नेभिगेशन
प्रदेश

अहिलेको गोरखा दरबार

नेपाल एकीकरणको गौरवशाली इतिहाससँग जोडिएको  गोरखा दरबार  धार्मिक रुपमा पनि अत्यन्त महŒवपूर्ण रहेको छ ।
गोरखकाली मन्दिर प्रतिको आस्था र नेपालको गरिमामय इतिहासको सुरुआत भएको ठाउँका रूपमा रहेका कारण पनि पर्यटकीय आकर्षण केन्द्रको रुपमा गोरखा दरबार रहेको छ ।
मन्दिर परिसरमा नै रहेका विसं १६१६ अघिका तोप तथा नगराले यहाँको ऐतिहासिकतालाई थप उजागर गरेका छन् । पृथ्वीनारायण शाहकालीन इतिहासलाई पछिल्लो पुस्तासम्म पुर्याउने उद्देश्यका साथ गोरखा दरबार र परिसरमा तत्कालीन समयमा सैनिकले लगाउने गरेका पोशाक र हातहतियारसहित सुरक्षाकर्मी खटाइएको छ ।
राजा रामशाहको पालामा निर्माण  गरिएको गोरखा दरवार परिसरमा रहेको संरचनाहरु मध्ये मूल दरबारको विशेष महŒव रहेको छ । बुँइगलसहित यो दरबार चार तला रहेको छ । दरबारको तेस्रो तला कलात्मक आँखी झ्यालले वरिपरि घेरेर बनाइएको छ । उत्कृष्ट काष्ठकलाका नमूना देख्न सकिने सो मूल दरबार लगायत अन्य विभिन्न संरचनाहरु २०७२ सालको भूकम्पले क्षति गरे पनि हाल पुनः निर्माणको काम सकिसकेको छ ।
सो मूल दरबारमा रहेका केही महŒवपूर्ण कोठा र दरबार परिसरका केही एतिहासिक संरचनाहरुमध्ये नछुटाई हेर्नुपर्नेमा पृथ्वीनारायण शाह जन्मेको कोठा पनि एउटा हो । दरवारको तल्लो अर्थात भुइँतलाको दाँयातर्फको कोठामा पृथ्वीनारायण शाह जन्मेको मानिन्छ । हाल यो कोठा बन्द गरेर राखिएको छ । यो कोठाबाहिर रहेको कोठालाई धुनी कोठा भनिन्छ । भनिन्छ, पृथ्वीनारायण शाह जन्मेपछि यसै धुनीकोठामा सेकताप गरिन्थ्यो ।
दरबारको मूल प्रवेशद्वारबाट गएपछि भित्रीद्वार आउँछ । यसै भित्रीद्वारबाट छिरेपछि बाँयातर्फ एक कोठा छ, जसलाई कन्या कोठा भनिन्छ । यस कोठामा बडा दशैं ८ कन्या र १ कुमारलाई पूजा गरी भोजन गराइन्छ भने बडा दशैंको टीकाको दिनदेखि पूर्णिमाका दिनसम्म गोरखकाली र गोरखकालीसँग सम्बन्धित वस्तुहरु यस कोठामा राख्ने प्रचलन छ ।
यसैगरी कन्या कोठाको ठीक आगाडि सिंहासन कोठा छ । यस कोठामा काठको सिंहासन राखिएको छ, जसलाई पृथ्वीनारायण शाहको सिंहासन भन्ने गरिन्छ । यस कोठालाई काठद्वारा निर्माण गरेको जालीदार बार लगाइएको छ ।
यस्तै कौषीतोषा कोठामा वर्षभरिको पर्वपूजाका सामग्री भण्डारण गरी पूजा सामान तयार गरेर पूजाकोठामा पठाउने गरिन्छ ।
उता भण्डारकोठाभित्र तीन वटा कोठामा दरबारसँग सम्बन्धित पर्व पूजामा आवश्यक पर्नेपूजा सामग्री लगायत अन्य पूजा भाँडाहरु, हतियारहरु भण्डार गर्ने गरिन्छ । यी भण्डारण गरिएका वस्तुहरु पर्वपूजाहरुमा निकाल्ने गरिन्छ ।
दरबारको दोस्रो तलामा ठूलो लामो कुनै घेराबारा नगरेको कोठा रहेको छ जसलाई राजपरिवारको भान्छा भन्ने गरिन्छ । यस भान्छाकोठामा हाल पनि चुलो चौका रहेको देखिन्छ । हाल यस भान्छाकोठामा अष्टमीका दिन कन्यापूजा गर्ने गरिन्छ । भान्छाकोठा सँगैको पूर्वतर्फको कोठामा गोरखनाथको पूजासँग सम्बन्धित वस्तुहरु राख्ने गरिन्छ ।
दरबारको तेस्रो तला तथा बुँइगलमा भगवतीको मुख्य गर्भगृह रहेको छ, जहाँ मुख्य भगवती र भगवतीसँग सम्बन्धित वस्तुहरु राख्ने गरिन्छ । चैते दशैंको एक दिन र बडादशैंको नवरथाभरि भगवतीलाई कालिका मन्दिरको पूजाकोठामा विराजमान गराइन्छ । यस कैलाश कोठामा भित्रीया सुसारेहरुबाहेक अन्य प्रवेश गर्न पाइँदैन ।
गोरखा दरबार र कालिका मन्दिरलाई जोड्ने गरी एउटा भवन बनाइएको छ । यसलाई रंगमहल भनिन्छ । यो रंगमहल दुई तलाको छ । रंगमहल बनाउन भूइँतलामा छत्र शाहले कालिकालाई चढाएको वि.सं. १६६६ को अभिलेख सहितको दुईवटा नगरा राखिएको छ । एउटामा वि.सं. १७७१ को अभिलेख अंकित तोपको भाग राखिएको छ । पहिलो तलामा राजपरिवारहरुले रंगमहलको पटांगिनीमा हुने नाचगान उत्सव र बडा दशैंको टीकाको दिन टीका प्रसाद ग्रहण गरिसकेपछि यस स्थानकाबाट रंग भरेको पानी र अबीर वर्षाई होली खेल्ने परम्परा रहेको छ । हालसम्म पनि होली खेल्ने परम्परा यथावत् कायम छ । रंगमहलको दोस्रो तला मूल दरबार कालिका मन्दिर जाने भित्रको बाटोको रुपमा प्रयोग गर्ने गरिन्छ भने कन्या पूजा र कन्यालाई भोजन पनि यसै तलामा गर्ने गरिन्छ ।
गोरखकाली मन्दिर यहाँको अर्को आकर्षण हो । अलौकिक शक्तिशाली देवताको रुपमा मान्दै आएको यी देवीको प्रतीकलाई कास्की, लमजुङ गर्दै गोरखासम्म ल्याएको लोक विश्वास रहेको छ । द्रव्य शाहले गोरखामा राज्य प्राप्त गरेपछि लमजुङ दरबारबाट उक्त शक्ति चोरेर ल्याइएको भन्ने किम्बदन्ती पाइन्छ भने वंशावलीमा सो प्रतीकलाई बत्तीमा जागा गराएर गोरखा दरबारको पूजाकोठामा ल्याइपु¥याउने प्रयास तेस्रो पटकमा मात्र सफल भएको लेखिएको छ । गोरखकालीको प्रतीकलाई गोप्य पूजाकोठामा राखिने हुँदा दर्शनार्थी र भक्तजनहरुले मन्दिर खण्डको दक्षिणतर्फको ढोकामा पूजाआजा गर्ने चलन छ । गोरखकालीको नामले प्रसिद्ध यो मन्दिर पूर्वाभिमुख रहेको छ । चार तले मन्दिर भनिएता पनि मूल दरबारको वास्तुशैली जस्तै गरी बनाइएको छ । यसको छानामा धातुको गजुर राखिएकाले मन्दिर हो भन्ने बुझिन्छ । कालिका मन्दिरभित्र पनि विभिन्न कोठाहरु रहेका छन् । 
टीकापाती कोठाको पूर्वतर्फ अर्को कोठा रहेको छ, जसलाई मुख्य पूजाकोठा भन्ने गरिन्छ । यो पूजाकोठामा दैनिक पूजा गर्ने गरिन्छ । यस पूजाकोठामा चैतेदशैंको एक दिन र बडा दशैंको नौरथाभरि काली भगवतीलाई कैलाशकोठाबाट ल्याई विराजमान गराइन्छ । यस पूजाकोठामा मूल ब्राह्मण पुजारी र भीरकोटे सुसारे र भित्रिया सुसारेहरुबाहेक अन्यलाई प्रवेश गर्न दिइँदैन ।
गोरखा मूल दरबारको पूर्वपट्टि एउटा गुफामा मन्दिर बनाइएको छ, जसलाई गोरखनाथ मन्दिर तथा गुफा भनिन्छ । यस गोरखनाथ गुफासँग पृथ्वीनारायण शाहको कथा पनि जोडिएको छ । एक दिन पृथ्वीनारायण शाह झ्यालमा बसी राखेको समयमा कसैले बोलाएको सुनी उनी भ¥याङबाट नओर्ली सिधै आवाज आएको ठाउँतिर गएर हेर्दा एकजना जोगीले उनलाई बोलाई दही ल्याउन लगाएको र पृथ्वीनारायाण शाहले दही ल्याई जोगीलाई दिए । जोगीले सो दही खाई पुनः ओकली पृथ्वीनारायण शाहलाई हात थाप्न लगाए । ओकलिएको दही खान आग्रह पृथ्वीले दिगमिग मान्दा खुट्टामा खसेको र जोगीले यो दही खाएको भए जे बोल्यो त्यही पुग्ने थियो तर यो तिम्रो खुट्टामा खस्यो, तिमी जुन भूमिमा टेक्छौ त्यो तिम्रो हुनेछ भनी आशीर्वाद दिएको भनी किम्बदन्ती छ । ठूलो ढुंगामुनि रहेको गोरखनाथ मन्दिरको मूल गर्भगृहमा दैनिक कनफट्टा योगीहरुद्वारा गोरक्ष सहस्रनाम पाठ र पूजा हुन्छ । त्यसैगरी श्रावण महिनामा चार दिनसम्म र शिवरात्री तथा चण्डीपूर्णिमाका दिनसमेत ती योगी तथा अन्य साधु सन्तहरुलाई गोरखा दरबारमा भण्डारा खुवाइन्छ ।
यस्तै दरबार प्रवेश गर्ने दक्षिण तर्फको गेट अगाडि एउटा सानो पाटी छ, जसलाई दमाई पाटी भनिन्छ । यस पाटीमा कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पूजा हुने समयमा बाजा बजाउने गरिन्छ ।
दरबार प्रवेश गर्ने दक्षिण तर्फको गेट अगाडि एउटा ज्यादै आकर्षक घर रहेको छ जसलाई शीतल पाटी भनिन्छ । यस शीतल पाटी विश्रामस्थलका रुपमा प्रयोग गरिन्छ । सर्वसाधारणलाई यसमा प्रवेश गर्न रोक लगाइएको छ । भनिन्छ, तत्कालीन राजपरिवारका सदस्यहरु आउँदा यस स्थानमा विश्राम गरेपछि कालिका मन्दिर दर्शन गर्न जाने गर्दथे । 
तस्बिर ः प्रकाश चन्द तिमिल्सेना÷ नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्