राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रम केवल एउटा नियमित राजनीतिक गतिविधि मात्र होइन, नेपाली राजनीतिमा देखिएको नयाँ सम्भावना र आशाको संकेत पनि हो । लामो समयदेखि परम्परागत दलहरूको कार्यशैलीप्रति असन्तुष्ट बन्दै गएको नेपाली समाजले हालैको निर्वाचनमार्फत वैकल्पिक शक्तिलाई उल्लेखनीय रूपमा अघि बढायो । यही सन्दर्भमा रास्वपाका सांसदहरूलाई संसद् प्रवेशअघि नै जिम्मेवारी, आचरण र संसदीय अभ्यासबारे प्रशिक्षण दिनु सकारात्मक र दूरदर्शी कदमका रूपमा लिन सकिन्छ ।
अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई संसदीय प्रक्रिया, विधायकी कार्य, नीति निर्माण, बजेट निर्माण तथा जनतासँगको सम्बन्धबारे जानकारी गराइएको थियो । यसले नयाँ सांसदहरूलाई केवल पद प्राप्त गर्ने होइन, जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न तयार बनाउने अपेक्षा गरिएको छ । विशेषगरी, राजनीतिमा नयाँ अनुहारको रूपमा आएका प्रतिनिधिहरूका लागि यस्तो प्रशिक्षण अत्यन्तै आवश्यक हुन्छ, किनभने उनीहरूबाट जनताले पुराना कमजोरी दोहोरिन नदिने अपेक्षा गरेका छन् ।
रास्वपाले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत उल्लेखनीय संख्यामा सांसद जित्नु आफैंमा जनविश्वासको सूचक हो । तर यो विश्वास स्थायी रहन त्यसलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने चुनौती पनि उत्तिकै छ । पार्टीका नेताहरूले अभिमुखीकरण कार्यक्रममा दिएको सन्देश के छ भने आन्तरिक विवादबाट टाढा रहने, पदको गरिमा कायम गर्ने, संविधान र कानुनप्रति प्रतिबद्ध रहने । यी सबै कुरा व्यवहारमा लागू हुन सके मात्रै अर्थपूर्ण हुनेछ । यो कुराबाट रास्वपा र निर्वाचित सांसद् बेखबर पक्कै छैनन्, अब तिनले यी कुरालाई हृदयङ्गम गरेको पुष्टि तिनका क्रियाकलापबाट हुन सक्दा मात्र आशातीत नतीजा आउन सक्छ र देश साँच्चै रूपान्तरणको मार्गमा अग्रसर हुनसक्छ ।
विशेषगरी रास्पवा उपसभापति डोलप्रसाद अर्यालले व्यक्त गरेको धारणा आगामी निर्वाचनमा प्रतिपक्ष नै नहुने अवस्था सिर्जना गर्ने भन्ने महात्वाकांक्षा पुरा गर्न दिनमा मात्रै होइन रातमा पनि सक्रिय हुनेपर्ने अवस्था देखिन्छ । किनभने यस्तो लक्ष्य हासिल गर्न भाषणभन्दा बढी व्यवहारिक काम आवश्यक हुन्छ । जनताले देख्न चाहेको कुरा भनेको पारदर्शिता, सुशासन र जनमुखी नीतिहरू हुन् । अभिमुखीकरणमा संविधान, कानुन र पार्टीको घोषणापत्र अध्ययन गर्न सांसदहरूलाई दिइएको सुझावले सांसदहरूको बौद्धिक तयारी र उत्तरदायित्वलाई झल्काउँछ ।
नेपाली समाज लामो समयदेखि राजनीतिक निराशामा डुबिरहेको यथार्थ लुकाउन सकिँदैन । दलगत मिलिभगत, भ्रष्टाचार, अस्थिरता र जनअपेक्षाविपरीतका निर्णयहरूले आम नागरिकमा गहिरो अविश्वास पैदा गरेको थियो । यस्तै पृष्ठभूमिमा रास्वपाको उदय भएको हो । यसलाई केवल एउटा पार्टीको सफलता मात्र नभई परिवर्तनको चाहनाको अभिव्यक्तिका रूपमा बुझ्नुपर्छ । त्यसैले पनि रास्वपाले पाएको जनसमर्थनलाई ‘शंकाको लाभ’ का रूपमा लिन सकिन्छ ।
तर यो लाभ अनन्तकालसम्म रहने छैन । नयाँ प्रतिनिधिहरूले पुराना गल्ती दोहो¥याए भने जनताले पुनः विकल्प खोज्न समय लाग्दैन । विश्व राजनीतिको प्रवृत्ति नै यही हो– पुरानो असफल भए नयाँलाई अवसर दिने तर नयाँले पनि अपेक्षा पूरा गर्न नसके फेरि परिवर्तन हुने । त्यसैले रास्वपाका सांसदहरूका लागि यो अवसरसँगै परीक्षा पनि हो ।
अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको आशा जोगाइराख्न सक्नु हो । आशा केवल नाराबाट होइन, कामबाट जीवित रहन्छ । संसद्मा प्रभावकारी भूमिका, जनतासँग निरन्तर संवाद, भ्रष्टाचारविरुद्ध स्पष्ट र कडा अडान तथा नीति निर्माणमा सक्रियतालगायतका सबै पक्षमा रास्वपाले आफूलाई खरोसँग प्रमाणित गर्नुपर्नेछ । साथै, पार्टीभित्र आन्तरिक लोकतन्त्र कायम राख्नु पनि उत्तिकै महत्वपूर्ण छ किनकि आन्तरिक द्वन्द्वले बाह्य छवि कमजोर पार्न सक्छ ।
यस सन्दर्भमा नागरिक समाजको भूमिका पनि कम महत्वपूर्ण छैन । लोकतन्त्र केवल निर्वाचित प्रतिनिधिहरूको जिम्मेवारी मात्र होइन, नागरिकको सक्रिय सहभागिताले पनि त्यसलाई सुदृढ बनाउँछ । प्रश्न गर्ने, जवाफदेहीता माग गर्ने र सार्वजनिक संवादलाई निरन्तरता दिने काम नागरिकले गरिरहनुपर्छ । वास्तवमा, प्रश्न मर्नु भनेको लोकतन्त्र मर्नु हो । स्वस्थ लोकतन्त्रका लागि आलोचना, बहस र संवाद अपरिहार्य हुन्छन् ।
तसर्थ, रास्वपाको अभिमुखीकरण कार्यक्रमले एउटा सन्देश दिएको छ– राजनीति केवल सत्तामा पुग्ने माध्यम होइन, जिम्मेवारी वहन गर्ने प्रक्रिया पनि हो । यदि यस सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकियो भने यसले नेपाली राजनीतिमा नयाँ संस्कार स्थापना गर्न सक्छ । अन्यथा, यो पनि अर्को असफल प्रयोगको रूपमा सीमित हुन सक्छ । त्यसैले अहिलेको आवश्यकता भनेको आशालाई यथार्थमा बदल्ने हो । आशा मर्न नदिनु नै नेता, सांसद र नागरिक सबैको साझा दायित्व हो ।