नेभिगेशन
दृष्टिकोण

भगवान् महावीरको जयन्तीः कल्याणक दिवस

भगवान महावीरका अनुयायीहरुलाई जैन भनिन्छ । किनभने भगवान महावीरलाई जिन भनिन्छ । जिनको अर्थ हो – विजेता अर्थात जस्ले आफ्नो इन्द्रिय र मनलाई विजय प्राप्त गरेको छ । महावरिले कठोर तपस्या र आत्म संयम द्वारा आफ्नो मन, वचन र कर्ममा विजय प्राप्त गरेका थिए । यसैले जिन भनिएको 
हो । 
    जैन धर्मावलम्बीहरुले भगवान महावीरको जयन्ती कल्याणक दिवसको रुपमा वडो धुमधामका साथ मनाउँछन । 
    जैन धर्मको आदर्शमा तीनवटा मन्त्रहरु छन । प्रकृतिको अत्यन्तै नजिक रहेका यस मन्त्रहरुलाई हामी सबैले सिक्न अनि मनन् गर्न जरुरी छ । ती तीनवटा मन्त्रहरु हुन अहिंसा, अनेकान्तवाद र अपरिग्रह । 
अहिंसा
    अहिंसा अर्थात हरेक प्रकारका हिंसाबाट परै रहने । हिंसा भन्ने वित्तिकै कुनै पनि जनावर या मान्छे मार्ने मात्र नभई आफ्नो वचन मार्फत अरुलाई चित्त दुखाउने र अरुको कुभलो चिताउने र नराम्रो सोच्ने पनि हिंसा नै हो । 
अनेकान्तवाद
    अनेकान्तवाद अर्थात कुनै पनि कुरा या तथ्यलाई सही दृष्टिले हेर्न सक्ने क्षमता अनि कला हो । हामीहरु मध्ये धेरै जनाले पहिल्यै एउटा विशेष विचार अनि धारणाले प्रभावित भएर तथ्य अनि सत्यको मन्थन गर्दछौं, शायद यसै कारणले होला हामीले सत्यको हरेक कोणहरुलाई नियाल्न नसकेको । उदाहरणको लागि कालो चस्मा लगाएको आँखाले त पानी पनि कालै देख्छ नि । यसरी एउटा मात्र नभई अनेक विचार र आदर्शले मात्र सत्यको मन्थन गर्न जैन धर्म र विचारले प्रेरित गर्दछ । 
अपरिग्रह
    अपरिग्रह अर्थात लोभ, लालच अनि  संवेगहरुबाट पर रहन सक्नु अनि आत्म शुद्धि लगायत दान पुण्यका मार्गहरुको पैरवी पनि यस जैन आदर्शहरुले गरेका छन । यिनै जैन धर्मका महान प्रवर्तक स्वमी महावीरको जन्मदिन भव्यताका साथ मनाईंदैछ । महावीरले आफ्नो मन, आफ्नो बोली र आफ्नो शरीर माथि नै नियन्त्रण गरी सांसारिक कुराहरु माथि नियन्त्रण गरी विजय प्राप्त गरेको उल्लेख छ । स्मरण रहोस जैन धर्म सिन्धुघाटी सभ्यताको प्राचीन धर्महरु मध्ये पर्दछ । जैन धर्म अनुसार जीव र अजीव गरी मुख्य दुईवटा पदार्थ तथा बनाउन र हटाउन नसकिने ६ वटा द्रव्यबाट संसार बनेको हुन्छ । जैन धर्ममा ईश्वरलाई सर्व शक्तिशाली त्रिलोक ज्ञाताका रुपमा मात्रै मानिन्छ भने कर्ताका रुपमा जिन अथार्त हरिहन्तलाई मान्दछन । 
जैन धर्ममा २४ तीर्थङ्करहरु
    जैन धर्ममा २४ तीर्थङ्करहरु रहेको उल्लेख गरिएको छ । तीर्थङ्कर भन्नाले धर्मको मूल मर्मलाई अगाडी बढाउने गुरुहरुको पुस्ता र नेतृत्वलाई बुझिन्छ । पहिलो तीर्थङ्कर ऋषभदेव र अन्ति तीर्थङ्कर स्वामी महावीर नै हुनुहुन्छ । 
महावीरको जन्म
    महावीरको जन्म ईशा पूर्व ५९९ मा विहारको कुंडलपुरमा लिच्छवी वंशका राजा श्री सिद्धार्थ र रानी त्रिशला देवीको कोखबाट भएको थियो । महावीरको जन्म हुनु पहिला उनकी माता त्रिशलाले १६ खालका सपना देखेकी थिइन । ती सपनाहरुमा हात्ती, साँडे, सिंह, लक्ष्मी, फूल, पूर्ण चन्द्रमा र सूर्यहरु थिए । जैन धर्ममा ती तीर्थङ्करहरुको जन्म हुनु अगाडि जन्म दिने आमाले उल्लेखित कुराहरु सपनामा देखेको हुन्छन भन्ने मान्यता रहेको छ । 
    जूभिका नाउँ गरेको गाउँस्थित ऋजूकुला नदी किनारमा घोर तपस्या सम्पन्न गर्नु भएको महावीरले वैशाख शुक्ल दशमीका दिन ज्ञान प्राप्त गर्नु भएको थियो । असत्य र समानताका प्रवर्तक महावीर गुरुले वर्ग भेद र आर्थिक असमानता पन्छाउन समताको सिद्धान्त समेत अघि सार्नुभएको थियो । अर्कोतर्फ हिन्दू सनातन शास्त्रहरु ऋग्वेद लगायतका पौराणिक शास्त्रहरुमा पनि जैन धर्मको बारेमा उल्लेख गरिएको हुनाले यो स्पष्ट हुन्छ कि जैन धर्मको अस्तित्व वेद लेखिनु भन्द अगाडि नै थियो । श्री भद्भागवत महापुराणमा प्रथम तीर्थङ्कर श्री ऋषभदेवलाई विष्णुको अनेकौं अवतारको रुपमा चर्चा गरिएको छ । त्यस्तै विष्णु पुराणमा पनि श्री ऋृषभदेव, मनुस्मृतिमा प्रथम जिन अर्थात ऋषभदेव, स्कन्द पुराण र लिङ्ग पुराण आदिमा २२ औं तीर्थङ्कर अंगष्टनेमीका बारेमा उल्लेख गरिएको छ । महावीरलाई फलफूल, चामल, पानी, सुगन्ध र पैसा आदि वस्तु चढाएर पूजा गरिन्छ । महावीर जन्म जयन्तीका अवसरमा जैन मन्दिरहरुलाई विशेष रुपमा सजाउने गरिन्छ । महावीर जयन्तीको अवसरमा जैन धर्मालम्वीहरुले अहिंसा ¥यालीहरु आयोजना गर्दछन । गरिवहरुलाई भोजन जस्ता सेवामूलक काम गर्दछन । काठमाडौ नक्सालको जैन भवन लगायत देशैभरका जैन समुदाय अनि भवनहरुमा विशेष उत्साह रहन्छ । सामुदायिक क्रियाकलाप अनि अत्यन्त मेलमिलापका साथ आपसमा रहेका जैन समुदायहरुबाट हामी सबैले सिक्नु पर्ने कुराहरु धेरै छ । अहिंसा अनि वन्धुत्वका लागि यस समुदायलाई श्रेष्ठ मानिन्छ । हरेक वर्ष चैत्र शुक्ल पक्ष त्रयोदशीका दिन महावीरको जन्म जयन्ती मनाउने गरिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्