नेभिगेशन
मनोरञ्जन

अन्तर्राष्ट्रिय नारी दिवसका लागि एउटा उपयुक्त तस्बिर

काठमाडौं । तपाईं अभिनेत्री सुरक्षा पन्तको प्रशंसक हो भने उनले फेसबुकमा पोस्ट गर्ने तस्बिर नियमित हेर्नुहुन्छ होला । उनले अर्थपूर्ण तस्बिरहरू राख्ने गर्छिन् । तीमध्ये एउटा तस्बिर यो पनि एक हो, जहाँ एउटा पोस्टर ‘वी क्यान डु इट !’ देखिन्छ ।
यो पोस्टरको मूल विदेशी हो तर यसमा देखिएकी पात्र कुनै विदेशी होइनन् । नियालेर हेर्नुभयो भने त्यहाँ सुरक्षाकै अनुहार देखिन्छ । ‘लाइफ ड्यामेज’ फिल्मको पोस्टरमा यो ‘नेपाली वी क्यान डु इट !’ देखिन्छ ।
यो पोस्टरको मूलकथा निकै रोचक छ । विश्व इतिहासमा केही चित्रहरू यस्ता हुन्छन्, जसले कला मात्र नभई, एउटा समयको भावना र सामाजिक परिवर्तनलाई पनि प्रतिनिधित्व गर्छन् । ‘वी क्यान डु इट !’ पनि त्यस्तै एउटा प्रसिद्ध दृश्य प्रतीक हो । नीलो पोसाक लगाएकी, रातो पोल्का डट भएको रुमालले कपाल बाँधेकी एउटी महिलाले आफ्नो हातको मांसपेशी देखाउँदै आत्मविश्वासका साथ भनिरहेकी छन्, ‘वी क्यान डु इट !’
अहिले यो पोस्टर महिला सशक्तीकरणको प्रतीकका रूपमा विश्वभर चिनिन्छ, तर यसको वास्तविक जन्मकथा भने दोस्रो विश्वयुद्धसँग जोडिएको छ ।
सन् १९४० को दशकमा संसार दोस्रो विश्वयुद्धको चपेटामा थियो । लाखौं पुरुषहरू सैनिकका रूपमा युद्ध मैदानमा भिड्दै थिए । त्यो बेला अमेरिकालगायत धेरै देशका उद्योगहरूमा कामदारको अभाव हुन थाल्यो ।
यस्तो परिस्थितिमा अमेरिकाको वेस्टिङहाउस इलेक्ट्रिक कर्पोरेशनले आफ्नो कारखानामा काम गर्ने कर्मचारीहरूलाई प्रेरित गर्न पोस्टरहरूको शृंखला तयार ग¥यो । यस क्रममा सन् १९४३ मा कलाकार जे होवार्ड मिलरले वी क्यान डु इट ! पोस्टर बनाएका थिए । यो पोस्टरको उद्देश्य महिलाहरूलाई उद्योग र कारखानामा काम गर्न उत्साहित गर्नु थियो । त्यो बेला महिलाहरूलाई जहाज, विमान, हतियार तथा अन्य सैन्य सामग्री उत्पादन गर्ने उद्योगमा काम गर्न बोलाइएको थियो । युद्ध जित्न महिलाको योगदान आवश्यक थियो र यही सन्देश दिन पोस्टर बनाइएको थियो ।
यो पोस्टरमा देखिएकी पात्रलाई पछि रोजी द रिभिटर भनेर चिनिन थालियो । रोजी काल्पनिक पात्र हुन्, जसले युद्धकालीन कारखानामा काम गर्ने लाखौं महिलाको प्रतिनिधित्व गर्थिन् । उनी शक्ति, आत्मविश्वास र मेहनतको प्रतीक बनेकी थिइन् । त्यतिबेला अमेरिकामा महिलाहरू ठूलो संख्यामा उद्योगमा प्रवेश गर्न थाले । सन् १९४० देखि १९४५ को बीचमा अमेरिकामा लाखौं महिलाले पहिलोपटक औद्योगिक क्षेत्रमा काम गर्न थालेका थिए । पछिल्लो समय यो पोस्टर जति चर्चित बन्न पुगेको छ, त्यो बेला भने वी क्यान डु इट पोस्टर त्यति चर्चित थिएन । वास्तवमा यो पोस्टर केही हप्ता मात्र वेस्टिङहाउस कम्पनीका कारखानामा झुण्ड्याइएको थियो । युद्धपछिका अवस्थामा यो पोस्टर लगभग बिर्सिइयो । दशकौंसम्म धेरै मानिसलाई यसको अस्तित्वको बारेमा थाहा नै थिएन । 
सन् १९८० को दशकमा यो पोस्टर फेरि सार्वजनिक भयो । इतिहासकारहरूले पुराना अभिलेख खोज्दा यो पोस्टर भेटियो र त्यसपछि यसको नयाँ व्याख्या सुरु भयो । यसपटक युद्धकालीन प्रचार सामग्रीका रूपमा मात्र नभई महिला अधिकार र समानताको प्रतीकका रूपमा पुनः व्याख्या हुन थाल्यो । नारीवादी आन्दोलनले यसलाई महिलाको आत्मविश्वास, श्रम र क्षमताको प्रतीकका रूपमा अपनायो । त्यसपछि वी क्यान डु इट पोस्टर विश्वभर महिला सशक्तीकरणको शक्तिशाली चिह्न बन्न पुग्यो ।
यो बेला वी क्यान डु इट पोस्टर ऐतिहासिक दस्तावेज मात्र नभई विश्वभरका आन्दोलन, अभियान, पोस्टर कला, फेसन र सामाजिक सन्देशमा प्रयोग हुने एउटा शक्तिशाली प्रतीक बन्न पुगेको छ । यसले महिलाहरू सक्षम छन्, बलिया छन् र कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सक्छन् भन्ने सशक्त सन्देश दिन सफल भएको छ । यसरी युद्धका बेला बनाइएको एउटा साधारण प्रचार पोस्टर समयसँगै परिवर्तन हुँदै समानता, आत्मविश्वास र सामाजिक परिवर्तनको विश्वव्यापी प्रतीक बनेको छ । यही कारणले वी क्यान डु इट ! पोस्टरलाई इतिहासका सबैभन्दा प्रभावशाली पोस्टरहरूमध्ये एक मानिन्छ ।
उनले ‘अल्टरनेटिभ गर्ल’ ह्यासट्याग गरेकी छन् । यसको अर्थ उनले कलाकारिताबाहेक पनि एउटा इन्जिनियरका रूपमा आफ्नो करियरका बारेमा बताएकी छन् । त्यस्तै ‘कला र इन्जिनियरिङ’ ह्यासट्याग गरेकी छन् । उनले एउटी महिलाका रूपमा कलाकारिताबाहेक गरिरहेको इन्जिनियरिङको कामले महिला सशक्तीकरण प्रस्तुत गरिरहेको सन्देश तस्बिरमार्फत दिन खोजेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्