नेभिगेशन
उपत्यका

राइड शेयरिङको गुनासो बढ्दै, व्यवस्थित गर्नुपर्ने दबाब

काठमाडौं । ‘राइड शेयरिङ’ चालकले मनोमानी पैसा असुल्ने, बार्गेनिङ गर्ने र अनलाइन नलिई अफलाइन चलाउने गुनासो बढेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । ट्राफिक प्रहरीले प्रहरीले विशेष चेकिङ अभियान सञ्चालन गर्दै ‘राइड शेयरिङ’ सवारीमाथि कडा निगरानी बढाएको हो ।
चैतको दोस्रो साता ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष कारबाही अभियानको तीन दिनमा झण्डै चार सय चालक कारबाहीमा परेका छन् । चेकिङ अभियानका क्रममा नियमविपरीत सञ्चालन भइरहेका र जथाभावी राइड शेयरिङ चलाउनेहरूमाथिको निगरानी बढाइएको थियो । ‘खासगरी अनलाइन अनुमति नलिई अफलाइन सवारी सञ्चालन गर्ने, जथाभावी पिक एण्ड ड्रप गर्ने तथा सवारीसाधन मापदण्डअनुसार नभएको समस्या देखिएको छ,’ ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भने, ‘यस्ता गतिविधिले सडक सुरक्षा र यातायात व्यवस्थापनमा नकारात्मक प्रभाव पार्ने भएकाले विशेष अभियान चलाइएको हो ।’
पठाओ, टुटल, यांगो, इनड्राइभ जस्ता राइडिङ सेयररिङले आमसर्वसाधारणको दैनिकी सहज बनाएका छन् भने यसले युवाहरूलाई आयआर्जनमा संलग्न हुने अवसर पनि दिएको छ । झन्डै चार लाख युवा राइड शेयरिङमार्फत स्वरोजार भएको राइड शेयरिङ कम्पनीको दाबी रहँदै आएको छ । तर सडक सुरक्षा र सार्वजनिक स्थलमा अपनाउनु पर्ने यातायात सम्बन्धी नियमनको पालना नहुँदा यात्रुहरू पनि जोखिममा यात्रा गर्नुपर्ने बाध्यतामा रहेका छन् ।
कम्पनीमा दर्ता भएर अनलाइनमा सेवा दिनेभन्दा पनि दर्ता नभई अफलाइनमा मोलमोलाइ गर्नेको संख्या बढ्दै गएको अनुमान गरिएको छ । यसको कानूनी व्यवस्थापन नहुँदा सम्भावित दुर्घटना पनि बढ्ने सुवेदी बताउँछन् । राइड शेयरिङका लागि निमार्णाधीन कानून बनेपछि धेरै समस्या समाधान हुने उनको अपेक्षा छ ।
तर, यातायात व्यावसायीहरू भने राइड शेयरिङप्रति खुसी छैनन् । राइड शेयरिङले आफूहरूको व्यवसायमा धक्का लागेको उनीहरूको भित्री गुनासो रहेको छ । यातायात व्यावसायी आफूहरू सार्वजनिक यातायातको अनुमति र करको दायरमा रहेको जिकिर गर्दै निजी सवारीले सार्वजनिक यातायातको सेवा दिन नमिल्ने तर्क गर्छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर भन्छन्, ‘सुविधाका हिसाबले सबैलाई सजिलो भएको छ तर यसको व्यवस्थापनमा कठिनाई देखिएको छ । कानूनतः रातो नम्बर प्लेटले यात्रु बोक्न पाउँदैन । कानून नबन्दासम्म संवेदनशील अवस्था छ ।’
राइड शेयरिङमा हिँड्ने बाइकवाला ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो गर्छन् । ‘हामीलाई ट्याक्सी र बसवालाहरूले सौताको छोराजस्तो व्यवहार गर्छन्,’ बाइकमा राइड शेयरिङ गर्दै हिँड्ने मिसन लामा बताउँछन्, ‘ट्राफिकले पनि कहिँ रोक्न पनि नदिने, मान्छे चढाउन पनि नदिने गर्दा लुकीलुकी हिँड्नुपर्ने अवस्था छ ।’ केही राइड शेयरिङवालाहरूले नियम नमाने पनि अधिकांशको रोजीरोटी यसैबाट चल्ने भएकाले धेरैले नियमसंगत ढंगले काम गरिरहेको जिकिर गर्दै उनले नियम विपरीत काम गर्नेलाई कारबाही हुनु स्वभाविक भएको बताउँदै राइड शेयरिङलाई व्यवस्थित गर्नुपर्ने बेला भइसकेको बताए ।
व्यवस्थित गर्नुपर्छ, रोक्न मिल्दैन
महानगरले बाटो बडार्ने गाडी ल्याउँदा पनि विरोध भएको घटना स्मरण गराउँदै त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका सहप्राध्यापक गेहेन्द्रप्रसाद दाहाल नेपालमा हरेक क्षेत्रमा नयाँ सेवा सुरु हुँदा विरोध हुने गरेको स्मरण गराउँदै उनी युवा स्वरोजगारको अवसर दिएको राइड शेयरिङलाई नियमको दायरामा ल्याएर सञ्चालन गर्नुपर्ने बताउँछन् । ‘मुलुकले रोजगारी सिर्जना गर्न नसकेर साराका सारा युवा विदेशिएको अवस्थामा राइड शेयरिङले केही मात्रामा भए पनि रोजगारी दिएको छ,’ दाहाल भन्छन्, ‘यसले सार्वजनिक यातायातको आयको केही अंश लिए पनि अरु कुनै हिसाबले नराम्रो प्रभाव देखाएको छैन । त्यसैले यसलाई नियमन गर्ने कानून बनाउनुपर्छ बन्द गर्ने साँघुरो पार्ने काम गर्नुहुँदैन ।’
युवा स्वरोजगारले सामाजिक आर्थिक अवस्था सुधार्ने हुँदा युवालाई रोजगारी दिने कुनै पनि राम्रो कुरा आएको छ भने सरकारले त्यसलाई निमयको दायरामा ल्याएर व्यवस्थित गर्दै लानु पर्ने उनको सुझाव छ । ‘हिजो नाकावन्दीको दिनमा पारीबाट वारी पेट्रोल ल्याएर बेच्ने काममा युवाहरू संलग्न हुँदा तराईका जिल्लामा चोरी, ठगी र डकैतीका घटना शून्य हुन पुगको प्रहरीको प्रतिवेदनले देखाएको थियो । यसर्थ सामाजिक अमनचयन कायम गर्न युवालाई सिर्जनात्मक काममा संलग्न गराउनुपर्ने चुनौतीलाई राइड शेयरिङले सम्बोधन गरेको सन्दर्भमा यसलाई साँघुरो पार्ने होइन फस्टाउने वातावरण दिनुपर्छ,’ सहप्राध्यापक दाहाल भन्छन्, ‘हिजोका दिनमा जसरी सफा टेम्पोलाई स्वरोजगारको माध्यमका रूपमा प्रवर्धन गरिएको थियो । आज त्यस्तै काम राइड शेयरिङले गरेको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्