काठमाडौं । नेपालमा पाँच दर्जनभन्दा बढी स्थानमा सुन खोजतलास अनुमतिपत्र जारी गरिसकेको खानी तथा भूगर्भ विभागले सुन उत्खनन्को अनुमतिपत्र लिएर स्वीकृत कार्ययोजना भन्दा फरक तरिकाले ठूला उपकरण र मेसिनरी प्रयोग गरेकोमा आपत्ति जनाउँदै अनियमितता गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
विभागले सुन खोज्ने भन्दै मापदण्डभन्दा विपरीत मसिनरी प्रयोग गर्ने तथा नदीको बहाव परिवर्तन गर्ने व्यवसायी तथा कम्पनीहरूलाई कारबाहीको चेतावनी दिएको हो । विभागले ठूला उपकरण र मेसिनरी प्रयोग गरी खोलाको बहाव परिवर्तन तथा दूषित हुने गरी सुन खोजतलास कार्य गरिरहेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाउने तदारुकता देखाएको हो ।
अनुमति लिएका कम्पनीहरूले परामर्शदाताको प्राविधिकभन्दा फरक विदेशी प्राविधिक प्रयोग गरी अन्वेषणः कार्य गरेको उजुरी विभागमा परेपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको विभागका प्रवक्ता धर्मराज खड्काले बताए । सम्बन्धित स्थानीय तह र प्रशासनबाट समेत विभागमा यस्तो जानकारी प्राप्त भएपछि ती कम्पनीलाई चेतावनी दिइएको हो ।
खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा ११ क बमोजिम खनिज कार्य गर्दा वातावरणमा प्रतिकूल असर पार्न नहुने स्पष्ट व्यवस्था छ । ‘हाम्रो ऐन र नियमावलीमा भएको व्यवस्था तथा उनीहरूले विभागबाट स्वीकृत गराएको कार्ययोजना विपरीत सुन उत्खनन्को काम भइरहेको जानकारी पाएपछि चेतावनी दिएका हौं,’ प्रवक्ता खड्काले बताए ।
नियमावलीमा भएको व्यवस्था अनुसार सार्वजनिक हित वा राष्ट्रिय सुरक्षा वा वातावरणमा प्रतिकूल असर पर्न सक्नेगरी र तोकेका शर्तहरू पालना नगरी खनिज कार्य गरेमा अनुमतिपत्र रद्द हुने प्रावधान छ । अवैध तरिकाले खनिज कार्य नगर्न÷नगराउन सम्बन्धित अनुमतिपत्र वाहकलाई विभागले निर्देशन दिएको छ ।
विभागले नेपालका विभिन्न नदी तथा पहाडी क्षेत्रमा सुनको सम्भावना देखिएका स्थानमा खोजतलासका लागि अनुमति दिएको छ । नेपालमा अहिलेसम्म ठूलो व्यावसायिक सुनखानी पुष्टि भएको छैन तर नदीको बालुवा तथा चट्टानमा सानो मात्रामा सुन भेटिने सम्भावना भएका क्षेत्रहरूमा अध्ययन र खोज भइरहेको छ । विभागको अध्ययनअनुसार करिब ६० भन्दा बढी स्थान सुनको सम्भावना भएका क्षेत्रका रूपमा पहिचान भएका छन् । मुख्यतया नदी किनार र हिमालय क्षेत्रका खोलाहरूमा यस्तो खोजतलास गरिएको छ ।
गण्डकी र आसपासका क्षेत्रमा सुनखानी उत्खनन्का लागि अधिक अनुमति दिइएको छ । जसमा कालीगण्डकी नदीका रिडी, तातोपानी, ज्यामिरघाट क्षेत्रसहित मोदी खोला, मादी खोला र मस्र्याङ्दी नदी रहेका छन् । यसबाहेक बूढीगण्डकीको आरुघाट, बुनकोट घाट, दरबुङ तथा बेनिघाट क्षेत्रमा पनि अनुसन्धान र उत्खनन्का लागि अनुमति दिइएको छ । पश्चिम नेपालका कर्णाली नदीसहित भेरी नदी, लुंग्री खोला, फागम खोला, गाम खोला बर्गो, बाँगाबगर, गोराङ क्षेत्र र लालीगाड तथा कर्णाली नदी आसपासका रक्मा र गोठीमा पनि सुनखानी रहेको भन्दै अध्ययन अनुसन्धान भइरहेको छ ।
सुदूरपश्चिमको महाकाली, चमेलियाका पन्जुनया र रक्ताडी तथा धौलीगाड, बौलीगाड, टारुगाड, सुनिगाड र जमारीगाड पनि यो सूचीमा पर्छन् । यससँगै अन्य सम्भावित क्षेत्रमा त्रिशूली, म्याग्दी, राहुघाट खोला तथा बागखोला, सिखे खोला, मिस्त्री खोला, रिउ खोला (चितवन), चण्डी खोला, घट्टेगाडजस्ता नदीमा रहेको बालुवामा सानो–सानो कण सुनका रुपमा पाइने सम्भावना भएको कारण खोजतलास अनुमति दिइएको हो ।
नेपालमा अहिलेसम्म ठूलो व्यावसायिक सुनखानी भने पुष्टि भएको छैन । विभागका अनुसार प्रायः नदीको बालुवाबाट सानो मात्रामा सुन निकाल्ने सम्भावना मात्र देखिएको छ । केही अघि चिनियाँ कम्पनीहरूले केही क्षेत्रमा खोज गरे पनि नेपालमा ठूलो सुनको भण्डार प्रमाणित हुन सकेको छैन । पश्चिम नेपालका बर्दियालगायत कतिपय जिल्लामा भने विभागबाट अनुमति नलिई कतिपय स्थानीयले बालुवा चालेर सुन खोज्ने गरेका छन् ।