नेभिगेशन
दृष्टिकोण

स्वास्थ्य सुधारका लागि नेताज्यूलाई पत्र

डा सुवास प्याकुरेल
नेताज्यू, यहाँले चिन्नुभयो कि भएन ? म त्यही ‘स्वास्थ्य’ हुँ, जो तपाईं जन्मिनुअघि नै आमाको गर्भभित्र हुँदा तपाईंको अवस्था बुझ्न खोज्ने, तपाईं रोएपछि सबैभन्दा पहिले ध्यान दिने र तपाईं मौन हुँदा पनि तपाईंको पीडा पढ्न सक्ने ‘स्वास्थ्य’ हुँ ।

मेरो कुरा उठ्नासाथ तपाईंहरू किन अलमलिनुहुन्छ नेताज्यू ? के गर्ने, कसो गर्ने भन्ने अन्योलमा किन पर्नुहुन्छ ? तपाईं कति शक्तिशाली हुनुहुन्छ, कति धनी हुनुहुन्छ भन्ने कुरा पनि मेरो विषयले ढाकिदिन्छ भन्ने कुरा तपाईंले आफैं स्वीकार्नुभएको थियो । मलाई अझै याद छ, राजनीतिमा आउनुअघि तपाईं स्वास्थ्य र शिक्षाले नै समाज बदलिन्छ भनेर गर्वका साथ भन्नुहुन्थ्यो । घरमा आउने सबैलाई ‘अर्को एक कप चिया थपौं है’ भन्दै स्वास्थ्यकै कुरा सुनाउनुहुन्थ्यो ।

मन्त्री बन्नुअघि तपाईंले भन्नुभएको थियो, ‘यो एम्बुलेन्स किन यति पुरानो ?’ ‘अस्पतालमा किन यति लामो लाइन ?’ ‘अनलाइन सिस्टम किन लागू नगरेको ?’

त्यही विश्वासका कारण आज मन दुख्दा, पीडा पोख्न मन लाग्दा मैले सबैभन्दा पहिले तपाईंलाई नै सम्झिएँ । हालसालै स्वास्थ्य बीमाको बेथितिले सीमा नाघ्यो भन्दै सामाजिक सञ्जाल तातिरहेको छ, प्रधानमन्त्री स्वयं सक्रिय हुनुभएको छ । त्यसैले यो आवाज फेरि बुलन्द भएको हो ।

नेताज्यू, के तपाईंहरूको नजरमा स्वास्थ्य भनेको उठेको पैसा खर्च गराउने क्षेत्र मात्र हो ? कि यो त जनताको स्वास्थ्य जोगाएर अरू सबै क्षेत्र र अर्थतन्त्र चलायमान बनाउने इन्धनमाथिको लगानी हो ?

अस्पताल भनेको जसरी पनि खोल्ने, जसरी पनि चल्न दिने ठाउँ हो र ? अस्पताल फोहोर राख्ने कि सफा राख्ने ? यो कसको जिम्मा हो नेताज्यू ? तपाईं उपचारका लागि सिंगापुर, दिल्ली जाँदा त्यहाँका अस्पताल फोहोर देख्नुभयो ? पिउने पानी, शौचालय, सूचना डेस्क, हेल्पडेस्क, डिजिटल रिपोर्टिङ सबै व्यवस्थित नै देख्नुभयो होला । ल्याब रिपोर्ट अपलोड हुनासाथ डाक्टर, नर्स र बिरामीको मोबाइलमा ‘टुडुङ’ आवाज आउँछ । झ्यालबाट हेर्दा एम्बुलेन्सहरू शान्त तर तीव्र गतिमा आफ्नो काम गरिरहेका हुन्छन् । हो कि होइन भन्नुस् त ? यसो स्मृतिरमण गर्नुस् त ? कस्तो दृश्य तपाईंको दिमागमा आउँछ ?

हाम्रोमा चाहिँ साइरनभन्दा बढी सुस्केरा हाल्दै, बिरामीको पीडा बोकेर गुड्ने एम्बुलेन्स मात्रै देखिन्छन् । म तपाईंहरूको प्राथमिकतामा कहिले नम्बर एक, कहिले दुई, कहिले त दशभित्र पनि नपर्न सक्छु । त्यसैले आज यहाँका सामु पोखिन मन लागेको छ । केही बाँकी नरहने गरी पोखिन मन लागेको छ । 

एक छिन स्वास्थ्य बीमाको कुरा गरौं है नेताज्यू । तपाईंले मेरो आग्रहलाई पक्कै पनि अन्यथा लिनुहुने छैन भन्ने दृढ विश्वास छ । स्वास्थ्य बीमाले राम्रो गरेका बेला त्यो मैले गरेको हुँ भनेर श्रेय लिन सबै दौडिए । समस्या देखिँदा चाहिँ जिम्मेवारी कसले लिने भन्नुस् त ? बीमाभित्रको वास्तविक पीडा के हो, समस्या कुन बिन्दुमा छ, त्यो बुझ्ने प्रयास यहाँबाट भयो कि भएन ? भएको भए त्यसको परिणाम जनताले थाहा किन पाउन सकेका छैनन् ? मेरो हार्दिक नमन छ, आर्थिक स्रोत, ऐन–कानून र नीतिभन्दा ठूलो समस्या दाबी व्यवस्थापन हो भन्ने कुरा किन बुझिँदैन ? त्यसैले स्वास्थ्यजस्तो क्षेत्रमा प्रयोग हुने सोच र सफ्टवेयरको ‘इञ्जिन’ विदेशी होइन, स्वदेशी हुनुपर्छ । मेरा कुराले तपाईंको मन दुखाउन सक्छ । तर झण्डै तीन करोड नेपालीको मन बुझेर यो कुरा उठाउनैपर्ने बाध्यता आयो । एउटा अस्पताल र अर्को अस्पतालको ल्याब रिपोर्ट दिने तरिका एउटै हुनुपर्छ भन्ने साधारण कुरा पनि हामी किन लागू गर्न सक्दैनौं ? मेसिन किन्ने ठेक्का मात्र होइन, भित्री गुणस्तर र प्रणाली किन उपेक्षित ?

स्वास्थ्य क्षेत्रमा नियमनकारी निकाय धेरै भए तर मनकारी निकाय अझै भएनन् । नियमन, अनुगमन, गुणस्तर, बिरामी सुरक्षा, स्वास्थ्यकर्मी सुरक्षा, उपचारका राष्ट्रिय मार्गनिर्देशन, सेकेन्ड ओपिनियन सेन्टर, रेफरल प्रणाली, नयाँ प्रविधि, सूचना प्रविधिको प्रयोग यी विषयहरू किन घोषणापत्रमै सीमित हुन्छन् ?

कुन उपचारको कति शुल्क लाग्ने हो भन्ने अझै किन तोकिएको छैन ? अरू देशमा सम्भव छ, हाम्रो देशमा किन मनलाग्दी ? एउटै समयमा सयौं अस्पताल भवन उद्घाटन हुन्छन् तर ती भवनले मात्रै बिरामी निको पार्छन् र ? जनताले देश मात्र होइन, विश्व देखिसके । एउटा हेल्थ कार्ड बोकेर जुनसुकै अस्पतालमा आफ्नो इतिहास हेर्न पाउने प्रणाली देखिसके । नयाँ प्रविधिको उपचार अनुभूत गरिसके । तर हाम्रो यहाँ सार्वजनिक खरिद ऐनको बहानामा नयाँ प्रविधि नै भित्रिन नदिने प्रवृत्ति छ । 

क्यान्सर केयर जस्तो संवेदनशील विषयमा किन राष्ट्रिय नीति छैन ? प्रारम्भिक जाँचदेखि क्षेत्रगत अस्पताल सञ्जालसम्म किन योजना बन्दैन ? विज्ञ छैनन् भन्ने होइन, सल्लाह लिन मन किन छैन ?

संविधानको धारा ३५ ले स्वास्थ्यलाई मौलिक हक मानेको छ । तर त्यो धारा आफैं पानी बगाउँदैन । त्यसका लागि नीति, कानून, गुरुयोजना र इमानदार कार्यान्वयन चाहिन्छ । ‘एआई, एआई’ भन्दै नारा लगाइरहँदा स्वास्थ्य क्षेत्रमा ‘एआई’ साँच्चै ‘ए आयो’ भन्ने दिन कहिले आउँछ नेताज्यू ?

म नागरिकतर्फ औंला मात्रै ठड्याउँदिन । अस्पताल पुगेपछि आफ्नै पालो चाहिने सोच, आफूलाई परे सबै इमर्जेन्सी ठान्ने प्रवृत्ति, बीमाको म्याद सकिन लाग्यो भनेर अनावश्यक परीक्षण थप्ने बानी यी सबै गलत हुन् । डाक्टर र स्वास्थ्यकर्मीले पनि आफ्ना सुविधा र ट्रेड युनियनको नाममा व्यापारिक सौदाबाजी गर्नु उचित होइन ।
यी सबै नियन्त्रण गर्न सकिने कुरा हुन्– यदि इच्छाशक्ति भए । स्वास्थ्यमा बजेट पुगेन भनेर रोइरहने तर आएको बजेट खर्च नगर्ने, खर्च गरेपछि प्रश्न उठ्ने गरी गर्ने प्रवृत्तिले पनि मन दुखेको छ । ‘विदेशीले नै सबै गर्छन्’ भन्ने मानसिकताको सिकार भइएको छ ।

तीन तहको सरकारबीच समन्वय नहुँदा ‘सर’ र ‘कार’ छुट्टिएजस्तै भएको छ । डाक्टर र स्वास्थ्यकर्मी अभावमा सरकार आफैं पछाडि परेको छ । कम तलब, कम दरबन्दी, बढी कामले तनाव बढ्नु स्वाभाविक हो । आयुर्वेद होस् वा आधुनिक चिकित्सा, सबै विधा बराबर महत्वका हुन् ।

यदि तपाईंलाई स्वास्थ्य खर्च मात्र लाग्छ भन्ने लाग्छ भने स्वास्थ्य पर्यटन, जडीबुटी अनुसन्धान, औषधि विकास र नेपाली युवाको सिर्जनशीलता प्रयोग गरेर स्वास्थ्य सूचना प्रविधि विश्व बजारमा जोड्ने सम्भावना पनि हेर्नुस् । तपाईंको जवाफ चुनावी घोषणापत्रमार्फत पाउने आशा छ ।
(लेखक जनस्वाथ्यको विषयमा कलम चलाउँछन् )

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण