नेभिगेशन
दृष्टिकोण

कांग्रेस लोकतान्त्रिक आन्दोलनदेखि संकटसम्म

नेपाली कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेले पनि हाल वैचारिक अस्पष्टता, संगठनात्मक कमजोरी र जनतासँगको दूरीका कारण गहिरो संकटमा पुगेको छ । के नेपाली कांग्रेसले बीपीको राष्ट्रियता, लोकतान्त्रिक समाजवादको आधारमा वैचारिक, नेतृत्व र संरचनात्मक रूपान्तरण गर्दै पुनर्जागरणको बाटो समात्छ ?

इतिहासको गर्तबाट उदाएको शक्ति
आधुनिक राजनीतिक इतिहास कांग्रेसबिना अपूर्ण हुन्छ । २००३ मा स्थापित नेपाली कांग्रेस एउटा राजनीतिक दल मात्र होइन, राष्ट्रियताको संरक्षण र लोकतन्त्रको जगेर्ना गर्ने सामाजिक आन्दोलनको संवाहक पनि हो । राणा शासनको अन्त्य गर्न र त्यसपछि पनि पञ्चायती निरंकुशता विरुद्धको दीर्घ संघर्ष र २०४६ को जनआन्दोलनमार्फत बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनासम्म यसको भूमिका निर्णायक छ । २०४६ को जनआन्दोलन सत्ता परिवर्तन मात्र नभई वैचारिक विजय पनि थियो; जुन नागरिक अधिकार, राजनीतिक स्वतन्त्रता र जनसहभागितालाई संस्थागत गर्ने ऐतिहासिक कदम थियो । बीपीले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवाद; जहाँ राजनीतिक स्वतन्त्रता र सामाजिक न्याय एकअर्काका पूरक हुन्, पार्टीको मूल आत्मा रह्यो । राष्ट्रिय मेलमिलाप, सहिष्णुता र जनउत्तरदायी शासन यसको मार्गदर्शक सिद्धान्त बने ।
तर कांग्रेसको यात्रा केवल आन्दोलनको गौरवमा सीमित रहेन; यो परिवर्तनसँगै आफूलाई पुनःपरिभाषित गर्ने निरन्तर अभ्यास पनि बन्यो । २०५२ सालमा सुरु भएको माओवादी सशस्त्र द्वन्द्वले राजनीतिक परिदृश्यलाई गहिरो रूपमा परिवर्तन ग¥यो । प्रारम्भमा सुरक्षा चुनौतीका रूपमा हेरे पनि पार्टीले समयसँगै यस द्वन्द्वको समाधान राजनीतिक सहमतिमार्फत सम्भव छ भन्ने बुझ्यो र २०६२–०६३ सालको ऐतिहासिक जनआन्दोलनको मोड तयार ग¥यो । जहाँ १२ बुँदे समझदारीमार्फत माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने मार्ग खुल्यो ।

संवैधानिक राजतन्त्रमा विश्वास गर्ने पार्टीले पनि २०६१ सालको हस्तक्षेपपछि लोकतन्त्र जोगाउन व्यापक सहकार्यको बाटो रोज्यो । शान्ति प्रक्रिया, २०६३ सालको बृहत् शान्ति सम्झौता र अन्तरिम संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै कांग्रेसले २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा योगदान पु¥यायो । नेपाली कांग्रेसले संविधान सभामार्फत हालको नेपालको संविधान (वि.सं. २०७२) जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । यसरी हेर्दा नेपाली कांग्रेसको यात्रा केवल अतीतको गौरव होइन, परिवर्तनको निरन्तर अभ्यास हो । तर आज गम्भीर प्रश्न उभिएको छ; के नेपाली कांग्रेस अझै बीपीको लोकतान्त्रिक समाजवादको आत्मा बोकेको छ, कि यो सत्ता व्यवस्थापनमै सीमित हुँदै गएको छ ?
सत्ता–केन्द्रित राजनीति र वैचारिक अस्पष्टता 
२०७२ सालमा नेपालको संविधान जारी हुनु नेपाली राजनीतिक इतिहासको महŒवपूर्ण उपलब्धि थियो, जसमा कांग्रेसको नेतृत्वदायी भूमिका रह्यो । यो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत ग¥यो । तर, संविधानपछि कांग्रेसको चरित्रमा क्रमशः परिवर्तन देखिन थाल्यो । संविधानले राज्यको नयाँ संरचना तय गरिसकेपछि यसको प्रभावकारी कार्यान्वयनका लागि दूरदृष्टि, नीति निरन्तरता र सुदृढ नेतृत्व आवश्यक थियो । तर नेपाली कांग्रेस यस भूमिकामा अपेक्षित रूपमा स्थापित हुन सकेन । यसको सट्टा, पार्टी क्रमशः सत्ता साझेदारी, समीकरण निर्माण र गठबन्धन व्यवस्थापनमा बढी केन्द्रित हुँदै गयो ।
यसबीच, सुशासन, सेवा प्रवाह, रोजगारी सिर्जना र आर्थिक सुधार जस्ता जनअपेक्षाहरू पूरा हुन सकेनन् । संघीयता कार्यान्वयनका चुनौती, प्रशासनिक जटिलता र नीति–कार्यान्वयनबीचको दूरीले जनतामा निराशा बढायो । नेपाली कांग्रेसले यी समस्याहरूमा स्पष्ट दिशा र प्रभावकारी समाधान दिन नसक्दा जनविश्वास क्रमशः कमजोर हुँदै गयो ।
साथै, पार्टीभित्र पनि वैचारिक बहस कमजोर बन्दै गयो । लोकतान्त्रिक समाजवादको स्पष्ट व्याख्या र समसामयिक सन्दर्भमा यसको रूपान्तरणबारे गहिरो विमर्श हुन सकेन । पार्टीमा देखिएको वैचारिक अस्पष्टताको मुख्य कारण लोकतान्त्रिक समाजवादलाई समसामयिक सन्दर्भमा स्पष्ट रूपमा पुनःपरिभाषित गर्न नसक्नु हो । गठबन्धन केन्द्रित राजनीति र सत्ता व्यवस्थापनमा बढी ध्यान जाँदा पार्टीको स्वतन्त्र वैचारिक पहिचान क्रमशः धुमिल हुँदै गयो । परिणामतः विचारभन्दा व्यवहारमा देखिएको विचलनले जनतामा पार्टीको दिशा र विश्वसनीयताप्रति अन्योल बढायो । पार्टीको वैचारिक धरातलभन्दा पनि सत्ता प्राप्ति र व्यवस्थापन प्राथमिकतामा परेको अनुभूति हुन थाल्यो ।
यसरी, संविधानपछिको कालखण्ड कांग्रेसले नयाँ नेपालको मार्गचित्र प्रस्तुत गर्न सक्थ्यो । तर यो कालखण्ड क्रमशः चुनौतीपूर्ण बन्दै गयो, जसले पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक ऊर्जामा क्षय गरायो । आजको सन्दर्भमा प्रश्न उठ्छ, के नेपाली कांग्रेस पुनः आफ्नो वैचारिक आधारमा फर्केर नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ, वा सत्ता केन्द्रित राजनीतिमै सीमित रहनेछ ?
पुनः आत्ममूल्यांकनको आवश्यकता
नेपाली कांग्रेसको वर्तमान संकट मूलतः वैचारिक अस्पष्टता र संकट हो । बीपी कोइरालाले प्रतिपादन गरेका लोकतन्त्र, नैतिक नेतृत्व, जनतासँगको प्रत्यक्ष सम्बन्ध र सामाजिक न्यायका मूल्यहरू आज व्यवहारमा कमजोर देखिन थालेका छन् । एक समय जनआन्दोलनको अग्रदूत र जनताको पार्टीका रूपमा चिनिएको नेपाली कांग्रेस क्रमशः सत्ता केन्द्रित दलमा रूपान्तरण हुँदै गएको अनुभूति हुन्छ । पार्टीभित्र गुटबन्दी लगभग संस्थागत जस्तै बनेको छ, जहाँ नीतिगत बहसभन्दा नेतृत्वको समीकरण र शक्ति सन्तुलन प्राथमिकतामा पर्छ । निर्णय प्रक्रिया सीमित नेताहरूको घेराभित्र केन्द्रित हुँदा आन्तरिक लोकतन्त्रको अभ्यास कमजोर भएको छ । युवा पुस्ताको सहभागिता र नेतृत्व विकासको विषयमा स्पष्ट रणनीति नहुँदा पार्टीको भावी दिशा पनि अन्योलग्रस्त देखिन्छ ।
बीपीको राजनीतिक दर्शनले जोड दिएको जनतासँगको सजीव सम्बन्ध र निरन्तर संवाद कमजोर हुँदै गएको छ । पार्टी जनताको भावना, आकांक्षा र परिवर्तनको मागसँग तालमेल मिलाउन संघर्षरत देखिन्छ । स्थानीय तहदेखि केन्द्रसम्म संगठनात्मक संरचनामा देखिएको शिथिलताले यस दूरीलाई अझ बढाएको छ । साथै, कांग्रेसभित्र वैचारिक बहसको परम्परा क्षीण बन्दै गएको छ । लोकतान्त्रिक समाजवादलाई वर्तमान सन्दर्भमा कसरी पुनःपरिभाषित गर्ने भन्ने विषयमा गहिरो विमर्शको अभाव छ । यसले पार्टीलाई स्पष्ट दृष्टिकोणभन्दा पनि प्रतिक्रियात्मक राजनीतितर्फ धकेलेको छ । यसरी विचार र व्यवहारबीचको दूरी बढ्दै जाँदा नेपाली कांग्रेस आफ्नो मूल पहिचानबाट टाढिँदै गएको छ । यही रिक्त स्थानमा नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र उम्मेदवारहरू र वैकल्पिक राजनीतिक आवाजहरू उदाउँदै गएका छन् ।
आज नेपाली कांग्रेसका लागि सबैभन्दा ठूलो आवश्यकता सत्ता प्राप्ति होइन, गहिरो आत्ममूल्यांकन र वैचारिक पुनर्जागरण हो । जबसम्म पार्टीले आफूलाई पुनः जनताको पार्टीका रूपमा पुनस्र्थापित गर्दैन तबसम्म यसको राजनीतिक भविष्य अनिश्चित हुनेछ ।

असन्तुष्टि, विकल्पको खोजी र गठबन्धनको थकान
नेपाली कांग्रेसभित्र देखिएको वैचारिक अस्पष्टता, विचलन र जनतासँगको दूरीले निर्माण गरेको असन्तुष्टि अन्ततः निर्वाचनअघिको राजनीतिक वातावरणमा स्पष्ट रूपमा प्रतिबिम्बित भयो । हालको संसदीय निर्वाचनको परिणाम कुनै आकस्मिक घटना थिएन; यो वर्षौँदेखि विकसित हुँदै आएको जनमनोविज्ञान र राजनीतिक प्रवृत्तिको स्वाभाविक निष्कर्ष थियो ।
स्थानीय तहको निर्वाचनले नै यसको संकेत दिइसकेको थियो । विशेषगरी सहरी क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको अप्रत्याशित विजयले मतदाताहरू परम्परागत दलहरूप्रति निराश हुँदै गएको र नयाँ विकल्प खोजिरहेको सन्देश दिएको थियो । यो केवल व्यक्तिको जित मात्र थिएन, यो स्थापित राजनीतिक संस्कृतिप्रतिको असन्तुष्टिको अभिव्यक्ति थियो ।
यही सन्दर्भमा गठबन्धन राजनीति, जुन प्रारम्भमा संविधानको रक्षा र स्थायित्वको उपायका रूपमा प्रस्तुत गरिएको थियो, क्रमशः जनताको नजरमा अप्राकृतिक र अवसरवादी अभ्यास जस्तो देखिन थाल्यो । मतदाताले विचार, नीति र सिद्धान्तका आधारमा प्रतिस्पर्धा अपेक्षा गरेका थिए, तर उनीहरूले पूर्वनिर्धारित समीकरण र सत्ताको बाँडफाँट मात्र देख्न थाले । यसले नेपाली कांग्रेसको स्वतन्त्र पहिचानलाई झन् कमजोर बनायो ।
यसैबीच, दैनिक जीवनसँग जोडिएका मुद्दाहरू; बेरोजगारी, महँगी, कमजोर सेवा प्रवाह र आर्थिक अनिश्चितताले जनताको असन्तुष्टिलाई अझ गहिरो बनाउँदै लगे । यी मुद्दाहरूमा नेपाली कांग्रेसले स्पष्ट, विश्वसनीय र परिणाममुखी विकल्प प्रस्तुत गर्न नसक्दा जनविश्वास झन् खस्कियो ।
यससँगै, शासन प्रणालीभित्र वित्तीय तथा नीतिगत तहमा भ्रष्टाचार संस्थागत बन्दै गएको धारणा बलियो भयो । शक्तिकेन्द्रित राजनीति, नातावाद र पक्षपातले सार्वजनिक संस्थाहरूको विश्वसनीयता कमजोर बनायो। राज्यका विभिन्न तहहरूमा बढ्दो राजनीतिक हस्तक्षेपले प्रशासनिक निष्पक्षता क्षीण ग¥यो र न्यायिक प्रणालीमाथि समेत प्रश्न उठ्न थाले । यसले समग्र शासनप्रणालीप्रति जनताको विश्वास डगमगाएको अनुभूति थप गहिरो बनायो ।
यसरी, वैचारिक शिथिलता, संगठनात्मक कमजोरी, गठबन्धन थकान र संस्थागत अविश्वासले निर्माण गरेको वातावरणमा मतदाताले परिवर्तनको खोजी गरे । यही खोजीले परम्परागत शक्ति सन्तुलनलाई चुनौती दियो र निर्वाचन परिणाममा त्यसको स्पष्ट प्रतिविम्ब देखियो ।

जेनजी आन्दोलन र पुस्तान्तरणको दबाब
संसदीय निर्वाचनअघिको असन्तुष्टि, विकल्पको खोजी र संस्थागत अविश्वासले निर्माण गरेको परिवेशबीच जेन–जी पुस्ताको उदय नेपालको राजनीतिमा निर्णायक मोडका रूपमा देखा प¥यो । यो पुस्ताले केवल परम्परागत दलहरूप्रति निराशा व्यक्त गरेन, बरु राजनीतिक संस्कार, नेतृत्व शैली र निर्णय प्रक्रियामाथि नै गहिरो प्रश्न उठायो । पारदर्शिता, जवाफदेहिता र मेरिटोक्रेसीको मागले स्थापित राजनीतिक संरचनालाई चुनौती दियो । उनीहरूले नातावाद, शक्तिकेन्द्रित राजनीति र बन्द कोठाभित्र हुने निर्णय प्रक्रियालाई अस्वीकार गर्दै खुलापन र परिणाममुखी शासनको माग अघि सारे । यसले भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र कमजोर सुशासनप्रतिको असन्तुष्टिलाई थप वैचारिक र पुस्तान्तरणको आयाम दियो ।
कांग्रेसभित्र पनि यस दबाबको प्रभाव स्पष्ट देखियो । एकातिर सुधारवादी धारले वैचारिक पुनर्जागरण, पुस्तान्तरण र संगठनात्मक सुधारको माग गर्यो भने अर्कोतिर यथास्थितिवादी प्रवृत्तिले संरचनागत परिवर्तनप्रति अनिच्छा देखायो । यस द्वन्द्वले पार्टीभित्रको आन्तरिक एकतालाई कमजोर बनायो । परिणामतः, पार्टीको ऊर्जा जनतासँगको संवाद र निर्वाचन तयारीमा केन्द्रित हुनुपर्ने ठाउँमा आन्तरिक शक्ति संघर्षमै खर्च हुन थाल्यो । यसले संगठनलाई मात्र कमजोर बनाएन, बरु बाहिरबाट हेर्दा पार्टी दिशाहीन र विभाजित देखियो ।
यसरी, जेनजी आन्दोलनले केवल बाह्य चुनौती मात्र सिर्जना गरेन, यसले कांग्रेसलाई आफ्नै संरचना, सोच र नेतृत्व शैली पुनर्विचार गर्न बाध्य बनायो तर त्यो आत्ममूल्यांकन समयमै हुन नसक्दा यसको राजनीतिक मूल्य चुकाउनुप¥यो ।

विशेष महाधिवेशनः अवसर कि चुकिएको क्षण ?
जेन–जी आन्दोलन, संस्थागत अविश्वास र आन्तरिक वैचारिक संकटले सिर्जना गरेको दबाबबीच नेपाली कांग्रेसमा विशेष महाधिवेशनको बहस अघि बढ्यो । यो केवल संगठनात्मक प्रक्रिया मात्र थिएन, बरु पार्टीभित्र गहिरिँदै गएको संकटको राजनीतिक प्रतिक्रिया थियो । पार्टी विधानअनुसार ५० प्रतिशतभन्दा बढी प्रतिनिधिको मागपछि विशेष महाधिवेशन आह्वान गरिएको थियो, जसले यसको वैधानिकता र परिवर्तनप्रतिको आन्तरिक चाहनालाई स्पष्ट देखाउँछ ।
यसका सकारात्मक पक्षहरू स्पष्ट थिए । पहिलो, यसले पार्टीभित्र पुस्तान्तरण र नेतृत्व पुनर्संरचनाको बहसलाई संस्थागत ग¥यो । दोस्रो, जेनजी आन्दोलनपछि उठेका प्रश्नहरू; जवाफदेहिता, सुशासन र आन्तरिक लोकतन्त्रलाई औपचारिक एजेन्डामा ल्यायो । तेस्रो, नीतिगत र संगठनात्मक सुधारका प्रस्तावहरू प्रस्तुत गर्दै पार्टीलाई पुनर्जीवित गर्ने अवसर सिर्जना गर्यो । तर यसको नकारात्मक पक्ष पनि त्यत्तिकै गम्भीर रहे । महाधिवेशनले अपेक्षित रूपमा एकता र स्पष्ट दिशा दिन सकेन बरु नेतृत्वबीचको अविश्वास अझ गहिरियो । स्थापना पक्ष र सुधारवादी समूहबीचको विवादले पार्टी विभाजनसम्मको आशंका सिर्जना ग¥यो । यसका साथै, निर्वाचन नजिकिँदै गर्दा यस्तो आन्तरिक शक्ति संघर्षले पार्टीको सार्वजनिक छविमा नकारात्मक असर पा¥यो । जनताले यसलाई सुधारको प्रयासभन्दा बढी सत्ता संघर्षका रूपमा व्याख्या गर्न थाले । संगठनात्मक ऊर्जा संसदीय निर्वाचनको तयारीभन्दा आन्तरिक द्वन्द्वमै खर्च हुँदा यसको प्रत्यक्ष प्रभाव चुनावी प्रदर्शनमा पनि प-यो ।
यसरी हेर्दा, विशेष महाधिवेशन नेपाली कांग्रेसका लागि ऐतिहासिक अवसर थियो; आफ्नो वैचारिक आधार पुनस्र्थापित गर्ने, नेतृत्वलाई नवीकरण गर्ने र जनविश्वास पुनःनिर्माण गर्ने । तर आन्तरिक सहमति र स्पष्ट दृष्टिकोणको अभावमा यो अवसर पूर्ण रूपमा उपयोग हुन सकेन । अन्ततः, विशेष महाधिवेशनले एउटा सन्देश त दियो; परिवर्तन अपरिहार्य छ । तर त्यो परिवर्तन कसरी र कति छिटो हुने भन्ने प्रश्न अझै खुला नै छ ।

निर्वाचन परिणाम र पराजयको विश्लेषण
हालै सम्पन्न संसदीय निर्वाचनले नेपाली कांग्रेसका लागि गम्भीर राजनीतिक सन्देश दिएको छ । प्रत्यक्षतर्फ पार्टीले अपेक्षाभन्दा निकै कमजोर प्रदर्शन गर्दै १८ सिट मात्र जित्न सफल भयो, जसले यसको परम्परागत निर्वाचन आधार कमजोर हुँदै गएको संकेत गर्छ । समानुपातिकतर्फ पनि पार्टीको अवस्था उल्लेखनीय रूपमा खस्किएको देखिन्छ । नेपाली कांग्रेसले करिब १७ लाख ५६ हजार मत (१६.२९ प्रतिशत) प्राप्त गर्दै सीमित समानुपातिक सिट (२० सिट) मात्र हासिल गर्न सक्यो । यसले समग्र रूपमा पार्टीको राष्ट्रिय जनाधार संकुचित हुँदै गएको स्पष्ट देखाउँछ ।
२०७९ सालको निर्वाचनसँग तुलना गर्दा गिरावट अझ प्रष्ट हुन्छ । उक्त निर्वाचनमा नेपाली कांग्रेसले ५७ प्रत्यक्ष सिट जित्दै सबैभन्दा ठूलो दल बनेको थियो भने समानुपातिकतर्फ करिब २७ लाख १५ हजार मत (२५.७१ प्रतिशत) प्राप्त गरी ३२ सिट हासिल गरेको थियो । यसरी, प्रत्यक्ष र समानुपातिक दुवै क्षेत्रमा आएको तीव्र गिरावटले पार्टीको संगठनात्मक, वैचारिक र राजनीतिक कमजोरी उजागर गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको २७ बुँदे समीक्षाले यस पराजयलाई बहुआयामिक कारणहरूको परिणामका रूपमा विश्लेषण गर्न सकिन्छ ।
वैचारिक अस्पष्टताः लोकतान्त्रिक समाजवादलाई समसामयिक सन्दर्भमा स्पष्ट, व्यवहारिक र जनजीवनसँग जोडेर प्रस्तुत गर्न नसक्नु नेपाली कांग्रेसको प्रमुख कमजोरी बनेको छ । बदलिँदो सामाजिक, आर्थिक यथार्थअनुसार यसको नयाँ व्याख्या र नीतिगत रूपान्तरण नहुँदा पार्टीको वैचारिक पहिचान धुमिल भएको छ । यसले मतदातामा स्पष्ट दिशाको अभाव सिर्जना गर्दै पार्टीप्रति विश्वास कमजोर बनाएको छ ।
गठबन्धन राजनीतिप्रतिको नकारात्मक धारणाः प्रारम्भमा आवश्यक रणनीतिका रूपमा प्रस्तुत गरिएको गठबन्धन समयसँगै मतदाताको नजरमा अवसरवादी अभ्यास जस्तो देखिन थाल्यो । यसले नेपाली कांग्रेसको स्वतन्त्र वैचारिक र राजनीतिक पहिचानलाई कमजोर बनाउँदै पार्टी आफ्नै एजेन्डाभन्दा समीकरणमा निर्भर भएको अनुभूति दिलायो । परिणामतः मतदातामा भ्रम र अविश्वास बढ्दै गई पार्टीप्रति समर्थन क्रमशः खस्किँदै गयो ।
आन्तरिक गुटबन्दी र कमजोर संगठनः पार्टीभित्र गुटीय प्रतिस्पर्धा संस्थागत जस्तै बन्दै जाँदा उम्मेदवार चयनदेखि चुनावी रणनीतिसम्म यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ । नीतिगत सहमति र सामूहिक नेतृत्वभन्दा गुटीय स्वार्थ हावी हुँदा चुनावी समन्वय कमजोर रह्यो र कार्यकर्ता तहमा पनि उत्साह घट्यो । यसले संगठनको प्रभावकारिता घटाउँदै चुनावी प्रदर्शनमा नकारात्मक असर पारेको स्पष्ट हुन्छ ।
युवासँग दूरीः नयाँ पुस्ताले पार्टीभित्र आफ्नो भविष्य, अवसर र पहिचान देख्न नसक्दा उनीहरूको आकर्षण क्रमशः वैकल्पिक राजनीतिक शक्तितर्फ सरेको देखिन्छ । जेनजी पुस्ताले पारदर्शिता, मेरिटोक्रेसी, नवप्रवर्तन र परिणाममुखी नेतृत्वको अपेक्षा राख्दा नेपाली कांग्रेसले त्यसलाई समयमै सम्बोधन गर्न सकेन । परम्परागत नेतृत्व शैली र सीमित अवसर संरचनाले युवाहरूलाई पार्टीबाट भावनात्मक रूपमा टाढा बनायो । परिणामतः, जेनजीको आकांक्षा र परिवर्तनको मागसँग तालमेल नमिल्दा पार्टीले नयाँ मतदाता गुमाउने अवस्था सिर्जना भयो । यसैक्रममा, नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा नेपाली कांग्रेससँग आबद्ध र वैचारिक समर्थन जनाउने धेरै युवा कार्यकर्ता र समर्थकहरू आकर्षित हुँदै गएका छन् । यसले देखाउँछ कि युवा पुस्ता अब परम्परागत निष्ठाभन्दा अवसर, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिलाई प्राथमिकता दिन थालेको छ, जसले नेपाली कांग्रेसका लागि दीर्घकालीन चुनौती थपेको छ ।
परम्परागत नेतृत्वप्रति बढ्दो अविश्वासः परम्परागत र दीर्घकालीन नेतृत्वले समयअनुकूल नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण र परिवर्तनकारी पहल दिन नसक्दा मतदातामा निराशा बढ्दै गएको देखिन्छ । एउटै अनुहार र पुरानै शैलीको दोहोरिनुले राजनीतिक थकान सिर्जना गर्दै नेतृत्वप्रति विश्वास क्रमशः कमजोर बनाएको छ । परिणामतः, मतदाताले वैकल्पिक नेतृत्वको खोजी गर्दै नयाँ शक्तितर्फ झुक्ने प्रवृत्ति बलियो बन्दै गएको छ ।
शासनप्रतिको असन्तुष्टिः भ्रष्टाचार, नातावाद र पक्षपातपूर्ण नियुक्तिले राज्यका संस्थाहरूप्रति जनविश्वास क्रमशः कमजोर बनायो । सेवा प्रवाहमा ढिलासुस्ती, पारदर्शिताको अभाव र परिणाममुखी कार्यसम्पादन नदेखिँदा जनतामा निराशा गहिरिँदै गयो । यसले सरकारप्रति मात्र होइन, त्यसको नेतृत्व गर्ने दलका रूपमा नेपाली कांग्रेसप्रति पनि व्यापक असन्तुष्टि पैदा ग¥यो ।
कमजोर राजनीतिक सन्देश र चुनावी अभियान रणनीतिः विशेष महाधिवेशनपछि नेपाली कांग्रेसले आफूलाई सुधारिएको र रूपान्तरणतर्फ उन्मुख शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास ग¥यो । तर महाधिवेशन र संसदीय निर्वाचनबीचको करिब ५० दिनको छोटो अवधिमा यो सन्देश जनतासम्म प्रभावकारी रूपमा पु¥याउन, कार्यकर्तालाई पुनःउत्साहित गर्न र मतदातालाई संगठित गर्न पर्याप्त समय भएन । परिणामतः, पार्टीले आफ्ना उपलब्धि र भविष्यको स्पष्ट दृष्टिकोण विश्वसनीय रूपमा स्थापित गर्न नसक्दा मतदातामा अपेक्षित विश्वास निर्माण हुन सकेन ।
यसर्थ, यो पराजय आकस्मिक होइन, दीर्घकालीन संरचनागत कमजोरीहरूको परिणाम हो । तर यसले एउटा स्पष्ट सन्देश पनि दिएको छ; नेपाली कांग्रेसले केवल चुनाव जित्ने रणनीति होइन, आफ्नो वैचारिक, संगठनात्मक र नेतृत्व शैलीमै गहिरो रूपान्तरण गर्नुपर्नेछ ।

नेपाली कांग्रेसको पुनर्जागरणको खाका
नेपाली कांग्रेसको भविष्य यसको वैचारिक पुनर्जागरणसँग गहिरो रूपमा जोडिएको छ । बीपी कोइरालाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवाद केवल राजनीतिक सिद्धान्त मात्र होइन, यो लोकतन्त्र, स्वतन्त्रता, समानता र सामाजिक न्यायलाई सन्तुलनमा राख्ने जीवन्त दृष्टिकोण हो । उनले लोकतन्त्रलाई केवल राजनीतिक अधिकारमा सीमित नराखी आर्थिक समृद्धि र सामाजिक समानतासँग जोडेर हेरेका थिए । आजको सन्दर्भमा यही दर्शनलाई पुनःव्याख्या र कार्यान्वयन गर्नु नेपाली कांग्रेसको सबैभन्दा ठूलो चुनौती र अवसर दुवै हो ।
वर्तमान अवस्थामा पार्टी वैचारिक अस्पष्टता, संगठनात्मक कमजोरी र जनतासँगको दूरीको संकटमा छ । धेरै विश्लेषकहरूका अनुसार, पार्टीले बि.पीका विचारलाई भाषणमा प्रयोग गरे पनि व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन गर्न सकेको छैन । यसले पार्टीलाई जनताको पार्टीभन्दा सत्ता व्यवस्थापनमा केन्द्रित शक्तिका रूपमा चित्रित गरेको छ । नेपाली कांग्रेसको पुनर्निर्माणका लागि छ बुँदे समग्र सुधार खाका राजनीतिक विमर्शका लागि प्रस्तुत गरिएको छ, जसले पार्टीलाई पुनः जनमुखी, वैचारिक रूपमा स्पष्ट र प्रभावकारी लोकतान्त्रिक शक्ति बनाउन मार्गदर्शन गर्न सक्छ ।
पहिलो, वैचारिक पुनर्संरचनाः लोकतान्त्रिक समाजवादलाई नयाँ सन्दर्भमा स्पष्ट रूपमा परिभाषित गर्नुपर्छ । बीपीको विचारलाई नारा होइन, नीतिगत मार्गदर्शनका रूपमा कार्यान्वयन गर्न आवश्यक छ । आजको युगमा यसलाई रोजगारी, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा, डिजिटल अर्थतन्त्र र समावेशी विकाससँग जोड्नुपर्छ ।
दोस्रो, संगठनात्मक पुनर्जीवनः वडा तहदेखि केन्द्रसम्म पार्टीलाई पुनःसक्रिय बनाउनुपर्छ । सिद्धान्ततः नेपाली कांग्रेस जनआधारित पार्टी भएकाले; जनता र कार्यकर्तामुखी संरचना, नियमित प्रशिक्षण र डिजिटल प्लेटफर्ममार्फत संगठनलाई आधुनिक बनाउनुपर्छ । डिजिटल प्रविधिको प्रयोग गर्दै जनतासँगको प्रत्यक्ष संवाद पुनःस्थापित गर्नुपर्नेछ ।
तेस्रो, नेतृत्वको रूपान्तरणः परम्परागत नेतृत्वसँगै नयाँ पुस्तालाई वास्तविक अवसर दिनुपर्छ । जेनजीको आकांक्षा; मेरिटोक्रेसी, पारदर्शिता, नवप्रवर्तनलाई संस्थागत गर्नुपर्नेछ । नेतृत्व केवल अनुभवमा होइन, दृष्टिकोण र परिणाममा आधारित हुनुपर्छ ।
चौथो, सुशासन र विश्वसनीयताको पुनर्निर्माणः भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, पारदर्शी निर्णय प्रक्रिया र परिणाममुखी सेवा प्रवाहमार्फत जनविश्वास पुनःस्थापित गर्नुपर्छ । शासनमा रहँदा वा विपक्षमा हुँदा सुशासनको उदाहरणीय प्रदर्शन नै पार्टीको सबैभन्दा ठूलो राजनीतिक पुँजी हुनेछ ।
पाँचौं, नीतिगत नवप्रवर्तन र जनजीवनसँग प्रत्यक्ष जोडिएका एजेन्डाः नेपाली कांग्रेसले केवल सिद्धान्त होइन, स्पष्ट र कार्यान्वयनयोग्य नीतिहरू प्रस्तुत गर्नुपर्छ । रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, स्वास्थ्य, शिक्षामा सुधार र सामाजिक सुरक्षा जस्ता जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा परिणाममुखी कार्यक्रमका लागि प्रमुख प्रतिपक्षको हैसियतले संसद् र सरकारलाई प्रभावकारी रूपमा घच्घच्याउनुपर्छ । नीति निर्माणमा तथ्यमा आधारित दृष्टिकोण र स्थानीय आवश्यकताअनुसार समाधान प्रस्तुत गर्न सके मात्र पार्टी पुनः विश्वसनीय विकल्पका रूपमा स्थापित हुन सक्छ । छैटौं, प्रभावकारी सञ्चार र राजनीतिक कथा निर्माणः नेपाली कांग्रेसले आफ्नो विचार, उपलब्धि र भविष्यको दृष्टिकोण स्पष्ट, सरल र विश्वसनीय भाषामा जनतासम्म पुर्याउनुपर्नेछ । डिजिटल माध्यम, सामाजिक सञ्जाल र प्रत्यक्ष संवादलाई प्रभावकारी रूपमा प्रयोग गर्दै जनतासँग निरन्तर सम्बन्ध कायम गर्नुपर्छ । जबसम्म पार्टीले आफ्नो राजनीतिक कथा आफैं निर्माण गर्न सक्दैन, तबसम्म अरूले बनाएको धारणा नै जनमतमा हावी रहनेछ, जसले दीर्घकालीन रूपमा पार्टीलाई कमजोर बनाउँछ ।
नेपाली कांग्रेस आज ऐतिहासिक मोडमा उभिएको छ । लोकतन्त्रको अग्रदूत पार्टी अहिले आफ्नै पहिचानको प्रश्नसँग जुधिरहेको छ । नेपाली कांग्रेसको पुनर्जागरण केवल सुधारको एजेन्डा होइन, यो समयसापेक्ष सान्दर्भिकताको प्रश्न हो । इतिहासले दिएको गौरवलाई भविष्यमा रूपान्तरण गर्न अब गहिरो आत्ममूल्यांकन, साहसिक निर्णय र व्यवहारिक कार्यान्वयन अपरिहार्य छ । यदि पार्टीले बीपीको लोकतान्त्रिक समाजवादलाई नयाँ युगसँग जोड्दै जनताको आकांक्षालाई केन्द्रमा राख्न सक्छ भने नेपाली कांग्रेस पुनः देशको प्रमुख लोकतान्त्रिक शक्ति बन्न सक्छ ।
अन्ततः, पुनर्जागरणको बाटो स्पष्ट छ; विचारमा स्पष्टता, संरचनामा सुधार र व्यवहारमा विश्वास। अब समयअनुकूल, जनतामुखी नेपाली कांग्रेस बनाउने रूपान्तरणको चाहना राख्ने नेपाली कांग्रेसको; आगामी १५औं महाधिवेशनबाट आउने नेतृत्व, संसद्मा प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेसका सांसद, कार्यकर्ता तथा शुभेच्छुकहरूकै हातमा छ ।

(लेखक वरिष्ठ बालरोग विशेषज्ञ तथा जनस्वास्थ्य विज्ञ हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्