ललितकुमार यादव
जलवायु परिवर्तन आज वैज्ञानिक चिन्तन, अन्तर्राष्ट्रिय सम्मेलन र भावी पुस्ताका चिन्ताको विषय मात्र रहेन । यसका प्रत्यक्ष असरहरू नेपाली कृषकको खेतबारी, भान्सा र जीवनयापनमा समेत आज देखिन थालेको छ । अनियमित वर्षा, लामो खडेरी, असिना, बाढी र हिमपातको समयमा परिवर्तन आइसकेको छ । नेपालको कृषि प्रणाली गहिरो संकटतर्फ धकेलिएको छ । खेतीको चक्र बिग्रँदै गएको छ । उत्पादन अनिश्चित बन्दै गएको छ । कृषिमा जोखिम बढ्दै गएको छ । खाद्य सुरक्षाको विषय अब केवल उत्पादन बढाउने विषय मात्र रहेनन् । जलवायु परिवर्तनको जोखिम सहन सक्ने, पोषणयुक्त र दीर्घकालीनरूपमा टिकाउ बालीको छनोट गर्नु कृषकको आजको अपरिहार्य आवश्यकता बनेको छ । यसका लागि दीर्घकालीन रणनीतिक योजना राज्य, समाज र कृषक सबैका लागि आवश्यक छ ।
नेपालजस्तो पहाडी र विविध भौगोलिक संरचना भएका मुलुकमा जलवायु परिवर्तनको असरहरू असमानरूपमा देखिएको छ । कतै खडेरीले बाली सुकाइरहेको छ । कतै अत्यधिक वर्षाले खेत बगाइरहेको छ । कतै असिनाले एकै झड्कामा कृषकको मेहनतलाई सखाप गरिदिएको छ । यसले रैथाने अन्नतबालीको खेतीको आवश्यकतालाई उजागर गरेको छ । रासायनिक मल, उच्च पानी र स्थिर मौसममा निर्भर आधुनिक कृषि प्रणाली जलवायु संकटको सन्दर्भमा झनै असुरक्षित देखिएको छ । यही सन्दर्भमा कोदो, कागुनो, सामा र चिनो जस्ता रैथाने अन्नबालीहरू नेपालका कृषकका लागि विकल्प मात्र होइनन् भन्ने तथ्य पुष्टि हुँदै गएको छ । यी बालीहरू नेपाल र नेपाली कृषकका आवश्यकता बनेर पुनःस्थापित हुन थालेका छन् ।
जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरण गर्न अपनाइने उपायहरू नै जलवायु अनुकूलन हुन् । यसको अर्थ परिवर्तनलाई रोक्नु मात्र होइन । परिवर्तनसँगै बाँच्न सक्ने तरिका अपनाउँदै जानु हो । खडेरी सहन सक्ने बालीका नयाँ प्रजातिहरूको विकास, बाढी प्रतिरोधी संरचनाहरूको निर्माण, जलवायुजन्य प्रकोपको पूर्वसूचना प्रणालीको विकास, तीव्र घटनाहरू सहन सक्ने पारिस्थितिक प्रणालीहरूको पुनस्र्थापना र स्थानीय ज्ञानमा आधारित समाधानहरू जलवायु अनुकूलनका महत्वपूर्ण उपाय हुन् । तर अनुकूलन मात्र पर्याप्त छैनन् । जलवायु उत्थानशीलता त्यत्तिकै महत्वपूर्ण अवधारणा र आवश्यकता हुन् । उत्थानशीलता भनेको विपद् आएपछि पनि समुदाय फेरि उठ्न, सामान्य अवस्थामा फर्कन र दीर्घकालीनरूपमा सुदृढ रहन सक्ने क्षमता हो । अनुकूलनले परिवर्तनसँग बाँच्ने तरिकामा जोड दिन्छ । उत्थानशीलता संकटपछि पनि कसरी सक्षम बन्ने भन्ने क्षमताको विकासमा केन्द्रित छ । यी दुई अवधारणा फरक भए पनि जलवायु परिवर्तनसँग जुध्ने रणनीतिका पूरक आधार हुन् ।
नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकको खाद्य अधिकारलाई सुनिश्चित गरेको छ । पर्याप्त, सुरक्षित र पोषणयुक्त खाना खान पाउने अधिकार मौलिक हकका रूपमा स्थापित छ । स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा संविधानमै राखिएको छ । संविधानको भावनाअनुसार खाद्यको उपलब्धता, पहुँच र पोषणको सुनिश्चितता गर्नु राज्यको दायित्व हो । साथै राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ ले कृषि क्षेत्रलाई जलवायु अनुकूलनको प्राथमिक क्षेत्रका रूपमा पहिचान गरेको छ । तर, व्यवहारमा यी अधिकार र नीतिहरू अझै कागजमै सीमित छन् । स्थानीय सन्दर्भ अनुकूल, जलवायु सहनशील र पोषणमैत्री बालीमार्फत सरकारी नीति र अधिकारलाई कार्यान्वयन गरिनुपर्छ । कागुनो, सामा, चिनो, कोदोजस्ता रैथाने बालीहरू सरकारी नीति र अधिकार कार्यान्वयनको व्यावहारिक आधार हुन् । सरकारी नीति र अधिकारलाई जीवन्त बनाइनुपर्छ ।
नेपालको भोकमरी स्थिति विश्वस्तरमा मध्यम श्रेणीमा रहेको छ । तर सुधारको गति सुस्त छ । पछिल्ला वर्षहरूमा जोखिम पुनः बढ्दै गएको संकेत देखिएको छ । ‘ग्लोबल हंगर इन्डेक्स’ २०२५ अनुसार नेपालको अंक १४.७ बाट बढेर १४.८ पुगेको छ । पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपना २६ प्रतिशत पुगेको छ । अल्पपोषणको दर ५.३ प्रतिशत रहेको छ । बाल मृत्युदर २.६ प्रतिशत र ख्याउटेपना ७ प्रतिशत रहेको छ । ख्याउटेपना र बाल मृत्युदर अझै सार्वजनिक स्वास्थ्यका गम्भीर चुनौतीका रूपमा विद्यमान छन् । नेपालका यी समस्याहरू केवल खाद्यान्न अभावको समस्या होइन । पोषण सुरक्षा र खाद्य प्रणालीको संरचनात्मक कमजोरीको हो ।
कुपोषणको समस्या कृषि प्रणाली, उत्पादन पद्धति र उपभोग संस्कृतिमा आएको परिवर्तनसँग प्रत्यक्षरूपमा जोडिएको छ । आयातमा बढ्दो निर्भरता, रैथाने बालीको घट्दो उपभोग र प्रशोधित खाद्यान्नको उपभोग अत्यधिक बढ्नुले पोषणको सन्तुलनलाई बिगार्दै लगेको छ । जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र सामाजिक आर्थिक असमानताले यी समस्याहरूलाई झनै जटिल बनाएको छ । यसको समाधान दीर्घकालीन र संरचनागत हुनुपर्छ । खाद्य अधिकार, पोषण सुरक्षा र जलवायु अनुकूलन तथा उत्थानशीलतालाई एउटै सूत्रमा जोड्न सक्नुपर्छ ।
कागुनो संसारकै प्राचीनतम अन्नबालीमध्ये एक हो । नेपालको पहाडी, हिमाली र मध्यपहाडी भेगमा परम्परागतरूपमा यसको खेती हुँदै आएको छ । कागुमोको खेती जलवायु परिवर्तनको सन्दर्भमा अत्यन्त उपयोगी मानिन्छ । कागुनो छोटो अवधिमा पाक्ने, रोग किरा कम लाग्ने र न्यून लागतमा उत्पादन दिने बाली हो । साना किसानका जोखिम न्यूनीकरण गर्न मद्दत गर्छ । तीनदेखि चार महिनामै पाक्ने भएकाले यसलाई अनिकाल टार्ने अन्नका रूपमा लिइन्छ ।
कागुनो कोदोजस्तै घाँस परिवारको एकवर्षीय बाली हो । गुच्छेदार मसिना जराहरू रहेका हुन्छन् । यसको बोट लगभग धान जस्तै हुन्छ । तर डाँठ छिप्पिएपछि कडा हुन्छ । यसको बाला फ्याउरोको पुच्छरजस्तो आकारको हुने भएकाले यसलाई फक्सटेल मिलेट भनिएको हो । पोषणको दृष्टिले कागुनो प्रोटिन, फाइबर, आइरन, क्याल्सियम र विभिन्न सूक्ष्म पोषक तत्त्वले भरिपूर्ण छ । ग्लुटेनरहित र लो ग्लाइसेमिक इन्डेक्स भएकाले यो आधुनिक ‘सुपरफुड’सरह मानिन्छ ।
कागुनोले खडेरी तथा असिना सहन सक्छ । भिरालो र कम उर्बर जमिनमा पनि राम्रो उत्पादन दिन्छ । भोकमरीबाट बचाउन सक्ने बालीका रूपमा लिन सकिन्छ । नेपालमा कागुनोको औसत उत्पादन ८१५ केजी प्रतिहेक्टर रहेको छ । भात, खीर र ढिँडो बनाएर खाने चलन छ । हाल सहरी क्षेत्रमा कागुनोको चामलको माग बढ्दै गएको पाइन्छ । विशेष गरी ग्याष्ट्रिक र मधुमेहका बिरामीले कागुनोको खोजी गरेको पाइन्छ । कागुनोमा सरदर १२.३% प्रोटिन, ४.३% चिल्लो पदार्थ, ६०.६% कार्बोहाइड्रेट, ८.०% रेसा तथा ३.३% भस्म पाइन्छ ।
सामा, जसलाई सुदूरपश्चिमका पहाडी भेगमा झुमरोका रूपमा चिनिन्छ । आज लोपोन्मुख अवस्थामा पुगेको छ । कम पानी, कमजोर माटो र सुख्खा जमिनमा पनि उत्पादन दिने यो बाली एकल वा मिश्रित खेती दुवैका लागि उपयुक्त छ । भात, खीर, पुरी र सेलरोटीजस्ता परिकार बनाएर उपभोग गर्ने चलन छ । यो बाली खाद्य सुरक्षा, पोषण र जैविक विविधता संरक्षणका लागि अत्यन्त महत्वपूर्ण छ । पोषणका दृष्टिले झुमरोमा रेसा, आइरन, फस्फोरस र खनिज तत्त्व प्रशस्त पाइन्छ ।
प्रति १०० ग्राम कागुनोबाट ८.८७ ग्राम पानी, ८.७६ ग्राम प्रोटिन, ४.६३ ग्राम चिल्लो पदार्थ, २.८ ग्राम खनिज, ८.७८ ग्राम रेशा, ६६.१६ ग्राम कार्बोहाइड्रेट, ३५१.६१ मिलिग्राम फस्फोरस, ७.०५ मिलिग्राम क्यल्सियम, ३.७१ मिलिग्राम फलाम, ०.५९ मिलिग्राम थायामिन, ०.११ मि.ग्रा. राइवोफ्लोविन र ३४६ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ । यसमा पोलिफिनोल्स, ट्यानिन्स, स्यापोनिन्स, अल्कोलोइड्सय, फ्लाभोनोइड्स जस्ता क्यान्सर निरोधक रसादिहरू पाइन्छन् । अन्य आडिलो खाना पचाउन नसक्ने व्यक्तिका साथै ग्याष्ट्रिक, मधुमेह, उच्च रक्तचाप आदिका बिरामीका निम्ति पनि कागुनोको भात राम्रो मानिन्छ । त्यस्तै प्रति १०० ग्राम सामाबाट १०.२ ग्राम प्रोटिन, ३.६ ग्राम चिल्लो पदार्थ, २ ग्राम खनिज,२८१ मिलिग्राम फस्फोरस, १९ मिलिग्राम क्यल्सियम, ५ मिलिग्राम फलाम, १२.५ मिलिग्राम रेशा र ३०७ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।
यी रैथाने बालीहरूको अर्को महत्वपूर्ण पक्ष दीर्घकालीन भण्डारण क्षमता हो । परम्परागत विधिबाट सुरक्षित राख्दा कागुनो चारदेखि नौ वर्षसम्म पनि बिग्रँदैन । सामालगायतका साना अन्नबालीहरू पनि लामो समयसम्म सुरक्षित भण्डारण गर्न सकिन्छ । विपद्का समयमा आपूर्ति शृंखला अवरुद्ध हुन सक्ने अवस्थामा यस्तो भण्डारण क्षमता भएको अन्नबाली रणनीतिक हिसाबले अत्यन्त महत्वपूर्ण छ । यसले आपत्कालीन अवस्थामा पनि समुदायको परनिर्भरता घटाउँछ र खाद्य अधिकारको व्यावहारिक ग्यारेण्टी गर्छ ।
कागुनो र सामाका दर्जनौं स्थानीय जातहरूले नेपालको कृषि जैविक विविधताको गहिराइलाई देखाउँछन् । विभिन्न उचाइ, माटो र हावापानीअनुसार विकसित यी जातहरू जलवायु परिवर्तनसँग जुध्ने प्राकृतिक ढाल हुन् । राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ ले जैविक विविधता संरक्षणलाई जलवायु अनुकूलनको आधार मानेको छ । तर व्यवहारमा रैथाने बालीको संरक्षण र प्रवर्धनबिना यो लक्ष्य पूरा हुन सक्दैन । बीउ संरक्षण, अनुसन्धान र स्थानीय ज्ञानको दस्तावेजीकरण आजको आवश्यकता हो ।
पोषणका दृष्टिले यी साना अन्नबालीहरूले खाद्य अधिकारको बहसलाई नयाँ आयाम दिन्छ । ग्लुटेन फ्री भएकाले यी बालीहरू गहुँ वा चामल पचाउन नसक्ने व्यक्तिका लागि सुरक्षित विकल्प हुन् । चामलको तुलनामा यी बालीहरूमा बढी प्रोटिन, आइरन, क्याल्सियम, म्याग्नेसियम र प्रशस्त फाइबर पाइन्छ । कुपोषण, सूक्ष्म पोषक, तत्त्वको कमी र असन्तुलित आहार नेपालको दीर्घकालीन चुनौती हो । यसको समाधान स्थानीय स्तरमै स्थानीय बालीमार्फत नै सम्भव छ ।
खाद्य अधिकारको बहसमा पोषणको सवाल अनिवार्य छ । पर्याप्त क्यालोरी मात्र होइन, सन्तुलित र पोषणयुक्त आहार प्रत्येक नागरिकको अधिकार हो । कागुनो र सामाजस्ता बालीहरूले यस अधिकारलाई व्यवहारमा रूपान्तरण गर्छ । विद्यालय पोषण कार्यक्रम, मातृ तथा शिशु आहार, वृद्ध तथा रोगीका लागि विशेष आहारमा यी बालीहरूको समावेशले स्वास्थ्य खर्च घटाउनुका साथै दीर्घकालीन मानव विकासमा योगदान पुर्यायउँछ ।
आर्थिक दृष्टिले पनि यी बालीहरूमा उल्लेखनीय सम्भावना छ । सहर बजारमा स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै कागुनो, सामा लगायतका अन्नबालीको माग बढ्दै गएको छ । प्रशोधन, प्याकेजिङ र मूल्य अभिवृद्धि गर्न सकेमा यी बाली साना कृषकका आम्दानीको मुख्य स्रोत बन्न सक्छन् । यसले ग्रामीण रोजगारी सिर्जना गर्नुका साथै कृषि उद्यमशीलतामा युवाको आकर्षण बढाउँछ ।
राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ र संविधानद्वारा सुनिश्चित खाद्य अधिकार कागजमा सीमित छ । व्यवहारमा उतार्न कागुनो, सामा, चिनो, कोदो जस्ता रैथाने बालीलाई कृषि नीति, बजेट र कार्यक्रमको केन्द्रमा राख्नैपर्छ । बीउ संरक्षणदेखि अनुसन्धान, उत्पादनदेखि प्रशोधन, बजार पहुँचदेखि उपभोक्ता सचेतनासम्मको हस्तक्षेप आवश्यक छ ।संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी जलवायु सहनशील बाली प्रवर्धन कार्यक्रमलाई विस्तार गरिनुपर्छ । विद्यालय, अस्पताल र सार्वजनिक संस्थामा रैथाने बालीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ ।यसले एकातिर स्थानीय कृषकको बजार सुनिश्चित गर्छ भने अर्कोतर्फ पोषण सुरक्षा र जलवायु अनुकूलन दुवै लक्ष्य पूरा हुन्छ ।
कागुनो र सामा विगतको स्मृति मात्र होइनन् । यी भविष्यका सम्भावना हुन् । जलवायु परिवर्तनसँग जुध्ने, पोषण सुरक्षा सुनिश्चित गर्ने र नेपालको कृषि प्रणालीलाई उत्थानशील बनाउने क्षमता यी बालीमा निहित छ । राज्य, समाज र उपभोक्ताले यसलाई स्वीकार गर्न ढिलाइ गर्नु अब आत्मघाती हुन सक्छ । नेपालले आफ्नै माटो, आफ्नै ज्ञान र आफ्नै बालीमा आधारित समाधान खोज्नुपर्छ । कागुनो र सामाजस्ता रैथाने बालीहरू नेपालको खाद्य सुरक्षाको केन्द्रमा उभिन सक्छन । यसका लागि सरकारी नीति, बजेट र व्यवहारलाई एउटै दिशामा अगाडि बढाउनुपर्छ ।
(लेखक नेपाल खाद्य व्यवस्था कम्पनीमा आबद्ध छन् )