नेभिगेशन
दृष्टिकोण

पग्लँदो हिँउले निम्त्याउँदै संकट

जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ ।
अन्तरराष्ट्रिय एकीकृत पर्वत विकास केन्द्र (इसिमोड)ले गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार सन् १९७५ यता हिमनदीको मोटाइ २७ मिटरसम्म घटेको छ । यसले एसियाका पानीका स्रोतबाट बग्ने पानीमा निर्भर तल्लो तटीय क्षेत्रका झन्डै दुई अर्ब मानिसका लागि खतराको संकेत देखाएको छ ।
प्रतिवेदनहरूले यस क्षेत्रमा भइरहेको हिमनदी परिवर्तनको हालसम्मकै सबैभन्दा विस्तृत प्रमाण प्रस्तुत गरेका छन् । ‘सन् १९९० देखि २०२० सम्म हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीको परिवर्तनशील गतिशीलता’ र ‘हिन्दुकुश हिमालय हिमनदी परिदृश्य २०२६ः हिमाली हिमनदी अनुगमनको ५० वर्षका अन्तर्दृष्टि’ नामक उक्त प्रतिवेदनहरू इसिमोडले विश्व हिमनदी दिवसको अवसरमा शनिबार सार्वजनिक गरेको हो ।
हिन्दुकुश हिमालयमा ध्रुवीय क्षेत्र बाहिर सबैभन्दा बढी हिउँ रहेको छ, जहाँ ६३ हजार ७०० भन्दा बढी हिमनदीहरूले करिब ५५ हजार ७८२ वर्ग किलोमिटर क्षेत्र ओगटेका छन् । यी हिमनदीहरू एसियाका कम्तीमा १० प्रमुख नदी प्रणालीका स्रोत हुन्, जसले अर्बौं मानिसको खाद्य, पानी, ऊर्जा र जीविकोपार्जनको सुरक्षामा सहयोग पु¥याउँछन् ।
समुद्री सतहबाट चार हजार ५०० देखि छ हजार मिटर उचाइमा रहेका करिब ७८ प्रतिशत हिमनदी क्षेत्रहरू ‘उचाइमा आधारित बढ्दो तापक्रमको उच्च जोखिम’मा रहेका प्रतिवेदनमा उल्लेख छ । यस सम्बन्धमा इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोको भनाइ मार्मिक छ । उनका अनुसार  यो कुनै टाढाको समस्या होइन, यो त हरेक गर्मी र मनसुनमा नयाँ विपद्का रूपमा प्रकट भइरहेको वास्तविक संकट हो । यस शताब्दीमा हिउँ पग्लिने दर दोब्बर हुनुले हामी सबैलाई स्तब्ध बनाउँदै कार्यका लागि प्रेरित गर्नुपर्छ । हिन्दुकुश हिमालय अहिले एउटा दोबाटोमा छ । पानीको अनिश्चिततादेखि विनाशकारी बाढीसम्मका तीव्र रूपमा बढ्दो प्रभावहरूले हामी हिउँमण्डलका लागि निर्णायक दशकमा छौं भन्ने स्पष्ट पारेको छ । हामीले अहिले नै अनुगमन बढाउन र अनुकूलनमा लगानी गर्नुपर्छ । यी जानकारीविहीन क्षेत्रबाट सुरु हुने अनपेक्षित घटना रहेनन्, यो हाम्रो नयाँ यथार्थ हो ।
हिमनदीको १२ प्रतिशत क्षेत्रफल ह्रास     
विस्तृत विश्लेषणले सन् १९९० र २०२० को बीचमा हिन्दुकुश हिमालयका हिमनदीले आफ्नो कूल क्षेत्रफलको करिब १२ प्रतिशत र अनुमानित हिउँ भण्डारको नौ प्रतिशत हिस्सा गुमाएको देखाएको छ । इसिमोडका रिमोट सेन्सिङ विश्लेषक तथा हिमनदी गतिशीलता प्रतिवेदनका मुख्य लेखक सुदनविकास महर्जनका अनुसार सन् १९९० र २०२० को बीचमा हिमनदीले कूल क्षेत्रफलको करिब १२ प्रतिशत हिस्सा गुमाए तापनि यो क्षति शून्य दशमलव पाँच वर्ग किलोमिटरभन्दा साना हिमनदीहरूमा सबैभन्दा तीव्र छ । यसले उच्च हिमाली समुदायका लागि स्थानीयस्तरमा पानीको अभावको तत्काल जोखिम निम्त्याउँछ र हिमताल विष्फोटजस्ता खतरालाई तीब्र बनाउँछ । यस क्षेत्रका तीन–चौथाइ हिमनदी यही जोखिमपूर्ण आकारमा रहेकाले खतरा झन बढी छ ।
एचकेएच हिमनदी परिदृश्य प्रतिवेदनले ३८ वटा अनुगमन गरिएका हिमनदीहरूको तथ्यांकलाई संकलन गरेको छ । जसले सन् २००० पछि हिउँको व्यापक ह्रास भएको देखाएको छ । यसले हिमाली हिउँमण्डलका केही भागहरू अपरिवर्तनीय विनाशतर्फको ‘टिपिङ पोइन्ट’ (निर्णायक मोड) नजिक पुगेको संकेत गर्छ । यद्यपि प्रतिवेदनले तथ्यांकमा रहेको एउटा ठूलो खाडललाई औंल्याएको छ । ती ३८ मध्ये केवल सात वटाले मात्र विश्व हिमनदी अनुगमन सेवा (डब्लुजिएमएस)को विश्वव्यापी बेन्चमार्क मापदण्ड पूरा गरेका छन् । काराकोरम, सिक्किम, जान्स्कर र भुटानजस्ता प्रमुख हिमनदी क्षेत्रहरू अझै पनि अनुगमनको दायराभन्दा बाहिर छन् ।     
हामी एक अधुरो नक्साको सहयोगमा तीव्र रूपमा परिवर्तन भइरहेको भविष्यतर्फ अघि बढ्न खोज्दैछौँ भन्ने इसिमोडका हिउँमण्डल विशेषज्ञ तथा प्रतिवेदनका लेखकमध्येका एक मोहम्मद फारुक आजमको अभिव्यक्ति पनि उत्तिकै मार्मिछ । उनका अनुसार हिमालयको ठूलो हिस्सा अझै पनि अनुगमनको पहुँच बाहिर छ । अनुगमन संयन्त्र विस्तार र पद्धतिमा एकरूपता नल्याई जलप्रवाह र हिउँमण्डलमा आएको तीव्र परिवर्तन पत्ता लगाउन कठिन हुन्छ । नेपालका ‘मेरा’ र ‘रिखा साम्बा’ तथा भारतको छोटा सिग्रीजस्ता प्रतिनिधिमूलक हिमनदीको निरन्तर अनुगमन महत्त्वपूर्ण छ, तिनीहरू सम्पूर्ण पर्वतीय प्रणालीका लागि हाम्रा ‘प्रारम्भिक चेतावनी’ सूचक हुन् ।
सिन्धु, गंगा र ब्रह्मपुत्र बेसिनमा ठूलो क्षति
प्रतिवेदनले हिमनदीको क्षति भौगोलिक रूपमा फरक फरक रहेको देखाएको छ । पूर्वी ‘हेङ्दुआन शान’ पर्वतमालामा सबैभन्दा उच्च प्रतिशत ह्रास देखिएको छ, जहाँ केही क्षेत्रले केवल तीन दशकमा ३३ प्रतिशतसम्म हिमनदी क्षेत्र गुमाएका छन् । तर सबैभन्दा ठूलो क्षति सिन्धु, गंगा र ब्रह्मपुत्र बेसिनहरूमा केन्द्रित छ, जहाँ यस क्षेत्रका ७४ प्रतिशतभन्दा बढी हिमनदी अवस्थित छन् ।
दश वर्ग किलोमिटरभन्दा ठूला हिमनदीले यस क्षेत्रको प्राकृतिक जल भण्डारको करिब ४० प्रतिशत हिस्सा ओगटेका छन् । पच्चिस ठूला हिमनदीमध्ये १८ वटा रहेको काराकोरम पर्वतशृंखला दीर्घकालीन जल, खाद्य र विपद् जोखिमका हिसाबले उच्च जोखिममा छ, जसको प्रभाव समग्र क्षेत्रमा पर्नेछ ।
सन् २०२५ लाई ‘हिमनदी संरक्षणको अन्तरराष्ट्रिय वर्ष’ र सन् २०२५–२०३४ लाई ‘हिउँमण्डल विज्ञानका लागि कार्य दशक’ घोषणा गरिएको सन्दर्भमा, यी निष्कर्षहरूले कार्यको तत्काल आवश्यकतालाई गम्भिर रूपमा स्मरण गराएका छन् । प्रतिवेदनले हिमनदी अनुगमनको दायरा बढाउन, पद्धतिहरूको सुदृढीकरण गर्न र द्रुत रूपमा परिवर्तन भइरहेको हिउँमण्डलको प्रभाव न्यूनीकरणका लागि जलवायु–उत्थानशील अनुकूलन योजनामा ठूलो लगानी गर्न आह्वान गरेको छ ।     
हिन्दुकुश हिमालय क्षेत्र एसियाभरि तीन हजार ५०० किलोमिटरमा फैलिएको छ । जसले अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तानलाई समेट्छ । उच्च हिमाली शृंखला, मध्यपहाडी क्षेत्र र समथर भूभाग समेटिएको यो क्षेत्र झण्डै दुई अर्ब मानिसहरूको खाद्य, जल र ऊर्जा सुरक्षाका लागि महत्वपूर्ण छ । यो अनगिन्ती अतुलनीय प्रजातिहरूको वासस्थान पनि हो । यो क्षेत्र अत्यन्तै संवेदनशील छ । जलवायु परिवर्तन, प्रदूषण, र जैविक विविधताको विनाशजस्ता ‘त्रिपक्षीय ग्रह संकट’को प्रभावबाट उच्च जोखिममा छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्