नेभिगेशन
विश्व

पुस्तक पढे कैद सजाय छुट !

रियो दि जेनेरियो (एपी) । एमिली डे सुजाले जब एउटा पुस्तक पढेबापत आफ्नो जेल सजायबाट चार दिन कट्टा गर्न सकिने कार्यक्रमबारे सुनिन्, अनौठो लाग्यो । ३३ वर्षीया यी ब्राजिली महिलाले आफ्नो एउटा प्रिय बानीलाई पुनर्जीवित गर्ने अवसरका रूपमा यसलाई उपयोग गरिन् ।
ब्राजिलमा देशभरका दशौँ हजार थुनुवाहरूजस्तै उनले पनि सजाय घटाउने कार्यक्रममा नाम दर्ता गराइन् । जसमा पूर्व राष्ट्रपति जायर बोल्सोनारो पनि सामेल छन् । यो यस्तो कार्यक्रम हो जसले कैदीहरूलाई साहित्यिक कृतिहरूमा डुब्न प्रोत्साहित गर्छ, जसबापत उनीहरूले वर्षमा ४८ दिनसम्मको सजाय कम गराउन सक्छन् ।
आफ्नो नौ वर्षीय अटिस्टिक छोरासँग चाँडै भेट हुन पाउने सम्भावनाले सुजालाई यस परियोजनामा सहभागी हुन थप ऊर्जा दिएको छ । हाल उनका छोरालाई आमा र सानीआमाले हेरचाह गरिरहेका छन् । ८२० जना महिला कैदी रहेको रियो दि जेनेरियोस्थित ज्यानिरा डोलोरेस डे ओलिभेरा महिला कारागारमा सजाय काटिरहेकी सुजा भन्छिन्, ‘यहाँ एक दिन पनि अनन्तकाल जस्तो लाग्छ, किनकि यो कहिल्यै नसकिने जस्तो महसुस हुन्छ ।’
पढ्नु भनेको उनका लागि एक प्रकारको मुक्ति जस्तै हो । उनी भन्छिन्, ‘यो वातावरणबाट केही समयका लागि बाहिर निस्कन, अन्य कथाहरू र मानिसहरूबारे सोच्न यसले मद्दत गर्छ, केवल मेरै बारेमा मात्र सोचिरहनु पर्दैन ।’ अन्य धेरै कैदीहरूजस्तै सुजा पनि लागुऔषध ओसारपसारको आरोपमा जेल परेकी हुन् । गाँजा मिसाइएको ब्रिगाडेइरो नामक ब्राजिली चकलेट बेचेको आरोपमा उनलाई पाँच वर्षको जेल सजाय भएको थियो । गत नोभेम्बरमा जेल आएकी उनी आगामी अगस्टदेखि ‘सेमी–ओपन’ जेल प्रणालीमा जान पाउने आशामा छिन्, जसले उनलाई दिउँसो काममा जान अनुमति दिनेछ ।
ल्याटिन अमेरिकामा प्रतिव्यक्ति कैद दर उच्च रहेका मुलुकहरूमध्ये ब्राजिल, पढाइका माध्यमबाट सजाय माफी दिने विश्वकै सबैभन्दा व्यवस्थित र राष्ट्रव्यापी प्रणाली भएको रूपमा चिनिन्छ । सन् २०१२ बाट औपचारिक रूपमा सुरु भई २०२१ मा देशभर लागू गरिएको यो कार्यक्रमले यसै वर्ष थप चर्चा पायो, जब सर्वोच्च अदालतले ‘कू’ (सत्ता कब्जा) को प्रयासमा २७ वर्षको सजाय काटिरहेका पूर्व राष्ट्रपति बोल्सोनारोलाई पनि यसमा सहभागी हुन अनुमति दियो ।
रियो राज्यका कारागारहरूमा महिला तथा यौनिक एवम् लैंगिक अल्पसंख्यक समावेशीकरण संयोजक आन्द्रेइया ओलिभेराका अनुसार शिक्षा र पठनपाठनमा पहुँचले कैदीलाई जेलबाट निस्किएपछि मात्र होइन, समाजलाई पनि फाइदा पुग्छ । उनी भन्छिन्, ‘जब हामी शिक्षा र ज्ञानलाई प्रोत्साहन गर्छौं । हामीले समाजमा यस्तो व्यक्ति फिर्ता पठाउँछौं, जो नियमहरूको सम्मान गर्न र पुनः घुलमिल हुन सक्छ ।’
सन् २०२२ देखि साहित्यका प्राध्यापक पाउलो रोबर्टो टोनानीले रियोका जेलहरूमा कार्यशालाहरू सञ्चालन गर्दै आएका छन् । सहभागीहरूले सुरुमा एउटा पुस्तक छान्छन्, त्यसपछि अर्को भेटमा त्यसबारे छलफल गर्छन् र तेस्रो भेटमा आफूले बुझेका कुरालाई समीक्षा वा चित्रका रूपमा प्रस्तुत गर्छन् । कैदीहरूले जोर्ज अमाडो, फ्योदोर दोस्तोएभ्स्की र एलीस वाकर जस्ता प्रसिद्ध लेखकका कृतिहरू पढ्ने गरेका छन् । धेरै कैदीहरू गरिब पृष्ठभूमिबाट आएका र आधारभूत शिक्षा समेत पूरा नगरेका हुनाले उनीहरूका लागि चित्रसहितका बालसाहित्यहरू पनि रुचाइएका छन् ।
पर्नाम्बुको राज्यकी ५० वर्षीया सेलिना मारिया डे कोन्सेइसो भन्छिन्, ‘हामी यहाँ थुनिएका छौं र यहाँ निकै तनाव र हल्ला हुन्छ । यसले हामीलाई अन्य ठाउँमा पुग्न, मानिसहरूसँग अन्तरक्रिया गर्न र राम्रा कुराहरूमा छलफल गर्न मद्दत गर्छ ।’
यद्यपि, सबैका लागि यो सहज छैन । सेलिनाले अश्वेत महिलामाथि हुने हिंसाको कथा समेटिएको एक पुस्तक पढ्न छोडिन् किनकि त्यसले उनको भावनालाई निकै विक्षिप्त बनायो । ब्राजिली जेलहरू अत्यधिक भिडभाड र कठोर अवस्थाका लागि चिनिन्छन् । २०२३ मा सर्वोच्च अदालतले जेल प्रणालीमा मानवअधिकारको व्यापक उल्लंघन भएको स्वीकार गर्दै सरकारलाई अवस्था सुधार्न आदेश दिएको थियो ।
राष्ट्रिय दण्ड नीति सचिवालयका अधिकारी रोड्रिगो डियासका अनुसार ब्राजिलभर पढाइका माध्यमबाट सजाय घटाउने अवसर समान छैन । केही राज्यमा कैदीहरूलाई ३०० पुस्तक भएका ‘किन्डल’ (ई–बुक रिडर) दिइएको छ भने केही अनुदार राज्यहरूमा झन्झटिलो प्रशासनिक प्रक्रियाले गर्दा यसमा पहुँच कठिन छ । सन् २०२३ को एक प्रतिवेदन अनुसार ३० प्रतिशत ब्राजिली जेलमा पुस्तकालय वा पर्याप्त पढ्ने ठाउँ छैन । तर, सन् २०२१ यता पढाइका आधारमा सजाय माफी माग्नेहरूको संख्या सात गुणाले बढेको छ ।
फ्लुमिनेन्स फेडरल युनिभर्सिटीका प्राध्यापक एलिओनाल्डो फर्नान्डेज जुलियाओ भने जेलमा शिक्षाको पहुँच महँगो हुने भएकाले सरकारले त्यसको विकल्पका रूपमा यस्ता सस्तो कार्यक्रम ल्याएको तर्क गर्छन् ।
हालैको कार्यशालामा सुजाले अर्जेन्टिनी लेखक लिलियाना काब्रेराको एउटा कविता वाचन गरिन् । त्यसको एउटा हरफले भन्छ, ‘म अदालतको मुद्दाका काला अक्षरहरूभन्दा पनि धेरै केही हुँ ।’ यी शब्दहरूले आफ्नो मन छोएको सुजा बताउँदै उनले भनिन्, ‘कसैले सुन्दर शब्दमा यो बुझाइदियो कि म केवल एउटा मुद्दा वा मैले गरेको गल्ती मात्र होइन, म त आफ्नो कथा भएको एउटा मानिस हुँ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्