नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

बदर मतको डरलाग्दो उभार

लोकतन्त्रको सबभन्दा महत्वपूर्ण अभ्यास निर्वाचन हो । नागरिकले आफ्नो मतमार्फत शासन व्यवस्था तय गर्ने यही प्रक्रियाले राज्यलाई वैधता प्रदान गर्छ । त्यसैले निर्वाचनमा प्रत्येक मतको महत्व हुन्छ । सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामसँगै सार्वजनिक भएका तथ्यांकहरूले भने एउटा गम्भीर प्रश्न उठाएका छन्– यत्रो ठूलो संख्यामा मत किन बदर भयो ? विशेषगरी मतदाता शिक्षामा ठूलो लगानी गरिएपछि पनि बदर मतको संख्या अपेक्षाभन्दा बढी देखिनु स्वाभाविक रूपमा चिन्ताको विषय बनेको छ ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ खसेको मतमध्ये करिब ६ लाखभन्दा बढी मत बदर भए, जुन करिब ५ प्रतिशतभन्दा माथि हो । समानुपातिकतर्फ पनि चार लाखभन्दा बढी मत बदर भए । विगतका निर्वाचनसँग तुलना गर्दा प्रत्यक्षतर्फको बदर मतको प्रतिशत खासै घटेको देखिँदैन । अझ मतदाता शिक्षा कार्यक्रमका लागि यसपटक करिब २५ करोड रुपैयाँ खर्च गरिएको तथ्यले यो विषयलाई अझ गम्भीर बनाएको छ ।
आयोगले मतदाता शिक्षा अभियान सञ्चालन गर्न स्वयंसेवक परिचालन गरेको थियो । प्रत्येक वडामा स्वयंसेवक खटाएर मतदातालाई मतदान प्रक्रियाबारे जानकारी गराउने प्रयास गरिएको थियो, जसका लागि सात करोडभन्दा बढी खर्च गरिएको बताइन्छ । त्यसबाहेक डिजिटल माध्यम, सञ्चारमाध्यम, पर्चापम्प्लेट, नमुना मतपत्र छपाइ आदिमा पनि ठूलो रकम खर्च भएको थियो । यति धेरै स्रोतसाधन प्रयोग गरिँदा पनि अपेक्षित परिणाम नआउनु स्वाभाविक रूपमा प्रश्नको विषय बन्न पुगेको छ ।
यसपटकको निर्वाचनमा ठूलो संख्यामा युवाहरू मतदान प्रक्रियामा सहभागी भएका थिए । मतदानमा युवाहरूको सक्रिय उपस्थिति देखिनु लोकतन्त्रका लागि सकारात्मक संकेत हो । तर यति धेरै युवा सहभागिता भएको अवस्थामा पनि ठूलो संख्यामा मत बदर हुनु भने अर्को गम्भीर प्रश्न हो । युवाहरू मतदान प्रक्रिया बुझ्न असमर्थ थिए भन्ने तर्क सहज रूपमा स्वीकार गर्न सकिँदैन । आजका युवाहरू सूचना प्रविधिमा अभ्यस्त छन् । सामाजिक, राजनीतिक र नागरिक अधिकारका विषयमा उनीहरू अघिल्लो पुस्ताभन्दा बढी सचेत मानिन्छन् । त्यसैले बदर मतको समस्या केवल मतदाताको अज्ञानतासँग मात्र जोडेर हेर्नु पर्याप्त नहुने देखिन्छ । मिश्रित निर्वाचन प्रणालीका कारण पनि मतदाता अलमलमा पर्न सकेका हुन्छन् भन्ने विश्लेषकहरूको मत पनि विचारणीय छ । प्रत्यक्ष र समानुपातिक गरी दुई प्रकारका मतपत्र प्रयोग हुने भएकाले मतदाताले कहाँ र कसरी मतदान गर्ने भन्ने विषय स्पष्ट नहुँदा समस्या आएको मान्न सकिन्छ । कतिपय मतदाताले एउटै मतपत्रमा दुई ठाउँमा स्वस्तिक चिह्न लगाइदिँदा मत बदर भएको हुन सक्ने अनुमान गरिएको छ । साथै मतदान अधिकृतबाट हुने सामान्य त्रुटि, जस्तै मतपत्रमा हस्ताक्षर नभएको वा मतपेटिकाबारे स्पष्ट जानकारी नदिएको अवस्थाले पनि बदर मत बढेको हुन सक्छ ।
२–३ प्रतिशतसम्म बदर मत हुनु सामान्य मान्न सकिए पनि ५ प्रतिशत वा त्योभन्दा बढी बदर हुनु भने चिन्ताको विषय हो । यसले निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा र मतदान प्रक्रियामा सुधार आवश्यक रहेको संकेत गर्छ । निर्वाचन आयोगले यो निर्वाचन सफलतापूर्वक सम्पन्न गराएर प्रशंसनीय काम गरेकोमा कुनै शंका छैन । विशाल भौगोलिक क्षेत्र, विविध सामाजिक परिवेश र चुनौतीपूर्ण परिस्थितिका बीचमा निर्वाचन सम्पन्न गर्नु आफैंमा ठूलो उपलब्धि हो । तर त्यससँगै देखिएका कमजोरीहरूको गम्भीर समीक्षा गर्नु पनि आयोगकै जिम्मेवारी हो । आयोगले प्राप्त तथ्यांकको सूक्ष्म विश्लेषण गरी बदर मत किन बढ्यो भन्ने चुरो कारण पत्ता लगाउनु अत्यावश्यक छ । मतदाता शिक्षा, मतदान केन्द्रको व्यवस्थापन, निर्वाचन प्रणालीको जटिलता वा कहाँ समस्या भएको हो, त्यसको स्पष्ट निष्कर्ष निकाल्नुपर्छ । 
मुलुकमा निर्वाचन एकपटक मात्र हुने होइन । यो निरन्तर चलिरहने लोकतान्त्रिक प्रक्रिया हो । अब डेढ वर्षपछि स्थानीय तहको निर्वाचन हुनेछ । त्यसअघि नै अहिले देखिएका कमजोरीहरू सुधार्ने अवसर आयोगसँग छ । मतदाता शिक्षालाई अझ प्रभावकारी, व्यवहारिक र लक्ष्यित बनाउनुपर्ने चुनौती आयोगको काँधमा आएको छ । जहाँका मतदाता मतदान केन्द्रमै पुगेनन्, त्यहाँ आयोगले धेरै गर्न सक्ने अवस्था नहुन सक्छ तर जहाँ नागरिकले मतदान गर्दा पनि मत बदर हुने अवस्था आउनु व्यवस्थापनको कमजोरी हो । नागरिकको मत खेर जानु लोकतन्त्रका लागि पक्कै पनि राम्रो संकेत होइन । त्यसैले आगामी निर्वाचनमा एउटा मत पनि खेर नजाओस् भन्ने लक्ष्यसहित आयोगले नयाँ रणनीति बनाउनुपर्छ । मतदाता शिक्षाको प्रभावकारिता बढाउने, मतदान प्रक्रियालाई अझ सरल बनाउने र मतदान केन्द्रमा स्पष्ट सूचना उपलब्ध गराउनेतर्फ आगोगले विशेष ध्यान दिनुपर्छ ।
नागरिकले दिएको प्रत्येक मत लोकतन्त्रको अमूल्य अभिव्यक्ति हो । त्यो मत बदर भएर खेर जानु भनेको नागरिकको आवाज हराउनु हो । त्यसैले अबको चुनौती केवल निर्वाचन गराउनु मात्र होइन, प्रत्येक मतलाई सम्मानपूर्वक सदर गराउन सक्ने प्रणाली निर्माण गर्नु हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्