नेभिगेशन
मनोरञ्जन

दुःखद् बाल्यकालदेखि महान् अभिनयसम्मको कथा

कमजोर विद्यार्थी जीवन, अपमान र संघर्षबाट गुज्रिँदै महान् अभिनेता बनेसम्मका जीवनकथालाई एन्थोनी हप्किन्सले आफ्नो संस्मरणमा उतारेका छन् । रक्सीको कुलत र त्यसबाट दूर हुँदाको अनुभव, अनुशासन र कामप्रतिको गहिरो लगावको वर्णन छ । ८८ वर्षको उमेरमा पनि उस्तै सक्रिय रहेका हप्किन्सले दीर्घजीवनभन्दा सार्थक जीवनको वकालत गरेका छन् ।

लीलालेखनका एक प्रणेता इन्द्रबहादुर राई भन्ने गर्थे, ‘यो जीवन लद्दु छ, यसले केही पनि सिकाउँदैन ।’                

जिन्दगीले केही सिकाउँदैन भन्ने बुझ्न पनि कति धेरै कुरा बुझ्नुपर्ने, सिक्नुपर्ने हुन्छ होला । केही नसिकाउने जीवन रथलाई ८८ वर्षसम्म तान्नसक्दा अर्थोक केही नभए पनि अनुभवका खात बनेका हुन्छन् । त्यसले संसारका आयामहरू बुझ्न मद्दत गर्दछ ।    

दार्शनिकहरू संसारलाई दुःखालय भन्छन् । यो दुःखालयमा दीर्घजीवन बाँच्नु दुःखहरूसँग पौंठाजोरी खेलिरहनु हो । डिसेम्बर ३१ का दिन ८८ वर्ष पूरा गरेका कलाकार सर एन्थोनी हप्किन्सले आफ्नो जीवन यात्रालाई पुस्तकमा उतारेका छन् । दुई पटकका ओस्कार अर्वाड विजयी अभिनेता हप्किन्सले हालैमा गिटी रिचीसँगको एउटा सिनेमाको काम सकेका छन् भने व्रिटेन गएर चाँडै अर्को सिनेमा सक्ने योजनामा छन् । साथै, ‘द हाउसकिपर’मा रिचार्ड आएरसँग सहकार्य गर्ने पनि उनको योजना छ ।                   

व्यस्त दिनचार्यका बाबजुत पनि उनी आफ्नो पुस्तक प्रवर्धनमा पनि सहभागी भइरहेका छन् । पुस्तक तयार हुनका लागि उनले कोरोना महामारीलाई श्रेय दिएका छन् । लकडाउनका बेला दैनिक जीवन नै ठप्पजस्तो भएर घरमा थुनिएर बस्नुपर्दा पुस्तक लेख्ने काम थालेको र यसले अपार आनन्द दिएको पनि उनले बताएका छन् ।                      

एन्थोनी हप्किनस स्कूले जीवनमा उम्दा विद्यार्थी थिएनन् । शिक्षकले गाली गर्थे । थप्पड हान्थे । उनी प्रतिक्रियाविहीन भएर ती सब हेपाइ सहन्थे । आखिर त्यही अनुभव उनलाई महान् अभिनेता बन्न सहायक सिद्ध भयो । उनी शेक्सपियरका नाटक खुब पढ्थे । उनलाई नाटकमा रस बस्न थाल्यो । अनि नाटकका संवाद कण्ठ गर्न थाले । यसले उनलाई एकप्रकारको आत्मविश्वास दियो । उनले शेक्सपियरका नाटकबाट अभिनयको पाठ मात्रै होइन जीवन बुझ्ने पाठ नै पाएको अनुभव गरे । शेक्सपियरको नाटकको गहिराइमा डुब्दै गर्दा उनलाई लाग्न थाल्यो सबै मान्छे नाटक गर्छ, मात्राको फरक मात्र हो ।                        

उनी फिल्मको पटकथा एक–दुई पटक होइन, सय–दुई सयपटक पढ्छन् । जब सेटमा गएर संवाद बोलिन्छ तब भित्रैबाट भावसहित संवाद आओस् भन्ने उनको प्रयास हुन्छ । सुरुमा त उनले काम नबिग्रियोस् भन्ने प्रयासमा यस्तो गर्न थालेका थिए जुन पछि उनको स्वभाव नै बन्यो ।                        

कुनै बेला रक्सीका अम्मली उनले सन् १९७५ को डिसेम्बरमा भएको घटनापछि रक्सी छुँदै छोएनन् । रक्सीले मात्तिएर एरिजोनादेखि बे्रभरीहिल्ससम्मको पाँच सय माइल कुन होसमा गाडी दौडाएँ भन्ने उनलाई पत्तो नै भएन । त्यसरी गाडी हाँक्दा अरू कसैलाई केही भएको भए के हुन्थ्यो भन्ने ग्लानीभाव भइरह्यो । अनि उनले रक्सी नछुने वाचा गरे । त्यसयता रक्सी खाएनन् । उनी भन्छन्, त्यस्तो जागृतिको भाव हामी सबैमा हुन्छ तर त्यसलाई सुन्न सक्नुपर्‍यो ।                        

आफ्नो अभिनय यात्राका क्रममा उनले रिचार्ड निक्सन, अल्फ्रेड हिचक, पोप बेनिडिक्ट, सिग्मण्ड फ्रायड, पाब्लो पिकासोको जीवनीमा आधारित सिनेमामा काम गरे । उनका ती सबै सिनेमा यादगार सिनेमा बने । उनको यादगार सिनेमामा काजुओ इसिगुरोको कालजयी कृति ‘द रिमेन्स अफ द डे’ को बट्लरको भूमिका पनि हो ।                      

उनले एउटा प्रभावशाली भूमिका ‘साइलेन्स अफ द ल्याम्ब’मा निर्वाह गरेका छन् । सो सिनेमाको जम्मा १६ मिनेटको उनको भूमिकाले उनलाई ओस्कर अर्वाड दिलाएको थियो ।                            

विश्वभरका मान्छे उनका कुरा सुन्न चाहन्छन् । उनलाई आदर्श मान्छन् । तर उनी भने आफूलाई केही थाहा छैन भन्छन् । आफूलाई केही थाहा नभएको बताउने उनको एउटा कथन भने गजबको छ । ‘जीवन यसरी बाँच्नुपर्छ कि आजको दिन नै अन्तिम दिन हो ।’  

सीमित स्रोत र साधनका बीच मानसिक स्वास्थ्यलाई बेवास्ता गर्ने गरिएको हाम्रो जस्तो नेपाली समाजमा हप्किन्सको जीवनकथा एउटा प्रेरणादयी पठन हुनेछ । उनको पुस्तकले मान्छेले दीर्घजीवन भन्दा पनि सार्थक जीवन बाँच्नुपर्छ भन्ने सन्देश दिएको छ । उनको जीवनको अर्को पाठ हो, मान्छे गलत छ भन्ने थाहा पाएपछि जतिसक्यो चाँडो उसको साथ छोड्नु नै लाभदायक हुन्छ ।  

बेलायती आख्यानकार सलमान रुस्दी भन्ने गर्छन् युवावस्थामा ज्ञानी भएको नाटक गर्नुपर्छ, वृद्धावस्थामा ऊर्जाशील भएको नाटक गर्नुपर्छ । अहिले एन्थोनी हप्किन्स ऊर्जापूर्ण ज्ञानको प्रसार गरिरहेका छन् । आखिर जीवनमा मरी लानु केही छैन । तर छोड्नका लागि असल गुण र असल स्वभाव भए राम्रो हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्