नेभिगेशन
खेलकुद

के अब विश्व क्रिकेटमा भारतलाई कसैले भेट्न सक्ला ?

अहमदाबाद । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा झण्डै एक लाख दर्शकको गर्जनबीच भारतले सन् २०२३ को एकदिवसीय विश्वकप फाइनलको नमीठो यादलाई सदाका लागि मेटाएको छ । न्यूजिल्याण्डलाई ९६ रनको भारी अन्तरले पराजित गर्दै भारतले मात्र टी–२० विश्वकपको उपाधि रक्षा मात्र गरेन, उसले विश्व क्रिकेटमा आफ्नो एकछत्र राज रहेको सन्देश पनि दिएको छ ।
टस जितेर पहिले ब्याटीङ रोजेको भारतको सुरुवात केही धर्मराएको देखिएको थियो । पहिलो ओभरमा म्याट हेनरीले मेडनजस्तै बलिङ गरे पनि सन्जु सामसन र अभिषेक शर्माले लगत्तै विस्फोटक जवाफ दिए । सामसनले ४६ बलमा ८९ रनको उत्कृष्ट पारी खेले भने अभिषेक शर्माले मात्र २१ बलमा ५२ रन जोडे । इशान किशनले पनि २५ बलमा ५४ रनको योगदान दिएपछि भारतले विश्वकप फाइनलको इतिहासमै २५५ रनको विशाल योगफल खडा ग¥यो ।
जवाफमा उत्रिएको न्यूजिल्याण्डले भारतको यो विशाल लक्ष्यको दबाब झेल्न सकेन । टीम सेफर्टले ५२ रन बनाए पनि अन्य ब्याटरहरू भारतीय बलरसामु निरीह देखिए । विशेष गरी जसप्रित बुमराहले १५ रन दिएर ४ विकेट लिँदै किविज टोलीको कमर नै भाँचिदिए । अन्ततः न्यूजिल्याण्ड १५९ रनमै समेटीयो र भारतले ९६ रनको सानदार जित दर्ता ग¥यो ।
भारतको यो जितले धेरै अर्थ राख्छ । यसले भारतीय क्रिकेटमा एउटा ठूलो युग परिवर्तन भएको संकेत गरेको छ । विराट कोहली र रोहित शर्मा जस्ता दिग्गजहरूको विदाईपछि पनि भारत झन् बलियो भएर निस्किएको छ । यसमा मुख्यतः तीन कारण देखिएको छ  । पहिलोमा, नयाँ नेतृत्व र सामूहिक भावना  । जसअन्तर्गत सूर्यकुमार यादवको कप्तानी र गौतम गम्भीरको प्रशिक्षणमा यो टोली ‘सुपरस्टार’ संस्कृतिबाट बाहिर निस्केर ‘सामूहिक प्रदर्शन’मा केन्द्रित भएको देखिन्छ । सूर्यकुमार आफैंमा एक फरक प्रकारका अगुवा हुन् । उनले दबाबका बीच पनि टोलीलाई शान्त राख्न सफल भए । जतिबेला अहमदाबादको दबाबले भारतलाई पिरोल्न सक्थ्यो, यादवले प्रेस कन्फरेन्समा ‘त्यो विगत हो, अब हामी टी–२० मा छौं’ भन्दै टोलीको मनोबल उच्च राखे । दोस्रोमा, आईपीएलको प्रतिफल र प्रतिभाको खानी । यसको अर्थ, भारतको यो जितको मुख्य श्रेय इन्डियन प्रिमियर लिगलाई जान्छ । अभिषेक शर्मा, सन्जु सामसन र शिवम दुबे जस्ता खेलाडीहरू आईपीएलको भट्टीमा खारिएर आएका हुन् । उनीहरूलाई ठूलो भीड र ठूलो मञ्चको डर छैन । भारतसँग अहिले यस्तो बेन्च स्ट्रेन्थ छ कि एउटा मुख्य खेलाडी घाइते हुँदा वा उपलब्ध नहुँदा पनि उसको ठाउँ लिन अर्को उत्तिकै क्षमतावान् खेलाडी तयार छ । तेस्रोमा, लगातार तीन आईसीसी ट्रफी पनि हो  । यसको अर्थ, सन् २०२४ को टी–२० विश्वकप, २०२५ को च्याम्पियन्स ट्रफी र अहिले २०२६ को टी–२० विश्वकप गरी भारतले लगातार तीनवटा ठूला प्रतियोगिता जितेर आफ्नो प्रभुत्व प्रमाणित गरेको छ । पछिल्ला ३४ खेलमध्ये भारतले दुई वटा खेल मात्र हारेको तथ्यांकले उसलाई ‘अजेय’ जस्तै बनाएको छ ।
अजेय भारत
न्यूजिल्याण्डका कप्तान मिचेल सेन्टनरले भनेझैं, ‘भारतलाई यी परिस्थितिमा खेल्न राम्रोसँग आउँछ र एक पटक उनीहरू लयमा आएपछि रोक्न असम्भव प्रायः छ ।’ तर, के यो दबदबा सधैं रहला ? विश्व क्रिकेटका अन्य टोलीहरूका लागि भारतसँगको यो खाडल पुर्नु अबको मुख्य चुनौती हो । भारतको आर्थिक शक्ति (बीसीसीआईको राजस्व हिस्सा) र आईपीएलको पूर्वाधारले उसलाई अन्य देशको तुलनामा धेरै अगाडि राखेको छ । यसले केही कुरा देखाएको छ  । जस्तो, अबको क्रिकेट क्यालेन्डर यूरोप र खासगरी बेलायत, अष्ट्रेलिया, न्यूजिल्याण्डबाट बाहिर जाँदैछ । सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा हुनेछ जहाँ पिचमा तीव्र गति र उछाल (बाउन्स) हुनेछ । त्यस्तै २०२८ को विश्वकप अस्ट्रेलिया र न्यूजिल्याण्डमा हुनेछ । यी देशहरूमा भारतको हालको ‘स्पिन र फ्ल्याट ट्र्याक’ रणनीतिले कत्तिको काम गर्छ, त्यो हेर्न बाँकी छ । भारत अहिलेसम्म जसप्रित बुमराहमाथि निर्भर रहेको देखिन्छ । बुमराहको अनुपस्थितिमा भारतको बलिङ आक्रमण उस्तै घातक हुन्छ कि हुँदैन भन्ने प्रश्न अझै बाँकी छ ।
यो जितपछि उत्साहित कप्तान सूर्यकुमार यादवले भारतको नजर अब सन् २०२८ को लस एन्जलस ओलम्पिकमा रहेको स्पष्ट पारेका छन् । क्रिकेट पहिलो पटक ओलम्पिकमा समावेश हुँदैछ र भारत त्यहाँ स्वर्ण पदक जितेर इतिहास रच्न चाहन्छ । ‘हामी सन् २०२७, २०२८ र २०२९ सम्म पनि नरोकी जित्न चाहन्छौं,’ यादवको यो भनाइले अन्य देशलाई कडा चेतावनी दिएको छ ।
अहमदाबादको विजय उत्सवले भारतीय क्रिकेटको स्वर्णिम युगको घोषणा गरेको छ । यो टोली युवा छ, आक्रामक छ र रणनीतिकरूपमा धेरै बलियो छ । यदि अन्य देशहरूले आफ्नो घरेलु संरचना र खेलाडी विकासमा आमूल परिवर्तन गरेनन् भने, भारतीय क्रिकेटको यो ‘विजय रथ’ रोक्न निकै कठिन हुने देखिन्छ । आजको दिनमा भारतलाई हराउनु केवल खेल जित्नु मात्र होइन, एउटा विशाल प्रणालीलाई चुनौती दिनुसरह भएको छ । बीबीसी
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्