नेभिगेशन
अर्थतन्त्र

कोरला नाकाबाट पौने ६ अर्ब राजस्व संकलन

मुस्ताङ । नेपाल–चीन कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा पौने ६ अर्ब राजस्व संकलन गरेको छ । भदौ ३१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले चैत ७ सम्ममा पाँच अर्ब ७१ करोड १० लाख राजस्व संकलन गरेको जनाएको हो । 
कार्यालयका प्रमुख रमेश खड्काका अनुसार यो अवधिमा नाकाबाट १२ अर्ब १७ करोड मूल्यबराबरको मालवस्तु आयात भएको छ भने २० करोड ३० लाख मूल्यबराबरको मालवस्तु चीनतर्फ निर्यात भएको छ । हालसम्म कोरला नाकाबाट भित्रिएका दुई हजार ३४७ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको उनले बताए ।
यसैगरी, मुस्ताङ भन्सार कार्यालयबाट एक हजार ८०४ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएकोे भन्सार प्रमुख खड्काले जानकारी दिए । गत असार र साउनमा पहिरोका कारण रसुवागढी नाका र तातोपानी नाका पूर्णरुपमा बन्द भएपछि मुस्ताङको कोरला नाकालाई वैकल्पिक नाकाका रुपमा प्रयोग गरिएको थियो ।
यसलगत्तै नेपाल सरकार भन्सार विभागले वैकल्पिक रुपमा प्रयोग गरिएको कोरलानाकालाई पूर्ण रुपमा सञ्चालन गराएको थियो । बर्सेनि १०–१५ लाख आर्थिक राजस्व संकलन गर्ने मुस्ताङ भन्सार कार्यालयले असोजयता उल्लेख्य राजस्व संकलन गर्न सफल भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्