नेपाली कांग्रेसको आन्तरिक राजनीति यतिबेला गम्भीर मोडमा छ । एकातिर सानेपामा केन्द्रीय समितिको बैठक जारी छ भने अर्कोतिर पार्टीको वैधानिकता र नेतृत्वको कार्यशैलीलाई लिएर गम्भीर प्रश्नहरू उठिरहेका छन् । पार्टी वैधानिकताको विषय सर्वोच्च अदालतमा विचाराधीन छ । फागुन २१ को अनपेक्षित निर्वाचन परिणाम र सभापति गगन थापाको राजीनामाको विषयमा केन्द्रीय समितिमा छलफल चलिरहँदा विशेष महाधिवेशनको विपक्षमा रहेकाहरुले भने बैठकलाई त्यसलाई गल्ती ढाकछोपको प्रयासका रुपमा बुझेका छन् ।
तत्कालीन सभापति शेरबहादुर निकट मानिने कांग्रेस नेता मीन विश्वकर्मा सानेपामा पार्टीभित्र वृहत्तर एकताको प्रस्तावमा छलफल भइरहेको हुनुपर्नेमा अहिले गल्ती ढाकछोपमा केन्द्रित भएको बताउँछन् । पार्टीभित्रको वर्तमान खिचातानीलाई ‘गुदिरहेको गाडी र ड्राइभर’ को रोचक बिम्बमार्फत व्याख्या गर्छन् । सानेपामा जारी केन्द्रीय समिति बैठक, सभापति थापाको राजीनामा, निर्वाचन परिणाम र कांग्रेसको आगामी बाटोका विषयमा केन्द्रित रहेर उनै कांग्रेस नेता विश्वकर्मासँग न्यूज २४ दैनिकका वरिष्ठ संवाददाता जगन्नाथ दुलालले गरेको संवादको सम्पादित अंशः
कांग्रेसको केन्द्रीय समितिको जारी बैठकलाई यहाँहरुले कसरी हेरिरहनुभएको छ ?
निकै असहज अवस्था हो । जुन विशेष महाधिवेशनबाट यो कार्यसमिति आएको भनिएको छ, त्यसको मुख्य कार्यभार सम्पन्न भइसकेको छ । त्यो काम राम्रो भयो वा नराम्रो, त्यो अर्कै समीक्षाको विषय होला, तर त्यो अध्याय सकिइसकेको छ । अहिलेको बैठकलाई त्यसैको समीक्षा भनिएको छ । १४ औं महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई यसबारे जानकारी छैन । हामी यसमा संलग्न छैनौं र हामीलाई यसको आधिकारिक जानकारी पनि छैन ।
यसलाई एउटा बिम्बबाट बुझौँ— राजमार्गमा केही गाडीहरू गुडिरहेका थिए, जसमा ‘नेपाली कांग्रेस’ नामको गाडी सबैभन्दा अगाडि थियो । त्यसमा अनुभवी विज्ञहरू र धेरै यात्रु थिए । पछाडिका गाडीहरूले उछिन्न खोज्दै थिए । त्यही बीचमा एकजनाले ‘यो पाराले हुँदैन, म ड्राइभिङ सिटमा बसेँ भने एकैछिनमा गन्तव्यमा पु¥याउँछु’ भन्दै स्टेयरिङ खोस्नुभयो । तर, चालक बदलिएको केही क्षणमै गाडी दुर्घटनामा प¥यो । अहिले उहाँहरू ‘धन्न मैले यत्तिको सम्हालेँ, अर्कै ड्राइभर भएको भए त पुरै गाडी भीरबाट खस्थ्यो’ भन्दै आफ्नो बचाउ गरिरहनुभएको छ । उपसभापति विश्वप्रकाश शर्माज्यूको लामो प्रस्ताव पनि यही आत्मरक्षाकै शैलीमा आएको देखिन्छ ।
तर उहाँहरूको तर्क त फरक छ नि ! उहाँहरू भन्नुहुन्छ— ‘चालकको के दोष? गाडीको इन्जिन त पहिले नै खराब भइसकेको थियो, टायर पन्चर थिए र पार्टपुर्जाहरू कामै नगर्ने अवस्थामा थिए । अघिल्लो नेतृत्वले बिगारेको गाडीलाई भित्तामा ठोक्काएर भए पनि ठूलो क्षति हुनबाट जोगायौं, नत्र भिरबाटै खस्थ्यो भनिरहनुभएको छ । यो यथार्थ होइन र ?
यो तर्क केवल आफूलाई चोख्याउने बाहेक केही होइन । यदि गाडी बिग्रिएको थियो र कामै लाग्दैनथ्यो भने त्यो सडकमा एक नम्बरमा कसरी गुडिरहेको थियो त ? अरूलाई त जितिरहेकै थियो नि ! वास्तवमा उहाँहरूलाई के लाग्यो भने— यो गाडीले त गन्तव्य छुने नै भयो, तर त्यसको जस पुराना ड्राइभरले भन्दा मैले लिनुपर्छ ।
पुरानो चालकले ‘म अर्को स्टपमा रोकिदिन्छु, अनि तपाईं बस्नुहोला’ भन्दाभन्दै पनि बालहठ गरेर गुडिरहेको गाडीको स्टेयरिङ तानियो । केहीबेर त भीडभाड देखियो, मान्छेले वाह–वाह पनि गरे । तर अन्ततः गाडी पल्टियो । अब पल्टिएको गाडीमा बसेर आधी मात्रै म¥यो, पुरानो भएको भए त पुरै मथ्र्यो भन्नुको कुनै तुक छैन ।
यसलाई अंकगणितमा हेरौँ— जसले पहिले ८९ प्रतिशत अंक ल्याएको थियो, उसलाई हटाएर नयाँ मान्छेले परीक्षा दिँदा ३८ नम्बर मात्रै ल्याउँछ भने पहिलेकै भएको भए त झन् फेल हुन्थ्यो भन्ने तर्क कसले पत्याउँछ र ? यस्तो अपत्यारिलो कुरा गर्नु उपयुक्त हुँदैन ।
त्यसो भए अबको निकास के त ? यो बैठकबाट के अपेक्षा गर्नुभएको छ ?
मेरो विचारमा, यतिबेला निर्वाचनको झिनामसिना प्राविधिक समीक्षा गरेर बस्नुको अर्थ छैन, त्यो त दुनियाँलाई थाहा भएकै कुरा हो । सानेपामा बसिरहेको बैठकमा नेतृत्वले ‘बृहत्तर पार्टी एकता’ को ठोस प्रस्ताव ल्याउनुपथ्र्यो । पार्टीलाई जोगाउने र बलियो बनाउने एउटै उपाय भनेको आन्तरिक एकता र वस्तुनिष्ठ आत्मसमीक्षा नै हो । त्यसमा उहाँहरु चुक्नुभयो भन्ने लाग्छ ।
तपाइँको बुझाइमा अहिले हुनुपर्ने वास्तविक छलफल नभएर पराजयको गल्ती ढाकछोप गर्ने प्रयत्न मात्र भइरहेको हो ?
हेर्नुस्, पराजयको बेला मैले ठूलो काम गरेँ भनेर आत्मरतिमा रमाउनु वा अरूलाई दोष थुपारेर उम्किन खोज्ने कुराले पार्टी बलियो हुँदैन । अहिले कांग्रेसलाई पुनर्जीवन दिने एकमात्र ओखती भने पार्टी भित्र वृहत्तर एकता नै हो । पार्टीको एउटा ठूलो र महत्वपूर्ण पंक्ति अहिले मूलधारबाट बाहिर छ । निर्वाचन आयोगको एउटा विवादास्पद पत्रले कांग्रेसलाई सानो बनाइदिएको छ, जसका विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । यस्तो संवेदनशील समयमा अदालत वा आयोगको मुख मात्र नताकी, सानेपामा बसेर पार्टी चलाउनेहरूले ‘जनमत लिन सकिएन, कम्तीमा पार्टीको मत त एक गरौँ’ भन्ने प्रस्ताव ल्याउनुपथ्र्यो । तर, दुर्भाग्यवश त्यसो हुन सकेको छैन ।
बैठकमा सहभागीहरू त पार्टीभित्र ‘स्याबोटेज’ (अन्तर्घात) र ‘साइलेन्स किलिङ’ भयो भन्दै हुनुहुन्छ नि ! जो विशेष महाधिवेशनमा सहभागी थिएनन्, उनीहरूले नै कांग्रेस हराएको भन्दै अनुशासनको कारबाहीको कुरा उठेको छ । यसलाई कसरी लिनुहुन्छ ?
यसका लागि मैले केही समयअघि एउटा सामाजिक सञ्जालमा स्टाटस पनि लेखेको थिएँ । कानुन पढ्दा हाम्रा गुरुले एउटा प्रसिद्ध उक्ति सुनाउनुहुन्थ्यो— यदि हत्याको छानबिन गर्ने जिम्मा हत्यारालाई नै दिइयो भने, अन्ततः मृतक नै दोषी ठहरिन्छ । अहिले पार्टीमा ठ्याक्कै त्यस्तै भइरहेको छ । जसले पार्टीलाई एकपक्षीय ढंगले ‘हाइज्याक’ गरे, उनीहरूले नै छानबिन र अनुशासन समिति बनाएपछि वास्तविक पीडितहरू नै दोषी करार हुने निश्चित छ ।
यो ‘हत्या र हत्यारा’ को बिम्बलाई अलि प्रष्ट पारिदिउँ न, यहाँ कसको हत्या भएको हो र हत्यारा को हो?
यहाँ १४ औं महाधिवेशनबाट चुनिएको वैधानिक नेपाली कांग्रेसको भावनाको हत्या भएको छ । शेरबहादुर देउवाजी भृकुटीमण्डपमा आफैं घोषणा गरेर सभापति हुनुभएको हो र ? होइन नि । उहाँ त दुई पटक चुनाव जितेर आउनुभएको हो । उहाँसँग प्रतिस्पर्धा गर्नेहरूले पनि उहाँको नेतृत्वलाई अवैध भनेका छैनन् । उहाँले कार्यवाहक दिनुभयो, जसमा दुवै महामन्त्रीहरूको उत्साहजनक सहमति थियो । तर अहिले, महाधिवेशन गर्ने मुख्य जिम्मेवारी पाएका महामन्त्री गगन थापाजी नै हुनुहुन्छ । हिजो शेरबहादुर देउवा वा पूर्णबहादुर खड्कालाई दोष लगाउन सजिलो थियो, तर अब महाधिवेशन गर्न आवश्यक क्रियाशील सदस्यकै अत्तोपत्तो छैन । जुन काम आफू गर्न सक्नुहुन्न, त्यसको दोष अरूलाई लगाउनुको के तुक ?
भनेपछि अन्तर्घातको कुरा केवल राजनीतिक अस्त्र मात्र हो?
भदौ २३ गते जसले उत्पात मच्चाए, उनीहरू नै अहिले छानबिनकर्ता बनेका छन् । जसको घर जल्यो, उनीहरूलाई नै दोषी बनाउने प्रपञ्च रचिएको छ । हिजो ‘शेरबहादुरजीको अनुहार र हस्ताक्षर देखेपछि भोट घट्छ, पार्टी ७० सिटबाट पनि तल झर्छ’ भनियो । उहाँहरूको दबाबपछि गगनजीको हस्ताक्षरमा चुनावमा जाँदा त पार्टीले ३८ सिट मात्रै ल्यायो । ८९ सिटको आधा पनि नआउनुले के पुष्टि गर्छ भने जनताले गगनजीको हस्ताक्षरलाई पनि स्वीकार गरेनन् ।
कांग्रेसभित्रको यो कलह सुल्झाउने उपाय के ?
यो एउटै परिवार हो । शेरबहादुर देउवाजी उहाँहरूका लागि पिता समानको उमेरको हुनुहुन्छ । उहाँहरूले ‘गैर–कांग्रेसको नजरमा कांग्रेस’ जस्ता विभिन्न सिरिजहरू चलाउनुभयो, बाहिरका विज्ञहरूको कुरा सुन्नुभयो । अब ती बाहिरी कुराले पार्टीलाई यो अवस्थामा पु¥यायो भनेर स्वीकार गर्नुपर्छ । नेतृत्वले म बहकिएँ, मबाट भुल भयो, अब पार्टी मिलाएर लैजाऊँ भनेर अगाडि बढ्ने हो भने पार्टी एक मिनेटमै एक भइहाल्छ । पार्टी बलियो बनाउन बाहिरबाट मान्छे आयात गर्ने होइन, भित्रै रहेकालाई समेट्ने हो ।
तपाईंको समूह अहिले मौन छ, तर तपाईं भने निरन्तर बोलिरहनुभएको छ । यसबापत सामाजिक सञ्जालमा गाली पनि खाइरहनुभएको छ । सबै मौन रहँदा तपाईंलाई चाहिँ किन बोलिरहन मन लागेको?
मेरो राजनीति कुनै पारिवारिक विरासतबाट आएको होइन, यो मेरो भित्री चेत र विवेकको उपज हो । म अन्याय, असत्य र गैरकानुनी कुरा देख्न सक्दिनँ, कसैले भन्नै पर्दैन, मेरो ‘अटोमेटिक’ बोल्ने स्वभाव छ । जहाँसम्म गालीको कुरा छ, द्वन्द्वकालमा ज्यान मार्ने धम्की आउँदा त म डराइनँ भने अहिलेको गालीगलौजले मलाई केही फरक पार्दैन ।
सत्य बोल्दा गाली खाइन्छ भने त्यसलाई सहनुपर्छ, तर असत्य बोलियो गाली खाने मात्रै होइन दण्डित नै गर्नुपर्छ । अहिले कांग्रेसभित्र गालीगलौजको एउटा हावा चलेको छ । तर म जहिले पनि ब्रह्ममा लागेको कुरा बोल्छु । त्यसबाट के हुन्छ हिसाबकिताब गर्ने मेरो बानी छैन । मेरो अभिव्यक्ति कहिल्यै व्यक्ति–लक्षित हुँदैन ।
तपाईंहरू (१४ औँ महाधिवेशनको समूह) ले छुट्टै बैठक वा भेला गर्ने तयारी गरिरहनुभएको चर्चा छ नि, के यो सत्य हो?
निर्वाचनपछि धेरै साथीहरू काठमाडौं बाहिर हुनुहुन्छ । निर्वाचन आयोगले जसलाई चिठी दिए पनि, वैधानिक कार्यसमितिका १३४ जनाभन्दा बढी साथीहरू अहिले पनि अदालतको ढोका ढकढक्याइरहनुभएको छ । चुनावअघि नै भेला गर्ने कुरा थियो, तर निर्वाचनको परिणाम यस्तै आउँछ भन्ने हामीलाई पूर्वानुमान थियो । त्यसैले बेकारमा ‘अपजस’ किन लिने भनेर हामी रोकियौँ ।
शेरबहादुर देउवाजीले यसपटक एउटा उदाहरणीय उदारता देखाउनुभयो— विवाद नटुंगिएसम्म कांग्रेस मारिहाल्नुभन्दा बरु विपक्षी (आन्तरिक विपक्षी)कै हातमा नेतृत्व सुम्पिदिऊँ भनेर उहाँ पछि हट्नुभयो । तर, युद्धको घोषणा भइसकेपछि ब्यारेकभित्रै झगडा गर्नेले युद्ध जित्दैन, अहिले कांग्रेसको हालत त्यस्तै भयो । चुनावको मुखमा पार्टीभित्र एउटा पक्षलाई पुरै बाहिर राखेर जाने जुन प्रयास त्यहाँ नै गल्ती भयो ।
गगन थापा त परिस्थितिको सही आँकलन गर्ने चलाख नेता मानिनुहुन्छ । उहाँलाई पार्टीभित्रको झगडाले चुनाव हारिन्छ भन्ने लागेको भए आफैंलाई भावी प्रधानमन्त्री घोषणा गरेरै जानुहुनथ्यो होला र ?
उहाँलाई शेरबहादुर देउवा भन्दा र नेपाली कांग्रेस भन्दा ठूलो शक्तिको कुरा सुन्नुभयो की जस्तो लाग्छ । अहिले मैले यति भन्दिन्छु, सायद रिसाउनुहोला र भरे मलाई गालीगलौज भयंकर गर्नुहोला उहाँका समर्थकहरुले । गगनजी राम्रो स्वभाव भएको सबै कुराले मलाई मनपर्ने व्यक्ति पनि हो । मैले मिडियामा भन्याभन्यै छु । उहाँ कांग्रेसमा भएकै कारणले मलाई कहिँ भविष्य राम्रो छ जस्तो नि लाग्थ्यो, लाग्छ अहिले पनि लागिरहेको छ । अहिले पनि उहाँ बिग्रिनु भएको छैन । तर कांग्रेस भन्दा ठूलो शक्तिले उहाँलाई– ‘तपाईं सभापति हुनुभयो भने १०० सिट भन्दा बढी जितिन्छ, तपाईं सभापति हुनुभयो भने प्रधानमन्त्री कन्फर्म हुनुहुन्छ, त्यसैले तपाईं सभापति र प्रधानमन्त्री हुने काम कसरी हो गर्नुस्, सबै कुरा हामी भयौं’ भन्दिने कुनै शक्तिले भन्दियो कि जस्तो लाग्छ ।
मैले उहाँलाई व्यक्तिगत रूपमा र बैठकहरूमा पनि हतार नगर्नुस्, यो महाधिवेशनले तपाईंलाई नै नेता बनाउँदै छ भनेर भनेको छु । यति भन्दा मलाई आफ्नै समूहका साथीहरूले मीनजीलाई बैठकमा नबोलाए पनि हुन्छ सम्म भने । तर, बाहिरका विज्ञ र विश्लेषकहरूले गगनजीलाई धरहराको टुप्पोमा पु¥याइदिए, अनि ओराल्ने बेलामा चाहिँ हात झिकिदिए ।
त्यो ‘बाहिरी शक्ति’ भन्नाले तपाईंले कसलाई संकेत गर्नुभएको ? स्वदेशी कि विदेशी ?
यो स्वदेशी र विदेशी दुवै हो । ‘गैर–कांग्रेसका नजरमा गगन’ जस्ता कार्यक्रमहरूले उहाँलाई मक्ख पारिदिए । तर, निर्वाचनमा तिनै ‘गैर–कांग्रेस’ ले भोट हाल्दा रहेनछन् नि त ! गगनजीलाई ‘गैर–कांग्रेसी’ हरूले चलाएको प्रचारबाजीको सिरिजले निकै मक्ख बनायो । तर, अरूले ताली पिट्दैमा त्यसैलाई जनमत सम्झनु ठूलो भूल हो । उदाहरणका लागि, म एमालेको कार्यक्रममा जाँदा मेरा शब्दमा ताली बज्न सक्छ, तर त्यसको अर्थ एमालेले मलाई भोट हाल्छ भन्ने होइन । गगनजीको हकमा पनि त्यस्तै भयो । गैर–कांग्रेसीहरूले उहाँलाई बोकेर धरहराको टुप्पोमा पु¥याए, तर निर्वाचनको निर्णायक मोडमा साथ छोडिदिए । यदि उनीहरूको समर्थन वास्तविक हुन्थ्यो भने सर्लाही–४ मा गगनजीले जित्नुपर्ने थियो । त्यहाँ कांग्रेस पहिले पनि दोस्रो थियो, अहिले गगनजी लड्दा पनि दोस्रो नै हुनुभयो । यसले के पुष्टि गर्छ भने बाहिरको हावा र भित्रको भोट फरक कुरा हुन् ।
अहिले त फेरि उहाँहरूको गुनासो छ नि ‘देउवाजीले अनुहार देखाउनुभएन, उहाँसँग जोडिएका तपाईजस्ता नेताहरुले सहयोग गर्नुभएन’ भनेर । आफू सहयोग नगर्ने अनि सबै दोष गगनलाई मात्रै नि मिल्छ ?
अहिलेको परिस्थिति विरोधाभासपूर्ण छ । कानुनमा यसलाई ‘विबन्धनको सिद्धान्त’ भनिन्छ । हिजो जुन कुरा हुँदैन भनियो, आज स्वार्थ मिल्दा त्यही कुरा नभइ हुँदैन भन्नु सरासर गलत हो । अहिले गगनजी र विश्वजीको सन्दर्भमा पनि त्यस्तै भएको छ । हिजो उहाँहरूले नै ‘शेरबहादुर देउवाको अनुहार र हस्ताक्षर लिएर जाँदा कांग्रेसको सिट ७० भन्दा तल झर्छ’ भनेर सार्वजनिक बहस गर्नुभयो । उहाँहरूकै जोडबलमा देउवाजी चुनावी प्रचार र हस्ताक्षरबाट पछि हट्नुभयो । तर आज निर्वाचनमा पराजित भएपछि फेरि देउवाजी किन बाहिर निस्किनुभएन, किन अपिल निकाल्नुभएन भनेर प्रश्न गर्न मिल्छ ? यो त कानुनी र नैतिक दुवै दृष्टिले गलत छ ।
हिजो उहाँहरूकै अनुरोधमा देउवाजी र उहाँका निकटस्थहरू मौन बसेका हुन् । घरदैलोमा जाँदा मतदातासँग कांग्रेसका उम्मेदवार के नै भनिरहेका थिए, ‘आमा, कांग्रेसका ती बुढा र भ्रष्टाचारी शेरबहादुरलाई हामीले निकालिसक्यौँ, अब कांग्रेस भ्रष्टाचारमुक्त भयो, त्यसैले गगन थापालाई प्रधानमन्त्री बनाउन हामीलाई भोट दिनुहोस् ।’
अब तपाईं नै भन्नुहोस्, १४ औं महाधिवेशनबाट निर्वाचित भएका र शेरबहादुर देउवालाई नेता मान्ने हामीजस्ता कार्यकर्ताहरू आफ्नै सभापतिलाई ‘भ्रष्टाचारी’ भन्दै हिँड्नेहरूको ¥यालीमा कसरी सहभागी हुन सक्छौं ? मञ्चमा बसेर आफ्नै नेताको खेदो खनिएको सुन्न सक्ने अवस्था थिएन । त्यसैले हामीले व्यक्तिगत नैतिकता र रुख चिन्हप्रतिको आस्थाका आधारमा घरभित्रै बसेर वा फोनबाट भोट माग्यौं, तर ती उम्मेदवारहरूको अपमानजनक प्रचारशैलीमा सहभागी हुन सकेनौँ ।
यसपटकको निर्वाचन परिणामले गगन थापा र विश्वप्रकाश शर्माको अनुहारलाई पनि अस्वीकार गरेको हो ?
हेर्नुस्, पार्टी व्यक्तिवादी ढंगले होइन, विधि, विधान र पद्धतिबाट चल्नुपर्छ । अहिले बजारमा ग्ल्यामर देखिनेबित्तिकै हामी कहिले बालेन शाह त कहिले रवि लामिछाने जस्तो बन्न खोज्यौँ । यसले गर्दा कांग्रेस न बालेन–रवि जस्तो हुन सक्यो, न त बिपी, गणेशमान, सुवर्णशमशेर, किसुनजी, गिरिजाप्रसाद, सुशील कोइरालाको विरासत बोकेको जस्तो नै रह्यो । कांग्रेस अहिले ‘न हाँसको चाल, न रुपिको चाल’ जस्तो भयो ।
यसपालि गैरकांग्रेसहरुले गगनजीलाई कांग्रेसबाट बाहिर निकालिदिए, विशेष महाधिवेशनका नाममा । तपाईं हो नि, तपाईं भइसकेपछि त संसार अर्कै हुन्छ, झलमल के के हुन्छ, तपाईं त यो ब्रह्माण्डकै सबैभन्दा उत्कृष्ट प्राणी हो, तपाईं यो देशकै सबैभन्दा उत्तम पुरुष हो, हेर्नुस् त बाहिर निस्केर हेर्नुस् त के हुन्छ भन्दियाथ्यो । बाहिर निस्केर हेर्दा उहाँले घोषणा गरेका आफू र आफ्ना सबै पदाधिकारी पराजित भए । उहाँलाई सजिलो त के भयो भने जुन अनुहार हिजो देख्दा पार्टी सोत्तर हुन्छ भन्याथ्यो, त्यो अनुहार त लुकिदियो त के दोष ?
क्लबले कहिलेकाहीँ खेल हार्छ, तर क्लबभित्र झगडा भएन भने अर्को पटक जित्न सकिन्छ । तर, खेल पनि हार्ने र क्लबभित्र झगडा पनि भइरहने हो भने त्यो सिद्धिन सक्छ । त्यसैले अब कांग्रेस फेरि आफ्नै मौलिक व्यक्तित्व र विचारमा फर्कनुपर्छ ।
अब संसदीय दलको नेताको चर्चा सुरु भएको छ । १८ प्रत्यक्ष र २० समानुपातिक गरी ३८ सांसद कांग्रेसले प्राप्त गरेको छ । अहिले दलको नेतामा अर्जुननरसिंह केसीले पनि इच्छा देखाउनुभएको छ । तपाईंहरूको समूहले दलको नेतामा दाबी गर्छ कि गर्दैन ?
यसबारे अहिले हाम्रो समूहमा औपचारिक छलफल भएको छैन । तर मेरो व्यक्तिगत धारणा के छ भने, यस्तो पराजयको बेला ‘म नै हुनुपर्छ’ भन्नु भन्दा पनि सर्वसम्मतिले नेतृत्व चयन गर्नु उपयुक्त हुन्छ । आदरणीय अर्जुन दाइ (अर्जुननरसिंह केसी) योग्य र अनुभवी हुनुहुन्छ । बिपी कोइरालाले भन्नुभएको छ, ‘प्रजातन्त्र भनेको मलाई जे मन लाग्छ त्यो गर्नु होइन, मलाई मन लागेको कुरा अरूबाट अनुमोदन गराउनु हो ।’ यदि उहाँको चाहनालाई संसदभित्रका साथीहरूले अनुमोदन गर्नुहुन्छ भने हामीलाई स्वीकार्य हुन्छ ।
सभापति गगन थापाले दिनुभएको राजीनामालाई कसरी लिनुभएको छ ? उपसभापतिले अस्वीकारको प्रस्ताव लैजानुभएको छ नि ?
म अलि साहसका साथ भन्छु, गगनजीले राजीनामा दिनु नै हुँदैनथ्यो । दिइसकेपछि अब यसलाई लिएर अर्को ‘नाटक’ नगर्दा राम्रो हुन्छ । कस्तो राजीनामा दिनुभयो, कस्तो राजीनामा अस्वीकृत भयो भन्ने छैन । मिडियामा गगन थापाको राजीनामाका सार भन्ने मात्रै छ । त्यो राजीनामा केमा लेख्नुभएको छ ? लेटरप्याडमा छ कि सादा पेपरमा छ कि, एक पेजमा छ कि तीन पेजमा छ कि, आफैं सही गर्नुभएको छ कि कसैले हस्ते ग¥या छ ? केही पनि थाहा छैन । त्यसैले यो नाटक जस्तो नगर्दा राम्रो हुन्छ । कहिले भृकुटीमण्डपबाट सर्वसम्मत भएको घोषणा गर्ने, कहिले ‘अबकी बार गगन सरकार’ भन्ने, त कहिले राजीनामा दिने । यस्ता शृंखलाबद्ध गतिविधिले उहाँकै कद घटाउँछ र जनतामा भ्रम सिर्जना गर्छ । बरु उहाँले राजीनामा स्वीकृत होस् या अस्वीकृत, अब ’पार्टी एकता’ का लागि अग्रसरता लिनुपर्छ । उहाँले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अन्य शीर्ष नेताहरूसँग पार्टीभित्र एकताका लागि संवाद थाल्नुपर्छ । कांग्रेसमा गगन थापाको सान्दर्भिकता एउटा चुनावको नतिजा सबै सकियो भन्ने होइन । यहाँ सम्भावना बोकेको नेताकै रुपमा लिन्छु । गगनजीहरुलाई पार्टीका सिनियर नेताहरु र सिनियर नेताहरुलाई पनि गगनजीहरु चाहिन्छ ।
के अझै पनि कांग्रेसभित्र ‘बृहत्तर एकता’ को सम्भावना देख्नुहुन्छ?
असम्भव त छँदै छैन । मैले भने गगन थापाजी लाग्नुपर्छ, म आफैं पनि म लाग्छु भन्या छु । मेरो हैसियतबाट मेरो जुन जे भूमिका छ । हिजो पनि लागेको हो अहोरात्र । टिकट बाँड्ने बेला सम्म पनि हामी मिलाउनेमै लागेका थियौं, मिलेकै हो तो बेला । नत्र फेरि रुख चिन्हका विरुद्ध अर्को चिन्ह लिएर जान सक्थ्यो, व्यक्तिगत रुपमा स्वतन्त्र उमेदवार हुन सक्थे त्यसलाई जोगाइयो ।
त्यसैले म भन्छु अहिले अब हामी चानचुनेहरुबाट होइन, गगनजी एउटा जिम्मेवारीमा, हिजोको पनि महामन्त्री हो, आज पनि उहाँले आफूलाई सभापति भन्नुभएको छ, थुप्रै साथीहरुले सभापति भन्नुभएको छ, निर्वाचन आयोगले उहाँलाई नै सभापति बनाएको छ भनेपछि त उहाँलाई निर्वाचन आयोगलाई नै आधिकारिकता मान्ने हो भने उहाँ सभापति हो । उहाँले अब बृहत्तर एकताका लागि सिंगो कांग्रेस निर्माणका लागि लाग्नुभयो भने हिजो अस्तिका सानातिना गल्तीहरु सबै फेरि माफ हुन्छ ।
हिजोका सानातिना गल्तीहरूलाई बिर्सिएर अगाडि बढ्ने हो भने मात्र कांग्रेस पुनर्जीवित हुन्छ । म आफ्नो तर्फबाट एकताका लागि हिजो पनि लागेको थिएँ र आज पनि अहोरात्र खट्न तयार छ ।