नेभिगेशन
दृष्टिकोण

धूमपानको कर्पोरेट सञ्जाल र जनस्वास्थ्यका चुनौती

धूमपान आज विश्वव्यापी सार्वजनिक स्वास्थ्य समस्याका रूपमा स्थापित भइसकेको छ । नेपालमा पनि यसको प्रभाव गम्भीर बन्दै गएको तथ्य विभिन्न सर्वेक्षणले देखाइरहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२ अनुसार १५ वर्ष नपुग्दै चुरोटको कुलतमा लाग्ने किशोरकिशोरीको संख्या उल्लेख्य छ । १५ देखि ४९ वर्ष उमेर समूहमा ५.१ प्रतिशत महिला र ४१.८ प्रतिशत पुरुष कुनै न कुनै सुर्तीजन्य पदार्थको लतमा रहेको देखिएको छ । यस्तो अवस्था किन र कसरी सिर्जना भयो भन्ने बुझ्न धूमपानको विश्व इतिहास र उद्योगको विस्तारलाई हेर्न आवश्यक हुन्छ ।
सुर्ती अर्थात् टोबाको प्रयोगको इतिहास हजारौं वर्ष पुरानो मानिन्छ । पुराताŒिवक अध्ययनले करिब दुई हजार वर्षअघि मध्य अमेरिकाका माया सभ्यतामा सुर्ती धार्मिक र सांस्कृतिक अनुष्ठानमा प्रयोग गरिएको देखाउँछ । त्यतिबेला मानिसहरूले सुर्ती पाइप, सिगार वा अन्य माध्यमबाट सेवन गर्थे र यसलाई आध्यात्मिक तथा औषधीय गुण भएको वनस्पति मानिन्थ्यो ।
१५औं शताब्दीमा युरोपेली समुद्री यात्राहरू सुरु भएपछि सुर्ती विश्वभर फैलियो । अमेरिकाबाट फर्किएका स्पेनी र पोर्तुगाली नाविकहरूले तम्बाकु युरोप पु¥याए । फ्रान्सका कूटनीतिज्ञ जाँ निकोले सन् १५६० तिर तम्बाकु फ्रान्समा परिचित गराए, जसबाट निकोटिन शब्द उत्पन्न भएको हो । त्यसपछि यो बिस्तारै इंगल्याण्ड, एसिया, अफ्रिका र विश्वका अन्य भागमा फैलियो ।
१७औं शताब्दीसम्म सुर्ती खेती विश्वका धेरै देशमा सुरु भइसकेको थियो । पाइप र हुक्काजस्ता उपकरणका कारण धूमपान सामाजिक गतिविधि र मनोरञ्जनका रूपमा लोकप्रिय बन्दै गयो । १९औं शताब्दीको अन्त्यतिर औद्योगिक क्रान्तिसँगै चुरोट उत्पादनमा ठूलो परिवर्तन आयो । सिगरेट बनाउने मेसिनको आविष्कार भएपछि एक मिनेटमै सयौं चुरोट उत्पादन गर्न सम्भव भयो, जसले सुर्ती उद्योगलाई तीव्ररूपमा विस्तार ग¥यो । त्यसपछि ठूला कर्पोरेट कम्पनीहरू उदाए । युरोप र अमेरिकामा बहुराष्ट्रिय सुर्ती कम्पनीहरूले खेती, उत्पादन, विज्ञापन र वितरणसम्मको सञ्जाल निर्माण गरे । विश्वव्यापी बजार विस्तारका लागि उनीहरूले आक्रामक विज्ञापन रणनीति अपनाए, फिल्म, खेलकुद, पोस्टर र मिडियामार्फत चुरोटलाई आधुनिक जीवनशैलीको प्रतीकका रूपमा प्रस्तुत गरियो । कुनैबेला टेलिभिजनमा समाचार वाचन गर्ने व्यक्तिले नै सानसँग चुरोट पिएको दृश्य देखाइन्थ्यो । त्यसो गर्नुको एक कारण त त्यो बेलमा चुरोट खानु सामाजिक रूपले सम्मानित काम नै मानिन्थ्यो, तर त्यसलाई मलजल गर्ने काम ठूला कम्पनीहरूले नै गरेका थिए । जसले आफ्नो नाफाको केही अंश चुरोटको प्रवर्धनमा खर्च गर्दै चुरोट खानु ठूलो काम हो भन्ने भान आमजनमानसमा पारेका थिए । कतिसम्म भने कम्पनीहरूले वैज्ञानिक अनुसन्धानमा समेत प्रभाव पार्ने प्रयास गरे । केही अन्तर्राष्ट्रिय सुर्ती उत्पादक कम्पनीहरूले धूमपान र रोगबीचको सम्बन्धबारे भ्रम सिर्जना गर्न संगठनहरू गठन गरी जनस्वास्थ्य नीतिलाई कमजोर पार्ने प्रयास गरेको अध्ययनहरूले देखाएका छन् । यसरी सुर्तीजन्य उद्योग केवल कृषि उत्पादन मात्र नभई अर्बौं डलरको विश्वव्यापी व्यापारिक साम्राज्यमा रूपान्तरण भयो ।
धूमपानका स्वास्थ्य जोखिमबारे चेतना भने धेरै पछि मात्र व्यापक भयो । २०औं शताब्दीको मध्यतिर वैज्ञानिक अनुसन्धानले चुरोट सेवन र फोक्सोको क्यान्सर, मुटुरोग, स्ट्रोकलगायत रोगबीच स्पष्ट सम्बन्ध देखाउन थालेपछि विश्वभर चेतना बढ्न थाल्यो । आज विश्व स्वास्थ्य संगठनका अनुसार धूमपान विश्वमा रोक्न सकिने मृत्युको प्रमुख कारणमध्ये एक हो । हरेक वर्ष लाखौं मानिस धूमपानसँग सम्बन्धित रोगका कारण मृत्यु हुने अनुमान छ ।
नेपालमा पनि धूमपानको समस्या गम्भीर हुँदै गएको छ । विभिन्न सर्वेक्षणले युवाहरूमा चुरोट सेवनको दर बढ्दो देखाएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले गरिब वर्गमा सुर्तीजन्य पदार्थको प्रयोग अझ बढी रहेको देखाएको छ । अति गरिब वर्गका २५.५ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको लतमा रहेका छन् भने अति धनी वर्गमा यो दर १६.१ प्रतिशत मात्र छ । चिन्ताजनक पक्ष के छ भने किशोरकिशोरीहरूमा पनि चुरोट सेवन बढिरहेको छ । सर्वेक्षणमा सहभागी १५–१७ वर्ष उमेर समूहका ९.५ प्रतिशतले दैनिक २० भन्दा बढी चुरोट सेवन गर्ने बताएका छन् । यसले भविष्यमा नेपालमा क्यान्सर, मुटुरोग र श्वासप्रश्वास सम्बन्धी रोगको भार बढ्न सक्ने संकेत गर्छ ।
विश्वका धेरै देशहरूले धूमपान नियन्त्रणका लागि विभिन्न प्रभावकारी नीति अपनाएका छन् । त्यसको लागि उच्च कर नीति एउटा उपाय हो जसले चुरोटको मूल्य बढाउँदा प्रयोग घट्ने देखिएको छ । त्यस्तै प्याकेटमा चेतावनी चित्र अर्को उपाय हो, यसो गर्दा स्वास्थ्य जोखिमबारे स्पष्ट चेतावनीले मानिसलाई सचेत बनाउँछ । सार्वजनिक स्थानमा धूमपान निषेध पनि अर्को प्रभावकारी उपाय हो । रेस्टुरेन्ट, कार्यालय र सार्वजनिक यातायातमा प्रतिबन्ध लगाउँदा यसको उपयोग घटको पाइएको छ । अहिले मान्छेहरूलाई प्रभाव पार्ने तत्व भनेको आमसञ्चारका माध्यम हुन्, ती माध्यममा चुरोटको प्रचारप्रसार बन्द गर्दा पनि नयाँ प्रयोगकर्ता घट्ने देखिएको छ । साथै, सरोकारवाला निकायहरूले सहायता कार्यक्रमका रुपमा धूमपान छोड्न चाहनेलाई परामर्श र औषधि उपलब्ध गराउने कार्यक्रम चलाउनु पनि अर्को प्रभावकारी माध्यम हो । अस्ट्रेलिया, क्यानडा र युरोपका धेरै देशमा यी नीतिले धूमपान दर उल्लेख्य रूपमा घटाएका छन् ।
धूमपानको इतिहास धार्मिक अनुष्ठानबाट सुरु भएर आज विश्वव्यापी व्यापारिक उद्योगमा परिणत भएको हो । ठूला कर्पोरेट कम्पनीहरूको प्रभाव, आक्रामक विज्ञापन र सामाजिक स्वीकृतिले यसलाई विश्वभर फैलाएको हो । तर वैज्ञानिक अनुसन्धानले यसको गम्भीर स्वास्थ्य जोखिम उजागर गरेपछि अहिले विश्व समुदाय धूमपान नियन्त्रणतर्फ केन्द्रित भएको छ । नेपालमा बढ्दो धूमपान दरले भविष्यको जनस्वास्थ्यलाई चुनौती दिइरहेको छ । त्यसैले प्रभावकारी नीति, जनचेतना र कडा कार्यान्वयनमार्फत धूमपान नियन्त्रण गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्