प्रतिनिधिसभा निर्वाचनमा बहुमत पाएर नयाँ सरकार बनाउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० वर्षमा विद्युत जडित क्षमता ३० हजार मेगावाट पु¥याउने महŒवाकांक्षी घोषणा गरेको छ । १०० बुँदे बाचापत्र सार्वजनिक गरेको रास्वपाले निजी क्षेत्रलाई जलविद्युत उत्पादनसँगै अन्तरदेशीय विद्युत व्यापारको अनुमति दिने बाचा गरेको छ । ऊर्जा क्षेत्रको विकासलाई तीव्रता दिन भूमि, वन तथा वातावरणसम्बन्धी विद्यमान कानुनहरूलाई परिमार्जन गर्दै ऊर्जा मन्त्रालयबाट नै सम्पूर्ण प्रक्रियाको समन्वय हुने गरि कानुन संशोधन गर्ने घोषणा पनि रास्वपाले गरेको छ । अहिले एउटा जलविद्युत आयोजनालाई निर्माणको चरणसम्म पु¥याउन पूरा गर्नुपर्ने कानुनी प्रावधानका लागि ८ वटा मन्त्रालय र २३ विभाग धाउनुपर्ने जटिल व्यवस्थाको अन्त्य गर्दै एकद्वार प्रणालीको नीति अबलम्बन गर्ने घोषणा गरेको रास्वपाले नीतिगत सुधारका लागि के कस्ता कामहरू गर्नुपर्छ ? ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वमा कस्तो व्यक्ति आउनु पर्छ ? लगायतका विविध विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीसँग न्यूज२४ दैनिकका प्रधान सम्पादक नवराज चालिसे र संवाददाता धना ढकालले गरेको कुराकानीको सम्पादित अंशः
निर्वाचनपछि देशले नयाँ सरकार पाउँदैछ । अब बन्ने सरकारसँग निजी ऊर्जा उत्पादकहरूको अपेक्षा के छ ?
हामीले सुरुदेखि नै ऊर्जा क्षेत्रको विकासबाट नै समृद्ध नेपाल बनाउन सम्भव छ भन्ने अवधारणा अघि सार्दै आएका छौं । विगतको सरकारले पनि देशलाई ऊर्जाबाटै समृद्ध बनाउन १० वर्षमा विद्युत जडित क्षमता २८ हजार ५०० मेगावाट पु¥याउने लक्ष्य निर्धारण गरी ऊर्जा विकास मार्गचित्र ल्याएको थियो । सँगसँगै जलविद्युत उत्पादनमा लगानी असुरक्षा बढाउने गरी बजेटमा नै निजी क्षेत्रले उत्पादन गर्ने विद्युतको विद्युत खरिद सम्झौता (पिपिए) ‘टेक एन्ड पे’ प्रावधानमा गरिने जस्ता नीति तथा अवधारणाहरू पनि अघि आए । उत्पादन बढाएर २८ हजार ५०० मेगावाट पु¥याउने र टेक एण्ड पे पिपिए गर्ने कुरा आफैंमा विरोधाभाषपूर्ण थियो । तर, अहिले समय परिवर्तन भइसकेको छ । यसबीचमा देशमा जेनजी पुस्ताको आन्दोलन भयो । निर्वाचन सम्पन्न भई राष्ट्रिय स्वतन्त्र पार्टीले एकल सरकार बनाउने गरी जनमत पायो । सरकार बनाउँदैछ । त्यसकारण, हामीले ऊर्जा उत्पादकहरूले अब बन्ने सरकारसँग सकारात्मक अपेक्षा गरेका छौं । ऊर्जा क्षेत्रको विकासका लागि गर्नै पर्ने केही आधारभूत सुधारहरूको अपेक्षा हामीले नयाँ सरकारसँग गरेका छौं । नयाँ सरकारको नेतृत्व गर्ने रास्वपाले आफ्नो करारपत्रमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यो लक्ष्य पूरा गर्न धेरै नीतिगत सुधारहरू अनिवार्य छन् । नयाँ सरकारले विद्युत उत्पादनसँगसँगै त्यससँग सम्बन्धित अन्य पक्षहरू पनि व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । विद्युत् खरिद सम्झौता (पिपिए), प्रसारण लाइनको विस्तार, वितरण प्रणालीको सुधार तथा उत्पादित विद्युत खपतको व्यवस्थापनका विषयलाई समग्र रूपमा सम्बोधन नयाँ सरकारले गर्नुपर्ने हुन्छ ।
विगतदेखि नै विद्युत् उत्पादन बढाउन पिपिए प्रक्रिया सहज बनाउनुपर्छ भन्ने हाम्रो माग रहँदै आएको छ । यस्तै गरेर निजी क्षेत्रलाई विद्युत् व्यापारमा समेत सहभागी गराउनुपर्ने आवश्यकता छ । त्यसैगरी, प्रसारण लाइन निर्माणमा पनि निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्ने कुरा हामीले उठाउँदै आएका छौं । सरकार बनाउन लागेको दलको बाचापत्रमा विद्युत् उत्पादन अनुमतिपत्र ५० वर्षका लागि हुने व्यवस्था गरिने उल्लेख गरिएको छ । यो कुरा कार्यान्वयनमा जोड दिन सकियो भने लगानीको प्रतिफल निजी क्षेत्रले पाउनेछ भने सेयरमार्फत गर्ने लगानीकर्ताको लगानी पनि सुरक्षित हुनेछ ।
ऊर्जा उत्पादनकहरूले झेल्दै आइरहेको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको प्रशासनिक झन्झट हो । एउटा जलविद्युत् आयोजना अघि बढाउन करिब १६ वटा मन्त्रालय, ३० भन्दा बढी विभाग र करिब २०० वटा टेबल धाउनुपर्ने अवस्था छ । सरकारले १० वर्षमा धेरै उपलब्धि हासिल गर्ने लक्ष्य राखे पनि यस्ता प्रक्रियागत झन्झटका कारण प्रक्रियागत कार्य पूरा गर्न मात्रै प्रवद्र्धकले पाँच वर्षभन्दा बढी समय खर्चिनुपरिरहेको छ । त्यसैले, हामीले सरकारसँग ‘एकद्वार प्रणाली’ लागू गर्नुपर्ने प्रस्ताव राखेका छौं । ऊर्जा मन्त्रालयअन्तर्गत एउटा शक्तिशाली निकाय गठन गरेर त्यहीँबाट सम्पूर्ण स्वीकृति दिने प्रावधान बनाउने काम नयाँ सरकारले गर्नुपर्छ । ‘एकद्वार प्रणाली’ बनाउँदा अन्य मन्त्रालय वा विभाग धाउन नपर्ने व्यवस्था राखेर बनाउनु पर्छ । विशेषगरी जलविद्युत् आयोजना तथा अन्य पूर्वाधार आयोजनाहरूका लागि यस्तो प्रणाली अत्यावश्यक छ । ‘एकद्वार प्रणाली’ लागु गर्ने प्रतिबद्धता बिगतका सरकारहरूले पनि नगरेका होइनन् । तर, बारम्बारको सरकार परिवर्तन तथा राजनीतिक अस्थिरताका कारण कार्यान्वयन हुन सकेन । अहिले रास्वपाले जनतासँग गरेको प्रतिबद्धतालाई ‘घोषणा मात्र होइन, करार’ का रूपमा प्रस्तुत गरेको छ । यदि ती बाचाहरू कार्यान्वयनतर्फ अघि बढे भने ऊर्जा क्षेत्रसहित अर्थतन्त्रमा सकारात्मक परिवर्तन सम्भव छ ।
यस पटक ऊर्जा क्षेत्रमा सक्रिय भएर काम गरेका व्यक्तित्वले पनि संसदमा प्रवेश पाउनु भएको छ । अब बन्ने नयाँ सरकारमा ऊर्जा मन्त्रालयको नेतृत्व कस्तो व्यक्तिले गर्नुपर्छ ?
ऊर्जा मन्त्रालय अन्य मन्त्रालयजस्तो सामान्य प्रकृतिको मन्त्रालय होइन । यहाँ नेतृत्व गर्ने व्यक्तिसँग केही हदसम्म प्राविधिक ज्ञान हुनु आवश्यक हुन्छ । पूर्ण रूपमा प्राविधिक ज्ञानविहीन व्यक्ति भएमा नीति र ऊर्जाका आयोजनाको गहिराइ बुझ्न गाह्रो पर्न सक्छ । तर, प्राविधिक ज्ञान मात्र भएर पनि पुग्दैन । ऊर्जा मन्त्रालयको नेतृत्व गर्न आउने व्यक्तिसँग प्राविधिकसँगसँगै राम्रो व्यवस्थापकीय क्षमता हुनुपर्छ । मन्त्री हुने व्यक्तिमा कूटनीतिक दक्षता पनि आवश्यक हुन्छ । ऊर्जा मन्त्रालयको नेतृत्वमा आउने मन्त्रीले ऊर्जा क्षेत्रका विभिन्न पक्षहरूलाई सन्तुलित रूपमा व्यवस्थापन गर्नुपर्छ । एकातिर विद्युत् उत्पादनका आयोजनाहरू छन्, अर्कोतिर नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित व्यवस्थापनका विषयहरू छन् । त्यस्तै प्रसारण लाइन विस्तार, वितरण प्रणाली सुदृढीकरण तथा उत्पादित विद्युत कसरी खपत गर्ने भन्ने योजनामा काम गर्ने व्यक्ति ऊर्जा मन्त्रालयको नेतृत्वमा आउनुपर्छ भन्ने लाग्छ । ऊर्जा क्षेत्रका लागि अर्को महत्त्वपूर्ण पक्ष भनेको विद्युतको आन्तरिक तथा सीमापार बजार व्यवस्थापन हो । नेपालमा उत्पादन भएको विद्युत् सकेसम्म देशभित्र खपत गर्नुपर्छ र अतिरिक्त विद्युत् छिमेकी देशहरूमा निर्यात गर्न सक्ने क्षमता नयाँ बन्ने ऊर्जा मन्त्रीमा हुनुपर्छ । त्यसका लागि ऊर्जा कूटनीति पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । साथै, सरकारको नेतृत्व गर्ने दलले सार्वजनिक गरेको बाचापत्रको मर्म बुझेर त्यसलाई कार्यान्वयन गर्न सक्ने, सरकारको नीति तथा जनताको जनादेशलाई अघि बढाउन सक्ने र निजी क्षेत्र तथा स्वदेशी लगानीकर्तालाई समेत समेटेर अगाडि बढ्न सक्ने नेतृत्व ऊर्जा मन्त्रालयले पाउनु आवश्यक छ । यस्तो समन्वयकारी, दूरदर्शी र सक्षम ऊर्जा मन्त्री आए ऊर्जा क्षेत्रको विकासले अपेक्षित गति लिन सक्छ भन्ने हाम्रो अपेक्षा छ ।
विगतमा राजनीतिक दलहरूका घोषणापत्र ऊर्जा क्षेत्रको विकास समेटिने गरेपनि कार्यान्वयन हुँदैनथ्यो । अब नयाँ सरकारले उत्पादनसँगै वितरण, प्रसारण, विद्युत् व्यापार तथा आन्तरिक खपत वृद्धि जस्ता पक्षलाई पनि सन्तुलित रूपमा अघि बढाउन कसरी काम गर्नुपर्छ ?
नयाँ सरकारको प्राथमिकतामा जलविद्युत उत्पादन नै पहिलो प्राथमिकतामा पर्नुपर्छ । विद्युत उत्पादन वृद्धिसँगै प्रसारण तथा वितरण लाइनका पूर्वाधार निर्माण, खपत वृद्धि गर्ने योजनामा पनि समान ढंगले काम गर्नुपर्छ । बिगतमा उत्पादनलाई मात्रै जोड दिँदै प्रसारण र वितरण प्रणालीमा आवश्यकता अनुसार लगानी गर्न नसकेकाले नै आज उद्योगहरूले मागे जति विद्युत पाउन नसक्ने तथा प्रसारण पूर्वाधार अभावै कारण बर्खामा अरबौंको विद्युत खेर फाल्नु पर्ने बाध्यता छ । अब सरकारले यो अवस्थाको अन्त्य गर्न उत्पादन सँगसँगै प्रसारण, वितरण र खपत वृद्धिको योजनामा काम गर्नुपर्छ । साथै, सरकार एक्लैले मात्र सबै काम गर्न सम्भव नहुने हुँदा प्रसारण लाइन निर्माण र विद्युत व्यापारमा निजी क्षेत्रलाई पनि प्रवेश दिनुपर्छ । त्यसैले, अब सरकारको पहिलो प्राथमिकता विद्युत उत्पादन गर्नु हो । उत्पादनसँगसँगै दूरदर्शी योजना पनि आवश्यक हुन्छ । पाँच वर्षपछि नेपाललाई कति विद्युत् आवश्यक पर्छ ? दश वर्षपछि कति खपत हुन सक्छ ? यसको स्पष्ट प्रक्षेपण हुनुपर्छ । दीर्घकालीन दृष्टिले उद्योग, यातायात, घरायसी प्रयोग लगायत विभिन्न क्षेत्रमा कति विद्युत् खपत हुन सक्छ भन्ने ठोस योजना सरकारले बनाउनुपर्छ ।
निजी क्षेत्रले लामो समयदेखि विद्युत व्यापारको अनुमति मागिरहेको छ । नयाँ सरकारसँग विद्युत व्यापारको अनुमतिका लागि इप्पानले कसरी पहल गर्नेछ ?
विद्युत उत्पादनमा निजी क्षेत्र सफल भइकेको अवस्थामा अब प्रसारण लाइन निर्माण र विद्युत व्यापारमा पनि प्रवेश दिनुपर्छ भन्ने हाम्रो बिगतदेखिको माग हो । निजी क्षेत्र उत्पादन, प्रसारण र विद्युत् व्यापारको क्षेत्रमा काम गर्न तयार छ । सरकारको नेतृत्व गर्ने दलको बाचापत्रमा निजी क्षेत्रलाई विद्युत व्यापारमा पनि प्रवेश दिने विषय आएकाले हामीले बिगतदेखि नै गर्दै आएको मागको सुनुवाई हुन्छ भन्ने लागेको छ । त्यसका लागि सरकारले स्पष्ट र स्थिर नीति बनाउनु पर्छ । ऊर्जा क्षेत्रमा हुने लगानी दीर्घकालीन हो । त्यसैले लगानीकर्तालाई दीर्घकालीन रूपमा भरोसा हुने स्थिर नीति सरकारले दिनुपर्छ । ऐनमा जलविद्युत आयोजनाको मर्मतपछि जडान गर्नुपर्ने उपकरण आयात गर्दा १ प्रतिशत भन्सार शुल्क लाग्ने प्रावधान भएपनि बिगतका सरकारले यसलाई बढाएर २८ प्रतिशतसम्म पु¥याएका थिए । यस्तो अस्थिर नीतिले लगानीकर्ताको विश्वास कमजोर बनाउँछ । अब आउने सरकारले स्थिर नीति र स्पष्ट कानुनी संरचना बनाइदियो भने निजी क्षेत्र उत्पादन, प्रसारण लाइन निर्माण, वितरण तथा विद्युत् व्यापार सबै क्षेत्रमा काम गर्न तयार छ ।
विद्युत प्राधिकरणले समयमा पिपिए नगरिदिँदा आयोजना अगाडि बढाउन नसकेको समस्या निजी क्षेत्रले लामो समयदेखि झेल्दै आएको छ । नयाँ सरकार बनाउने दलको प्राथमिकता विद्युत उत्पादन रहेकाले पनि अब कति क्षमताका आयोजनाको पिपिए तत्काल खोल्नुपर्ने आवश्यकता देख्नुहुन्छ ?
पिपिएको विषयमा केही आधारभूत समस्याहरू छन् । पहिलो कुरा, निजी क्षेत्रले उत्पादन गरिरहेको विद्युत् सरकारले समयमै खरिद नगर्ने अवस्था देखिएको छ । यसको प्रत्यक्ष असर नेपाली लगानीकर्ता र आम नागरिक दुवैमा परेको छ । दोस्रो, प्रसारण लाइनको पूर्वाधार निर्माण हुन सकेको छैन । कतिपय जलविद्युत आयोजनाहरू वन क्षेत्रको स्वीकृति नपाउँदा समेत अड्किएका छन् । साथै, जलविद्युत आयोजनाहरूले तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकेको अवस्थामा ‘आरसीओडी’ (जलविद्युत आयोजनाको व्यावसायिक सञ्चालन मिति) थप्न माग गर्दा पनि सहज रूपमा स्वीकृति दिइँदैन । विद्युत प्राधिकरणले उल्टै जरिवाना लगाउने प्रवृत्ति देखिन्छ । यसले निजी क्षेत्रलाई निरुत्साहित बनाउने स्थिति सिर्जना गरेको छ । अर्कोतर्फ करिब ३६ हजार मेगावाटका जलविद्युत् आयोजनाहरूको अनुमतिपत्र सरकारले निजी क्षेत्रलाई पहिले नै वितरण गरिसकेको छ । तर, अब निर्माणमा जाने चरणका आयोजनाको पिपिए ‘टेक एन्ड पे’ प्रावधानमा मात्र गर्ने विद्युत प्राधिकरणको सर्त छ । सरकारले २८ हजार ५०० मेगावाट उत्पादन गर्ने लक्ष्य निर्धारण गरी अनुमतिपत्र दिने र सरकारको अर्को निकायले पिपिए नगर्नु वा गरिहाले पनि सर्त राखेर गर्नुले त्यहाँ नीतिगत अस्पस्टता देखिन्छ । यसले लगानीकर्ता मात्र होइन, आम नेपाली जनतामा पनि अन्योलता सिर्जना गरेको छ । यी सबै कारणले गर्दा ऊर्जा क्षेत्रमा लगानी गरेको निजी क्षेत्रले निकै कठिनाइ र निराशा अनुभव गरेको अवस्था छ । त्यसकारण, अब बन्ने सरकारले ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य कार्यान्वयनमा जाने हो भने अब पालो कुरिरहेका आयोजनाको पिपिए तत्काल खुल्ला गर्नुपर्छ । विद्युत उत्पादन लक्ष्य हासिल गर्न पिपिए गर्नैपर्छ ।
विद्युत् उत्पादनदेखि खपत र व्यापारसम्मको समग्र चक्रलाई प्रभावकारी र सहज बनाउनका लागि सरकारले अब कस्तो ढंगले काम गर्नुपर्छ ?
आजको अवस्था हेर्दा पेट्रोलियम ऊर्जा तथा ग्यासको माग र आपूर्ति व्यवस्थापनमा विभिन्न चुनौतीहरू छन् । उदाहरण दिएर भन्नुपर्दा अहिले खाना पकाउने ग्यासको अभाव देखिएको छ । भोलिका दिनमा सवारी साधनका लागि आवश्यक इन्धनमा पनि समस्या देखिन सक्छ । डिजेल–पेट्रोल बाहिरबाट आयात हुने भएकाले त्यसमा अवरोध आए उद्योग, यातायात तथा अन्य आर्थिक गतिविधि प्रभावित हुन सक्छन् । कृषि क्षेत्रमा पनि सिँचाइका लागि प्रयोग हुने मोटरहरू सञ्चालन गर्न समस्या आउन सक्छ । पर्यटन क्षेत्रदेखि लिएर अहिले योजनामा रहेका डाटा सेन्टर जस्ता नयाँ उद्योगहरू सञ्चालन गर्न पनि ऊर्जा आपूर्ति अत्यन्त महत्त्वपूर्ण हुन्छ । अहिले नै कतिपय उद्योगहरू निरन्तर सञ्चालन गर्न चुनौती देखिन थालेको छ । त्यसैले अब ऊर्जा खपतको ढाँचालाई क्रमशः विद्युतीय ऊर्जातर्फ रूपान्तरण गर्न आवश्यक छ । अहिले प्रयोग भइरहेको पेट्रोलियम पदार्थ र ग्यासमा आधारित प्रणालीलाई क्रमशः विद्युतीय प्रणालीमा रूपान्तरण गर्नुपर्छ । उदाहरणका लागि, घरघरमा ग्यास चुलोको सट्टा विद्युतीय चुलो प्रयोग गर्ने संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ। यसका साथै सौर्य ऊर्जाको प्रयोगलाई पनि विस्तार गर्न सकिन्छ, जसले ऊर्जा स्रोतको विविधीकरणमा मद्दत गर्छ । अब आउने सरकारले नागरिकलाई घरायसी प्रयोगका लागि आवश्यक ऊर्जा सहज रूपमा विद्युतबाट उपलब्ध गराउने गरी काम गर्नुपर्छ । ताकि, नागरिकले ग्यासको लाइनमा बस्नुपर्ने अवस्थाबाट मुक्त भएर आवश्यक परेका बेला विद्युतीय चुलोमार्फत खाना पकाउन सक्ने वातावरण सिर्जना गर्नुपर्छ। यसका लागि दीर्घकालीन योजना, आवश्यक पूर्वाधार विकास तथा प्रणालीगत सुधार गर्न आवश्यक छ ।
त्यस्तै, औद्योगिक क्षेत्रका लागि पनि २४ घण्टा स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्छ । उद्योगहरू नियमित रूपमा सञ्चालन हुन सके मात्र आर्थिक गतिविधि विस्तार हुन्छ । साथै, यातायात क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिनुपर्छ । डिजेल र पेट्रोलजस्ता आयातित इन्धनमा निर्भर रहँदा आपूर्ति अवरोधको जोखिम सधैं रहन्छ । विश्वका धेरै देशहरू अहिले विद्युतीय सवारीतर्फ अघि बढिरहेका छन्, त्यसैले नेपालले पनि त्यस दिशामा स्पष्ट नीति र पूर्वाधार विकास गर्न आवश्यक छ ।
यस्तै, नयाँ प्रकारका उद्योगहरू, जस्तै डाटा सेन्टर वा अन्य उच्च विद्युत खपत गर्ने प्रविधिका उद्योगहरू स्थापना गरेर आन्तरिक विद्युत खपत बढाउन सकिन्छ । त्यसैले सरकारले पाँच वर्ष र दश वर्षको अवधिमा देशलाई कति विद्युत् आवश्यक पर्छ भन्ने स्पष्ट प्रक्षेपण गर्नुपर्छ । साथै,माग भन्दा केही बढी विद्युत् उत्पादन गर्ने योजना बनाउनुपर्छ । किनकि, ठूला उद्योग वा डाटा सेन्टरहरूका लागि अतिरिक्त क्षमताको ‘ब्याकअप’ व्यवस्था पनि आवश्यक हुन्छ । सामान्यतया आवश्यक क्षमताभन्दा करिब २०–३० प्रतिशत अतिरिक्त विद्युत् उपलब्ध हुने व्यवस्था उपयुक्त हुन्छ । यसका साथै वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् खेर नजाओस् भनेर अन्तरदेशीय विद्युत् व्यापारका लागि पनि अहिलेबाटै पहल गर्नुपर्छ । त्यसका लागि ऊर्जा कूटनीति र क्षेत्रीय सहकार्य पनि महत्त्वपूर्ण हुन्छ । यी सबै पक्षलाई समग्र रूपमा ध्यानमा राखेर हेर्दा सरकारले अघि सारेको ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अवास्तविक होइन, बरु उचित योजना, पूर्वाधार विकास र नीतिगत सुधारसहित अघि बढेमा यो लक्ष्य यथार्थपरक र हासिल गर्न सकिने देखिन्छ ।
प्राविधिक हिसाबले हेर्दा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य कत्तिको सम्भव देख्नुहुन्छ ?
यो लक्ष्य प्राविधिक रूपमा सम्भव छ । ३० हजार मेगावाट उत्पादन गरेर सबै विद्युत् नेपालमै खपत गर्नुपर्ने भन्ने होइन । सुख्खा यामको माग व्यवस्थापन गर्ने गरी ‘पिकिङ रन अफ द रिभर’ तथा जलाशययुक्त आयोजना पनि निर्माणको चरणमा छन् । विद्युत उत्पादनको यो लक्ष्यभन्दा बढी क्षमताको अनुमतिपत्र नै जारी भइसकेकाले पनि लगानीमैत्री वातावरण निर्माण भएमा यो लक्ष्य निर्धारितम समयभित्र हासिल गर्न सकिन्छ । यसमा निजी क्षेत्रले नै ठूलो योगदान गर्न सक्नेछ । नेपालले भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति समेत गरिसकेको छ । भविष्यमा यो क्षमता अझ बढाउनुपर्ने आवश्यकता पनि पर्न सक्छ । त्यसका लागि उत्पादन, प्रसारण र अन्तरदेशीय व्यापारका विषयहरूलाई कूटनीतिक रूपमा सन्तुलित गर्दै अघि बढ्नुपर्ने हुन्छ । साथै, अहिले पनि सुख्खा याममा विद्युत् आयात गर्नुपर्ने अवस्था छ । त्यसैले उत्पादन बढाउनु पर्ने आवश्यकता छ र यो लक्ष्य पूरा गर्न सकिन्छ ।
ऊर्जा क्षेत्रको प्राथमिकतामा विद्युत उत्पादनलाई नै बढी महत्त्व आएको छ । तर, अब नयाँ सरकारले प्रसारण, वितरण, आन्तरिक खपत तथा अन्तरदेशीय विद्युत व्यापार जस्ता पक्षलाई पनि समान रूपमा प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने देखिन्छ । यी पक्षहरूलाई कसरी व्यवस्थित रूपमा योजना बनाएर कार्यान्वयन गर्नुपर्छ जस्तो लाग्छ ?
सरकारले विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारणसँगै देशभित्र कति विद्युत् खपत गर्ने भन्ने स्पष्ट योजना बनाउनु पर्छ । उत्पादनको लक्ष्य मात्र पर्याप्त हुँदैन; त्यसलाई प्रवाह गर्ने प्रसारण लाइन संरचना र बजार पनि तयार हुनुपर्छ । हामीले धेरै गाडी आयात ग¥यौं भने ती गाडी चलाउन सडक पूर्वाधार पनि आवश्यक हुन्छ । त्यस्तै, विद्युत् उत्पादन बढाउँदै जाँदा त्यसको उपयोगका लागि आवश्यक पूर्वाधार—प्रसारण लाइन, वितरण प्रणाली र खपत बढाउने संरचना—समेत सँगसँगै विकास गर्नुपर्छ । उदाहरणका लागि घरघरमा विद्युतीय चुलो प्रयोग गर्ने नीति अघि बढाउने हो भने त्यसका लागि अहिलेको विद्युत् प्रणाली पर्याप्त छ कि छैन भन्ने मूल्याङ्कन गर्नुपर्छ । काठमाडौँ उपत्यकामा ठूलो संख्यामा विद्युतीय चुलो प्रयोग हुन थाल्यो भने त्यसले विद्युत् प्रणालीमा कस्तो प्रभाव पार्छ ? अहिलेको वितरण संरचनाले त्यसलाई धान्न सक्छ कि सक्दैन ? यदि सक्दैन भने त्यसलाई सक्षम बनाउन के–कस्ता पूर्वाधार विस्तार गर्नुपर्छ ? यस्ता विषयमा तुरुन्तै काम सुरु गर्नुपर्छ । प्रसारण तथा वितरण प्रणालीको पूर्वाधार निर्माण गर्ने कार्य तत्कालै गर्न सकिँदैन । त्यसैले दीर्घकालीन योजना बनाएर चरणबद्ध रूपमा बजेट तथा कार्यक्रममार्फत कार्यान्वयन गर्नुपर्छ । विशेषगरी आगामी बजेटमा यस्ता पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न आवश्यक छ । त्यसैगरी, उत्पादन भएका विद्युत् उद्योगहरूमा पु¥याउन प्रसारण लाइनहरूको विस्तारमा पनि तीव्रता दिनुपर्छ । उत्पादन स्थलबाट औद्योगिक क्षेत्र वा उपभोग केन्द्रसम्म विद्युत् पु-याउने सुदृढ प्रसारण प्रणाली अत्यावश्यक छ । अर्कोतर्फ, नेपालमा वर्षायाममा अतिरिक्त विद्युत् उत्पादन हुने सम्भावना रहन्छ । त्यसलाई खेर जान नदिन छिमेकी देशहरूसँग विद्युत् व्यापार विस्तार गर्नुपर्छ । त्यसका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा क्षेत्रीय ऊर्जा सहकार्य आवश्यक हुन्छ ।
प्रसारण लाइन निर्माण गर्दा पनि भविष्यको उत्पादन क्षमतालाई ध्यानमा राखेर योजना बनाउनुपर्छ । आजको आवश्यकतालाई मात्र होइन, भोलिका दिनमा सम्भावित उत्पादन र खपतलाई पनि विचार गरेर पूर्वाधार निर्माण गरियो भने दीर्घकालीन रूपमा राम्रो हुन्छ ।
नयाँ सरकार बनाउने दलले आफ्नो बाचापत्रमा लाखौंको संख्यामा रोजगारी सिर्जना घोषणा पनि गरेको छ । ऊर्जा क्षेत्रले विशेषगरी निजी क्षेत्रले रोजगारी सिर्जनामा कसरी योगदान गर्न सक्छ ?
सबैभन्दा पहिला, सरकारको लक्ष्य स्पष्ट हुनुपर्छ । सरकारको लक्ष्य ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने छ भने त्यसको लागि करिब ७० खर्ब रुपैयाँ लगानी चाहिन्छ । ३० हजार मेगावाटका आयोजना निर्माण गर्दा हरेक वर्ष जलविद्युत आयोजना निर्माणमा करिब ७ खर्ब रुपैयाँ खर्च हुने देखिन्छ । जब सरकारले स्पष्ट नीति लिएर लगानी बढाउँछ, त्यहाँ साना–ठूला उद्योग, चिया पसलदेखि पाँचतारे होटलसम्म पुँजी चलायमान हुन्छ । यसले साना मजदुरदेखि ठूला इन्जिनियरहरूसम्म सबैका लागि रोजगारी सिर्जना गर्छ । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ऊर्जा क्षेत्रमा काम गर्दा जलविद्युत आयोजना निर्माण, प्रसारण र वितरणमा संलग्न भएर काम गर्दा पनि करिब ७ लाख जनालाई प्रतिवर्ष रोजगार प्रदान गर्न सकिन्छ । यसले सरकारको लक्ष्यभन्दा धेरै बढी रोजगारी सिर्जना गर्ने सम्भावना राख्छ । निजी क्षेत्रले सरकारको नीति र योजना अनुसार काम गर्दा, सरकारी लक्ष्यहरू र जनताको अपेक्षाहरू पूरा गर्न महŒवपूर्ण योगदान दिन सक्छ ।
जलविद्युत उत्पादनमा निर्धारण गरिएको लक्ष्य पूरा गर्न स्वदेशी पुँजीले मात्रै नपुग्ने हुँदा वैदेशिक लगानी पनि आवश्यक हुन्छ । तर, नीतिगत अस्पष्टता र जोखिमले अपेक्षाअनुसार बाह्य लगानी ल्याउन सकिएको छैन । अबको सरकारले बाह्य लगानी बढाउन कस्तो स्थिर नीति लिनुपर्छ ?
जलविद्युत उत्पादनमा बाह्य लगानी आकर्षित गर्न सबैभन्दा पहिले, नेपालका निजी क्षेत्रलाई समेट्ने स्पष्ट नीति आवश्यक छ । यदि नेपाली लगानीकर्ताले ढुक्क भएर काम गर्न सक्ने वातावरण छैन भने विदेशी लगानी पनि कहिले आउँदैन । नेपालको जलविद्युतमा लगानीको ठूलो सम्भावना भएपनि स्थिर नीति नभएकै कारण अहिलेसम्म ठूलो लगानी आउन सकेको छैन । आएको लगानीको सुरक्षा जोखिमले पनि लगानी आकर्षण बढ्न सकेको छैन । त्यसका लागि स्थित नीति नै हो । स्थिर नीतिको अर्थ हो, लगानीकर्तासँग सम्झौता गर्नु, उसको लगानीलाई सुरक्षा दिनु र त्यस सम्झौता पूर्ण रूपले पालना गर्नु भन्ने हो । यदि नीतिगत स्पष्टता छ भने, निजी क्षेत्रले काम गर्न सक्छ र ठूला विदेशी लगानी तथा लोनहरू पनि सजिलै ल्याउन सकिन्छ । विगतमा लगानीकर्ताहरू डराउँथे किनभने, सरकार अस्थिर थियो, नीति अस्पष्ट थियो । अब बन्ने दुई तिहाइ बहुमतको स्थिर सरकारले स्थिर नीति बनाएर विदेशी लगानीकर्तालाई लगानी गर्न आउने वातावरण निर्माण गरिदिनुपर्छ । सरकारको नीति स्पष्ट र स्थिर भएमा, नेपालमा स्वदेशी तथा विदेशी दुवै लगानीकर्ताले जलविद्युत उत्पादन, ग्रीन हाइड्रोजन उत्पादन तथा व्यापार, क्रिप्टो, माइनिङ जस्ता क्षेत्रमा लगानी गर्न सक्छन् । यस्तो नीति भएमा नेपालले छोटो समयमै आर्थिक विकास गर्न र लक्षित ऊर्जा उत्पादन हासिल गर्न सक्ने सम्भावना उच्च हुन्छ ।
विद्युत् विधेयक अघिल्लो संसदले पास गर्दा ऐन बन्न सकेन । निजी क्षेत्र नयाँ सरकारले कस्तो विद्युत ऐन ल्याओस् भन्ने चाहान्छ ?
विद्युत ऐन २०४९ अहिलेको अवस्थामा धेरै पुरानो भइसकेको छ । यो ऐनले लगानीकर्तालाई केही जोखिममा पनि पारेको छ । जस्तो, ५० वर्षसम्मको उत्पादन अनुमतिपत्रको अवधि रहने स्पष्ट व्यवस्था विद्युत ऐनमा थियो । तर, अहिले सेयर मार्फत लगानी गर्ने ८० लाख नेपालीको लगानीको भविष्यमा अनिश्चितता छ । त्यसकारण, अब बन्ने नयाँ ऐनमा जलविद्युतमा लगानी गर्ने शेयर लगानीकर्ताको लगानीको सुरक्षा हुने गरी ल्याइनु पर्छ भन्ने हाम्रो माग हो । यो कुरालाई ऐनले सम्बोधन गर्न सकेन भने लगानीकर्तालाई निरुत्साहित गर्ने खालको भयो भने नयाँ लगानी आउँदैन । हामी चाहन्छौं कि नयाँ विद्युत ऐनले निजी क्षेत्र र जनता दुवैको लगानीलाई सुरक्षा दिनुपर्छ । विद्युत उत्पादन अनुमतिपत्रको अवधिका स्पष्टता, पीपीएको स्पष्ट व्यवस्था, लगानीकर्ताको हित सुनिश्चित गर्ने खालका प्रावधान नयाँ ऐनमा समावेश हुनु जरुरी छ । विद्युत विधेयक ऐनको रुपमा संसदबाट पास भएर आउनु अघि सरोकारवाला निजी क्षेत्रसँग पनि वृहत छलफल गरिनु पर्छ । हाम्रो अपेक्षा अनुसार, यो विधेयक सरकारले पास गर्नुअघि निजी क्षेत्रको सुझाव लिनुपर्छ । यदि सरकारले यस्तो पारदर्शी प्रक्रिया अपनायो भने, विधेयक तयार गर्न र पास गर्न धेरै समय लाग्दैन । मलाई लाग्छ, ६ महिनाभित्र विद्युत विधेयक निर्माण र संसदबाट पास हुन सक्ने सम्भावना छ ।