नेभिगेशन
अन्तर्वार्ता

निर्वाचनको सम्पूर्ण प्रकृया पुरा भएको छ : रामप्रसाद भण्डारी, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोग फागुन २१ गतेको निर्वाचनको अन्तिम तयारीमा जुटेको छ । विगतको निर्वाचनभन्दा यस पटकको निर्वाचन फरक अवस्थामा हुन लागेको हो । भदौं २३ र २४ गतेको जेनजी विद्रोहपछि विकसित राजनीतिक घटनाक्रमले सिर्जित पछिल्लो अवस्थाबाट गठित सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनाव गर्ने मुख्य जिम्मेवारी लिएको छ । पछिल्लो पटक निर्वाचनको प्रतिस्पर्धामा उम्मेदवारहरु आआफनो क्षेत्रमा उत्रिएको अवस्था हुँदा उम्मेदवार, मतदाता र मतदान केन्द्रहरुको सुरक्षाको प्रवन्ध गर्न आयोग पूर्णरुपमा तयार रहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्पष्ट गरेका छन् । यस अघिका स्थानीय तह, प्रदेश तथा राष्ट्रिय सभा लगायतका विभिन्न तहको निर्वाचन सम्पन्न गरेको अनुभवको कारण पनि आफू जुनसुकै अवस्थामा यस पटकको निर्वाचन सम्पन्न गर्न तयार रहेको दावी गदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको विषयमा कुनै पनि भ्रम, दुविधा र अन्यौलमा नरहन पनि आग्रह गरेका छन् । सुरक्षा अंग, राजनीतिक दल, उम्मेदवार सवै पक्षसँग संवाद भइरहेको हुँदा निर्वाचनको माहोल  बनाउने सबैले सहयोग गरेको हुँदा निर्वाचनको वातावरण बनेको उनको बुझाइ छ । वरिष्ठ अधिवक्ता भण्डारी ५ बर्षदेखि निर्वाचन आयोगमा आवद्ध रहेका छन् । गत एक बर्षदेखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा रहेका भण्डारीसँग निर्वाचन आयोगको तयारी, मतदाता, उम्मेदवार तथा मतदान केन्द्रको सुरक्षा लगायतको विषयमा न्यूज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसे र संवाददाता सुजाता थापाले गरेको कुराकानीको अंश । 

प्रमुख आयुक्तज्यू, अहिले निर्वाचनको तयारी कस्तो अवस्थामा छ ? आयोगको तयारीबारे संक्षेपमा जानकारी दिनुहुन्छ ? 

निर्वाचनको अधिकांश तयारी सम्पन्न भइसकेको छ । अब केही सीमित काम मात्रै बाँकी छन् । मतपत्र छपाइको काम थोरै बाँकी छ । निर्वाचन सामग्रीहरू हाल ढुवानी प्रक्रियामा रहेका छन् । मतपत्र छपाइ सम्पन्न भएपछि ती पनि सबैभन्दा पहिले ढुवानी गरिनेछ । फागुनको पहिलो हप्ताभित्र सम्पूर्ण निर्वाचन सामग्री सम्बन्धित निर्वाचन स्थल तथा मतदान केन्द्रहरूमा पुगिसक्नेछ, र सोही अवधिमा मतपत्रहरू पनि त्यहाँ पु¥याइनेछ ।

भनेपछि अहिले निर्वाचन आयोग अन्तिम चरणको तयारीमा रहेको बुझ्न सकिन्छ ? तर अझै पनि आम मतदातामाझ निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका, चिन्ता र चासो देखिन्छ । यस विषयमा यहाँको धारणा के छ ?

आशंका हुनु पर्ने कुनै कारण छैन । कारण र वस्तुनिष्ठ आधारबिनाको आशंकाको अर्थ हुँदैन । निर्वाचन हुन्छ कि हुँदैन भन्नका लागि त्यसलाई पुष्टि गर्ने स्पष्ट आधार आवश्यक हुन्छ । अहिले हामी निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गरी मतदान चरणमा प्रवेश गरिसकेका छौँ । त्यसैले अब ‘हुन्छ’ वा ‘हुँदैन’ भन्ने कुनै किन्तु–परन्तुको अवस्था छैन । निर्वाचन निश्चित रूपमा हुन्छ । 

प्रधानमन्त्रीज्यूले निर्वाचनलाई उच्च प्राथमिकता दिँदै राजनीतिक दलहरूलाई पनि निरन्तर आश्वस्त पारिरहनुभएको छ । त्यसअनुसार उहाँको भावना र प्रतिबद्धताअनुरूप निर्वाचन आयोग पनि अगाडि बढिरहेको छ भनी बुझ्न मिल्छ, हैन त ?

यदि निर्वाचन आयोग त्यही गतिमा अगाडि नबढेको भए, अन्य कुनै पनि पक्षको प्रयासले मात्र निर्वाचन सम्भव हुने थिएन । सरकार, सम्माननीय प्रधानमन्त्री र निर्वाचन आयोगले समान गतिमा समन्वय गर्दै निर्वाचन सम्पन्न गर्ने दृढ संकल्पका साथ अघि बढेका छन् । यो सम्पूर्ण प्रक्रिया सबै पक्षको समन्वयात्मक सहयोग र साझा प्रतिबद्धताबाट सम्भव भएको हो । त्यसैले यहाँ कसैको भूमिका ठूलो, सानो वा मध्यम भन्ने भेद छैन । यो सरकार गठन हुनुको मुख्य उद्देश्य नै अग्रिम निर्वाचन सम्पन्न गर्नु हो, र त्यस उद्देश्यमा निर्वाचन आयोगले पूर्ण रूपमा साथ दिएको छ । त्यसकारण निर्वाचन निश्चित रूपमा सम्पन्न हुन्छ । 

भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछिको विषम र चुनौतीपूर्ण परिस्थितिमा निर्वाचन सम्पन्न गर्नु यहाँको प्रमुख दायित्व पनि हो । यो अवस्था विगतका निर्वाचनहरूको तुलनामा अझै अप्ठ्यारो देखिन्छ । यस्तो परिस्थितिमा निर्वाचनलाई कसरी शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गरिनेछ भन्ने विषयमा तपाईंको धारणा के छ ?

अप्ठ्यारो र सजिलो भन्ने मूल्यांकन तपाईंहरूले गर्ने विषय हो; हाम्रो दृष्टिमा निर्वाचन अप्ठ्यारो होइन । निर्वाचन एक अनिवार्य प्रक्रिया हो । यदि निर्वाचनको कुनै वैकल्पिक उपाय हुन्थ्यो भने त्यसबारे सबैले सोच्ने थिए । मुलुकमा उत्पन्न भएको अशान्त अवस्थालाई शान्तितर्फ लैजाने अर्को कुनै व्यवहारिक विकल्प छैन । त्यसैले सबै सरकारहरू निर्वाचनमार्फत नै अघि बढ्छन् ।

निर्वाचनका सन्दर्भमा शान्ति–सुरक्षाको विषयको प्रश्न पनि उठिरहेको छ । यसपटक निर्वाचनमा शान्ति–सुरक्षा कसरी सुनिश्चित गरिनेछ ?

सुरक्षा पक्षमा यो निर्वाचन अघिल्ला निर्वाचनभन्दा अझ बढी सुरक्षित हुने प्रत्याभूति छ । जुन विषयमा सबैले बढी चासो दिन्छन्, त्यो विषय पूर्ण शान्तिपूर्वक सम्पन्न हुन्छ । यसलाई अन्यथा भन्न आवश्यक छैन । यसकारण सुरक्षा सम्बन्धी विषयमा सरकार सचेत छ, आयोग पूर्णरूपले सचेत छ, र सम्बन्धित सुरक्षा निकायहरू पनि पूर्ण सतर्क छन् । उम्मेदवारहरूको शान्ति–सुरक्षा सुनिश्चित गरिएको छ । त्यसैगरी मतदाताको शान्ति–सुरक्षा पनि प्रत्याभूत गरिएको छ, जसले गर्दा मतदाताले सुरक्षित रूपमा मतदान गरेर घर फर्किन सक्ने वातावरण सृष्टि भइसकेको छ । त्यसैले अब सुरक्षा वा अन्य विषयमा शंका–उपशंका गर्नु आवश्यक छैन । निर्वाचन निश्चित रूपमा हुनेछ ।

एक प्रश्न, जुन सान्दर्भिक पनि हुनसक्छ र धेरैले उठाइरहेका छन् जेन्जी आन्दोलनका क्रममा सुरक्षा निकायबाट हतियारहरू लुटिएका र केही कैदीहरू फरार रहेका अवस्थामा, ती लुटिएका हतियारहरू अझै पूर्ण रूपमा नियन्त्रणमा लिइसकेको अवस्था छैन भन्दै गर्दा , निर्वाचन आयोगले यस विषयमा कस्तो खालको गम्भीरता अपनाएको छ ?

सरकारसँगको परामर्शअनुसार लगभग सबै हतियारहरू फिर्ता भइसकेका छन्, केही सामान्य हतियारहरू फिर्ता हुने प्रक्रियामा छन् । नेपालीहरूको इतिहास हेर्दा, थुप्रै अनगिन्ती र अनुमान गर्न नसकिने हतियारहरू बाहिर रहेको अवस्थामा पनि हामीले निर्वाचन सम्पन्न गरी त्यसका परिणाम घोषणा गरेका उदाहरणहरू छन् । त्यसैले सामान्य हतियारहरू बाहिर रहेको आधारमा मात्र हतियारको आशंका गरेर निर्वाचन विथोल्नु उचित हुँदैन । 

शान्ति–सुरक्षा पूर्ण रूपमा सुनिश्चित हुने छ त ? 

सरकारले पनि शान्ति–सुरक्षाको प्रत्याभूति गरिसकेको छ । त्यसका अतिरिक्त, हामीले सुरक्षा निकायका प्रमुखहरूलाई दर्जनौं पटक बोलाएर कोण–प्रतिकोणबाट छलफल गरेका छौँ । यसरी बुझ्दा उनीहरू शान्ति–सुरक्षामा पूर्ण रूपमा ढुक्क छन्  । हामी यसलाई प्रत्याभूत गर्न सक्छौँ । तपाईंहरू निर्वाचनमा अघि बढ्नुस् भन्ने अनुरोध अनुसार, हामीले यही कारणले कार्यक्रम अगाडि बढाएका हौँ ।

प्रमुख आयुक्तज्यू, यसपटक मधेस–तराई क्षेत्रमा प्रमुख राजनीतिक दलका मुख्य उम्मेदवारहरू, शीर्ष स्तरका नेताहरू तथा दलका अध्यक्षहरू नै आफ्नो उम्मेदवारी दिएका छन् । मधेस क्षेत्र पनि संवेदनशील मानिन्छ । यसपटक सुरक्षा प्रबन्ध र मधेसको निर्वाचन कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

निर्वाचनको सन्दर्भमा कुनै पनि उम्मेदवारको प्रभाव वा प्रतिष्ठा बढी वा कम भनेर हामी मूल्यांकन गर्दैनौं । सबै उम्मेदवार बराबरीको हैसियतका हुन् । जहाँ–जहाँ सुरक्षा जोखिम अलि उच्च छ भनी पहिचान गरिएको छ, त्यहाँ विशेष निगरानी कायम राखिन्छ । सरकारले पनि निगरानी राख्नेछ । तर निर्वाचन सम्पन्न गर्ने दायित्व निर्वाचन आयोगको हो, र आयोग यो दायित्व निर्वाह गर्न पूर्ण रूपमा सक्षम छ । त्यसैले निर्वाचन निश्चित रूपमा हुनेछ ।

केही समयअघि हिमाली जिल्लाहरूमा जहाँ अत्यधिक जाडो हुन्छ र हिमपात हुने सम्भावना रहन्छ, त्यस्ता क्षेत्रमा निर्वाचन मिति सर्न सक्छ भन्ने कुरा उठेको थियो । यस विषयमा के स्थिति छ ?

हामीले यस विषयलाई पहिचान गरी मौसम तथा जलवायु विज्ञहरूलाई फाल्गुन महिनाभरि सम्भावित मौसमको अध्ययन गरी प्रतिवेदन दिन निर्देशन दिएका थियौं  । त्यसको जवाफ हामीले प्राप्त गरिसकेका छौं। प्रतिवेदन अनुसार, निर्वाचन हुने एक हप्ता अगाडि र एक हप्ता पछिसम्म कुनै पनि अत्यधिक वर्षा, अनावृष्टि, हिमपात वा असिनाजस्ता प्राकृतिक विपत्तिको सम्भावना छैन । सायद यसलाई हामीले निर्वाचनका लागि शुभलक्षणको रूपमा पनि लिएका छौं ।

निर्वाचन आचारसंहिताको विषयमा कुरा उठेको छ । यसले निर्वाचन आचारसंहितामा कतिको प्रभाव पार्न सक्छ ?

निर्वाचन आचारसंहिता हामीले कडाइका साथ पालन गरिरहेका छौं । कहीँबाट उल्लङ्घन भएको उजुरी, शिकायत वा निवेदन आएको खण्डमा हामीले तुरुन्त स्पष्टीकरण सोधेर आवश्यक कारबाही गर्दै आएका छौं । त्यसैले यस विषयमा कुनै शंका छैन । यस विषयमा तपाईं निश्चिन्त हुनुहोस् ।

यसपटक सामाजिक मिडिया तथा सामाजिक सञ्जालहरूको प्रयोग निकै बढेको देखिन्छ । उम्मेदवारहरू र दलका कार्यकर्ताहरूले पनि यसलाई व्यापक रूपमा प्रयोग गरिरहेका छन् । यस किसिमको सामाजिक सञ्जाल प्रयोगले निर्वाचन आचारसंहितामा कति असर पार्छ वा उल्लङ्घन गराउँछ भन्ने विषय कसरी व्यवस्थापन गरिने हो ?

सामाजिक सञ्जालहरूको प्रयोग अलि बढी भएको हामीले पनि देखेका छौं र यसलाई पहिचान गरिरहेका छौं । तर यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा हामीले योजना बनाइरहेका छौं, त्यो पनि हाम्रो दायरा आउँछ, आउनुपर्छ । 

आयोगले निर्वाचनको पूर्ण तयारी गरिसकेको छ ?

हजुर, सम्पूर्ण तयारी पूरा भइसकेको छ, अब केवल मतदानको प्रक्रिया मात्रै बाँकी छ भन्न सकिन्छ ।

यसपटक एकैपटक निर्वाचन गर्नु कतिको सम्भव छ ? तराईका हिमाली र पहाडी जिल्लाहरू छन् , के सबै क्षेत्रहरूमा एउटै समयमा निर्वाचन सम्पन्न गर्न सकिन्छ ?

सकिन्छ, तोकिएको मितिमा एउटै समयमा मतदान प्रक्रिया सुरु हुनेछ र तोकिएको समयमा मतदान प्रक्रिया समाप्त हुनेछ ।

मतदाताहरूबीच केही अन्योल, दुविधा र विभिन्न प्रकारका भ्रम देखा परेका छन् यस विषयलाई कसरी लिनुहुन्छ ?

अब यस विषयलाई यसरी लिन चाहन्छु , अन्योल र दुविधा भन्ने शब्द नै प्रयोग नगरौं यी शब्द आफैंमा नै दुविधा जनाउने प्रकारका शब्द हुन् । हामी यति हदसम्म अगाडि बढिसकेका छौं, त्यसैले निर्वाचनको सन्दर्भमा यी शब्दहरू उच्चारण नगर्नु नै उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।

प्रमुख राजनीतिक दलहरू वा निर्वाचनमा भाग लिएका दलका नेताहरूसँग गरेको छलफल र संवादबारे उहाँहरुको भनाइ कस्तो पाउनु भयो ?

हामी सबै प्रमुख सरकारका दलहरूलाई समेटेर संवादमा छौं । निर्वाचनको सन्दर्भमा उहाँहरूको भनाइ होइन, गराइ हेर्नुहोस सबै उम्मेदवारले मनोनयन पत्र दाखिल गरिसकेका छन्, बन्द सूची पेश भइसकेको छ र अन्तिम प्रक्रिया सम्पन्न भइसकेको छ । त्यसपछि उनीहरू आफ्नो निर्वाचन क्षेत्रमा प्रचार–प्रसारमा गए । यस परिस्थितिमा उहाँहरूबारे शंका वा उपशंका राख्ने ठाउँ छैन, बाँकी केही हुने छैन ।

निर्वाचनको क्रममा उम्मेदवारहरूबीच सुनिएको गालीगलौजको विषयमा, सर, तपाईंले यसलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

त्यो गर्न पाइँदैन । मैले सुरुबाटै स्पष्ट रूपमा भनिरहेको छु—कुनै पनि दल वा तिनका प्रतिनिधिहरूले अर्को दल वा प्रतिनिधिहरूविरुद्ध निषेधित गालीगलौज, अपमानजनक भाषा वा बदनाम गर्ने गतिविधि प्रयोग गर्न पाइँदैन । यस्ता कार्य गरिएमा कानुनी कारबाहीको विषय बन्छ । त्यसैले सबै सरोकारवाला पक्षहरूलाई यस्ता विषयलाई मुद्दा नबनाउन म अनुरोध गर्दछु ।

गाली गलौज के बढेको हो यसपटक ?

त्यस्तो होइन, पहिले पनि यस्तै भएको थियो, निर्वाचनको बेला यस्ता अवस्था सामान्य नै हुन्छन् ।

अन्तमा के भन्नुहुन्छ ? 

हैन, निर्वाचनको सन्दर्भमा कुनै शंका वा उपशंका राख्ने ठाउँ छैन । निर्वाचनको तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको छ । अब हामी निर्वाचन प्रक्रियामा प्रवेश गर्दैछौं । त्यसकारण सबै सरोकारवाला पक्षहरूले ढुक्क भएर निर्वाचनमा भाग लिएर यस निर्वाचनलाई सम्पन्न गर्नु उनीहरूको दायित्व हा े। निर्वाचन आयोगले जसरी अघि बढिरहेको छ, त्यसैअनुसार सबै सरोकारवाला पक्षहरूले अघि बढेर निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने म अनुरोध गर्दछु ।

यहाँकै कार्यकालमा तपाईंले स्थानीय तहको निर्वाचन, प्रतिनिधि सभाको निर्वाचन तथा अन्य निर्वाचनहरू पनि सम्पन्न गरिसक्नुभएको अनुभव भएकोले, त्यो अनुभवले अहिले तपाईंलाई आत्मविश्वासका साथ अघि बढ्ने आधारहरु छन् हैन त ?

किन नहुनु ? तपाईंले अहिलेसम्म आयोगको तर्फबाट कुनै कमी वा कमजोरी देख्नुभएन, हैन त? आयोगले निर्वाचनको सन्दर्भमा तयारीदेखि लिएर सरकारसँगको संवाद र छलफल, दलहरूसँगको संवाद र छलफल, सरकार र सुरक्षा निकायहरूको भूमिकासहितको समन्वयसम्म कुनै पनि ठाउँमा कमी देखिएको छैन । यदि त्यस्तो भएको भए, आयोग पूर्ण रूपमा ढुक्क र विश्वस्त हुन्थ्यो, र लगनशीलताका साथ निर्वाचन सम्पन्न गर्न सक्षम हुनेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्