नेभिगेशन
नेपाल

राजनीतिमा रास्वपाको नयाँ अध्याय

नयाँको उदय र पुरानाको अवसानः

काठमाडौँ । नेपाली राजनीतिमा बलियो पकड बनाएका परम्परागत शक्तिको विरासत यसपटकको निर्वाचनमा नराम्ररी हल्लिएको छ । फागुन २१ मा सम्पन्न निर्वाचनमा मतदाताले परीक्षण भइसकेका दल र पुराना अनुहारलाई नकार्दै नयाँ र शक्तिलाई अनुमोदन गरेका हुन् । पछिल्लो चुनावी परिणामले देशको राजनीतिक दृश्य फेरिएको छ । 
२०७९ को चुनाव अघि उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसपटक अप्रत्याशित रूपमा धेरै स्थानमा सानदार जित हासिल गरेको छ । १ सय ६५ स्थानका लागि भएको चुनावमा रास्वपाले कांग्रेस, एमाले, नेकपाजस्ता बलिया मानिएका दलहरूलाई नराम्रो झड्का दिएको छ । एक सयभन्दा बढी स्थानमा फराकिलो मतान्तरसहित अग्रता लिइरहेको रास्वपाका दर्जनभन्दा बढी उम्मेदवार उपत्यकाका १५ मध्ये १४ निर्वाचन क्षेत्रमा जित पक्का गरेको रास्वपाले मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा उल्लेख्य सफलता हात पार्दा गण्डकी प्रदेशमा पनि राम्रो मत प्राप्त गरेको छ ।


लामो समयदेखि सत्ता र शक्तिको केन्द्रमा रहेका कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी र राप्रपा रास्वपाको लहर अघि निरीह देखिएका छन् ।
राजनीतिका जानकारहरू अहिलेको परिणाम आउनुमा एमाले, कांग्रेसकै विगतका काम कारक रहेको मान्छन् । विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘ओलीको वैरागलाग्दो छुद्रता, कुशासन, अधमताबाट मुक्ति पाउन यस्तो हुनुबाहेक अरु विकल्प थिएन । जे भयो, राम्रै भयो ।’ 
कांग्रेसमा विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन भएसँगै गगन थापा सभापति बनेका थिए । बदलिएको कांग्रेसको ब्रान्डिङ पनि रास्वपाको अघि टिक्न सकेन । यसो हुनुमा यसअघि सभापति रहेका शेरबहादुर देउवाको एमाले अध्यक्ष ओलीसँगको सहकार्य कारण रहेको मान्छन् उनी । अब ‘रिभेन्ज’ र ‘रिप्लेसमेन्ट’ पूरा भयो । ‘रिफर्म’ र ‘रिकन्सट्रक्सन’तिर नलाग्न विश्लेषक खतिवडाले सुझाव दिएका छन् ।
विश्लेषकहरूका अनुसार, यो नतिजा पुराना दलहरूका लागि गम्भीर चेतावनी हो । जनताले अब आश्वासन मात्र होइन, परिणाम खोजेको यो नतिजाले स्पष्ट पारेको छ । यो कुनै एउटा पार्टीको जित मात्र नभई, पुरानो कार्यशैलीप्रतिको चर्को असन्तुष्टि पनि रहेको विश्लेषकहरूको भनाइ छ ।
प्रतिनिधिसभा २ सय ७५ सदस्यीय छ । १ सय ६५ प्रत्यक्ष र १ सय १० सदस्य समानुपातिक प्रणालीबाट चयन हुन्छ । मिश्रित निर्वाचन प्रणालीबाट कुनै दलले बहुमत ल्याउन सक्दैन र स्थिर सरकार दिन सकिँदैन भनिन्थ्यो । तर, यसपटकको परिणामले यस्तो भनाइलाई खण्डित गरेको छ । अर्थमन्त्री रामेश्वर खनाल भन्छन्, ‘अहिलेसम्म गणना गरिएको मत संख्याको आधारमा यो संविधानले बहुमत सहितको स्थिर सरकार दिन सक्दैन भन्ने टिप्पणीलाई फेरि एक पटक गलत प्रमाणित हुने देखाएको छ ।’
१ सय ६५ प्रत्यक्ष सिटमध्ये शुक्रबार रास्वपाले मध्यरातसम्म एक्लै १ सय ९ क्षेत्रमा अग्रता लिइरहेको छ । प्रत्यक्षतर्फ अत्यधिक बहुमत पाउने लक्षण देखाएको रास्वपाले समानुपातिकतर्फ पनि सोही अनुपातमा मत पाउने प्रारम्भिक संकेत देखिएको छ । त्यसो भएमा रास्वपाले सहज बहुमत पाउने र एकल सरकार बनाउन सक्ने अवस्था बन्ने छ । रास्वपाको यो उदयले संसद्मा अबका दिनमा कानून निर्माण र सरकारको निगरानीमा नयाँ खालको ऊर्जा थपिने अपेक्षा गरिएको छ । यद्यपि, नयाँ दलका लागि प्राप्त यो जनमतलाई जोगाएर लैजानु र जनताका अपेक्षाहरू पूरा गर्नु ठूलो चुनौती रहने छ ।

अस्तित्व संकटमा पुराना दल
नेपाली राजनीतिको चुनावी इतिहासमा यसपटकको निर्वाचनले एउटा अभूतपूर्व मोड ल्याएको छ । यो नतिजाले नेपाली राजनीतिमा परम्परागत शक्तिको विरासत हल्लिएको मात्र छैन, मतदाताले स्पष्ट रूपमा विकल्पको खोजी गरेको सन्देश समेत दिएको छ । 
शहरी क्षेत्रदेखि  मोफसलका जिल्लाहरूसम्म रास्वपाको लहर देखिँदा पुराना दल अस्तित्व जोगाउने संकटमा परेका छन् । रास्वपाले अप्रत्याशित जित निकालेपछि पुराना दलहरू स्तब्ध बनेका छन् ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन परिणाम स्वीकारेका छन् । ‘बुलेट’बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहो¥याउँदै ‘ब्यालेट’बाट आउँदै गरेको रास्वपालाई स्वागत । २०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन । चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मूल प्रश्नमा साथ र खबरदारी दुबै रहनेछ,’ शर्माले भनेका छन् । 
हिजोका दिनमा आफूलाई अपराजेय ठान्ने र निश्चित क्षेत्रलाई आफ्नो ‘सुरक्षित किल्ला’ मान्ने पुराना दलहरू नराम्ररी पछि परेकामा झस्किएका छन् । 
विशेष गरी युवा र शिक्षित वर्गको ठूलो हिस्साले रास्वपाको एजेन्डालाई खुलेर समर्थन गरेको देखिन्छ । भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र दैनिक सेवा प्रवाहमा सुधार ल्याउने प्रतिबद्धताले जनताको मन जित्दा पुराना दलहरूले दिएका आश्वासनहरू यसपटक फिका साबित भएको देखिएको छ । यो चुनावी परिणामले संसद्को गणित मात्र बदलेको छैन, यसले पुराना दलहरूका लागि आत्मसमीक्षा गर्ने गम्भीर अवसर पनि दिएको छ । अर्कोतर्फ, नयाँ शक्तिका रूपमा उदाएको रास्वपाका लागि यो जित जति खुसीको विषय हो, त्यति नै ठूलो जिम्मेवारी र चुनौती पनि हो । प्राप्त जनमतलाई कदर गर्दै संसद्मा रचनात्मक भूमिका खेल्नु र जनताका अपेक्षाहरूलाई नीतिगत तहमा उतार्नु रास्वपाको मुख्य कार्यभार हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्