नेभिगेशन
दृष्टिकोण

के डिजिटलाइजेसन अवसर हो?

पत्रकारितामा परिवर्तनको दर नाटकीयरूपमा बढेको छ । तर केही अचल पक्षहरू पनि छन् । वास्तवमा मिडिया उद्योग र पेसामा भइरहेका द्रुत परिवर्तनहरूले यस्ता अचल पक्षलाई अझ स्पष्टसँग उजागर गरिरहेछन् । प्रशिक्षणहरू गुणात्मकरूपमा बढेका छन् । पत्रकारका कामहरू स्पष्ट भइरहेछन् । त्यसैले पत्रकारहरू कुनै बेला बिस्मार्कले भनेजस्तो ‘बोलावट आएको थाहै नपाउने’ हुने सम्भावना कम हुँदै गएको छ । पत्रकारिताको आधारभूत ज्ञानको एउटा संरचना छ जसलाई परिभाषित गर्न सकिन्छ । त्यसमा केही उदाहरण र समकालीन सन्दर्भहरू पनि समेटिएका छन् । तर, यी सबैमा आफ्नै अनिश्चितता पनि छन् ।

पत्रकारितालाई केले परिभाषित गर्छ र अरू सञ्चार पेसासँग अलग गराउँछ भन्ने मसिनो घेरा चाहिँ धमिलो बन्दै गएको छ । हालै मात्र पत्रकारितालाई पेसाकरण गर्ने प्रयासले धक्का खाएको छ । समाचार कक्षहरूमा आर्थिक दबाब बढ्दो छ । समाजको डिजिटलाइजेसन र जोखिमपूर्ण व्यावसायिक अभ्यासले ठूला मिडिया कम्पनीहरूलाई अप्ठ्यारो स्थितिमा पुर्‍याइदिएका छन् । वर्षौं पहिले जर्मनीमा क्रिर्स समूहले बैंक घोटालाविरुद्ध मुद्दा दायर गर्नुपरेको थियो । संयुक्त राज्य अमेरिकामा लस एन्जेलेस टाइम्स, सिकागो ट्रिब्युन्स, द फिलाडेल्फिया टाट पल्टिए । बोस्टन ग्लोब, स्यान फ्रान्सिस्को क्रोनिकलजस्ता सञ्चारमाध्यमहरू बन्द हुने अवस्थामा पुगे । जर्मनीमा फाइनान्सियल टाइम्स ड्युत्सल्यान्डको प्रकाशन रोकियो । फ्र्यांकफर्टर रुन्डसाउ अस्तित्वकै खतरामा पुग्यो । थुप्रै स्थानीय पत्रिकाहरू गाभिएर मात्र बच्न सफल भएका छन् । धेरै प्रकाशकहरूले आफ्नो ग्राहक संख्या र विज्ञापनको आम्दानी घटेको गुनासो गरिरहेछन् । तर त्यो क्षतिलाई अहिलेसम्म अनलाइनले पूरा गर्न सकेका छैनन् ।

परिणाम मिडियाका व्यवस्थापकहरूले समाचार कक्षहरूबाट क्षमताभन्दा बढी उत्पादन गर्न दबाब दिइरहेछन् भने गलत ठाउँको खर्च घटाइरहेछन् । अनेकौं प्रयोगहरू भएका छन् र पटकपटक सीमा नाघिएका छन् । तथ्य के हो भने ह्यान्डल्सब्ल्याट, डाइ जेट र न्यूयोर्क टाइम्सजस्ता अत्यन्त सम्मानित समाचार कक्षहरू नेटिभ विज्ञापन– समाचारजस्तै देखिने विज्ञापन सामग्रीको दुनियाँमा प्रवेश गरिसकेका छन् जसले पत्रकारिताप्रतिको सम्मान नै घटाइदिएको छ । ‘रिसेप्सन ट्र्याप’ अर्थात् प्रभावको पासोबारे चर्चा गर्दै मिडिया विज्ञहरू कार्लो इम्बोडेन र प्याट्रिक प्रोब्स्ट ‘दबाब समूहहरूको चासो झल्किने विषयहरूबाट’ जोगिन सल्लाह दिन्छन् । गोप्यरूपमा आएका स्वार्थ समूहका चासोहरू पाठकहरूले सजिलैसँग चिन्छन् जसले त्यो मिडिया आउटलेट नै नपढ्ने जोखिम बढाइदिन्छ ।

तर अर्कातर्फ स्वतन्त्र पत्रकारहरूले राम्रो पैसा पाउने हुँदा आफूलाई दोहन गर्ने अवसर दिन्छन् जसले पत्रकारितालाई कमजोर बनाइदिन्छ । कामको सुनिश्चितताका लागि उनीहरू जनसम्पर्क उद्योगका निम्ति काम गर्ने भएका छन् । यस्तो अभ्यासले पत्रकारिताको गुणस्तर बढाउन महत्त्वपूर्ण योगदान गर्ने स्वतन्त्र पत्रकारहरूको संख्या घट्दै गइरहेको छ । यी सबैका बाबजुद एक्लै काम गर्नेहरू, सञ्चारगृह र बजारमा आफ्नो स्थान बनाउँदै गएका स्टार्टअपहरूले भविष्यको पत्रकारितालाई आकार दिइरहेछन् ।

निःसन्देह पत्रकारिता रोमाञ्चक र विविधीकृत हुनसक्छ । यसले जीवनमै नयाँ दृष्टिकोण पनि दिन्छ किनभने एकैपटक भिन्दाभिन्दै संसारसँग सम्पर्कमा ल्याउने योजस्तो अर्को पेसा हुँदैन ।

बाह्य प्रभावविरुद्ध व्यक्तिगत जवाफदेहिता

हरेक नयाँ दिनले नयाँ चुनौती ल्याउँछ । दह्रो खुट्टा टेक्न सक्नुभयो भने मात्रै तपाईं राम्रो जीवन जिउन सक्नुहुन्छ । सेलिब्रेटीको परम्परालाई पनि धन्यवाद दिनैपर्छ जसले अहिले समाचार कक्षहरूलाई परिवर्तन गरिरहेछ । केही टेलिभिजन पत्रकारहरू अहिले अमेरिकी सपना पूरा गर्न सफल भएका छन् । उनीहरू धनी भएका छन् र अर्बपति बन्ने क्रममा छन् । अर्कातर्फ ओराएफजस्तो प्रविधि सम्पन्न सार्वजनिक प्रसारकका क्लाउस अन्टरबर्गरजस्ता अनुभवी पत्रकारले ‘पत्रकारितामा बाह्य नियन्त्रण’ ‘थेग्नै नसक्नेगरी’ भइरहेछ भन्दा एकैछिन रोकिएर सोच्नैपर्ने भएको छ ।

पत्रकारिता समाजसेवा हो र यो यस्तै रहनेछ । कम्तीमा एक हदसम्म पत्रकारिताका उत्पादनहरू सार्वजनिक सम्पत्ति हुन् । पत्रकारहरूले समाजमा विशेषाधिकार पाएका छन् । त्यसैले नै उनीहरूले बडो जबाफदेही ढंगले काम गर्नुपर्छ र आफ्नो कर्मको परिणाम के हुन्छ भनेर विचार पनि गर्नुपर्छ ।

ध्यानाकर्षणको अर्थतन्त्रबारे गहिरो विश्लेषण गरेका जर्ज फ्रान्सका अनुसार ‘मिडिया पुँजीवाद’ले ‘प्रतिष्ठाको परम्परागत व्यवस्था’ उल्टाउने कामलाई निरन्तरता दिइरहेछ । उनी भन्छन्, ‘एकपटक ठूला उद्योगहरू सामाजिक शक्तिको केन्द्रमा पुगेका थिए, अहिले त्यसको ठाउँ आमसञ्चारले ओगटेको छ ... अब मिडियालाई पुग्न बाँकी ठाउँ केही छैन । मिडिया पुँजीवादले पारेको प्रभावलाई भौतिक पुँजीवादको प्रभावसँग तुलना गर्न सकिन्छ’ (फ्र्यांक, १९९८) ।

यद्यपि १० वर्षपछि पनि हामी स्मार्टफोनहरूमा आजजस्तै टाँसिइरहन्छौं भन्ने अनुमान गर्न पनि गाह्रो छ । कुनै विन्दुमा पुगेर डिजिटल ‘डिटक्सिङ’ अभियान फैलिन सक्छ । गत २० वर्षमा हामीले मिडिया पुँजीवादले ‘सिर्जनशील ध्वंस’बाट आफूलाई कसरी पुनर्जीवित गरायो भन्ने देख्यौं (सुम्पिटर, १९४२) । गुगल, इन्स्टाग्राम, ट्विटरजस्ता नयाँ प्लेटफर्महरू निकै द्रुत गतिमा नयाँ वैश्विक मिडिया साम्राज्य बने । आफूले सिर्जना नै नगरेको सामग्री बेचेर उनीहरू लाभान्वित भइरहेछन्, जबकि उनीहरूले ती सामग्रीको पत्रकारिताले लिनुपर्ने जवाफदेहिता पनि लिनुपर्दैन ।

कम्तीमा सन्तोषदायक कुरा के हो भने पत्रकारिता उद्योगका पूर्वदिग्गजहरूले उच्च मानक प्रदर्शन गर्दै राजीनामा दिएका छन् । तीमध्ये एक थिए वाटरगेट काण्डका आइकन बनेका बब उडवार्ड । उनले ‘मानिसहरूलाई कसैले फिल्टर नगरेको र जनसम्पर्ककर्मीहरूको प्रभाव नपरेको सूचना चाहिने भएकाले’ एक संस्थाका रूपमा पत्रकारिता पुनः उदाउने अनुमानसहितको भविष्यवाणी गरेका थिए । त्यस्तै सम्भवतः २० औं शताब्दीका सबैभन्दा चर्चित इटालियन पत्रकार इन्द्रो मोन्टेनलीले पत्रकारहरूले निम्न प्रश्नहरू सोध्नैपर्ने बताएका छन्ः ‘हामी कहाँबाट आयौं ? हामी कहाँ गइरहेछौं ? र, हामी यो संसारमा किन छौं ?’ यी प्रश्न अलि गह्रुँगाजस्ता लाग्छन् किनभने पत्रकारिता न त दर्शन हो न धर्मशास्त्र नै । मोन्टेनलीले सायद उच्च स्तरको मानक खडा गरेका हुन्, तर उनले हेरेकै कोणबाट पत्रकारितालाई हेर्दा अझ सुन्दर र असल देखिँदैन र ?

सीएमआर नेपाल जर्नालिजम एकेडेमीद्वारा हालै प्रकाशित रुस–मोल र शुल्जको पुस्तकको नेपाली अनुवाद ‘डिजिटल युगमा पत्रकारिता’बाट साभार ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्