नेभिगेशन
अर्थतन्त्र

नबिल बैंकद्वारा ११ हजार विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंकले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सातवटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ । 
विश्वव्यापीरूपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको हो । जसअन्तर्गत बैंकले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बचत, लगानी, डिजिटल बैंकिङ, वित्तीय ठगीलगायत विषयमा विद्यार्थी तथा युवाहरूलाई अभिमुखीकरण गराएको हो ।
बैंकले विभिन्न शाखा कार्यालयमार्फत साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । अभियानअन्तर्गत कोशी प्रदेशका दुई हजार ६४, मधेसका एक हजार ३८१, बागमतीका दुई हजार ६०८, गण्डकीका एक हजार २७८, लुम्बिनीका एक हजार ३३८, कर्णालीका एक हजार ५०४ र सुदूरपश्चिमका ९१४ विद्यार्थी लाभान्वित भएको बैंकले जनाएको छ ।
वित्तीय साक्षरता अभियानलाई थप फराकिलो बनाउँदै बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन गरी प्रकाशन तथा प्रसारण पनि गर्दै आएको छ । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको पनि उल्लेख गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्