वीरगंजका नारायणी अस्पतालसहित स्थानीय र अन्य अस्पतालमा गरी हालसम्म १२९ जना झाडापखालाका बिरामी भर्ना भएको जसमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । यो जनस्वास्थ्यका मामिलामा गम्भीर तदारुकताका साथ पहलकदमी थाल्ने सचेत बनाएको छ । संक्रमणले केहीको मृत्यु भएको घटनाले झनै दुःखी तुल्याएको छ ।
अठारौं र उन्नाइसौं शताब्दीमा विश्वभर महामारी गराएको हैजाले लाखौं मानिसको ज्यान लिएको थियो । तर अहिलेको २१ औं शताब्दीमा पनि हैजाका कारण मानिसले ज्यान गुमाउनु हाम्रा लागि दुःखद र चिन्ताजनक विषय हो । अझ भन्नुपर्दा यो समाचार विकसित देशका लागि आश्चर्यको विषय पनि बन्ला ।
वीरगंजले केही साताअघि सुक्खाको मार खेपेको थियो । सोही मारबाट मत्थर पार्न डीप बोरिङमार्फत पानी वितरण गर्ने काममा यो संक्रमण भएको हो कि भन्ने प्रारम्भिक आशंका छ । हैजाका कीटाणु दिसामार्फत फैलिन्छ । जब हैजा संक्रमित व्यक्तिको दिसा पिउने पानीको स्रोतमा मिसिएपछि पानी दूषित हुन पुग्छ । यस्तो पानी नउमाली वा शुद्धीकरण नगरी पिउँदा, वा प्रयोग गर्दा रोग सर्ने जोखिम हुन्छ भन्ने जगजाहेर कुरा हो । यसर्थ वीरगंजको यो संक्रमण पानीको अभाव र वितरण प्रणालीमा भएको कमजोरीबाट उत्पन्न भएको पुष्टि हुन्छ ।
वीरगंजमा खानेपानीका स्रोतवरपर कत्तिको व्यवस्थापन गर्न सकिएको छ भन्ने पनि प्रश्न उठेको छ । अन्यत्रका शहरजस्तै वीरगंजमा पनि फोहोर व्यवस्थापनको चुनौती छ । हैजाको संक्रमण फैलन थालेपछि वीरगंज महानगर अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको तथा महानगर क्षेत्रभित्रका पानीपुरी, चाट, चटपटे लगायतका खानेकुराको विक्री वितरणमा पनि रोक लगाइएको छ ।
वीरगन्जका अस्पतालहरू हाल झाडापखालाका बिरामीहरूले भरिएका तथा स्थानको समेत अभाव हुन थालको अवस्थाको तत्काल सहजीकरण हुनुपर्ने देखिन्छ । दूषित पानी वा खानाको माध्यमले मानिसमा भिब्रियो कोलरी ब्याक्टेरिया जीवाणु प्रवेश गरेपछि हैजा लाग्ने गर्छ । उक्त ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा संक्रमण गराएपछि झाडापखाला लाग्छ ।
जानकारहरूका अनुसार ती डीप बोरिङमा जडान गरी बिछ्याइएका पाइपहरू प्रायः धेरै स्थानमा नालाभित्रै पर्ने गरी राखिएकाले पाइप चुहावट भएर नालाकै प्रदूषित र फोहोर पानी घरघरमा आपूर्ति भइरहेका कारण अहिले हैजा फैलिएको अनुमान छ । हैजा जस्तो महामारीको समयमै पहिचान गरी उपचार गर्न सकिन्छ । यसको लागि ओरल रिहाइड्रेशन सोल्युशन, एन्टिबायोटिक औषधि र स्वच्छ खानेपानीको व्यवस्था नै पर्याप्त हुन्छ । तसर्थ, अहिलेको वैज्ञानिक तथा सामाजिक विकासको युगमा हैजाले ज्यान जानु हाम्रो हाम्रो शासकीय प्रणालीको कमजोरी हो ।
अहिले वीरगंजमा देखिएको यो समस्या समयमै नियन्त्रण होस् । नेपालका प्रमुख शहर र सिमानाका पनि भएकोले त्यहाँबाट रोग अन्त नफैलियोस् भन्नेमा सरोकारवालाहरू सचेत हुनुपर्दछ । त्यसैले अहिलेको समयमा हैजाबाट मृत्यु हुनुलाई स्वाभाविक मान्न सकिन्न, बरु यो व्यवस्थापकीय कमजोरीको कारक हो ।
नेपालले विगत केही दशकमा जनस्वास्थ्यको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । सीमित स्रोत र कठिन भौगोलिक अवस्थाका कारण पनि सरकार र समुदायको सहकार्यमा नेपालले जनस्वास्थ्य क्षेत्रमा सकारात्मक प्रगति पनि गरेको हो । नेपालले सुरक्षित मातृत्व कार्यक्रममार्फत मातृ मृत्युदर र शिशु मृत्युदरमा पनि उल्लेखनीय कमी ल्याएको छ । त्यस्तै, राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नेपालले दादुरा, पोलियो, क्षयरोग, डिफ्थेरिया, रोटाभाइरस लगायतका रोगविरुद्धका खोपहरू प्रभावकारी रूपमा सम्पूर्ण देशमा पुर्याएको छ । पोलियो उन्मूलनमा नेपालको योगदान सराहनीय छ ।
क्षयरोग, हैजा, औलो, कालाजारजस्ता रोगहरू नियन्त्रणमा ल्याउन नेपालले राष्ट्रिय कार्यक्रमहरू सफलतापूवर्क सञ्चालन गरेको गाथा गाइरहँदा यसले विगतका कुरामा शंका उत्पन्न भएको छ । सरुवा रोगलाई एक पटक नियन्त्रण गरियो भन्दैमा सधैंभरी ढुक्क हुन सकिँदैन । किनभने यस्ता महामारी रोगहरू वातावरण, मानिसको बानी, जनस्वास्थ्यको अवस्था र नयाँ प्रकारका जीवाणु वा भाइरसको विकाससँग जोडिएका हुन्छन् । कुनै संक्रमण अहिले नियन्त्रणमा आए पनि यदि सावधानी अपनाइएन भने पुनः फैलिन सक्छ । वीरगंजको उदाहरणले सो कुरा पुष्टि गरेको छ ।
देशको एक प्रमुख व्यापारिक तथा ऐतिहासिक शहर वीरगंज महानगरपालिका जो आफैंमा स्रोत साधन सम्पन्न छ, त्यो नगरमा हैजा फैलिनु भनेको जनस्वास्थ्यका मुद्दामा ध्यान नपुगेको भन्ने बुझिन्छ । त्यो महानगर जसको वार्षिक बजेट दुई अर्ब ८९ करोड छ, उसले स्रोत र साधनको अभावको दुहाइ दिन पनि मिल्ने देखिँदैन । त्यसैले समस्याको दीर्घकालीन समाधानमा महानगर अग्रसर हुनु आवश्यक छ ।
यसको लागि स्वच्छ पानीको पहुँच बढाउने, सरसफाइ महाअभियान चलाउन महानगर अग्रसर हुनुपर्छ । जलवायु परिवर्तनले हाम्रो मौसमी चक्र मात्र बिगारेको छैन, यसले मौसकी रोगहरूको बढ्ने दर र मानव स्वास्थ्यमा पर्ने जोखिमलाई पनि बढाएको यस हैजा संक्रमणले पुष्टि गरेको छ । यसै पनि तराई क्षेत्रको उच्च जनघनत्व, पानी जम्ने परिवेश, लामखुट्टेजस्ता रोग सार्ने किराहरूको विस्तारले सरुवा रोग फैलिन उच्च जोखिम छ ।
हामी एकातिर स्मार्ट सिटी बनाउने कुरा गरिरहेका छौं । अर्कोतिर हाम्रा प्रायः सबै ठूला शहरमा फोहोर व्यवस्थापनको समस्या छ । साधन स्रोतले सम्पन्न काठमाडौं महानगर लगायत राजधानी उपत्यकाका शहरहरूले नै पनि फोहोर व्यवस्थापनको लागि दीर्घकालीन समाधान खोज्न सकेका छैनन् ।
काठमाडौं बाहिरका वीरगंजलगायतका अन्य ‘गञ्ज’हरूको पनि हालत त्यही छ । फोहोर व्यवस्थापन वैज्ञानिक ढंगमा हुन सकेको देखिँदैन । वीरगंजको हैजा संक्रमण हामी सबैलाई बेलैमा सचेत हुन अवसर हो । त्यसैले भौगोलिक रुपले सुगम तराई क्षेत्रमा फैलिन सक्ने हैजा वा अन्य संक्रामक रोग नियन्त्रण गर्न नेपालसँग क्षमता पनि छ, ल्याकत पनि छ । अब त्यसतर्फ परिणाममुखी भएर लाग्न अबेला नगरौं । यसबाट अन्य पालिका, नगर, महानगर पनि बेलैमा सचेत हुनुपर्दछ ।