काठमाडौं । नेकपा माओवादी केन्द्रमा यतिबेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्पको खोजी हुन थालेको छ । मोहन वैद्य, बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरु पार्टीबाट अलग भएपछि एकछत्र रजाईँ गर्दै आएका प्रचण्ड नेतृत्वको विकल्पको बहस चल्दै गर्दा प्रचण्ड भने फेरि पनि क्रान्तिको हुँकार दिन छाडेका छैनन् ।
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय राजनीतिकै माहिर खेलाडी बनिसकेका छन् । त्यसैले कहिले एमाले त कहिले कांग्रेसको बुइ चढेर संसदको तेस्रो दल भएर पनि प्रधानमन्त्रीसमेत बन्ने अवसर पाएका थिए ।
पार्टी बाहिर जस्तै पार्टी भित्र र पार्टीका आन्तरिक कार्यक्रमहरुमा उनको भावभंगिमा किसिम किसिमका हुन्छन् । त्यसैले उनलाई किचनका नेता कार्यकर्ताहरु डाइनामिक लिडरको रुपमा विश्लेषण गर्छन् । तर शान्ति प्रक्रियामा आएपछि गतिविधिलाई लिएर माओवादी पृष्ठभूमिका नेताहरु भने जनयुद्धका नायक भए पनि जनयुद्धपछिका खलनायक भनी प्रचण्डको आलोचना गरि नै रहेका हुन्छन् ।
हुन पनि जनयुद्ध कालमा छिमेकी मुलुक भारतविरुद्ध सुरुङ युद्ध छेड्ने भन्दै माओवादी कार्यकर्तालाई स्कुलिङ गरेका उनी भारतकै छत्रछायाँमा १२ बुदे समझदारी हुँदै शान्ति प्रक्रियामा आए भने शान्ति प्रक्रियामा आएपछि सबैभन्दा बढी भारत परस्त भएर गेरुवस्त्र पहिरिन समेत पछि परेनन् ।
प्रचण्डः रुप १ रंग अनेक
जनयुद्ध कालमा एमालेलाई वर्गशत्रु विश्लेषण गर्नुका साथै दक्षिणपन्थी अवसरवादका रुपमा ब्याख्या गरेका प्रचण्डले जतिबेला नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई समेत गद्दार भनेका थिए । मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)को खरो आलोचना गर्ने उनै प्रचण्डले ७४ सालमा जबजलाई आत्मसाथ गर्दै एमालेसँग पार्टी एकता नै गरेका थिए ।
जस्तो ठाउँ, त्यस्तै अवतारमा प्रस्तुत हुन सक्ने क्षमता भएका प्रचण्ड पार्टीभित्र रुन र रुवाउन सक्ने क्षमता पनि क्षमता पनि राख्छन् । त्यसैले प्रचण्डलाई आलोचना गर्ने कम्युनिस्ट नेताहरुले कलाकारको उपमा पनि दिने गरेका छन् ।
झण्डै तीन दशकदेखि एक छत्र पार्टी नेतृत्व हत्याउँदै आएका प्रचण्ड पछिल्लो पटक सरकारबाट बर्हिगमनमा परेपछि आफूले आफ्नो वर्ग समुदाय र शहिद परिवारहरुलाई भुलेको स्वीकार गर्दै अब त्यो वर्गलाई नछोड्ने भन्दै देश दौडाहा निस्कए । अहिले पनि शहीद परिवारसँग पुग्दा पार्टीको विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गरेको निश्कर्षका आधारमा फेरि एक पटक उत्पीडित वर्ग, शहीद बेपत्ता परिवारहरु र आफ्नो मुद्दातिर नै जोडिने संकल्पसहित अघि बढिरहेको भन्न छाडेका छैनन् ।
अझ जनयुद्धको बाटो छाडेको भनेर गाली गर्ने नेता कार्यकर्तालाई त्यो बाटो सम्भव नभएको बताउने प्रचण्डले फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिने विश्वाससहित अघि बढ्दै गरेको हुँकार दिन छाडेका छैनन् ।
विशेष महाधिवेशनको अडानमा जनार्दन
नयाँ आन्दोलन र विद्रोहको हुँकार दिइरहेका प्रचण्डविरुद्ध माओवादी केन्द्रमा यतिबेला गरमागरम बहस भइरहेको छ । प्रचण्डले सरकारका लागि समय खेर फालेर पार्टी निर्णयलाई वेवास्ता गरेको आरोप लगाएका जनार्दन शर्माले विशेष महाधिवेशन गर्नुपर्ने अडान कायमै राखेका छन् ।
हुनत नेतृत्व विरुद्ध जेहाद छेँडेका शर्मा स्थायी समिति बैठकमा चर्को घेराबन्दीमा छन् । प्रचण्डविरुद्ध अभिब्यक्ति दिएको भन्दै आत्मालोचना गराउने ध्यानमा पार्टीको ठूलो पंक्ति जनार्दनविरुद्ध लागिरहेको छ । यद्यपि तीन दिनदेखि जारी माओवादी स्थायी समिति बैठकमा शर्माले पार्टीभित्र प्रतिष्पर्धा र जनउत्तरदायीलाई आत्मसाथ गर्न विशेषको विकल्प नभएकोमा जोड दिइ नै रहेका छन् ।
पार्टीभित्रै नेतृत्वको विकल्प खोजी भइरहँदा पनि सत्ताको फेरिफरिमै रमारहन खोज्ने प्रचण्डले पार्टी कार्यकर्ता पंक्तिलाई दिने विद्रोहको हुँकारले के संकेत दिन खोजेका हुन् बडो अनौठो छ ।