नेभिगेशन
सूचना प्रविधि

एआईको सस्तो ज्ञानको युगमा मान्छेको मूल्य

हरेक प्रविधिगत क्रान्तिले अघिल्लो प्रविधिलाई प्रतिस्थापन गर्दै आएको छ । जस्तै, चर्खालाई मेसिनले विस्थापित ग¥यो, ट्रयाक्टरले कोदालोलाई र अहिले विद्युतीय सवारी साधनले इन्धन इन्जिनलाई प्रतिस्थापन गरिरहेको छ । तर यी सबै परिवर्तनमा मानिस प्रयोगकर्ता नै थिए । ती सबैमा मान्छेको आवश्यकता झन् बढी थियो, ऊ सारा प्रक्रियाको केन्द्रमा थियो ।
यसपटक भने अवस्था फरक छ । अहिले स्वचालित हुँदै गरेको वस्तु कुनै भौतिक उपकरण होइन, ज्ञान हो । यो ज्ञान डिजिटल रूपमा सर्वसुलभ, सस्तो र इन्टरनेट भएको जोसुकैले प्रयोग गर्न सक्ने बनाइएको छ । त्यसैले एआईले काम मात्र होइन, उनीहरूको पहिचान नै खोस्न सक्छ भनेर धेरै मानिस डराइरहेका छन् ।
एआईप्रति भय मान्नेहरू पूर्ण रूपमा गलत भने छैनन् । तर अहिले देखिएको समस्या प्रतिस्थापनभन्दा बढी विस्थापनको हो र यो भिन्नता बुझ्नु अत्यन्त महŒवपूर्ण छ ।
अचेल कम्पनीहरूले कर्मचारी कटौती गरिरहेको समाचार धेरै देखिन्छन्, तर त्यसले एउटा ठूलो सत्य लुकाइरहेको छ । हराएका पदहरू पुनः सिर्जना भइरहेका छैनन् । विशेष गरी जसले नयाँ पुस्तालाई उद्योगमा प्रवेश गराउँथे ती शुरूवाती तहका जागिरहरू पूरै हराइसकेका छन् या हराउने क्रममा छन् । यसले ‘ह्वाइट कलर’ रोजगारी बजारलाई बिस्तारै साँघुरो बनाउँदैछ । अहिलेलाई त्यहाँ कुनै ठूलो संकटको क्षण देखिएको त छैन तर नयाँ पुस्ताका पेशेवरहरू भने प्रवेश नै गर्न नसक्ने अवस्थामा पुगिरहेका छन् ।
अहिले सफेदपोश क्षेत्रमा प्रति १०० कर्मचारीमा जम्मा १.६ वटा मात्र जागिर उपलब्ध छन्, जुन २०१५ यताकै न्यून स्तर हो । नयाँ स्नातकहरूका लागि त यो पछिल्ला ३७ वर्षकै सबैभन्दा खराब रोजगारी अवस्था बनेको छ ।
ठूला कम्पनीहरूले पनि यही प्रवृत्ति अपनाइरहेका छन् । कतिपय कम्पनीहरूले ठूलो संख्यामा कर्मचारी हटाउँदै छन् र त्यसको सट्टामा एआई प्रणाली विकास गरिरहेका छन् । अर्थात्, ‘पहिले निकाल, पछि स्वचालन गर’ भन्ने रणनीति देखिन थालेको छ ।
हालै समाचारमा के पढ्न पाइयो भने अमेजन कम्पनीले पहिला कम्पनीलाई अटोमेसनमा लैजान इन्जिनियरहरुलाई काम दियो र जब कम्पनी अटोमेसनमा गयो, तिनै इन्जिनियरहरुलाई निकाल्यो । यस्तो क्रम अब झनै बढेर जानेछन् ।
तर यसमा एउटा सकारात्मक पक्ष पनि छ । एआई र श्रम बजारबारे धेरै विश्लेषणमा एउटा ठूलो गल्ती हुन्छ, काम (जब) र कार्य (टास्क) लाई एउटै ठान्ने । उदाहरणका लागि, रेडियोलोजिस्टलाई हेरौँ । केही वर्षअघि एआईले स्क्यान पढ्नमा उनीहरूलाई छिट्टै प्रतिस्थापन गर्ने भविष्यवाणी गरिएको थियो । तर आज रेडियोलोजिस्टको संख्या र आम्दानी दुवै बढेको छ । किनभने उनीहरूको काम तस्बिर पहिचान गर्नु मात्र होइन । उनीहरूले केस वर्गीकरण गर्छन्, चिकित्सकसँग समन्वय गर्छन्, प्रशिक्षण दिन्छन् र अन्तिम निर्णय लिन्छन् ।
यसको अर्थ श्रम बजारले एउटा ‘प्याकेज सेवा’ किनिरहेको हुन्छ । एआईले त्यसभित्रका केही काम गर्न सक्छ तर त्यसले सम्पूर्ण पेशाको मूल्य घटाउँदैन, बरु कहिलेकाहीँ अझ बढाउँछ ।
एआईले मुख्य प्रश्न उठाउँछ, के कुनै कामलाई समग्र पेशाबाट अलग गर्न सकिन्छ ? मानव केन्द्रित कामहरू जसमा विश्वास, उपस्थिति, निर्णय र जिम्मेवारीजस्ता कुरा हुन्छन्, तिनले यी कामलाई यति गहिरोसँग जोडेका हुन्छन् कि तिनलाई अलग गर्दा पूरै काम बिग्रन्छ ।
जस्तै, कुनै सम्झौता गर्दा एआईसँग हात मिलाउन सकिँदैन वा कुनै सम्बन्ध निर्माण गर्न च्याटबोटसँग डिनर गर्न सकिँदैन । कारखाना स्वचालित हुन सक्छन् तर समाज, जसले संस्कृति, सम्बन्ध र शक्ति संरचना निर्माण गर्छ, त्यसलाई सजिलै स्वचालित बनाउन सकिँदैन ।
जब एआई कुनै संस्थामा प्रवेश गर्छ, त्यसले दुईवटा काम गर्छ । पहिलो, यसले सामान्य र दोहोरिने कामहरू स्वचालित गरेर तल्लो तहको काम हटाउँछ । दोस्रो, अनुभवी व्यक्तिको उत्पादन क्षमता बढाउँछ । तर बीचको विकास यात्रा भने हराउँदै जान्छ । खासमा जुन ठाउँमा नयाँ व्यक्तिहरू सिकेर अगाडि बढ्छन्, त्यो पूरै हराउन पुग्छ ।
आज एआईले कोड लेख्न, कानूनी दस्तावेज तयार पार्न र डाटा विश्लेषण गर्न सक्छ । यी नै कामहरू पहिले नव जागिरेहरूले सिकाइको क्रममा गर्थे । कुनै पनि विशेषज्ञ एकैपटक तयार हुँदैन । उनीहरू यिनै साना कामहरूको अनुभवबाट बिस्तारै विकसित हुन्छन् तर अहिले त्यो अवसर नै हराउँदै गएको छ ।
अझ विडम्बना त के छ भने, एआईले एउटा काम गर्न सक्दैन । मानव निर्णय क्षमताको काम । त्यो प्रतिस्थापन गर्न नसक्ने दक्षता नै यसले कमजोर पारिरहेको छ । मानिसहरूले सोच्ने काम मेसिनलाई सुम्पिँदा दिमागको ‘मांसपेशी’ नै कमजोर हुँदै जान्छ ।
एआईले गलत उत्तर दिए पनि मानिसहरूले करिब ८० प्रतिशत अवस्थामा त्यसैलाई पछ्याउने गरेको एउटा अध्ययनले देखाएको छ । अझ खराब, गलत सुझाव पाउँदा उनीहरूको निर्णय क्षमता झन् कमजोर हुन्छ र उनीहरू एआईभन्दा पनि खराब प्रदर्शन गर्छन् तर त्यही अवस्थामा पनि उनीहरूको आत्मविश्वास भने बढेको हुन्छ ।
दिमागको यस्तो अवस्थालाई ‘कग्निटिभ सरेन्डर’ भनिन्छ । यस्तो हुँदा पनि मानिसले आफूले सोच्न छोडेको महसूस नै गर्दैन । यसले श्रम बजारलाई दुई भागमा विभाजन गर्दैछ । एकातिर एआईलाई शक्तिशाली उपकरणका रूपमा प्रयोग गर्ने ‘सुपर प्रयोगकर्ता’ र अर्कोतिर सामान्य रूपमा प्रयोग गर्ने तर त्यसको असर नबुझ्ने ‘निष्क्रिय प्रयोगकर्ता’ । आगामी दशकमा यही विभाजन ठूलो असमानताको कारक बन्न सक्छ । तर धेरै युवाका लागि सबैभन्दा ठूलो समस्या भनेको रोजगारीमा प्रवेश नै गर्न नसक्नु हो । उनीहरूले सुरुवात गर्ने अवसर नै पाएनन् भने, भविष्यमा आफ्नो निर्णय क्षमता विकास गर्ने अवसर पनि गुमाउँछन् ।
विडम्बना, एआईमार्फत यी अवसर हटाउनेहरू प्रायः अनुभवी र शक्तिशाली व्यक्तिहरू नै हुन् । उनीहरू आफैँ त्यही सिँढी चढेर सफल भएका हुन्  तर अहिले उनीहरू नै त्यो सिँढी हटाइरहेका छन् । यी प्रारम्भिक तहका कामहरू कुनै ‘अप्रभावकारिता’ होइनन्, बरु पेशा विकासका आधार हुन् । तिनलाई हटाउँदा नयाँ पुस्ता होइन, भविष्यका नेतृत्वकर्ता उत्पादन गर्ने प्रणाली कमजोर बन्न पुग्छ ।
विगतमा ‘मेहनत गर, ज्ञान हासिल गर, सफल बन’ भन्ने सिद्धान्त चल्थ्यो तर अहिले एआईले देखाइदिएको छ,  ज्ञान नै निर्णायक शक्ति थिएन । अब सफलता केमा निर्भर हुन्छ भन्ने प्रश्न फेरि उठेको छ । अब एआईको युगमा सफलता ज्ञान वा सीपमा मात्र होइन, सम्बन्धमा निर्भर हुँदै गएको छ । ‘तिमी के जान्दछौ’ भन्दा ‘तिमी कसलाई चिन्छौ’ भन्ने कुरा महŒवपूर्ण बन्न थालेको छ ।
यसरी एआईले मानिसलाई पूर्ण रूपमा हटाएको छैन तर विस्थापनको पीडा भने गहिरो छ । र, त्यो सबैभन्दा कम महसूस गर्नेहरू तिनै हुन्, जो पहिल्यै सबैभन्दा सुरक्षित अवस्थामा थिए । (द स्पेक्टेटर म्यागेजिनबाट साभार)

एआई डाटा सेन्टरका कारण ताप बढ्दो
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सञ्चालनका लागि बनाइएका डाटा सेन्टरहरूले यति धेरै तातो उत्पन्न गर्छन् कि तिनले आफ्नो वरपरको जमिनको तापक्रम धेरै डिग्रीले बढाउन सक्छन् । यसले गर्दा ‘डाटा सेन्टर हिट आइल्याण्ड’ (गर्मी टापु) बनिरहेका छन् । जस कारण अहिले नै करिब ३४ करोड मानिस प्रभावित भइरहेका हुन सक्ने एउटा अध्ययनले देखाएको छ ।
विश्वभर निर्माण हुने डाटा सेन्टरहरूको संख्या निकै बढ्ने अनुमान गरिएको छ । घरजग्गासम्बन्धी कम्पनी जेएलएलका अनुसार सन् २०२५ देखि २०३० को बीचमा डाटा सेन्टरको क्षमता दोब्बर हुनेछ, जसमा आधा माग एआईकै कारण हुने अपेक्षा गरिएको छ ।
क्याम्ब्रिज विश्वविद्यालयका एन्ड्रिया मारिनोनी र उनका सहकर्मीहरूले पछिल्लो समय डाटा सेन्टर चलाउन आवश्यक ऊर्जाको मात्रा लगातार बढिरहेको र आगामी वर्षहरूमा यो निकै तीव्र हुने देखेका थिए । त्यसैले उनीहरू यसको प्रभाव कति हुन्छ भनेर मापन गर्न चाहन्थे । अनुसन्धानकर्ताहरूले विगत २० वर्षको भू–सतहको तापक्रमका भूउपग्रह मापनहरू लिए र तिनलाई ८,४०० भन्दा बढी एआई डाटा सेन्टरहरूको भौगोलिक अवस्थितिसँग तुलना गरे ।
सतहको तापक्रम अन्य कारकहरूबाट पनि प्रभावित हुन सक्ने कुरालाई ध्यानमा राख्दै अनुसन्धानकर्ताहरूले घना बस्तीभन्दा टाढा रहेका डाटा सेन्टरहरूमा मात्र ध्यान केन्द्रित गरे । उनीहरूले के पत्ता लगाए भने, एआई डाटा सेन्टर सञ्चालनमा आएका महिनाहरूमा जमिनको सतहको तापक्रम औसतमा २ डिग्री सेल्सियस (३.६ डिग्री फरेनहाइट) ले बढेको थियो । सबैभन्दा गम्भीर अवस्थामा भने तापक्रम ९.१ डिग्री सेल्सियस (१६.४ डिग्री फरेनहाइट) सम्म बढेको पाइयो ।
यो प्रभाव डाटा सेन्टरको नजिकैको क्षेत्रमा मात्र सीमित थिएन । टोलीले १० किलोमिटर टाढासम्म पनि तापक्रम बढेको फेला पारे । ७ किलोमिटरको दूरीमा पुग्दा तापक्रम बढ्ने क्रममा जम्मा ३० प्रतिशतले मात्र कमी आएको थियो । मारिनोनी भन्छन्, ‘हामीले पाएको नतिजा निकै आश्चर्यजनक थियो, यो पछि गएर ठूलो समस्या बन्न सक्छ ।’
जनसंख्याको तथ्याङ्क प्रयोग गरेर अनुसन्धानकर्ताहरूले के अनुमान गरेका छन् भने ३४ करोडभन्दा बढी मानिस डाटा सेन्टरको १० किलोमिटर क्षेत्रभित्र बसोबास गर्छन् । यसको अर्थ उनीहरू डाटा सेन्टर नहुँदाको तुलनामा बढी तातो ठाउँमा बसिरहेका छन् । मारिनोनीका अनुसार मेक्सिकोको बाहिरी क्षेत्र र स्पेनको एरागोन प्रान्त जस्ता ठाउँहरूमा सन् २००४ देखि २०२४ को बीचमा तापक्रम २ डिग्री सेल्सियसले बढेको थियो । यसरी तापक्रम बढ्नुको अन्य कुनै कारण फेला पारिएको थिएन ।
बेलायतको ब्रिस्टल विश्वविद्यालयका क्रिस प्रिस्ट भने यो नतिजा देखिनेभन्दा अलि फरक हुन सक्ने बताउँछन् । उनी भन्छन्, ‘कम्प्युटिङबाट निस्किएको तातो कति हो र भवनकै कारणले गर्दा भएको गर्मी कति हो भन्ने बुझ्न थप अनुसन्धान गर्नु उपयुक्त हुनेछ ।’ उनले घामका कारण भवन तातेर पनि यस्तो असर परेको हुन सक्ने संकेत गरे ।
जुनसुकै कारणले भए पनि डाटा सेन्टरले जमिनको तापक्रम बढाइरहेको मारिनोनी बताउँछन् । उनी भन्छन्, ‘म के सन्देश दिन चाहन्छु भने, डाटा सेन्टरहरूको डिजाइन र विकास गर्दा हामी निकै सावधान हुनुपर्छ ।’

(न्यू साइन्टिस्टको रिपोर्ट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्