चिप निर्माता एनभिडियाका मुख्य कार्यकारी जेन्सेन हुआङले गत जनवरीमा ‘रोबोटिक्सका लागि च्याटजीपीटीको क्षण आइसकेको’ घोषणा गरे । भनाइको अर्थ, जुन क्रान्ति च्याटजिपिटीले ल्याएको थियो, अब रोबोटका लागि ठीक त्यस्तै क्षण आइसकेको छ । हुआङले पहिलो पटक ‘फिजिकल एआई’ (भौतिक एआई) शब्द प्रयोगमा ल्याएका थिए । यसको अर्थ सफ्टवेयर वा डिजिटलरूपमा मात्र सीमित नभई भौतिक संसारमा काम गर्ने र अन्तरक्रिया गर्ने आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली अब विकसित हुँदैछ । सिद्धान्ततः रोबोटले आफ्नो वरपरको वातावरण बुझ्न, लार्ज ल्याङ्वेज मोडलको शक्ति प्रयोग गरेर तर्क गर्न, सोहीअनुसार काम गर्न र त्यसको परिणामबाट सिक्न सक्नुपर्छ । यसले औद्योगिक रोबोटिक्सलाई यान्त्रिक स्वचालित प्रणालीबाट बौद्धिक अन्तरक्रियातर्फ लैजानेछ । परिणामस्वरूप रोबोटहरूले मानिसका लागि बनाइएका ठाउँमा काम गर्न, मानिसका निर्देशनहरू सहीरूपमा बुझ्न र कहिल्यै नदेखेका सामानहरू पनि कुशलतापूर्वक चलाउन सक्नेछन् । एनभिडिया यस क्षेत्रमा विश्वकै अग्रणी कम्पनी हो । यसले त्यस्ता ‘डिजिटल खेलमैदान’ उपलब्ध गराउँछ जहाँ लगभग हरेक आधुनिक रोबोटलाई वास्तविक संसारको भर्चुअल सिमुलेशन मार्फत तालिम दिइन्छ । ‘फिजिकल एआई’ रोबोट बनाउने प्रमुख कम्पनीहरूमा बोस्टन डाइनामिक्स (जसका रोबोटहरू यस वर्ष ह्युन्डाईका कारखानाहरूमा प्रयोग हुँदैछन्), ओपन एआई र माइक्रोसफ्टको लगानी रहेको फिगर एआई र टेस्ला छन् । एलन मस्कले यसै वर्ष आफ्ना रोबोटहरूले उत्पादन लाइनमा अन्य रोबोटहरू बनाउने दाबी गरे पनि धेरै विज्ञहरू यसमा शंका गर्छन् ।
हालैका दिनमा यसप्रति चासो किन बढ्यो ?
गएको फेब्रुअरी १६ मा विश्वभरका करिब ६७ करोड ७० लाख दर्शकले चिनियाँ सरकारी सञ्चार माध्यमको वार्षिक विशेष कार्यक्रम ‘चिनियाँ नयाँ वर्ष स्प्रिङ फेस्टिभल गाला’ हेरे । उक्त कार्यक्रमको मुख्य आकर्षण ह्वाङझाउस्थित युनिट्री रोबोटिक्सले बनाएका मानवाकृत रोबोटहरू (ह्युमनोइड्स) थिए । ती रोबोटहरूले बालबालिकासँगै दौडने, उफ्रने, लात्ती हान्ने र ब्याकफ्लिप गर्ने जस्ता मार्सल आर्टका कला देखाए । यस प्रसारणले रोबोटिक्स र हाई–टेक उत्पादनको क्षेत्रमा चीनको बढ्दो प्रभुत्वलाई उजागर ग¥यो । कुनै बेला यस क्षेत्रमा पहिले अमेरिकी, जापानी र युरोपेली कम्पनीहरूको वर्चस्व थियो । अहिले चीनका दुई कम्पनी युनिट्री र एजीबोटको ह्युमनोइड रोबोटको विश्व बजारमा ५० प्रतिशतभन्दा बढी हिस्सा छ । उनीहरूले गत वर्ष करिब ११ हजार वटा रोबोट बिक्री गरे । यी कम्पनीका आधारभूत मोडलहरू करिब २० हजार डलरमै किन्न सकिन्छ ।
यी रोबोटहरूले के गर्न सक्छन् ?
यी रोबोटहरूले हिँडडुल गर्ने, आफैं बाटो पत्ता लगाउने र सामान चलाउने, उठाउनेजस्ता काममा अचम्मको कौशल देखाइरहेका छन् । साहसिक स्टन्टदेखि लिएर पानी खन्याउने र काउन्टर सफा गर्नेजस्ता घरायसी कामसम्म यिनीहरूले गर्न सक्छन् । ग्यालबोट नामक अर्को ठूलो चिनियाँ कम्पनीले बनाएका रोबोटहरूले पसलहरूमा सामान बेच्ने र भुक्तानी प्रक्रिया मिलाउने काम गर्छन् । तर अहिलेसम्म धेरैजसो मानवाकृत रोबोटहरूले वास्तविक काम भने खासै गरेका छैनन् । एलन मस्कले टेस्लाको अप्टिमस रोबोट भान्छे, घरको हेरचाह गर्ने, बच्चा हेर्ने र व्यक्तिगत सहायकका रूपमा सर्वगुण सम्पन्न हुने दाबी गरेका थिए । वास्तवमा, निकट भविष्यमा यिनीहरूलाई टेस्लाकै कारखानाहरूमा सामान ओसार्ने वा गुणस्तर जाँच गर्नेजस्ता दोहोरिने कामहरूका लागि प्रयोग गरिन सक्छ, यद्यपि त्यो पनि अझै निश्चित छैन । धेरैजसो विश्लेषकहरूका अनुसार सबै प्रकारका काम गर्न सक्ने स्वायत्त मानवाकृत रोबोट बनाउने प्रविधि अहिले नै उपलब्ध छैन र यो तयार हुन अझै धेरै वर्ष लाग्नेछ ।
यसका सीमितताहरू के हुन् ?
रोबोटहरू सीमित जटिलता भएका र अनुमान लगाउन सकिने वातावरणमा काम गर्न सिपालु हुन्छन् । उदाहरणका लागि, रोबोट भ्याकुम क्लिनर वा रोबोट–ट्याक्सीले स्पष्ट नियम र पद्धतिअनुसार काम गर्छन् । युनिट्रीका नाच्ने रोबोटहरू जस्तै यिनीहरूले पहिले नै प्रोग्राम गरिएको जटिल निर्देशनहरू पालना गर्न सक्छन् । तर जब अनपेक्षित भौतिक संसारसँग अन्तरक्रिया गर्नुपर्ने हुन्छ, त्यसपछि भने कठिनाइ सुरु हुन्छ । भाँडा माझ्ने, मेसिन खाली गर्ने वा ढोकाको ह्यान्डल प्रयोग गर्ने जस्ता सामान्य देखिने काम गर्न पनि भौतिक संसारको धेरै तथ्यांक बुझ्न र वस्तुहरूलाई सावधानीपूर्वक चलाउन आवश्यक हुन्छ । अहिलेसम्म बाकस ओसार्नेजस्ता आधारभूत काममा रोबोटहरू मानिसको तुलनामा ३० देखि ५० प्रतिशत मात्र सक्षम देखिएका छन् । उद्योगहरूले आर्टिफिसियल इन्टेलिजेन्स वा ‘फिजिकल एआई’ प्रयोग गरेर यो समस्या समाधान हुने आशा राखेको छ तर यसमा पनि गम्भीर चुनौतीहरू छन् ।
कठिनाइहरू के–के छन् त ?
जसरी च्याटजीपीटीले धेरै तथ्यांकहरू अध्ययन गरेर भाषा बुझ्न सिक्यो, मेसिनहरूले पनि त्यसरी नै भौतिक संसारमा हिँड्न सिक्नेछन् भन्ने आशा गरिएको छ । तर फरक के छ भने रोबोटहरूलाई तालिम दिन इन्टरनेटजस्तो कुनै विशाल भण्डार छैन । उनीहरूलाई ‘टेलिअपरेशन’ मार्फत तालिम दिनुपर्छ, त्यहाँ मानिसले मोसन–क्याप्चर प्रविधि प्रयोग गरेर कुनै निश्चित काम (जस्तै कुङ–फुको लात्ती हान्ने) हजारौं पटक सिकाउनुपर्छ । केही छोटा बाटाहरू पनि छन्, जस्तै रोबोटलाई भर्चुअल वातावरणमा तालिम दिन सकिन्छ । तर यो अझै पनि विकासकै क्रममा छ । रोबोट केयरगिभर वा प्लम्बर बन्न अझै धेरै वर्ष कुर्नुपर्ने हुन्छ ।
त्यसो भए के यिनीहरूको सान्दर्भिकता छ त ?
अहिलेका लागि यिनको सान्दर्भिकता सीमित छ तर अन्य प्रकारका रोबोटहरूले दशकौँदेखि आफ्नो उपयोगिता प्रमाणित गर्दै आएका छन् । युक्रेनी सेनाले अहिले सुरुङ र ड्रोन पुग्न नसक्ने ठाउँहरूमा निगरानी गर्न परिमार्जित युनिट्री गो–टु प्रो (रोबोट कुकुर) प्रयोग गरिरहेको छ । हवाई ड्रोनहरू अब अर्ध–स्वायत्त रूपमा काम गर्न सक्छन् । बम डिस्पोजल विज्ञ र सर्जनहरूले नियमित रूपमा रोबोटिक हातहरूको प्रयोग गर्छन् । औद्योगिक रोबोटहरूले ओसार्ने, जडान गर्ने, प्रशोधन गर्ने, वेल्डिङ गर्ने र निरीक्षण गर्ने जस्ता धेरै कामहरू गरिरहेका छन् ।
औद्योगिक रोबोटहरू त दशकौंदेखि अस्तित्वमा छैनन् र ?
सन् १९७० को दशकदेखि नै यिनीहरू प्रयोगमा छन् । तर अहिले हामी औद्योगिक रोबोटिक्सको ठूलो लहर देखिरहेका छौं किनभने मेसिनहरू सस्ता र थप अनुकूल बन्दै गएका छन् । यसमा पनि चीनले नै नेतृत्व गरिरहेको छ । आफ्नो अर्थतन्त्रमा रोबोटिक्स बढाउन चीनले एक दशक लामो प्रयास गरेको छ । उसको ‘मेड इन चाइना २०२५’ नीतिमा यो प्रमुख १० रणनीतिक क्षेत्रमध्ये एक थियो । यसको उद्देश्य लागत घटाउनु, विदेशी प्रतिस्पर्धीलाई उछिन्नु र देशको घट्दो कार्यशील जनसंख्याको पूर्ति गर्नु हो । चीनले सन् २०२४ मा मात्रै २ लाख ९५ हजार वटा औद्योगिक रोबोटहरू जडान ग¥यो, जसले गर्दा त्यहाँको कुल संख्या २० लाख नाघेको छ । यो विश्वका अन्य सबै देशको भन्दा पनि बढी हो ।
यसको प्रभाव के भएको छ ?
‘लाइट्स–आउट म्यानुफ्याक्चरिङ’ वा ‘डार्क फ्याक्ट्री’ (यति स्वचालित कारखाना जहाँ मानिस नभए पनि बत्ती निभाएर काम सुचारु राख्न सकिन्छ) को सपना चीनमा साकार हुने क्रममा छ । सन् २०२१ मा स्थापना भएको इलेक्ट्रिक कार निर्माता ‘जीकर’को निङ्बोस्थित कारखानामा यस्तै एउटा क्षेत्र छ, जसले दिनमा आठ सयभन्दा बढी गाडीहरू उत्पादन गर्न सक्छ । त्यस्तै, चोङकिङस्थित चान्गन अटोमोबाइल कारखानाले हरेक ६० सेकेन्डमा एउटा कार जडान गर्छ । स्वचालनले चीनलाई इलेक्ट्रिक सवारीसाधन र इलेक्ट्रोनिक्स उत्पादनमा विश्वभर प्रभुत्व जमाउन मद्दत गरिरहेको छ ।
त्यसो भए के चीनले विश्वको नेतृत्व गरिरहेको छ ?
ठूलो मात्रामा र कम लागतमा रोबोट उत्पादन गर्ने कुरामा निश्चित रूपमा चीन अगाडि छ । चिनियाँ सरकारले यसमा अर्बौं डलर अनुदान, सस्तो ऋण र लगानी गरेको छ । उसले सांघाई र शेन्जेन क्षेत्रमा विशाल औद्योगिक इकोसिस्टम, इञ्जिनियरिङ विशेषज्ञता र आपूर्ति सञ्जाल खडा गरेको छ । यद्यपि, अत्याधुनिक रोबोटिक इन्टेलिजेन्स (बौद्धिकता) को मामिलामा भने अहिलेका लागि अमेरिकै अगाडि छ ।