एक समय थियो, जब सूचनालाई केवल ज्ञान आदान–प्रदानको माध्यमका रूपमा हेरिन्थ्यो । तर डिजिटल युगमा प्रवेश गरेसँगै सूचना शक्ति, प्रभाव र रणनीतिक प्रतिस्पर्धाको प्रमुख साधनमा रूपान्तरण भएको छ । इन्टरनेट र सामाजिक सञ्जालको तीव्र विस्तारले विश्व राजनीतिमा शक्ति प्रयोग गर्ने नयाँ आयाम थपेको छ । आजको राजनीतिक प्रतिस्पर्धा केवल भाषण, सभा र पोस्टरमा सीमित छैन; यसको केन्द्रमा डेटा, एल्गोरिदम, कृत्रिम बुद्धिमत्ता र डिजिटल प्रचारको जटिल संयोजन उभिएको छ ।
विश्वभर चुनावी अभियान, जनमत निर्माण, वैचारिक बहस र राजनीतिक संघर्षमा डिजिटल प्रविधिको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ । यही परिवेशमा ‘साइकोग्राफिक प्रोफाइलिङ’ भन्ने अवधारणा व्यापक रूपमा चर्चामा आएको हो । यो केवल प्रविधिसँग सम्बन्धित विषय मात्र नभई मानिसको मनोविज्ञान, व्यवहार र निर्णय प्रक्रियासँग प्रत्यक्ष जोडिएको रणनीतिक उपकरण बनेको छ । साइकोग्राफिक प्रोफाइलिङ भन्नाले व्यक्तिको सोच, रुचि, मूल्य, जीवनशैली, डर र मनोवैज्ञानिक प्रवृत्तिको अध्ययन गरेर उसको निर्णय गर्ने शैली बुझ्ने प्रयासलाई जनाउँछ । यसका आधारमा व्यक्तिको मनोविज्ञानसँग मेल खाने सन्देश तयार गरी उसैलाई लक्षित गरेर पठाइन्छ ।
पहिले चुनावी प्रचार सरल थियो । राजनीतिक दल वा उम्मेदवारले एउटै सन्देश तयार पार्थे र त्यो सबै मतदातासम्म समान रूपमा पु¥याउने प्रयास हुन्थ्यो । तर डिजिटल प्रविधिले यो ढाँचा पूर्ण रूपमा परिवर्तन गरिदिएको छ । अहिले एउटै अभियानले लाखौँ फरक सन्देश तयार गर्न सक्छ, जसलाई अलग–अलग समूहका मतदातालाई लक्षित गरेर पठाइन्छ । यसलाई ‘माइक्रो टार्गेटिङ’ भनिन्छ ।
यस प्रविधिको चर्चा विशेषगरी बेलायतको ब्रेक्जिट जनमतसंग्रहपछि तीव्र भयो । सन् २०१६ मा भएको उक्त जनमतसंग्रहमा करिब ५२ प्रतिशत मतदाताले बेलायत युरोपियन युनियनबाट अलग हुनुपर्ने पक्षमा मतदान गरे । यो परिणामले अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो तरंग ल्यायो, किनकि लामो समयदेखि युरोपेली एकीकरणको महत्वपूर्ण स्तम्भ मानिएको बेलायतले अचानक अलग हुने निर्णय गरेको थियो ।
ब्रेक्जिटपछि विभिन्न अनुसन्धान र विश्लेषणहरूले सामाजिक सञ्जालमार्फत लक्षित प्रचारको प्रभावलाई गम्भीर रूपमा उठाए । यस बहसको केन्द्रमा एक डेटा विश्लेषण कम्पनी थियो, जसले आफूलाई आधुनिक चुनावी रणनीति निर्माण गर्ने संस्थाका रूपमा प्रस्तुत गरेको थियो । यसको दाबी थियो कि मतदाताको व्यवहार र मनोविज्ञानको विश्लेषण गरेर चुनावी अभियानलाई अत्यन्त प्रभावकारी बनाउन सकिन्छ । तर पछि यसमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताको ठूलो मात्रामा व्यक्तिगत डेटा अनुचित रूपमा प्रयोग गरिएको आरोप लाग्यो ।
अनुसन्धानअनुसार लाखौँ प्रयोगकर्ताको व्यक्तिगत जानकारी एक अनलाइन एपमार्फत संकलन गरिएको थियो । प्रयोगकर्ताले अनुमति दिएको भए पनि त्यसले उनीहरूको साथीहरूको जानकारीसमेत संकलन गरेको थियो । यसरी प्राप्त डेटा विश्लेषण गरेर मतदातालाई विभिन्न मनोवैज्ञानिक समूहमा वर्गीकृत गरिन्थ्यो । त्यसका लागि पाँच प्रमुख व्यक्तित्व आयाममा आधारित मनोवैज्ञानिक मोडेल प्रयोग गरिएको बताइन्छ ।
यस विश्लेषणपछि प्रत्येक मतदाताको सम्भावित मनोवैज्ञानिक प्रवृत्ति अनुमान गरिन्थ्यो । त्यसपछि त्यही आधारमा सन्देश तयार पारिन्थ्यो । उदाहरणका लागि, यदि कुनै मतदाता सुरक्षा वा राष्ट्रिय पहिचानका विषयमा संवेदनशील देखिन्छ भने उसलाई त्यही विषय जोडेर तयार गरिएको सामग्री देखाइन्थ्यो । यसरी एउटै अभियानले फरक–फरक व्यक्तिलाई फरक कथा सुनाउँथ्यो । आलोचकहरूका अनुसार यस्तो प्रचार पारदर्शी हुँदैन । जब प्रत्येक व्यक्तिले फरक सन्देश देख्छ, तब सार्वजनिक बहसको साझा आधार कमजोर हुन सक्छ । जनमत सूक्ष्म तर शक्तिशाली रूपमा प्रभावित हुन सक्छ, जसलाई बाहिरबाट सजिलै देख्न सकिँदैन ।
यद्यपि, सबै विश्लेषकहरूको धारणा एउटै छैन । केहीका अनुसार डिजिटल प्रविधिको प्रभाव कहिलेकाहीँ बढाइचढाइ गरेर प्रस्तुत गरिन्छ । उनीहरू भन्छन् कि चुनावी परिणाममा आर्थिक अवस्था, सांस्कृतिक पहिचान, राजनीतिक असन्तोष र सामाजिक विभाजनजस्ता कारणहरू पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । तर एउटा कुरा स्पष्ट छ— डिजिटल प्रचार आधुनिक राजनीतिमा शक्तिशाली उपकरण बनेको छ ।
हामी सबैलाई थाहै छ, ब्रेक्जिटपछि बेलायतले आर्थिक अनिश्चितता, व्यापारिक जटिलता र श्रम बजारका चुनौतीहरू सामना गर्नुप¥यो । अपेक्षित लाभ तत्काल देखिएन । यसले एउटा गम्भीर प्रश्न उठायो— राजनीतिक आन्दोलनले सिर्जना गर्ने भावनात्मक अपेक्षा र वास्तविक परिणामबीच किन यति ठूलो दूरी हुन्छ ? यस विवादपछि डेटा सुरक्षा र गोपनीयताको विषयमा विश्वव्यापी बहस सुरु भयो । धेरै देशहरूले नयाँ कानुन र नीतिहरू लागू गर्न थाले । आज साइकोग्राफिक प्रोफाइलिङ केवल राजनीतिमा सीमित छैन; यो व्यापार, विज्ञापन र मनोरञ्जनमा पनि प्रयोग भइरहेको छ ।
तर यसले ‘इको चेम्बर’ बन्ने समस्या पनि जन्माएको छ । जब मानिसले आफ्नै विचारसँग मिल्ने सामग्री मात्र देख्न थाल्छ, तब उसको दृष्टिकोण संकुचित हुन सक्छ । फरक विचारसँग संवाद गर्ने सम्भावना घट्छ । डिजिटल युगले सूचना प्रवाहलाई अभूतपूर्व रूपमा विस्तार गरेको छ, तर यसले नयाँ जिम्मेवारी पनि थपेको छ— सूचना कसरी प्रयोग गर्ने, कसरी नियमन गर्ने र लोकतान्त्रिक मूल्यहरूको रक्षा कसरी गर्ने ?
नेपालको सन्दर्भमा पनि सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा बढिरहेको छ । राजनीतिक बहस, प्रचार र व्यक्तिपूजाको संस्कृति डिजिटल माध्यममा फैलिएको देखिन्छ । धेरै अवस्थामा कुनै व्यक्तिलाई नायक र अर्कोलाई खलनायक बनाउने अभियानहरू चलाइन्छन्, तर ती सामग्री कसको स्वार्थमा फैलाइएका हुन् भन्ने कुरा सामान्य प्रयोगकर्ताले बुझ्न सक्दैनन् । नेपालमा धेरै प्रयोगकर्ता एल्गोरिदम कसरी काम गर्छ भन्ने विषयमा पूर्ण रूपमा सचेत छैनन् । उनीहरूले देखेको सामग्रीलाई नै सम्पूर्ण जनमत ठान्ने प्रवृत्ति देखिन्छ, जबकि त्यो सीमित र छनोट गरिएको संसार मात्र हुन सक्छ । हालै सम्पन्न निर्वाचनमा पनि उल्लेखनीय परिवर्तन देखियो । धेरै मतदाताले परम्परागत राजनीतिप्रति असन्तोष जनाउँदै नयाँ शक्तिप्रति समर्थन गरेका छन् । यसले नागरिकमा परिवर्तनको अपेक्षा बढेको संकेत दिन्छ । तर यसमा अर्को पक्ष पनि छ— धेरै मतदाताले उम्मेदवारको व्यक्तिगत पृष्ठभूमिभन्दा पार्टी र नेतृत्वको छविलाई प्राथमिकता दिएका देखिन्छन् ।
यसरी हेर्दा यो परिणाम केवल चुनावी आँकडा मात्र नभई परिवर्तनप्रतिको विश्वासको अभिव्यक्ति पनि हो । तर विश्वका अनुभवहरूले सावधानी अपनाउनुपर्ने सन्देश दिन्छन् । भावनात्मक माहोलमा गरिएका निर्णयहरूले सधैं अपेक्षित परिणाम दिन्छन् भन्ने निश्चित हुँदैन । आज ‘सूचना युद्ध’ भन्ने अवधारणा पनि चर्चामा छ । विभिन्न देशहरूले डिजिटल माध्यम प्रयोग गरेर जनमतलाई प्रभावित गर्ने प्रयास गर्छन् भन्ने आशंका गरिन्छ । यस सन्दर्भमा डिजिटल साक्षरता अत्यन्त महत्वपूर्ण छ । नागरिकले सूचना सत्य हो कि होइन भनेर जाँच गर्ने क्षमता विकास गर्न आवश्यक छ । तथ्य जाँच गर्ने बानी, आलोचनात्मक सोच र जिम्मेवार प्रयोगले मात्र समाजलाई गलत सूचनाबाट जोगाउन सक्छ । साइकोग्राफिक प्रोफाइलिङले एउटा स्पष्ट सन्देश दिन्छ—राजनीति अब केवल परम्परागत माध्यममा सीमित छैन । डेटा, एल्गोरिदम र डिजिटल रणनीति शक्तिशाली उपकरण बनेका छन् । सामाजिक सञ्जालले जनमत निर्माणलाई तीव्र बनाएको छ, तर यसले जोखिम पनि बढाएको छ ।
तसर्थ के देखिन्छ भने डिजिटल युगमा सूचना, डेटा र एल्गोरिदमले राजनीतिमा पारेको गहिरो छ । साइकोग्राफिक प्रोफाइलिङ र माइक्रो टार्गेटिङ जस्ता प्रविधिले मतदाताको मनोविज्ञान बुझेर लक्षित सन्देश प्रवाह गर्ने प्रवृत्ति बेलायतमा ब्रेक्जिटका बेला र सन् २०१६ को अमेरिकी चुनावमा देखिए । यद्यपि, चुनावी परिणाम केवल डिजिटल रणनीतिबाट मात्र निर्धारित हुँदैनन्, सामाजिक, आर्थिक र सांस्कृतिक कारकहरू पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । आज नेपालमा सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा बढ्दो छ, जहाँ मतदाताले सीमित र एल्गोरिदमद्वारा छनोट गरिएको सूचना मात्र देख्ने जोखिम छ । यसले ‘इको चेम्बर’ निर्माण गरी आलोचनात्मक सोच कमजोर बनाउन सक्ने हुँदा डिजिटल साक्षरता, तथ्य जाँच र जिम्मेवार नागरिक चेतनाको आवश्यकता टड्कारो देखिन्छ ।
त्यसैले, आजको नेपाली नागरिक केवल मतदाता भएर पुग्दैन; ऊ सचेत डिजिटल प्रयोगकर्ता पनि हुनुपर्छ । परिवर्तनको नाममा दिएको समर्थनलाई जवाफदेही बनाउनु लोकतान्त्रिक कर्तव्य हो । सामाजिक सञ्जालमा हुने बहसलाई केवल मनोरञ्जनमा सीमित नराखी नीतिगत बहस र जवाफदेहितातर्फ केन्द्रित गर्न आवश्यक छ । यदि नागरिक सचेत छैनन् भने भावनात्मक निर्णयहरूले निराशा निम्त्याउन सक्छन् । त्यसैले कुनै पनि सूचना देख्नेबित्तिकै त्यसको स्रोत, उद्देश्य र विश्वसनीयता जाँच्ने बानी विकास गर्नु अत्यन्त आवश्यक छ । यही विवेकी दृष्टिकोणले मात्र डिजिटल युगमा फैलिने भ्रम, प्रचार र गलत सूचनाबाट समाजलाई सुरक्षित राख्न सक्छ र लोकतन्त्रलाई सुदृढ बनाउन मद्दत गर्छ ।
(लेखक समसामयिक विषयमा टिप्पणी गर्छन् ।)