नेभिगेशन
दृष्टिकोण

नयाँ राजनीतिक मार्गचित्रको आधार

निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा पहिलो शक्तिका रूपमा स्थापित भएको अवस्था नेपाली राजनीतिक इतिहासको एक विशेष मोड हो । यो परिणाम केवल एउटा दलको विजय मात्र होइन, विगत तीन दशकदेखि नेपालको राजनीतिमा निर्णायक प्रभाव जमाउँदै आएका परम्परागत शक्तिहरूप्रति जनतामा बढ्दै गएको असन्तोष, निराशा र परिवर्तनको तीव्र आकांक्षाको स्पष्ट अभिव्यक्ति पनि हो । जनताले मतदानमार्फत दिएको यो सन्देशलाई केवल चुनावी अंकगणितका रूपमा मात्र बुझ्न मिल्दैन; यसलाई देशको राजनीतिक संस्कृतिमा देखिएको गहिरो परिवर्तनको प्रारम्भिक संकेतका रूपमा पनि हेर्नु आवश्यक छ  ।
२०४६ सालपछिको नयाँ राजनीतिक युगमा बितेका तीन दशकको राजनीतिक यात्राले जनतामा आशा भन्दा बढी निराशा पैदा ग¥यो । सरकार परिवर्तन भए, गठबन्धन बने–भत्किए, नयाँ संविधान आयो, संघीयता लागू भयो तर जनताको दैनिकी फेरिएन । भ्रष्टाचार, बेरोजगारी, प्रशासनिक जटिलता, राजनीतिक अस्थिरता र अवसरको अभावजस्ता समस्याले नागरिकको मनमा परम्परागत दलहरूप्रति अविश्वास बढ्यो । यही पृष्ठभूमिमा रास्वपाको उदय भयो ।
रास्वपाको सफलता र लोकप्रियता केवल संगठनात्मक क्षमता वा प्रचार अभियानको परिणाम मात्र नभइ आमजनको असन्तोषको विस्फोट पनि हो । विशेषगरी युवापुस्तामा राजनीतिक विकल्पको खोजी तीव्र थियो । सामाजिक सञ्जाल, वैदेशिक रोजगारी र शिक्षाका कारण विश्वको राजनीति र शासन प्रणालीबारे नयाँ पुस्ताले धेरै जानकारी पाएको थियो । उनीहरूलाई नेपालको पुरानो राजनीतिक शैली असान्दर्भिक र जडजस्तो लाग्न थालेको थियो । विगतमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्दा गठबन्धनका सरकार बन्ने र स्थायित्व नहुने समस्या थियो । तर अहिले एउटै दलले दुईतिहाइ पाएको छ । लोकतान्त्रिक प्रणालीमा जनता नै अन्तिम निर्णायक शक्ति हुन् भन्ने सत्यलाई यस परिणामले पुनः पुष्टि गरेको छ ।
दुईतिहाइ शक्ति प्राप्त हुनु सामान्य राजनीतिक उपलब्धि मात्र होइन; यो संवैधानिक रूपान्तरणको सम्भावना बोकेको अवस्था पनि हो । यस्तो बहुमत भएपछि संविधान संशोधनदेखि लिएर दीर्घकालीन संरचनात्मक सुधारसम्मका निर्णयहरू सम्भव हुन्छन् । अर्को चुनौती के छ भने दुईतिहाइ शक्ति प्राप्त गर्ने दलले यदि आफ्नो शक्ति जिम्मेवारीपूर्वक प्रयोग गर्न सकेन भने त्यसले लोकतन्त्रमा नयाँ संकट पनि निम्त्याउन सक्छ । यस कारण रास्वपाका लागि अहिलेको सबैभन्दा ठूलो परीक्षा शासन सञ्चालनमा देखिनेछ । चुनाव जित्नु एउटा चरण हो; तर जनताको अपेक्षा पूरा गर्नु अझ कठिन चरण हो । भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, आर्थिक विकास, रोजगार सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारजस्ता विषयहरूमा ठोस नतिजा दिन सकेन भने आजको उत्साह भोलिको निराशामा बदलिन पनि सक्छ ।
नेपालका मतदाताले यस पटक जुन स्तरको साहसिक निर्णय गरेका छन्, त्यो केवल सरकार परिवर्तनका लागि मात्र होइन; राजनीतिक संस्कार परिवर्तनका लागि पनि हो । त्यसैले अहिलेको अवस्था केवल विजयको उत्सव मनाउने समय मात्र होइन, गम्भीर आत्ममूल्यांकन र जिम्मेवारी वहन गर्ने समय पनि हो । जनताले दिएको शक्तिलाई सत्ता र पदको साधन नभई परिवर्तनको साधन बनाउन सकेमा मात्र यो ऐतिहासिक जनादेशले आफ्नो वास्तविक अर्थ पाउनेछ । अहिले रास्वपाले जस्तै २०६४ सालमा संविधानसभा निर्वाचन हुँदा नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्रले ठूलो सफलता पाएको थियो । दशक लामो द्वन्द्वपछि शान्ति प्रक्रियामा आएको माओवादी संविधानसभा निर्वाचनमार्फत राष्ट्रिय राजनीतिमा प्रमुख शक्तिका रूपमा उदायो । तर संविधानसभामा अन्य दलको पनि बलियो उपस्थिति थियो र राजनीतिक प्रतिस्पर्धा बहुध्रुवीय स्वरूपमै कायम थियो । तर अहिलेको अवस्था बेग्लै छ । नयाँ पुस्ता विशेषगरी पुरानो राजनीतिक शैलीप्रति असन्तुष्ट देखिन्थ्यो । यही परिस्थितिमा रास्वपाले आफूलाई विकल्पका रूपमा प्रस्तुत ग¥यो । जनताले पनि यसपटक परम्परागत दलहरूभन्दा फरक विकल्पलाई अवसर दिने निर्णय गरे ।
यस अर्थमा अहिलेको परिणाम ऐतिहासिक मात्र होइन, लोकतान्त्रिक यात्राको निर्णायक मोड पनि हो । जनताले दिएको यो जनादेश केवल सत्ता सञ्चालनका लागि मात्र होइन । यो जनादेश सुशासन, पारदर्शिता र परिणाममुखी शासनप्रतिको अपेक्षासँग गहिरो रूपमा जोडिएको छ । विगतका सरकारहरूबाट निराश भएका नागरिकहरूले परिवर्तनको आशामा नयाँ शक्तिलाई समर्थन दिएका छन् । उनीहरू स्थिर सरकार मात्र होइन, काम गर्ने सरकार चाहन्छन् । प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास, रोजगारी सिर्जना र सेवा प्रवाहमा सुधारजस्ता विषयहरूमा ठोस परिणाम देख्न चाहन्छन् । त्यसैले अहिलेको समय उत्सवभन्दा बढी जिम्मेवारीको समय हो । जनताले दिएको विश्वासलाई परिणाममा रूपान्तरण गर्न सकेमा मात्र यो ऐतिहासिक जनादेशले आफ्नो वास्तविक अर्थ पाउनेछ । नेपालको लोकतान्त्रिक यात्रामा यो क्षण भविष्यले सम्झने एउटा महत्वपूर्ण मोड बन्न सक्छ, जहाँ जनताले परिवर्तन रोजे र राजनीतिले त्यसलाई कति इमान्दारीपूर्वक पूरा ग¥यो भन्ने इतिहासले मूल्याङ्कन गर्नेछ ।
रास्वपाको संरचना स्वयंमा नेपाली समाजको बदलिँदो स्वरूपको एउटा प्रतिबिम्बजस्तै देखिन्छ । यो पार्टी कुनै एउटै विचारधारा, वर्ग वा पुरानो राजनीतिक परम्पराबाट मात्रै बनेको संगठन होइन । बरु पुराना दलहरूको कार्यशैलीप्रति वितृष्णा भएका नागरिक, विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरू, विदेशमा अनुभव हासिल गरेर फर्किएका युवाहरू, सामाजिक अभियानमा सक्रिय मानिसहरू र फरक–फरक वैचारिक पृष्ठभूमिका व्यक्तिहरूको समिश्रणबाट यो शक्ति निर्माण भएको छ । यही विविधता यसको शक्ति पनि हो र चुनौती पनि । राजनीतिक इतिहास हेर्दा धेरै दलहरू स्पष्ट विचारधारा र संगठित संरचनाबाट निर्माण भएका हुन्छन् । तर रास्वपाको उदय अपेक्षाकृत फरक प्रकारको छ । यो मूलतः जनताको असन्तोष, परिवर्तनको आकांक्षा र नयाँ नेतृत्वप्रतिको भरोसाबाट निर्माण भएको राजनीतिक शक्ति हो । त्यसैले अहिले यसको सबैभन्दा ठूलो चुनौती पार्टीभित्र वैचारिक एकरूपता स्थापित गर्नु र दीर्घकालीन राजनीतिक दर्शन निर्माण गर्नु हो ।
जब कुनै पार्टी विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको समूहबाट बनेको हुन्छ, त्यहाँ नीति निर्माणका क्रममा मतभेद स्वाभाविक रूपमा देखा पर्न सक्छन् । लोकतान्त्रिक संगठनमा यस्तो मतभेद कमजोरी होइन बरु स्वस्थ बहसको आधार पनि हुन सक्छ । तर ती मतभेदलाई व्यवस्थित ढंगले समन्वय गर्न नसकिए पार्टीभित्र असमझदारी र विभाजनको खतरा पनि रहन्छ । त्यसैले रास्वपाले आफ्नो राजनीतिक दिशा, आर्थिक दृष्टिकोण, सामाजिक नीतिहरू र राज्य सञ्चालनसम्बन्धी दीर्घकालीन अवधारणा स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता देखिन्छ । यस निर्वाचनको अर्को महत्वपूर्ण विशेषता भनेको युवाहरूको उल्लेखनीय उपस्थिति हो । संसद्मा प्रवेश गरेका धेरै प्रतिनिधिहरू शिक्षित, सक्षम र ऊर्जावान देखिएका छन् । विगतका संसद्हरूमा प्रायः पुराना अनुहारहरूको प्रभुत्व रहने गरेको थियो, जसले गर्दा नयाँ सोच र नयाँ शैलीको राजनीति अपेक्षाकृत कमजोर देखिन्थ्यो । तर अहिलेको अवस्थामा युवा नेतृत्वको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ ।
यो परिवर्तन केवल पुस्ता परिवर्तन मात्र होइन; यो राजनीतिक सोच र शैलीको परिवर्तन पनि हुन सक्छ । आजको युवा पुस्ता सूचना प्रविधिसँग नजिक छ, विश्व राजनीतिका अभ्यासहरूबारे सचेत छ र पारदर्शिता तथा उत्तरदायित्वप्रति बढी संवेदनशील पनि देखिन्छ । यदि यही ऊर्जा र दृष्टिकोणलाई सकारात्मक रूपमा प्रयोग गर्न सकियो भने संसद् केवल बहस गर्ने ठाउँ मात्र होइन, नीति निर्माणको प्रभावकारी केन्द्र बन्न सक्छ । यद्यपि लोकतान्त्रिक प्रक्रियामा विविधता स्वाभाविक हुन्छ । केही अनुभवहीन र विवादास्पद व्यक्तिहरू पनि निर्वाचित हुनु असामान्य घटना होइन । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो कि अन्तिम निर्णय जनताले गर्छन् । तर संसद्मा पुगेपछि सबै प्रतिनिधिहरूले व्यक्तिगत विवादभन्दा माथि उठेर राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने हुन्छ । संसद्को गरिमा कायम राख्नु र जनताको विश्वासलाई सम्मान गर्नु प्रत्येक सांसदको कर्तव्य हो । यो विजय वास्तवमा नेपाली जनताको परिवर्तनप्रतिको विश्वासको अभिव्यक्ति हो । धेरै वर्षदेखि निराशा र असन्तोष अनुभव गरिरहेका नागरिकहरूले यसपटक नयाँ विकल्पलाई अवसर दिएका छन् ।
विश्वास जित्नु जति कठिन हुन्छ त्यो विश्वास जोगाइराख्नु अझ कठिन हुन्छ । यदि जनताको अपेक्षा अनुरूप परिणाम दिन सकियो भने नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ अध्याय सुरु हुनेछ । इतिहासले कहिलेकाहीँ यस्ता अवसरहरू प्रदान गर्छ, जुन पुस्तौँसम्म स्मरणीय हुन्छन् । अहिलेको परिस्थिति पनि त्यस्तै अवसरको संकेत हुन सक्छ । यदि यो अवसरलाई बुद्धिमत्ता, संयमता र दूरदर्शिताका साथ प्रयोग गर्न सकियो भने रास्वपाको विजय केवल एउटा पार्टीको विजयमा सीमित रहने छैन; त्यो समग्र राष्ट्रको विजयमा परिणत हुन सक्छ । रास्वपाको ऐतिहासिक विजय केवल सिटको बहुमत मात्र होइन यो परिवर्तनको शक्तिशाली संकेत हो । अब मुख्य चुनौती यस विजयलाई सुशासन, पारदर्शिता र दीर्घकालीन विकासका अवसरमा रूपान्तरण गर्नु हो । जनताको अपेक्षा, युवा शक्ति र नयाँ सोचको समिश्रणले यदि सही दिशा पायो भने नेपाल वास्तवमै नयाँ राजनीतिक युगमा प्रवेश गर्न सक्छ ।
(लेखक नेपाली जनता दलका अध्यक्ष हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्