छुट्याउने काम गर्न सक्छ तर औषधि उद्योग प्रवद्र्धन गर्न कहिल्यै पर्याप्त बजेट छुट्याएको छैन । औषधि व्यवस्था विभाग अझै पनि ३० वर्ष पुरानो संरचनामा सञ्चालन भइरहेको छ । हिजो दुई–पाँच उद्योग र १०–१५ इम्पोर्टर कम्पनी भएको समयमा सिर्जना गरिएको दरबन्दी अहिले पनि त्यही अनुसार काम गर्न बाध्य छ । त्यसैले नेपाल सरकारले टेस्टिङ सुविधा उपलब्ध गराउनुपथ्र्यो, नियमनसम्बन्धी आवश्यक सेवा समयमै दिनुपथ्र्यो, लाइसेन्सिङ प्रक्रिया छिटो गर्नुपथ्र्यो र टेक्नोलोजी ट्रान्सफर तथा कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ खुला गर्नुपर्ने थियो । यस देशमा अत्यधिक खपत हुने औषधिहरू स्वदेशमै उत्पादन भएर नेपालीले प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्नु सरकारको जिम्मेवारी हो ।
अहिले युवा रोजगारीका लागि विदेश गइरहेका छन् । औषधि उद्योगले रोजगारी सिर्जनामा कस्तो भूमिका खेल्न सक्छ ?
नेपाली औषधि उद्योगमा प्रविधि र टेक्नोलोजीका लागि विदेशबाट केही विज्ञहरू आएर काम गर्ने अवस्था भएको थियो । तर, हामी गर्वका साथ भन्छौँ कि हामीले पनि प्रशिक्षण प्रदान गर्दै आएका छौँ । हाम्रो संस्था र नेपाल औषधि उत्पादक संघमार्फत विदेशी विज्ञहरूलाई ल्याएर यहाँका औषधि विज्ञहरूलाई तालिम दिइरहेका छौँ, प्रविधिहरू उपलब्ध गराइरहेका छौँ र स्वदेशी औषधि विज्ञहरूलाई अगाडि बढाउने प्रयास गर्दैछौँ । यद्यपि, युवाहरू विदेश जाने कुरा स्पष्ट छ– उनीहरू रोजगारीको अवसर खोज्दै बाहिर जान्छन् । त्यसैले देशलाई उद्योगमैत्री र लगानीमैत्री बनाउनु आवश्यक छ ।