नेभिगेशन
अर्थतन्त्र

साना तथा मझौला व्यवसाय उकास्न विश्व बैंकको साढे १२ अर्ब सहयोग

काठमाडौं, माघ २०

विश्व बैंकले साना तथा मझौला उद्यमको वित्तीय पहुँच विस्तार गर्न आर्थिक सहयोग दिने भएको छ । विश्व बैंकले देशभरका साना तथा मझौला उद्यमको वित्तीय पहुँच विस्तार गर्न ९ करोड ५० लाख अमेरिकी डलर (करिब श ज १२ अर्ब ६० करोड रुपैयाँ) बराबर आर्थिक सहयोग दिने भएको हो ।          

विश्व बैंकको यो सहयोग नेपालका १ लाखभन्दा बढी साना तथा मझौला उद्यम सञ्चालन गर्ने व्यवसायीलाई उनीहरूको व्यवसाय विस्तार गर्न दिइनेछ । ‘दिगो र समावेशी वित्त परियोजना’ अन्तर्गतको यो रकम नेपालको निक्षेप तथा कर्जा सुरक्षण कोषलाई सुदृढ बनाउन खर्च गरिने विश्व बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।          

यो आर्थिक सहयोगबाट लाभान्वित हुने साना तथा मझौला उद्यमबाट देशभित्रै रोजगारीको अवसर सिर्जना भई अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ । यो आर्थिक सहयोगले व्यवसायीको लगानीको जोखिम बाँडफाँट गर्न तथा उनीहरूको लगानी र उत्पादन क्षमता बढेर वित्तीय दिगोपन सुनिश्चित गर्न सकिने विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डिभिजन डाइरेक्टर डेभिड सिस्लेनले बताए ।            

नेपालका साना तथा मझौला उद्यमहरूलाई क्षेत्रीय र विश्वव्यापी मूल्य शृंखला एकीकृत गर्न तथा निजी क्षेत्रको आर्थिक अवस्थामा उल्लेख्य सुधार भई रोजगारीको अवसर सिर्जना गर्न सकिने विश्वास उनले व्यक्त गरे । विश्व बैंकको लगानीमा सञ्चालन हुने ‘दिगो र समावेशी वित्त परियोजना’ सन् २०२४ मा सम्पन्न भएको ‘वित्तीय क्षेत्र स्थायित्व र वृद्धिका लागि वित्त विकास नीति ऋण’ शृंखलाको सुधारमा आधारित छ ।              

कर्जा सूचना केन्द्रको प्रविधि र संस्थागत क्षमतामा वृद्धिका लागि पनि परियोजनाअन्तर्गत नै लगानी गर्ने विश्व बैंकले जनाएको छ । यो लगानीले डाटा कभरेज विस्तार गर्न, वैकल्पिक डाटा स्रोत एकीकृत गर्न र डाटा सुरक्षा तथा गोपनीयतालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्व बैंकको दाबी छ ।            

सूचना प्रणाली अपग्रेड गरेर, दाबी भुक्तानी प्रक्रिया प्रभावकारी बनाएर तथा जोखिममा आधारित मूल्य निर्धारण प्रणाली लागू गरेर कर्जा सूचना केन्द्रलाई थप शक्तिशाली बनाइने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्