महिला उद्यमीका नाताले अन्तर्राष्ट्रिय नारी दिवसलाई कुन रूपमा हेर्नुहुन्छ ?
महिला उद्यमीका नाताले म महिला दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनीलाई भन्न चाहन्छु कि हामी महिलाहरू आफैंमा आत्मनिर्भर हुनुपर्छ । त्यसका लागि हामीले उद्यमशीलतामा जोडिनु आवश्यक छ । उद्यमी बन्नका लागि देश, समाज र घरपरिवारबाट सहजरूपमा उपलब्ध हुने विभिन्न सीपहरू सिकेर अगाडि बढ्न सकिन्छ । ती सीपहरूलाई प्रयोग गर्दै आफ्नो व्यवसायमा आबद्ध भई आत्मनिर्भर बन्न हामीले उद्यमशीलतामा जोड दिनुपर्छ ।
नेपालमा उद्यमी महिलाले कस्ता–कस्ता समस्या भोगिरहेका छन् ?
महिला उद्यमीले धेरै समस्या खेपिरहेका छन् । किनभने पहिलो कुरा महिलाले के गर्न सक्छन् र भनेर आफ्नै घरपरिवार र पुरुषहरूबाट पनि प्रश्न आउन सक्छन् । अब त्यसलाई चिर्नका लागि हामी आफैंले म पनि गर्न सक्छु र अब मेरो पनि हातमा उद्यम गर्ने अवसर आयो भने निभाउन सक्छु भनेर अगाडि बढ्नुपर्छ ।
भर्खरै निर्वाचन सम्पन्न भएको छ, अब नयाँ आउने सरकारसँग तपाईंहरूका अपेक्षा के–के छन् ?
व्यवसायमा आबद्ध भएकाले महिला उद्यमीमात्र होइन, समग्र व्यवसायीको अवस्था पनि बुझ्ने अवसर मैले पाएको छु । अहिले विशेषगरी कोभिडपछि व्यवसाय क्षेत्रमा धेरै चुनौती देखिएका छन् । धेरै व्यवसाय कमजोर अवस्थामा पुगेका छन् र सञ्चालन गर्न पनि विभिन्न अफ्ठ्यारा सामना गर्नुपरेको छ । त्यसैले हाम्रो व्यवसायलाई अझ प्रवद्र्धन गर्न बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग र सहजीकरण आवश्यक छ । व्यवसायीहरूलाई ऋण, सेवा तथा अन्य वित्तीय सुविधा सहज रूपमा उपलब्ध गराउने वातावरण बनाउनुपर्छ । साथै ब्याजदर, भन्सार दर तथा करसम्बन्धी नीतिहरूलाई पनि व्यवसायमैत्री बनाउँदै सहज बनाउन आवश्यक छ ।
अहिले युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । यहाँ पढाइ पढेर र व्यवसाय गर्ने सोच बनाए पनि पर्याप्त अवसर नपाएको कारण धेरैले विदेशिनु परेको छ । त्यसैले विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना हुनुपर्छ । आफ्नै दक्षताअनुसार रोजगारी र उद्यमशीलता अभ्यास गर्न सकिने वातावरण बनेमा युवा विदेशिनु पर्दैन । कृषि प्रधान देश भए पनि कृषिमा पर्याप्त अवसर छैन र स्किल डेभलपमेन्टका अवसर नेपालमा कम भएका कारण दक्ष जनशक्ति विदेशिनु परेको छ । नयाँ सरकारले नेपालकै नागरिकलाई उद्यमशीलताका लागि अवसर, लगानी, तालिम र रोजगारी उपलब्ध गराउने खालको नीति ल्यायो भने महिला उद्यमी र युवा व्यवसायमा सहज रूपमा अघि बढ्न सक्नेछन् । नयाँ सरकारले देशभित्र रोजगारी र उद्यमशीलता, ट्रेनिङ तथा अन्य आवश्यक अवसरहरू उपलब्ध गराउनुपर्छ । त्यसैले हालैको निर्वाचनपछि आएका युवा नेतृत्वलाई यी विषयमा ध्यान दिई व्यवसाय क्षेत्रलाई सहयोग गर्ने वातावरण निर्माण गर्न म अनुरोध गर्न चाहन्छु ।
महिलाले सहजरूपमा कर्जा नपाएको गुनासो सुनिन्छ । अबका दिनमा महिला उद्यमीले कसरी सहजरूपमा कर्जा प्राप्त गर्न सक्छन्, राज्यको नीति कस्तो हुनुपर्छ ?
राज्यको नीतिअनुसार महिलाले कर्जा लिन सबैभन्दा पहिला केही मापदण्ड तय गरिएको छ । कुन क्षेत्रमा कति लगानी गर्न सकिन्छ र लगानी गर्दा के–के प्रावधान पालना गर्नुपर्छ भन्ने कुरा स्पष्ट छ । व्यवसाय सुरु गर्न चाहने व्यक्तिले पनि केही आवश्यक योग्यता र जानकारी पूरा गर्नुपर्छ, जसले प्रक्रियालाई अझ व्यवस्थित र सहज बनाउँछ ।
अहिलेसम्मको अवस्थालाई हेर्दा महिला उद्यमीका लागि पाँच लाखदेखि पन्ध्र लाख वा पच्चीस लाखसम्म कर्जा उपलब्ध गराउने भनिए पनि भित्र गएपछि केही धितो राख्नुपर्ने र आफ्नै केही लगानी गर्नुपर्ने बाध्यता छ । मेरो विचारमा, उद्यमीको क्षमता र उनी व्यवसायमा गर्ने लगानीको आधारमा मात्र केही निश्चित प्रतिशत लगानी मागेर कर्जा उपलब्ध गराउन सके राम्रो हुन्थ्यो । यसले महिला उद्यमीलाई सहजरूपमा कर्जा प्राप्त गर्ने वातावरण निर्माण गर्ने विश्वास लिन्छु ।
यहाँ लायन्स क्लबमा पनि ठूलो संख्यामा महिलाको उपस्थिति र सहभागिता छ । तपाईं लायन्सको मल्टिपल काउन्सिलको डिस्ट्रिक्ट चेयरपर्सन पनि हुनुहुन्छ । महिलालाई लायन्समा आबद्ध भएर रचनात्मकरूपमा उद्यमशील बनाउने सम्भावना कति छ ?
यसमा धेरै प्रयास भए पनि हामीले सबैलाई समेट्न सकेका छैनौं । लायन्सले केही क्षेत्रमा सहयोग गर्दै आएको छ । स्किल डेभलपमेन्ट र उद्यमशीलता अभ्यासका लागि पोते बुन्ने, पोतेका आइटमहरू, प्लम्बिङजस्ता प्रशिक्षण उपलब्ध गराइन्छ । यद्यपि, युवाका लागि रोजगारी सिर्जना गर्न कठिनाइ भइरहेको छ । त्यसैले अन्तर्राष्ट्रिय प्रावधानहरू लिनु र नेपालबाट उपलब्ध प्रावधानहरू समेटेर, सरकारले लायन्ससँग मिलेर स्किल डेभलपमेन्ट र उद्यमशीलतामा साझेदारी गर्न सके, हाम्रो लायन्स पनि यसमा आबद्ध भएर अगाडि बढ्न तयार छ ।
नेपाली महिला विदेशिनुपर्ने बाध्यता मुख्य रूपमा किन छ ? परिवारभित्र पनि महिलाले के–कस्ता समस्या सामना गरिरहेका छन्?
महिला दिदीबहिनीलाई परिवारबाटै समान सहयोग छैन । कतिपयका श्रीमान् हुँदैनन् तर छोराछोरी छन् । उनीहरू छोराछोरी अरूको घरमा छोडेर विदेशिन बाध्य छन् । विदेश पुगेपछि पनि सबै कुरा सहज र राम्रो हुँदैन । कतिपय रोगबाट प्रभावित भएर फर्कन्छन् वा हातखुट्टा गुमाएका अवस्थामा फर्केका पनि छन् । यसकारण वैदेशिक रोजगारीलाई कम गरेर नेपालमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन आवश्यक छ ।
(मिलन थापाको व्यावसायिक यात्रा वि.सं. २०५२ सालदेखि सुरु भएको हो । गण्डकीमै पहिलो पटक सञ्चालन गरिएको ‘गण्डकी रिकन्डिसन हाउस’बाट उनले व्यवसायलाई गति दिएकी हुन् । पुरानो मोटरसाइकलको खरिद–बिक्रीबाट सुरु भएको उनको व्यवसाय विस्तार हुँदै ‘हिमालयन अर्गनाइजेसन’ नामको संस्था बन्न पुगेको छ । अढाई दशकदेखि पोखरालाई कर्मथलो बनाइरहेकी उनी सफल महिला उद्यमी हुन् ।)