नेभिगेशन
अर्थतन्त्र

वाडा अटो सो भोलिदेखि, ४५ हजारले अवलोकन गर्ने अपेक्षा

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा)ले पोखराको लेकसाइडमा ‘दोस्रो नाडा प्रजेन्ट्स वाडा अटो सो २०२६’ आयोजना गरेको छ । पोखरा महानगरपालिका प्रवर्धक रहेको प्रदेशकै सबैभन्दा बृहत् अटो प्रदर्शनी चैत ११ देखि १५ सम्म चल्नेछ ।
प्रदर्शनीमा सवारीसाधन खरिद–बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकासबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनुका साथै अवलोकनकर्तालाई प्रशंसनीय सेवा प्रवाहमा जोड दिइनेछ । अटो व्यवसायको सुदृढीकरण एवं प्रवर्धन, क्षेत्रीय बजारमा सहज पहुँच तथा बढ्दो मागलाई ध्यानमा राखी नेपालमै उत्पादनको सम्भाव्यतालाई समेत समयानुकूल दिशानिर्दिष्ट गर्न मेला सहयोगी हुने आयोजकको विश्वास छ ।
अटो सोमा १६ वटा ब्रान्डका ४ पाङ्ग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल, १० वटा ब्रान्डका २ पाङ्ग्रे, एउटा हेभी कमर्सियलसहित लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एसोसेरिज र वित्तीय संस्थाहरूका २० वटा स्टल रहने आयोजकले जनाएको छ ।
पाँच दिन चल्ने दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो सोमा ४५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । टिकटमा विशेष आकर्षण स्वरूप खल्ती एपबाट टिकट खरिद गर्दा प्रत्येक दिन पहिलो १ सय जनालाई साधारण टिकटमा ५० प्रतिशत र पहिलो १ सय जना विद्यार्थीलाई टिकटमा सय प्रतिशत फिर्ता हुने गरी अटो सोका क्यूआर पार्टनर युनियन पेद्वारा क्यास ब्याकको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्