नेभिगेशन
अर्थतन्त्र

खाना पकाउने ग्यास अभाव छैन : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यास (एलपीजी) को कुनै अभाव नरहेको स्पष्ट पारेको छ । केही दिनदेखि काठमाडौं उपत्यकामा ग्यासको अभाव हुन थालेको भन्दै सार्वजनिक भएका समाचार तथा जनगुनासोप्रति ध्यानकर्षण भएको निगमले जनाएको हो । बजारमा माग धान्न पुग्ने गरी ग्यास आपूर्ति भइरहेको निगमको दाबी छ ।              

निगमले जाडोयामको मागलाई सम्बोधन गर्न पर्याप्त मात्रामा ग्यास आयात भइरहेको पनि जनाएको छ । निगमका अनुसार देशभरका उद्योगीहरूलाई मासिक ४९ हजार ५०० मेट्रिकटन ग्यासको कोटा निर्धारण गरिएकोमा सन् २०२५ को नोभेम्बरमा ४७ हजार २६४ मेट्रिकटन ग्यास आयात भई बिक्री– वितरण भएको छ ।                

यस्तै, डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिकटन र सन् २०२६ को जनवरीमा ४७ हजार ३०४ मेट्रिकटन ग्यास आयात भई बिक्री वितरण भएको छ । यो परिमाण जाडोयामको माग धान्न पर्याप्त रहेको निगमको दाबी छ ।                  

यस्तै, निगमले बजारमा केही सीमित उद्योगका सिलिन्डरको अभाव देखिएको स्वीकार गर्दै निगमले ती उद्योगहरूलाई आपूर्ति प्रणाली सहज बनाउन र बजार सामान्यीकरण गर्न निर्देशन दिइसकेको जनाएको छ । ‘केही एकाध उद्योगमा देखिएको समस्यालाई सम्बोधन गर्न निर्देशन दिइएको छ, अबको केही समयभित्रै बजार पूर्ण रूपमा सामान्य हुनेछ,’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।                  

निगमले बजारको वर्तमान अवस्था र आगामी निर्वाचनलाई समेत मध्यनजर गर्दै  सन् २०२६ को फेब्रुअरीका लागि साविकको कोटामा थप २ हजार मेट्रिक टन ग्यास वृद्धि गरेको छ । इण्डियन आयल कर्पो रेसनका विभिन्न रिफाइनरी र बोटलिङ प्लान्टबाट आयात गर्नका लागि उद्योगीहरूलाई ‘बोटलर्स वाइज’ कोटा पठाइसकिएको पनि निगमले जनाएको छ ।                        

यस्तै, निगमले ग्यासको आपूर्ति नियमित र पर्याप्त रहेकाले उपभोक्ताहरूलाई नआत्तिन आग्रह गरेको छ । निगमले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यकरूपमा सिलिन्डर भण्डारण नगर्नसमेत भनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्