सन् २०२४ को अगस्टमा चीनको शाओलिन मन्दिरका प्रख्यात मार्सल आर्ट भिक्षु क्युउ छिउफेङको २१ वर्षकै उमेरमा सडक दुर्घटनामा निधन भयो । उनका लाखौं फलोअर्स थिए । उनको मृत्युपछि परिवारले उनको सामाजिक सञ्जाल खातालाई ‘डिजिटल स्मारक’ बनाउन गरेको आग्रहले एउटा गम्भीर प्रश्न उब्जाएको छ— हामी मरेपछि हाम्रो अनलाइन अस्तित्वको अवस्था के हुन्छ ? के हाम्रा भर्चुअल सम्पत्तिहरू हाम्रा सन्तान वा परिवारले हकदाबी गर्न पाउलान् ?
चीनको राजनीतिशास्त्र तथा कानून विश्वविद्यालयका प्राध्यापक झाई जिगुआङका अनुसार डिजिटल सम्पत्तिलाई दुई भागमा बाँडेर हेर्नुपर्छ । पहिलो, शुद्ध आर्थिक मूल्य भएका सम्पत्ति । जस्तै डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी), ई–वालेटमा भएका रकम र ब्यालेन्सका कुरा अनि गेमभित्रका महँगा हतियार वा सामग्री । यी भर्चुअल स्कीन र सामग्रीहरू महँगो मूल्यमा बिक्री गर्न सकिन्छ ।
दोस्रोमा, गोपनीयता र भावना जोडिएका सम्पत्तिको कुरा आउँछ । उदाहरणका लागि, सामाजिक सञ्जालका खाता (फेसबूक, टिकटकलगायत अन्य), इमेल र अनलाइन फोटो एल्बमहरू ।
अहिलेको सबैभन्दा ठूलो समस्या ‘स्वामित्व’को हो भन्ने देखिएको छ । हामीले कुनै पनि एप चलाउँदा ‘नियम र शर्तहरू’ (टर्म र कन्डिसनहरू) मा आँखा चिम्लेर सहमति जनाउँछौं । धेरैजसो कम्पनीका शर्तअनुसार प्रयोगकर्तासँग खाता ‘प्रयोग गर्ने अधिकार’ मात्र हुन्छ तर त्यसको ‘स्वामित्व’ कम्पनीकै हुन्छ ।
यसै सन्दर्भमा झौ रान नामका एक विद्यार्थीको कथा रोचक छ । उनकी आमाले निकै मिहिनेतले चलाएको विच्याट खातामा १३ सयभन्दा बढी फलोअर्स र धेरै लेखहरू थिए । रानकी आमाको मृत्युपछि रानले ती सबै कुरा आफ्नो नाममा सार्न खोजे । तर कम्पनीले ‘यो व्यक्तिगत सम्झौता हो, हस्तान्तरण गर्न मिल्दैन’ भन्दै अस्वीकार गरिदियो । यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । यसले डिजिटल संसारमा व्यक्तिको हक कति कमजोर छ भन्ने देखाउँछ ।
योभन्दा अझ खतरनाक पाटो चाहिँ भर्चुअल सम्पत्तिको मूल्य र त्यसको अस्थिरताका बारेमा छ ।
तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ तर अनलाइन गेमका केही सामग्रीहरूको मूल्य लाखौं डलरसम्म हुन्छ । ‘काउन्टर–स्ट्राइक’जस्ता खेलका भर्चुअल वस्तुहरू करिब ४ लाख २० हजार डलरसम्ममा बिक्री भएका उदाहरण छन् । कतिपय युवाहरूले त आफ्नो इच्छापत्रमा नै ‘मेरो गेमको एकाउन्ट मेरो साथीलाई दिनू’ भनेर लेख्न थालिसकेका छन् ।
तर यी सम्पत्तिको मूल्य शेयरबजारजस्तै अस्थिर हुन्छ । आज लाखौं पर्ने गेमको आइटम भोलि गेमको अपडेट वा ट्रेन्ड परिवर्तन हुँदा कौडीको भाउमा झर्न सक्छ । त्यसैले यस्ता सम्पत्तिको कानूनी मूल्यांकन कसरी गर्ने भन्नेमा विज्ञहरू नै अलमलमा छन् ।
बढ्दो विवाद र भावनात्मक आवश्यकतालाई मध्यनजर गर्दै प्रख्यात चिनियाँ सामाजिक सञ्जालहरू बिलीबिली र विच्याटजस्ता प्लेटफर्महरूले केही सुधार गरेका छन् । अहिले ‘मेमोरियल अकाउन्ट’को अवधारणा आएको छ । यदि कसैको मृत्यु भयो र परिवारले मृत्युको प्रमाणपत्र पेश ग¥यो भने, त्यो खातालाई ‘स्मारक’ बनाइन्छ । यसो गर्दा ती खाताहरू सुरक्षित रहन्छन् र कसैले ह्याक गर्न वा दुरुपयोग गर्न पाउँदैन ।
नेपालको सन्दर्भमा त झन् डिजिटल उत्तराधिकारसम्बन्धी स्पष्ट कानून बनिसकेको छैन । यस्तो अवस्थामा आफ्नो डिजिटल विरासत सुरक्षित राख्ने कुरा अहिलेसम्म आवाज उठेको देखिँदैन ।
तर विज्ञहरू भन्छन्, यसबारे छलफल चलाउन निकै ढिला भइसकेको छ र यसका लागि केही कामहरू भने गर्न सकिन्छ ।
संसारभर लिगेसी वा डिजिटल उत्तराधिकारका चर्चा चलिरहेका बेला हामीले चलाउने सामाजिक सञ्जालहरूमा लिगेसी कन्ट्याक्ट मिलाउन सकिन्छ । फेसबुक र गूगलजस्ता प्लेटफर्ममा आफ्नो मृत्युपछि खाता कसले चलाउने वा व्यवस्थापन गर्ने भनेर ‘लिगेसी कन्ट्याक्ट’ रोज्ने सुविधा हुन्छ ।
यसका अतरिक्त डिजिटल इच्छापत्र पनि बनाउन मिल्छ । आफ्नो इमेल, क्लाउडमा भएका फोटो र ई–वालेटको पहुँच कसलाई दिने भन्ने कुरा गोप्यरूपमा आफ्नो भरपर्दो व्यक्तिलाई जानकारी गराउने वा कानूनीरूपमा नै उल्लेख गर्न सकिन्छ ।
यस्तै पासवर्डहरू सुरक्षित राख्न र आफ्नो अनुपस्थितिमा परिवारलाई पहुँच दिन ‘पासवर्ड म्यानेजर’ एपहरूको प्रयोग गर्न सकिन्छ ।
हाम्रो जीवन जति भौतिक छ, उति नै डिजिटल पनि हुँदै गएको छ । हामीले खिचेका तस्बिर, लेखेका विचार र कमाएको डिजिटल धन हाम्रो मृत्युपछि हराएर जानुहुँदैन । यो प्रविधिको विषय मात्र होइन । हामीले छाडेका यी डिजिटल पाइलाहरू हाम्रा सम्झना र प्रेमको निरन्तरता पनि हो । त्यसैले डिजिटल उत्तराधिकारका लागि कानूनी स्पष्टता र व्यक्तिगत सचेतना दुवै उत्तिकै आवश्यक छ ।
(बेइजिङ रिभ्यू पत्रिकाबाट साभार)