नेभिगेशन
नेपाल
सम्पादकीय

मताधिकारको सर्वोच्चता

एक जुगमा एक दिन एक पटक आउँछ भन्ने गोपालप्रसाद रिमालको कालजयी पंक्ति केवल काव्यात्मक अभिव्यक्ति नभई नेपाली समकालीन राजनीतिक अवस्थाको गहिरो दार्शनिक बोध सरह भएको छ । इतिहासका केही दिन यस्ता हुन्छन्, जसले दशकौँको यात्रा र दिशालाई एकैचोटि मोडिदिन्छन् । नेपालको राजनीतिक इतिहासमा २०८२ सालको फागुन २१ गते त्यस्तै एक जुगको एक दिन बनेर आएको छ । भदौ २३ र २४ का ४८ घण्टा नेपाली लोकतन्त्रका लागि अँध्यारो अध्याय बने । सामान्य माग राखेर भेला भएका युवाहरूको विद्रोहमाथि शक्तिको दुरुपयोग हुँदा कहिल्यै नभएको नरसंहार भयो । ७४ जनाको ज्यान गुम्यो, सयौँ घाइते भए । त्यो केवल संख्या थिएन, त्यो राज्य–नागरिक सम्बन्धमा गहिरो चिरा थियो । शासकीय अकर्मण्यता र निर्णयहीनताले मुलुकलाई कस्तो उथलपुथलमा धकेल्यो भने वर्षौँ संघर्ष गरेर प्राप्त संविधान नै रहला कि नरहला भन्ने राजनीतिक शून्यता पैदा भयो । व्यवस्था के हुने हो ? संविधान जीवित छ कि मूर्छित ? भन्ने प्रश्नले अत्याइरह्यो । 
तर इतिहासले देखाएको छ, नेपालले ठूला संकटहरू पार गर्दै निकास खोजेको छ । जनआन्दोलन, संक्रमण, अस्थिरता हरेक मोडमा अन्ततः कुनै न कुनै समाधान निस्किएको छ । यसपटक पनि त्यही भयो । तत्कालीन संसद् विघटन भयो र संविधानको प्रारूपभन्दा बाहिरबाट अन्तरिम सरकार गठन भयो । यो कदम संविधानसम्मत थिएन भन्ने आलोचना चर्को रह्यो । तर त्यही अन्तरिम व्यवस्थाले ६ महिनाभित्र निर्वाचन गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने मार्गचित्र तय ग¥यो । संविधानले ६ महिनाभन्दा बढी संसदीय रिक्तताको परिकल्पना नगरेको सन्दर्भलाई आधार बनाउँदै पुनः जनादेशमा फर्किने बाटो खोलियो ।
यो विरोधाभासपूर्ण परिस्थिति थियो, एकातिर संविधानको परिकल्पनाभन्दा बाहिर गएर संसद् विघटन भयो; अर्कोतिर त्यही संविधानको आधार समाएर ६ महिनाभित्र नयाँ संसद् गठन गर्ने जिम्मेवारी तोकियो । धेरै संविधानविद्हरूले यस अवस्थालाई ‘संविधान मूच्र्छित’ भएको टिप्पणी गरे । तर उनीहरूले नै नयाँ संसद् आउनासाथ संविधान पुनः सक्रिय हुने व्याख्या पनि गरे । यसको सार स्पष्ट थियो, लोकतन्त्रको आत्मा कागजमा होइन, जनमतमा बस्छ ।
निर्वाचन घोषणा भएको दिनदेखि नै संशयको बादल मडारियो । चुनाव होला त ? भन्ने प्रश्न चिया पसलदेखि सामाजिक सञ्जालसम्म फैलियो । कतिले जानाजानी अविश्वास रोप्न खोजे, कतिले विगतका अनुभवका आधारमा आशंका व्यक्त गरे । तर समयक्रममा तयारीहरू अघि बढे । सुरक्षा संयन्त्र परिचालन भयो । निर्वाचन सामग्री ढुवानी भए । मतदान केन्द्र व्यवस्थित भए । प्रशासनिक संयोजन सुदृढ बनाइयो । मौन अवधि लागू भइसकेको छ । देश औपचारिक रूपमा लोकतान्त्रिक अभ्यासको महायज्ञमा होमिएको छ ।
भदौको विद्रोहपछिको शान्तिले ठीक ६ महिनामा आजको दिनलाई इतिहासमा दर्ज गराउँदैछ । रिमालले भनेझैँ, एक जुगमा एक दिन एक पटक आउँछ, त्यो दिन आज आएको छ । यो केवल मत हाल्ने दिन होइन; यो राजनीतिक क्रमभंगताको अन्त्य गर्ने दिन हो । यो शोकलाई शक्ति, अन्योललाई आशा र अस्थिरतालाई दिशामा रूपान्तरण गर्ने क्षण हो ।
अन्तरिम सरकारको गठन संविधानको अक्षरअनुसार नभए पनि यसको अन्तिम गन्तव्य संविधानकै आत्मामा फर्कनु थियो, जनादेश । अब नवनिर्वाचित जनप्रतिनिधिले नयाँ संसद्को कार्यभार सम्हाल्नेछन् । सत्ता हस्तान्तरण हुनेछ । राजनीतिक लय पुनस्र्थापित हुनेछ । मूर्छित भनिएको संविधान जनमतको स्पर्शसँगै पुनर्जीवित हुनेछ ।
आजको निर्वाचन केवल प्रक्रियागत अभ्यास होइन, नैतिक पुनर्जागरण पनि हो । भदौका ती ७४ जीवनहरू लोकतन्त्रको मूल्य सम्झाउने मौन साक्षी हुन् । उनीहरूको स्मृतिले राज्यसत्तालाई उत्तरदायी बन्न स्मरण गराइरहनेछ । जनताले मतपत्रमा लेख्ने निर्णय केवल प्रतिनिधि चयन होइन, शासनको चरित्र निर्धारण हो ।
इतिहासले फेरि अवसर दिएको छ, संकटलाई मोडेर सम्भावनामा रूपान्तरण गर्ने । आजको दिन त्यसैको प्रतीक हो । यदि यो निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न भयो भने, २०८२ फागुन २१ केवल पात्रोको मिति रहनेछैन; यो नेपाली लोकतन्त्रको पुनर्जन्मको दिनका रूपमा स्मरण गरिनेछ ।
एक जुगमा एक दिन एक पटक आउँछ । त्यो दिनलाई चिन्ने, त्यसको अर्थ बुझ्ने र त्यसलाई सफल बनाउने जिम्मेवारी हामी सबैको हो । लोकतन्त्रको महायज्ञमा प्रत्येक मत आहुति होइन, ऊर्जा हो । यही ऊर्जाले भविष्यको दिशा तय गर्नेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्