नेभिगेशन
नेपाल
वन–डढेलो व्यवस्थापन सप्ताह

सुक्खा मौसम लागेसँगै जोखिम बढ्ने चिन्ता

काठमाडौं । ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ अनुसार प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाइँदै आएको छ ।
मन्त्रालयका अनुसार सप्ताहका अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण, सरसफाइ तथा अन्य उपयुक्त डढेलो व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ ।
वन तथा भूसंरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले विशेषगरी सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशमा डढेलोको जोखिम बढी देखिएको बताए । डढेलोको भौगोलिक वितरणले तराई, चुरे तथा मध्यपहाडी वन क्षेत्रमा जोखिम उच्च रहेको संकेत गरेको उनले जनाए ।
उनका अनुसार नेपालमा सुक्खायाम सुरु भएसँगै विशेषगरी फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने जोखिम उच्च रहने गरेको छ । डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा गम्भीर नकारात्मक प्रभाव पर्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि समयमै प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको विभागले जनाएको छ ।
डढेलो जोखिमसँगै प्रदूषणको चिन्ता
काठमाडौं उपत्यकामा वायु प्रदूषण पहिले नै निकै खतरनाक स्तरमा पुगेको छ । वातावरणविद् र वायु गुणस्तर विशेषज्ञहरूले डढेलोको मौसम सुरु भएसँगै जोखिम उच्च भएको बताएका छन् । नेपालमा चैत महिनोदेखि सुरु हुने सुक्खा मौसममा देशभरका वनमा डढेलो लाग्ने गर्छ । असार महिनामा वर्षा भएसँगै डढेलोको जोखिम घट्ने गर्दछ । नत्र मुलुकमा चैतदेखि जेठ महिनासम्म डढेलोको जोखिम हुने गरेको छ ।
विशेषज्ञहरूका अनुसार डढेलो नियन्त्रणका लागि आवश्यक तयारी र योजना प्रभावकारीरूपमा नहुँदा जोखिम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा वन डढेलो व्यवस्थापन हेर्ने जिम्मेवार अधिकारी नै करिब ६ महिनादेखि छैनन् ।
नेपालमा करिब ९० प्रतिशत वन डढेलो मानवीय क्रियाकलापका कारण लाग्ने गरेको अध्ययनहरूले देखाएका छन् । किसानहरूले खेतका रहलपहल सफा गर्न आगो लगाउने, चुरोटको ठुटो जथाभावी फाल्ने, वन्यजन्तु भगाउन वा जंगलमा नयाँ घाँस पलाउला भनेर आगो लगाउने कारणले डढेलो फैलिन्छ ।

अचेल गाउँघरमा दाउरा, सुक्खा पातजस्ता वन स्रोतको उपयोग घटेपछि जंगलमा सुक्खा जैविक पदार्थ थुप्रिँदा आगलागीको जोखिम बढ्ने गरेको देखिन्छ ।
नेपालले विगत ६ दशकमा वन संरक्षणमा उदाहरणीय सफलता हासिल गरेको छ । अहिले देशको करिब ४५ प्रतिशत क्षेत्र वनले ढाकिएको छ । वन डढेलोले वन नष्ट हुनुका साथै जनधन, वातावरण र जैविक विविधतामा ठूलो क्षति पु¥याउँछ । पछिल्लो ६ वर्षमा नेपालमा १९ हजारभन्दा बढी आगलागीका घटना भएका छन् जसमा ५९३ जनाको मृत्यु भएको छ । यी घटनाबाट ३३ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् र करिब २६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।
यस वर्ष पनि वन डढेलोको मौसम सुरु भइसकेको छ । औसतमा प्रत्येक वर्ष करिब ७७ जनाको मृत्यु आगलागीका कारण हुने गरेको छ । केही जिल्लाहरू जस्तै सुर्खेत, बर्दिया, चितवन, दाङ, बाँके, कैलाली, कञ्चनपुर, पर्सा र सल्यान डढेलोको उच्च जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ ।
वन डढेलोले वायु प्रदूषणलाई पनि गम्भीर बनाउँछ । अहिले काठमाडौं विश्वकै अत्यधिक प्रदूषित सहरमध्ये एक बनेको छ । एः२.५ नामक सूक्ष्म कणहरू साससँगै फोक्सो र रगतसम्म पुग्न सक्ने भएकाले स्वास्थ्यका लागि निकै खतरनाक हुन्छन् ।
विश्व बैंकका अनुसार नेपालमा वायु प्रदूषण मृत्यु र अशक्तताको प्रमुख जोखिम बनेको छ । यसले औसत नेपालीको आयु करिब ३.४ वर्षले घटाउने अनुमान गरिएको छ र हरेक वर्ष करिब २६ हजार मानिसको अकाल मृत्यु हुने गरेको छ ।
विशेषज्ञहरूले डढेलो रोक्न जनचेतना बढाउने, स्थानीय सरकारलाई सशक्त बनाउने, स्थानीयलाई तालिम दिने, आवश्यक उपकरण उपलब्ध गराउने र दोषीलाई कडा कारबाही गर्ने सुझाव दिएका छन् । उनीहरूले आगलागी भएको क्षेत्रमा नजान र सावधानी अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्