नेभिगेशन
दृष्टिकोण

विचारका बारे विचार गरौं

ड्यानियल फ्रेयर
एक समय थियो, जब हामीले उच्च बौद्धिक सूचकांक (आइक्यू) भएका मानिसहरूलाई मानवजातिको सर्वोत्तम मान्थ्यौँ । तर समय परिवर्तन भयो, विचारहरू बदलिए र उच्च भावनात्मक बुद्धिमत्ता वा भावनात्मक सूचकांक (इक्यू) भएका मानिस चतुर ठानिए र अधिक महत्वका मानिए । तर पछिल्लो अनुसन्धानका अनुसार साँच्चै बुद्धिमान व्यक्तिलाई अरूबाट बेग्लै बनाउने र अविजित हुने गुण भनेको ‘मेटाकग्निसन’ हो । यो शब्दावलीले जनाउन खोजेको भावार्थ के हो भने त्यस्तो व्यक्ति जसले आफ्ना ‘सोचबारे सोच्न सक्ने क्षमता’ राख्छ । तर यहाँनेर के ध्यान पु¥याउनु पर्छ भने त्यस्तो क्षमता भनेको केवल सोच्ने काम मात्र होइन बरु त्यो सोचबारे केही गर्ने क्षमता पनि हो ।

लोकप्रिय विज्ञान पत्रिका नेचरमा प्रकाशित एक अध्ययनअनुसार, मेटाकग्नेटिभ क्षमता भएका व्यक्तिहरू आफ्नो सोच प्रक्रिया (मेटाकग्नेटिभ ज्ञान) प्रति सचेत मात्र हुँदैनन्, उनीहरू यी प्रक्रियालाई अझ प्रभावकारी रूपमा नियन्त्रित (मेटाकग्नेटिभ नियन्त्रण) गर्न र त्यसअनुसार प्रतिक्रिया दिन पनि सक्षम हुन्छन् ।

उक्त अध्ययनले यस विषयमा भएका अनुसन्धानहरूको समीक्षा गरेको छ र लेखकहरूले थप अनुसन्धान आवश्यक रहेको स्वीकार गरेका छन् । तर धेरै अध्ययनहरूले मेटाकग्निसन सिकाइको वातावरण र शैक्षिक उपलब्धिमा अत्यन्त महत्वपूर्ण हुने देखाएका छन् । उनीहरूको दाबी के छ भने आफ्ना सोचहरूको विश्लेषण र चुनौती दिन सक्ने क्षमता नै बुद्धिमत्ताको प्रमुख सूचक हो । विभिन्न शैक्षिक गतिविधिहरूमा उच्च प्रदर्शन गर्ने व्यक्तिहरूमा यो क्षमता न्यून प्रदर्शन गर्नेहरूका तुलनामा बढी रहेको पाइएको थियो ।

अर्को अध्ययनले के देखाइको थियो भिने मेटाकग्नेटिभ क्षमता भएका व्यक्तिहरू भिन्न सोच (डाइभरजेन्ट थिङकिङ) अर्थात् विविध जानकारीलाई नयाँ तरिकाले संयोजन गरेर सिर्जनात्मक विचार उत्पन्न गर्ने क्षमता र एकीकृत सोच (कन्भरजेन्ट थिङकिङ) अर्थात् तार्किक विश्लेषण गरेर एक मात्र सही समाधानमा पुग्ने क्षमता दुवैमा उत्कृष्ट रहेको पाइएको थियो । 

विकास गर्न सकिने सोच विधि

यदि तपाईंलाई मेटाकग्निसन चाहिन्छ तर आफूसँग छैन जस्तो लाग्छ भने चिन्ता नगर्नुहोस् । विशेषज्ञहरूका अनुसार यो जन्मजात गुण होइन; यसलाई विकास गर्न सकिन्छ । तपाईंले केवल राम्रो बानीहरू विकास गर्नुपर्छ । प्रतिक्रिया दिनुअघि रोकिएर सोच्नु, आफ्ना निर्णयहरूबारे मनन गर्नु र अझ सचेत तथा सजग बन्नु यी सबै उचित बानीहरू हुन् । यही सन्दर्भमा थेरापी र कोचिङ उपयोगी हुने मेरो धारणा छ ।

अस्ट्रियाली स्नायुविशेषज्ञ तथा मनोचिकित्सक भिक्टोर फ्र्याङ्क्लिनले एकपटक भनेका थिए, ‘उत्तेजना र प्रतिक्रियाबीच एउटा क्षेत्र हुन्छ । त्यस क्षेत्रमा हाम्रो प्रतिक्रिया रोज्ने शक्ति हुन्छ । हाम्रो प्रतिक्रियामै हाम्रो वृद्धि र स्वतन्त्रता निहित हुन्छ ।’

यो रोक्ने–मनन गर्ने–छनोट गर्ने– प्रतिक्रिया दिने अवधारणा धेरै थेरापी र कोचिङ विधिहरूका आधारित छ । फरक कति मात्र हो भने केहीले यसलाई अरूभन्दा राम्रोसँग अभ्यास गर्छन् ।

हामी सबैसँग मेटाकग्नेटिभ थेरापी (एमसिटी) छ, जुन शाब्दिक रूपमा आफ्ना सोचबारे सोच्ने तरिका परिवर्तन गर्न मद्दत गर्ने थेरापी हो । विशेषगरी चिन्ता र डिप्रेसन उत्पन्न गर्ने विचारहरूमा केन्द्रित हुन्छ । सन् १९९० को दशकको सुरुवातमा मनोवैज्ञानिक एड्रिइन वेल्सद्वारा विकासित यो विधि मनोवैज्ञानिक अध्ययन अनुसन्धानको प्रभावकारी र प्रमाणित अभ्यास हो ।

समस्याबारे सोच्ने तरिका जसमा केवल चिन्ता र डिप्रेसन मात्र सम्बन्धित नभई ओब्सेसिभ–कम्पल्सिभ डिसअर्डर आदि पर्दछन् तिनलाई परिवर्तन गर्न यो विविले तपाईंलाई विचारको सामग्रीमा होइन बरु सोचको प्रक्रियामा ध्यान दिन सिकाउँछ । अर्थात् तपाईं के सोच्नुहुन्छ भन्दा कसरी सोच्नुहुन्छ भन्ने कुरामा यसले ध्यान दिन्छ ।

यहाँ रेशनल इमोटिभ बिहेवियर थेरापी (आइइबिटी) को पनि चर्चा गरौं । किनभने म यसमा केही पक्षपाती छु, यस कारण पनि कि यो मेरो मुख्य विधि हो । यो केवल उत्कृष्ट थेरापी मात्र होइन, उत्कृष्ट कोचिङ विधि पनि हो, जसलाई रेशनल इमोटिभ बिहेवियर कोचिङ (आरइबिसी) भनिन्छ । अझ रोचक कुरा के छ भने यो आफैंमा एउटा दार्शनिक विद्यालय सरह छ । यसले तपाईंलाई आफ्ना सोचबारे सोच्न मात्र होइन, आफूलाई मन नपर्ने वा उपयोगी नभएका विचारहरूलाई सक्रिय रूपमा चुनौती दिन र परिवर्तन गर्न सिकाउँछ ।

आरइबिटी र आरइबिसीमा चार प्रमुख अव्यवहारिक विश्वास (वा दृष्टिकोण) र तिनका चार स्वस्थ विकल्पहरू हुन्छन् । यसले तपाईंलाई अस्वस्थ विश्वासहरूलाई कमजोर पार्न चुनौती दिन र स्वस्थ विश्वासहरूलाई बलियो बनाउन सिकाउँछ । परिवर्तन यही प्रक्रियाबाट हुन्छ, केवल सोचाइमा मात्र होइन, भावना र व्यवहारमा पनि फरकपन आउँछ । यस्ता प्रश्नहरूसँगै आउने चुनौतीका जिज्ञासा के हुन् भनेः ‘के यो विश्वास सत्य हो ? के यो विश्वास तर्कसंगत छ ? र के यो विश्वासले मलाई मद्दत गर्छ ?’

यो अभ्यासक सुरु गर्दा तपाईं मेटाकग्नेटिभको अवस्थामा नहुन सक्नुहुन्छ तर अभ्यासलाई निरन्तरता दिँदै जाँदा अन्त्यमा पुग्दाभने अवश्य तपाईंले सो गुण आफूमा पाउनुहुनेछ । हामीले मेटाकग्नेटिभ क्षमताको प्रशंसा गर्दा अघिल्लो उपलब्धिहरूलाई बेवास्ता गर्नु हुँदैन । उच्च आइक्यू अझै पनि मूल्यवान् छ र मेन्सा इन्टरनेशनल आज पनि विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित उच्च आक्यूयुक्त संस्था हो ।

उता, भावनात्मक बुद्धिमत्तामा धेरै महत्वपूर्ण ‘सफ्ट स्किल्स’ समावेश हुन्छन्— आफ्ना भावनाहरूलाई बुझ्ने, प्रयोग गर्ने र सकारात्मक रूपमा व्यवस्थापन गर्ने क्षमता । यसले तनाव कम गर्न, प्रभावकारी रूपमा संवाद गर्न, अरूलाई सहानुभूति देखाउन, चुनौतीहरू पार गर्न र द्वन्द्व समाधान गर्न मद्दत गर्छ । यसमा सामाजिक सीप, आत्मसचेतना, आत्मनियन्त्रण, सहानुभूति र प्रेरणा जस्ता गुणहरूको मिश्रण हुन्छ र व्यवस्थापन तथा नेतृत्वमा अत्यन्त मूल्यवान् मानिन्छ ।

सामाजिक बुद्धिमत्ता

सकारात्मक मनोविज्ञानमा रुचि राख्नेहरूले यसलाई सामाजिक बुद्धिमत्ता भनेर चिन्छन्, जुन एक प्रमुख चरित्रबल हो । सकारात्मक मनोविज्ञानले चरित्रबलहरूलाई धेरै महत्व दिन्छ किनभने ती मानसिक स्वास्थ्य र समग्र कल्याणका लागि महत्वपूर्ण हुन्छन् । चरित्रबल भनेको यस्तो गुण वा क्षमता हो जसले तपाईंको मुड सुधार्न, स्वास्थ्य उकास्न र प्रवाह अनुभव गर्न मद्दत गर्छ । यस्ता २४ वटा चरित्रबलहरू छन् । यदि तपाईंले आफ्ना शीर्ष पाँच बलहरू पहिचान गरेर तिनैअनुसार जीवन जिउनुभयो भने तपाईं अहिलेभन्दा धेरै खुसी महसुस हुनेछ ।

सामाजिक बुद्धिमत्ता कार्यस्थलमा अत्यन्त मूल्यवान् सीप हो । यसमा सामाजिक चेतना जस्तै अरूबारे तपाईंले के महसुस गर्नुहुन्छ र सामाजिक दक्षता जस्तै त्यो चेतनालाई तपाईंले कसरी प्रयोग गर्नुहुन्छ भन्ने दुवै विषय समावेश भएका हुन्छन् ।

अनुसन्धानकर्ताहरू भन्छन् यसबारे थप खोजबिन गर्नु आवश्यक छ । तर म सोच्दछु, यदि मेटाकग्नेटिभ क्षमता, भावनात्मक बुद्धिमत्ता र सामाजिक बुद्धिमत्ता भएका व्यक्तिहरूलाई शक्ति, प्रभाव र नेतृत्वका स्थानहरूमा राखियो भने के होला ? त्यसो भयो भने पनि संसार आजको भोलि नै स्वर्गै बन्छ भन्ने त होइन तर मानवीय अवस्था अहिलेको भन्दा धेरै राम्रो, सहज, दयालु र सहानुभूतिपूर्ण बन्नसक्ला । वा, फेरि हामी साधारण मानिसहरू नयाँ समस्यामा फस्न पो सक्छौं कि ? प्रश्न अनुत्तरित छ । तर त्यसो भयो वा भएन भन्ने पत्ता लगाउने एउटा उपाय चाहिँ हामीसँग छ, त्यो भनेको गम्भीर रूपमा सोच्ने शैलीको विकास ।
साइकोलोजी टुडे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
घोषणापत्रमा जनजातिका मुद्दा

घोषणापत्रमा जनजातिका मुद्दा

धर्म र अधर्म

धर्म र अधर्म

सम्प्रभू नागरिकको कर्तव्य

सम्प्रभू नागरिकको कर्तव्य