आज वि.सं. २०८३ वैशाख १८ गते तदनुसार सन् २०२६ मे १ को यो २५७० औं बुद्ध जयन्ती अर्थात् बुद्ध पूर्णिमाको त्यो पूर्णताले हामीलाई फेरि एक पटक झकझकाएको छ सम्झाएको छ । पात्रोका पानाहरू फेरिएका छन्, तर बुद्धको करुणाको सुगन्ध अझै उस्तै ताजासँग मगमगाइरहेको छ । विश्वले २५७० औं बुद्ध जयन्ती मनाइरहँदा लुम्बिनीको पवित्र भूमिबाट प्रष्फुटित शान्तिको ज्योति झन् प्रखर बनेको छ । यो केवल एउटा धार्मिक उत्सव मात्र होइन, बरु मानव सभ्यताको इतिहासमा सत्य, अहिंसा र करुणाको विजयको विरासत र मानव चेतनाको पुनर्जागरणको पर्व हो । बुद्धको जन्मथलो नेपालबाट सुरु भएको यो ‘सम्यक सम्बोधि’ को उज्यालोले आज पनि विश्वलाई मार्गनिर्देशन गरिरहेको छ । लुम्बिनीको पवित्र बगैँचाबाट उदाएका ‘सम्यक् सम्बोधि’ को उज्यालो किरणले आज पनि विश्वका कुनाकाप्चाहरूमा व्याप्त अशान्ति, द्वन्द्व र अज्ञानताको कुहिरोलाई चिर्ने प्रयास गरिरहेको छ । संयोगवश, यस वर्षको बुद्ध जयन्ती अन्तर्राष्ट्रिय श्रमिक दिवस, आदिवासी किराँत समुदायको महान् पर्व उभौली र विजिए नेपालको अगुवाइमा यज्ञडोल स्थित स्थापित श्री गुरुङ्गेश्वर कुल मन्दिरमा प्रकृतिपूजक आदिवासी तमू गुरुङ्गहरुको कुलपितृ पूजा पर्वसँगै परेको छ । यो संयोगले नेपालको सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई एउटै मालामा उनेको छ ।
आज विश्वका ५० करोडभन्दा बढी मानिस बुद्ध धर्मको छानामुनि छन् र यो विश्वको चौथो ठूलो धर्मका रूपमा स्थापित छ । बौद्धमार्गीहरूका लागि चार पवित्र तीर्थ स्थलहरू अत्यन्त महत्वपूर्ण छन्ः १) लुम्बिनीः बुद्धको जन्मस्थल, २) बोधगयाः सम्यक सम्बोधि प्राप्त गरेको स्थान, ३) सारनाथः पहिलो उपदेश दिएर धर्मचक्र प्रवर्तन गरेको स्थान र, ४) कुशिनगरः महापरिनिर्वाण प्राप्त गरेको स्थान । बुद्धको सन्देशले हामीलाई सिकाउँछ कि शान्ति कुनै बाह्य वस्तु होइन, यो त आन्तरिक रूपान्तरणको परिणाम हो । यस पावन अवसरमा नेपालमा बुद्ध जयन्ती राष्ट्रिय बिदाको रूपमा भव्य रूपमा मनाइन्छ । बौद्ध विहार, गुम्बा, मठ, चैत्य, स्तूपाहरूमा रंगीचंगी धर्मध्वजा पताकाहरुले सजाउछन हजारौं बौद्ध भक्तजनहरूले पूजाआजा, धार्मिक अनुष्ठान गर्छन्, प्रार्थना गर्छन् र शान्तिको गाथा गाउँछन् । नेपालमा मात्र होइन, विश्वभरका बौद्ध तथा गैरबौद्ध समुदायले शान्ति पदयात्रा, ध्यान, योगा, दीप प्रज्वलन र दानका माध्यमबाट बुद्धको शिक्षालाई स्मरण गर्दछन् । संयुक्त राष्ट्रसंघले सन् १९९९ मा वेसाक (बुद्ध जयन्ती) लाई अन्तर्राष्ट्रिय मान्यता दिएको थियो, जसले बौद्ध धर्मको मानव सभ्यतामा पु¥याएको योगदानलाई स्वीकार गर्दछ । काल गणना र बौद्ध क्यालेन्डरले बुद्धको महापरिनिर्वाण (लगभग ५४४÷५४३ ई.पू.) लाई आधार बनाएर गणना गर्छ । नेपालको थेरवाद परम्परा र अन्तर्राष्ट्रिय गणनाअनुसार सन् २०२६ ईस्वीलाई २५७० औं बुद्ध वर्ष मानिन्छ जसको नयाँ वर्ष वैशाख पूर्णिमाबाटै सुरु हुन्छ । नेपालमा मुख्य रूपमा विक्रम संवत् प्रयोग भए तापनि बौद्ध समुदायमा ‘बौद्ध संवत्’ को विशेष सांस्कृतिक र धार्मिक महत्त्व रहेको छ ।
बुद्धको ऐतिहासिक पदचाप पच्छ्याउँदै इतिहासका पानाहरू पल्टाउदै जाँदा, ईसापूर्व ५६३ को त्यो वैशाख पूर्णिमाको दिन सम्झना आउँछ, जब रानी मायादेवीले लुम्बिनीको शाश्वत शान्तिमा सिद्धार्थलाई जन्म दिइन् । सिद्धार्थको जन्म केवल एउटा राजकुमारको जन्म थिएन, त्यो त एउटा युगान्तरकारी दर्शनको बीजारोपण थियो । बुद्धको जीवनका तीन प्रमुख घटनाहरू जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एउटै वैशाख पूर्णिमाको दिन पर्नु आफैंमा एउटा ब्रह्माण्डीय रहस्य र अपूर्व ‘त्रि–संयोग’ हो जसलाई त्रीगुण महापर्व पनि भन्ने गरिन्छ । यो दिनलाई बौद्ध परम्पराले विश्व शान्ति र करुणाको महोत्सवका रूपमा पनि मनाउने गर्छन् । बुद्धले ८० वर्षको उमेरमा कुशीनगरमा देहत्याग गर्दा उहाँले छोडेर गएको शिक्षा आज २५७० वर्षपछि पनि उत्तिकै सान्दर्भिक छ । बुद्धको समयमा समाज कट्टरपन्थी विचार र बलि प्रथामा रुमल्लिएको थियो । उहाँले मध्यम मार्गको प्रतिपादन गरेर अतिवादको अन्त्य गर्ने बाटो देखाउनुभयो । आजको विश्व, जो एकातिर चरम विलासिता र अर्कोतिर चरम गरिबीको चपेटामा छ, उसलाई बुद्धको मध्यम मार्गले सन्तुलनको पाठ सिकाउँछ ।
बौद्ध कला र मूर्तिकलाको विकास प्रतीकदेखि स्वरूप मानव स्वरूपसम्मको यथार्थहरुले बुझाउछ कि, इतिहास आफैंमा कुनै काल्पनिक कथा कहानी होइन; यो त सत्य तथ्यका अवशेष र तार्किक अन्तरसम्बन्धहरूको दस्तावेज हो । बुद्धको दर्शनको प्रारम्भिक चरणमा उहाँ स्वयं मूर्ति पूजाका पक्षधर हुनुहुन्थेन । बुद्धले सधैं आफ्नो उपदेश धम्मलाई नै मार्गदर्शक मान्न जोड दिए । त्यसैले, बुद्धको महापरिनिर्वाणपछिका झण्डै ४–५ शताब्दीसम्म उहाँको कुनै मानवीय मूर्ति बनाइएन बनेन । त्यस समयमा बुद्धका शारीरिक अवयवका अस्तु धातुहरूलाई कलश तथा चैत्यहरूमा राखेर पूजापाठ र प्रार्थना गरिन्थ्यो । तत्कालीन अनुयायीहरूले तथागत बुद्धका विचार र दर्शनलाई चट्टानी शिलालेखहरूमा उतारेर उहाँप्रति नतमस्तक हुन्थे । काठमाडौंको साँखु बज्रयोगिनी परिसरमा रहेको राजा विक्रमादित्यको शिरको मूर्ति बुद्धकै शिरको बनावटसँग मेल खानुले पनि तत्कालीन बौद्ध कलाको व्यापकता र प्रभावलाई संकेत गर्छ ।
बुद्धका मूर्त अमूर्त स्वरूप र ऐतिहासिक यथार्थहरुले भन्छः बुद्धका मूर्तिहरू बन्नुभन्दा पहिले उहाँलाई पदचिह्न, बोधिवृक्ष वा धर्मचक्रका रूपमा मात्र देखाइन्थ्यो । तर, कालान्तरमा महायान सम्प्रदायको उदयसँगै मानवीय स्वरूपको आवश्यकता महसुस गरियो र कालन्तरमा महायानीहरुले मुर्ति पूजा सुरुवात गरे । यद्यपि संसारमा सबैभन्दा बढी बुद्धकै मूर्ति पाइन्छ । ऐतिहासिक तथ्यअनुसार तथागत बुद्धका स्वरूपहरू ईस्वी संवत् १२७ देखि १४० को हाराहारीमा पहिलो पटक निर्माण गरिएका थिए । यस सन्दर्भमा एक रोचक ऐतिहासिक तुलना गर्न सकिन्छ । २९ अप्रिल १८४८ मा भारतका केरलमा जन्मेका राजा रवि वर्माले पौराणिक कथा कहानीहरूका पात्रहरूलाई काल्पनिक चित्रमार्फत विशेष सुन्दर रूप दिएका थिए, जसलाई पछि मूर्तिको रूपमा रूपान्तरण गरियो । बुद्धको हकमा पनि प्रारम्भिक कलाकारहरूले उहाँको ‘आध्यात्मिक आभा, तेज’ र ‘३२ महापुरुष लक्षण’ लाई आधार मानेर एउटा आदर्श आकार तयार पारे । आज हामीले देखिरहेको बुद्धको मूर्ति ऐतिहासिक यथार्थ र आध्यात्मिक परिकल्पनाको उत्कृष्ट संयोजन हो । आजसम्मका लामो कालखण्डमा धेरै उतारचढाव परिवर्तन भए वा गराए तापनी बुद्धका कुनै न कुनै अंशमा केही न केही रूपमा जुनसुकै समयमा बुद्धका विभिन्न रूपः मूर्ति, स्तूप, शिलालेखमार्फत र बौद्ध सम्पदा क्षेत्रको पूरातात्विक उत्खननबाट निस्किएका प्रमाणहरुमार्फत समेत उहाँको उपस्थिति निरन्तर जीवित र कालजयी रहँदै आएको छ र भविष्यमा पनि रहनेछ । ती चट्टानी प्रस्तर मूर्तिहरू, पूरातात्विक प्रमाणहरु र शिलालेखहरूले नै बुद्धको ऐतिहासिक अस्तित्वलाई प्रमाणित गरिरहेका छन् । बुद्ध स्वयंले आफ्नो मूर्ति बनाउन कहिल्यै प्रोत्साहन गर्नुभएन । उहाँका अनुसार बुद्ध भनेको शरीर होइन, बुद्ध भनेको त ‘ज्ञान’ र ‘जागृति’ हो । त्यसैले बुद्धको महापरिनिर्वाण भएको झण्डै ४०० देखि ५०० वर्षसम्म उहाँलाई मानवीय स्वरूपमा चित्रण गरिएन । प्रारम्भिक बौद्ध कलामा बुद्धलाई पदचिह्न (पैताला), बोधिवृक्ष, धर्मचक्र, छत्र वा खाली आसनका रूपमा प्रतीकात्मक पूजा गरिन्थ्यो ।
जब गान्धार र मथुरा कलाको उदय भयो तब ईस्वी संवतको पहिलो शताब्दीतिर कुषाण वंशका राजा कनिष्कको संरक्षणमा बुद्धलाई पहिलो पटक मानव स्वरूपमा ढाल्ने काम भयो । यसले बौद्ध इतिहासमा नयाँ आयाम थप्यो । गान्धार कलाः हालको अफगानिस्तान र पाकिस्तानको क्षेत्रमा विकसित यस कलामा ग्रीक र रोमन शैलीको प्रभाव थियो । यहाँ बुद्धका मूर्तिहरूमा पश्चिमी शारीरिक बनावट, लहरै मिलेको कपाल र रोमन ‘टोगा’ जस्तो लुगा देखिन्थ्यो । यसलाई ‘ग्रीक–बौद्ध कला’ पनि भनिन्छ । मथुरा कलाः यो पूर्णतया सनातनी भारतीय शैली थियो । यहाँ बुद्धलाई शक्तिशाली, हँसिलो र भारतीय यक्षहरूको जस्तो शरीरमा प्रस्तुत गरियो । ३२ महापुरुष लक्षण र सौन्दर्यशास्त्र सम्पन्न बुद्धका मूर्तिहरू बनाउँदा ३२ महापुरुष लक्षणहरूलाई ध्यान दिइन्छ । टाउकोमा रहेको ‘उष्णीष’ ले उच्चतम ज्ञानको शिखरलाई जनाउँछ भने ‘उर्णा’ दुई आँखीभौंको बीचको चिन्हले दिव्य दृष्टिलाई संकेत गर्छ । लामा लोतीका कानहरूले संसारका सारा दुःखहरूलाई सुन्न सक्ने करुणा र उहाँको राजकुमार हुँदाको राजकीय त्यागलाई दर्शाउँछन् । बुद्धको मूर्तिमा देखिने त्यो शान्त सौम्य ‘सम्यक् मुस्कान’ ले आन्तरिक आनन्दको पराकाष्ठालाई अभिव्यक्त गर्दछ ।
साहित्यको आँखाबाट हेर्दा बुद्ध एक महान् कवि र दार्शनिक पनि हुनुहुन्थ्यो भन्ने देखिन्छ बुझिन्छ । उहाँका उपदेशहरू ‘धम्मपद’ मा काव्यिक शैलीमा बुनिएका छन् जुन ‘धम्मपद’ बौद्धधर्मालम्बीहरुको सबैभन्दा महत्वपूर्ण ग्रन्थ हो जति हिन्दुधर्मालम्बीहरुको लागि ‘गीता’ महत्वपूर्ण छ । नेपाली साहित्यमा पनि बुद्धको प्रभाव गहिरो छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायत धेरै स्रष्टाहरूले बुद्धको करुणालाई आफ्ना शब्दमा उतारेका छन् । बुद्धलाई एशियाको तारा भने पनि वास्तवमा विश्वमा बुद्ध एक अमर ज्योती हुन् । बुद्धका वाणीहरूमा जुन सादगी र गम्भीरता छ, त्यसले संसारका ठूला–ठूला दार्शनिकहरूलाई पनि स्तब्ध बनाएको छ । ‘जसरी वर्षाले कच्चा घरलाई भत्काउँछ, त्यसरी नै रागले असंयमित मनलाई नष्ट गर्छ,’ भन्ने धम्मपदको वाणीले मानव मनोविज्ञानको कति गहिरो व्याख्या गर्दछ !
बौद्ध धर्मका एउटै मूल जराबाट पलाएका तीन मुख्य हाँगाहरूमा, बौद्ध दर्शन र शिक्षालाई अभ्यासका आधारमा तीन मुख्य ‘यान’ अर्थात् मार्गमा प्रशस्त गरिएका छन् । १) हिनयान (थेरवाद)ः यसलाई ‘स्थविरवाद’ पनि भनिन्छ । यो बुद्धको मौलिक र प्राचीन शिक्षामा आधारित छ । यो सबैभन्दा प्राचीन र मौलिक रूप हो, जसले व्यक्तिगत मुक्ति र अनुशासनमा जोड दिईन्छ । २) महायानः यसले सबै प्राणीको मुक्तिको कामना र ‘बोधिसत्व’ को अवधारणालाई अघि सार्छ । यसमा करुणा र मैत्रीको भाव प्रबल हुन्छ । यस सम्प्रदायमा त्रीरत्न (मन्जुश्री, अवलोकितेश्वर र वज्रधर)को विशेष महत्व छ । ३) वज्रयानः यो तान्त्रिक बौद्ध धर्म हो, जसले मन्त्र र साधनाका माध्यमबाट छिटो निर्वाण प्राप्त गर्ने लक्ष्य राख्छ व्यक्तिगत अनुशासन र निर्वाणमा यसको जोड रहन्छ ।
बुद्ध दर्शन आधुनिक विज्ञानको सामीप्यतामा पनि उत्तिकै खरो रुपमा उत्रिएको पाउछौं । न्युरोसाइन्सः बुद्धले ‘अनात्मा’ (स्थिर आत्माको अभाव) को कुरा गर्नुभएको छ । आजको मस्तिष्क विज्ञानले पनि ‘म’ भन्ने कुनै स्थायी वस्तु मस्तिष्कमा फेला पार्न सकेको छैन; आदिम आध्यात्मिक जागरणदेखि आधुनिक विज्ञानको क्षितिजसम्म नियाल्दा धेरैले ‘धर्म’ भन्दा पनि ‘मनको विज्ञान’ मान्दछन् र बुद्ध दर्शन आधुनिक विज्ञानको सामीप्यतामा पाउँदछन् । २५०० वर्षअघि बुद्धले भनेका कुराहरू आजको क्वान्टम फिजिक्स र न्युरोसाइन्ससँग अचम्मलाग्दो गरी मेल खान्छन् । बुद्धको ‘अनिच्च’ अनित्यताको सिद्धान्त र आधुनिक क्वान्टम फिजिक्स अर्थात् प्रमात्रा भौतिकिको ‘सबै कुरा परिवर्तनशील ऊर्जाको पुञ्ज हो’ भन्ने धारणा मेल खान्छ । विज्ञान भन्छ सबै परमाणुका कणहरू स्थिर छैनन्, ती निरन्तर कम्पनशील र गतिशील छन् । मनोविज्ञान र विपश्यना ध्यान आज विश्वभरि ‘माइण्डफुलनेस’ (सचेतना) को ठूलो चर्चा छ । बौद्ध ‘अभिधम्म’ ले मनका ५२ चैतसिक र चित्तको सूक्ष्म र मिहिन विश्लेषण गरेको छ । आजको ‘माइण्डफुलनेस बेस्ड स्ट्रेस रिडक्सन थेरापी’ पूर्णतया बौद्ध ध्यान पद्धतिमा आधारित छ । यो बुद्धको विपश्यना ध्यानकै आधुनिक रूप हो, जसले मानसिक तनाव कम गर्न र एकाग्रता बढाउन मद्दत गर्छ । प्रतीत्यसमुत्पादः बुद्धको ‘कारण–कार्य’ नियम (कज एण्ड एफेक्ट) आधुनिक विज्ञानको आधारभूत स्तम्भ हो ।
आर्य अष्टाङ्गिक मार्गः सन्तुलित जीवनको खाका हो । बुद्ध दर्शनको एउटा सुन्दर व्यावहारिक पक्ष ‘आर्य अष्टाङ्गिक मार्ग’ मा निहित छ । यसले मानिसलाई नैतिक, मानसिक र बौद्धिक रूपमा शुद्ध बनाउँछः १) सम्यक दृष्टिः यथार्थलाई बुझ्नु, २) सम्यक संकल्पः करुणा र मैत्रीको भावना, ३) सम्यक वाकः सत्य र मधुर वाणी, ४) सम्यक कर्मः हिंसा रहित कार्य, ५) सम्यक आजीविकाः नैतिक पेशा, ६) सम्यक व्यायामः कुशल विचारको विकास, ७) सम्यक स्मृतिः वर्तमानमा पूर्ण जागरूकता, र ८) सम्यक समाधिः एकाग्र ध्यान आदि । यो मार्गलाई शील (नैतिकता), समाधि (ध्यान) र प्रज्ञा (बुद्धि) गरी तीन समूहमा वर्गीकरण गरिएको छ, जसले मध्यम मार्गको वकालत गर्छ । मानिस किन दुःखी हुन्छ ? बुद्धले यसको उत्तर ‘चार आर्य सत्य’ मा दिनुभएको छ । दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, र निवारणको मार्ग पनि छ । त्यो मार्ग नै ‘आर्य अष्टाङ्गिक मार्ग’ हो भनिएको छ ।
नेपाल बुद्धको जन्मभूमि मात्र होइन, बरु बौद्ध दर्शनको एउटा जीवित सङ्ग्रहालय पनि हो । लुम्बिनीदेखि स्वयम्भूसम्म, बौद्धनाथदेखि नमोबुद्धसम्मका चैत्य र गुम्बा र बौद्ध विहारहरूले शान्तिको गवाही दिइरहेका छन् । बुद्धको भूमिमा रहेर पनि हामीले उहाँको शिक्षालाई कति आत्मसात् ग¥यौ ? के हामी केवल मूर्ति पुज्छौं पूजापाठ मात्र गर्छौ कि बुद्धले देखाएको बाटोमा पनि हिँड्छौं ? यो बुद्ध जयन्तीले हामीलाई यही प्रश्न सोधिरहेको छ । अबको बाटो बुद्धको बाटो हुनुपर्छ । २५७० औं बुद्ध जयन्ती मनाइरहँदा संसारभरि युद्धको बादल मडारिरहेको छ । मानिसहरू प्रविधिको दास बनिरहेका छन् र मनको शान्ति हराउँदै गएको छ । यस्तो समयमा बुद्धको ‘अहिंसा’ र ‘करुणा’ नै एकमात्र औषधि हो । आजको अर्को सुन्दर परम्परा हो खीर खाने र वितरण गर्ने । सुजाताले बुद्धलाई ख्वाएको दूधको खीरको स्मरण गर्दै यो भोजन तयार पारिन्छ र गरिब– धनी सबैलाई वितरण गरिन्छ । यो परम्पराले मनमा शान्ति, करुणा र समानताको सन्देश प्रवाह गर्छ । तर बुद्ध जयन्ती केवल खीर खाने र दीप प्रज्ज्वलन गर्ने दिन मात्र होइन, यो त आफ्नो मनभित्रको षड्विकार काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यलाई त्यागेर मैत्रीभाव जगाउने दिन हो । जबसम्म हाम्रा मनहरूमा शान्ति हुँदैन, तबसम्म संसारमा शान्ति सम्भव छैन । यस पावन अवसरमा हामी सबैले बुद्धको यो मन्त्रलाई हृदयंगम गरौं— ‘हजारौं युद्ध जित्नुभन्दा ठूलो कुरा आफ्नै मनलाई जित्नु हो ।’ बुद्धको बोधी ज्ञानको प्रकाशले हामी सबैको अज्ञानता नष्ट गरोस् र विश्वमा शान्ति छाओस् । सब्ब भवतु मंगलम् ! बुद्धम् शरणम् गच्छामि !
(लेखक स्वतन्त्र कलाकार, पत्रकार हुन् ।)