नेभिगेशन
अर्थतन्त्र

व्यवसाय गर्न प्लेटफर्म, मार्गदर्शन र एक्सपोजरको कमीको खाडल हटाइनुपर्छः कमला श्रेष्ठ, उपाध्यक्ष (महिला) उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी छ । औद्योगिक, व्यापारिक र व्यवसायी समुदायलाई समन्वय गर्दै नीति‑निर्माण, सरकारसँगको सम्बन्ध र समग्र अर्थतन्त्रमा प्रतिनिधित्व गर्न महŒवपूर्ण भूमिका खेल्दै आएको देशकै सबैभन्दा ठूलो र प्रभावशाली निजी क्षेत्रको छाता संगठन महासंघको चैत २९ र ३० गते हुन लागेको ६०औं वार्षिक साधारणसभाले नेतृत्व चयनका लागि निर्वाचन गर्दैछ । महासंघको निर्वाचनले संस्थाको आगामी नीति, लगानी वातावरण र सरकारसँगको समन्वयमा समेत दूरगामी असर पार्ने गरी नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको यसपटकको निर्वाचनमा हेमराज ढकाल र अञ्जन श्रेष्ठ गरी दुई समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचनमा सौन्दर्य कला व्यवसायी कमला श्रेष्ठ पनि चर्चामा छिन् । अहिले महासंघको महिला उद्यमी विकास समितिको अध्यक्ष रहेकी श्रेष्ठले यस पटक ढकाल समूहबाट उपाध्यक्ष (महिला) पदका लागि प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएकी छन् । महासंघको नयाँ विधानअनुसार महिला उपाध्यक्षको भूमिका सुनिश्चित गर्न पर्याप्त महिला केन्द्रीय सदस्यको सहभागिता आवश्यक रहेकाले पनि उनले यो पदका लागि उम्मेदवारी दिएकी हुन् । उनी महिलाहरुलाई उद्यमशीलता र आर्थिक निर्णय प्रक्रियामा अझ बढी सहभागी गराउने, सीप तथा क्षमता विकासलाई संस्थाको नीति प्राथमिकतामा राख्ने मुद्दा लिएर प्रतिस्पर्धा गरिरहेकी छन् । उनै श्रेष्ठसँग महासंघको निर्वाचन, उम्मेदवारी र भावी योजनालगायत विषयमा न्यूज२४ दैनिकका प्रधान सम्पादक नवराज चालिसेले गरेको कुराकानीको सम्पादित अंशः 
तपाईंले नेपालमा सौन्दर्य कला व्यवसायी संघ स्थापना गरेर ब्युटिसियन र ब्युटी पार्लरमार्फत महिला उद्यमशीलतामा लामो समयदेखि योगदान दिँदै आउनुभएको छ । अहिले कस्तो चलिरहेको छ व्यवसाय ?  
म यो क्षेत्रमा करिब ४८ वर्षदेखि, अर्थात् चार दशकभन्दा बढी समयदेखि सक्रिय छु र अब पाँच दशकतर्फ उन्मुख हुँदैछु । नेपालमा यस क्षेत्रमा प्रवेश गर्ने पहिलो ब्युटिसियनहरूमध्ये एक हुँ भन्नेमा मलाई गर्व छ, जुन कुरा धेरैले स्वीकार गर्नुभएको छ । थाइल्याण्डमा तालिम लिएर फर्किएपछि पाटनमा पहिलो पटक ब्युटी पार्लर सञ्चालन गर्ने अवसर मैले पाएँ ।  सुरुवाती चरणमा यो व्यवसायलाई व्यवस्थितरूपमा अघि बढाउने योजना बनाए पनि त्यतिबेला परिस्थिति सहज थिएन । अनेकौ चुनौती र उतारचढाव पार गर्दै निरन्तर मेहनत र दृढ संकल्पका साथ आज यो अवस्थासम्म आइपुगेकी छु । त्यतिबेला दिदीबहिनीहरूलाई मात्र केन्द्रमा राखिएको यो व्यवसायलाई विस्तार गर्दै पछिल्लो समय दाजुभाइहरूलाई पनि समेट्ने र सबैलाई स्वदेशमै रोजगारी सिर्जना गरेर आत्मनिर्भर बनाउने मेरो स्पष्ट लक्ष्य थियो । यही उद्देश्यका साथ निरन्तर काम गर्दै आइरहेकी छु र आज यस क्षेत्रमा करिब करिब ४ लाख व्यवसायीहरू यो क्षेत्रमा आबद्ध भइसकेका छन् र यो व्यवसाय देशभरमा राम्ररी फस्टाउँदै गएको छ । जुन खुसीको कुरा हो । यो क्षेत्रले पनि आज धेरैलाई रोजगारीको अवसर दिएको छ । 
अहिले नेपालमा सौन्दर्य कला व्यवसायीहरूको संख्या बढ्दो क्रममा देखिन्छ । के वास्तवमै यो क्षेत्र विस्तार भइरहेको हो त  ?
नेपालमा मात्र होइन, यो व्यवसाय विश्वभरि नै तीव्र गतिमा विस्तार भइरहेको छ । अहिलेको तथ्यांक हेर्ने हो भने पनि विश्वकै उच्च आम्दानी दिने क्षेत्रमध्ये सौन्दर्य व्यवसाय अग्रपंक्तिमा पर्छ । नेपालमा पनि पछिल्लो समय यस क्षेत्रमा उल्लेखनीय वृद्धि भएको छ । पहिले महिला केन्द्रित मानिएको यो व्यवसाय अहिले महिला–पुरुष दुवैका लागि खुला भइसकेको छ । मैले सञ्चालन गरेको इन्स्टिच्युटमा पनि पुरुषहरूको सक्रिय सहभागिता बढेको छ । अहिले युनिसेक्स सलुन, स्पालगायत विभिन्न स्वरूपमा यो व्यवसाय विस्तार हुँदै गएको छ, जसले समग्ररूपमा ठूलो फड्को मारेको छ ।
तपाईं नेपाल उद्योग वाणिज्य महासंघमा पनि लामो समयदेखि आबद्ध हुनुहुन्छ । अब आउने नयाँ कार्यसमितिका लागि महिलातर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । तपाईंका चुनावी एजेण्डा के–के छन् ? 
मेरो यात्रा लामो संघर्षपूर्ण रह्यो । चुनौतीबिना सफलता सम्भव हुँदैन भन्ने कुरा मैले आफ्नै अनुभवबाट सिकेकी छु । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत हाम्रो सौन्दर्य कला व्यवसायी संघ छाता संगठनका रूपमा ७७ वटै जिल्लामा विस्तार भइसकेको छ, जहाँ करिब २–४ लाख व्यवसायीहरू आबद्ध छन् । यसलाई २०६४ सालमा महासंघमा वस्तुगत सदस्यको रूपमा आबद्ध गराउन सफल भएँ, जुन मेरो लागि महŒवपूर्ण उपलब्धि थियो । महासंघजस्तो ठूलो प्लेटफर्ममा पुगेपछि उद्यमी व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्धन, र उनीहरूलाई समृद्धितर्फ उन्मुख गराउने जिम्मेवारी अझ बढेर आयो । त्यस क्रममा मलाई महिला उद्यमी फोरममा काम गर्ने अवसर मिल्यो । तीन कार्यकालसम्म त्यहाँ सक्रिय रहँदा देशभरिका महिला उद्यमीहरूसँग नजिकबाट काम गर्ने, सिक्ने र सिकाउने अवसर पाएँ । जिल्ला–जिल्ला पुगेर काम गर्दा मैले एउटा महत्वपूर्ण यथार्थ महसुस गरें कि धेरै महिलाहरू व्यवसाय गर्न इच्छुक छन्, तर उनीहरूसँग उचित प्लेटफर्म छैन, मार्गदर्शनको अभाव छ, सचेतना, शिक्षा र एक्सपोजरको कमी छ । यही खाडललाई पूर्ति गर्ने यो चुनावमा मेरो प्रमुख एजेण्डा हो ।
नेपाल उद्योग वाणिज्य महासंघमा महिला प्रतिनिधित्वको अवस्था कस्तो छ ?
वास्तवमा भन्ने हो भने महासंघमा महिला प्रतिनिधित्व अत्यन्तै न्यून छ, लगभग नगण्य जस्तै छन् । पहिले महिला उद्यमी फोरममार्फत एक जना महिलालाई मनोनयन गर्ने प्रावधान मात्र थियो, जसले प्रतिस्पर्धात्मक रूपमा नेतृत्वमा पुग्ने अवसर नै सीमित बनाएको थियो । त्यसैले लामो समयदेखि मैले महिला प्रतिनिधित्वलाई सुदृढ गर्नुपर्ने माग उठाउँदै आएकी छु । झण्डै १० वर्षको निरन्तर प्रयासपछि अहिले आएर विधान संशोधनमार्फत महिला उपाध्यक्ष पदमा आरक्षणको व्यवस्था गरिएको छ । यसले महिलाहरूमा नयाँ उत्साह थपेको छ । संशोधित प्रावधानअनुसार विभिन्न तहबाट अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरी जिल्ला तथा नगरबाट दुई जना, एसोसिएटबाट दुई जना, र वस्तुगत संघबाट एक जना हुने व्यवस्था गरिएको छ । साथै, उम्मेदवार बन्नका लागि निश्चित मापदण्ड पनि तोकिएको छ । जस्तै जिल्ला–नगर स्तरमा कम्तीमा एक कार्यकाल पदाधिकारी भएको अनुभव, र केन्द्रीय स्तरमा दुई कार्यकाल सदस्य भइसकेको हुनुपर्ने व्यवस्था छ । यसका अतिरिक्त, १२ जना महिला नेतृत्वमा ल्याउने लक्ष्य पनि राखिएको छ । यद्यपि, यस्तो कडा मापदण्ड पूरा गर्दै एकैचोटी १२ जना महिलालाई अघि ल्याउनु चुनौतीपूर्ण थियो । तर, पनि मैले आफ्नो प्रयासलाई निरन्तरता दिएँ र देशभरका दिदीबहिनीहरूलाई आह्वान गरें— यो एउटा सुनौलो अवसर हो, अघि बढ्नुस् । खुसीको कुरा, अहिले विभिन्न क्षेत्र जस्तै एसोसिएट, जिल्ला–नगर, प्रदेश र वस्तुगत संघहरूबाट गरी १२ जना महिलाहरूलाई अघि ल्याउन सफल भएका छौं । अहिले उहाँहरू सबै प्रतिस्पर्धामा सक्रिय हुनुहुन्छ, जुन वास्तवमै सकारात्मक र उत्साहजनक अवस्था हो ।
हालैको जेनजी आन्दोलनले राजनीतिक तथा प्रशासनिक क्षेत्रमा परिवर्तनको मागलाई बलियो बनाएको छ । यसको प्रभाव निजी क्षेत्र, विशेषगरी महासंघमा कस्तो परेको छ ?
जेनजी आन्दोलनपछिको यो परिवर्तन अत्यन्त सकारात्मक र स्वागतयोग्य छ । राजनीतिक क्षेत्रमा सुरु भएको परिवर्तनको लहर अब निजी क्षेत्रमा पनि आवश्यक छ भन्ने हाम्रो धारणा हो । त्यसैले हामी महासंघभित्र पनि त्यही किसिमको रूपान्तरण ल्याउन चाहन्छौं । जेनजी आन्दोलनको प्रभाव महासंघमा समेत परेको छ, जुन वास्तवमै राम्रो संकेत हो । जब नयाँ सोच र नयाँ पुस्ताको सहभागिता बढ्छ, तब समग्र प्रणालीमा सकारात्मक ऊर्जा थपिन्छ । निजी क्षेत्रले पनि यो परिवर्तनलाई नजिकबाट हेरिरहेको छ—अब यसपछि निजी क्षेत्रप्रतिको दृष्टिकोण, व्यवहार र नीतिमा कस्तो परिवर्तन आउँछ भन्ने अपेक्षा हामीले राखेका छौं ।
अहिले अर्थ मन्त्रालयमा अनुभवी र अन्तर्राष्ट्रियरूपमा परिचित अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वमा आउनुभएको छ । उहाँसँग तपाईंहरूका अपेक्षा के–के छन् ?
हामीले पहिलो पटक प्रतिनिधिमण्डलसहित उहाँसँग भेटघाट गर्दा नै उहाँले उद्योगी–व्यवसायीहरूलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ । विशेषगरी, प्रशासनिक झञ्झट र घुसखोरीजस्ता समस्याहरू अन्त्य गर्ने विषयमा उहाँ स्पष्ट देखिनुभयो ।  व्यवसायीहरूलाई अनावश्यकरूपमा नकारात्मक छवि—जस्तै ‘चोर’, ‘ठग’ भन्ने आरोप लगाइने प्रवृत्तिप्रति पनि हामीले गम्भीर आपत्ति जनायौं । यो विषयलाई उहाँले सकारात्मकरूपमा लिनुभयो र त्यसप्रति संवेदनशीलता देखाउनुभयो । हामीलाई विश्वास छ, उहाँको नेतृत्वमा निजी क्षेत्रलाई सम्मानजनक, पारदर्शी र सहयोगी वातावरण उपलब्ध हुनेछ । 
पछिल्लो समय उद्योगी–व्यवसायीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरू पेचिलो बन्दै गएका छन् । केही व्यवसायी तथा व्यावसायिक घरानाका व्यक्तिहरू पक्राउ पर्ने क्रम पनि देखिएको छ । यस्तो अवस्थालाई तपाईं कसरी हेर्नुहुन्छ ?
यस विषयमा मेरो धारणा स्पष्ट छ । नियम र कानूनको कार्यान्वयन हुनु आवश्यक छ, तर त्यसलाई विवेकपूर्ण ढंगले अघि बढाउनुपर्छ । बिना पर्याप्त अनुसन्धान र तथ्यका आधारमा हतारमा गरिने कारबाहीले नकारात्मक प्रभाव पार्न सक्छ । कसैको आरोप वा हल्लाको भरमा निर्णय लिनुभन्दा गहिरो अध्ययन, अनुसन्धान र प्रमाणका आधारमा अघि बढ्नु उपयुक्त हुन्छ । त्यसो गर्दा मात्र न्यायसंगत र दीर्घकालीन प्रभावकारी परिणाम आउन सक्छ ।
महासंघमा आबद्ध एक अनुभवी उद्योगी–व्यवसायी तथा महिला उद्यमी नेतृत्वको रूपमा अहिलेको घटनाक्रमलाई समग्रमा कसरी मूल्यांकन गर्नुहुन्छ ?
जेनजी आन्दोलनपछि देशमा सकारात्मक सोच र परिवर्तनको अपेक्षा बढेको छ, जुन स्वागतयोग्य छ । हामी पनि सुधारका पक्षमा छौं र त्यही अपेक्षा राखेका छौं । तर, परिवर्तन ल्याउँदा सन्तुलन आवश्यक हुन्छ । सबै कुरा चरणबद्धरूपमा अघि बढ्नुपर्छ । एकैचोटि ठूलो परिवर्तन गर्दा प्रणालीमा असन्तुलन आउन सक्छ र अन्योलको अवस्था सिर्जना हुन सक्छ । त्यसैले, सुधार आवश्यक छ, तर योजनाबद्ध, क्रमिक र व्यवस्थित रूपमा लागू गरिनु नै दीर्घकालीन रूपमा प्रभावकारी हुन्छ भन्ने मेरो विश्वास छ ।
नेपाल उद्योग वाणिज्य महासंघ देशभरका उद्योगी–व्यवसायीहरूको साझा संस्था हुनुपर्ने हो । तर, यसले मुख्यतः ठूला व्यवसायीहरूकै प्रतिनिधित्व गरेको र साना तथा मझौला व्यवसायीहरूको आवाज सुन्न नसकेको भन्ने गुनासो पनि सुनिन्छ । यसलाई तपाईं कसरी हेर्नुहुन्छ ?
यस्तो गुनासो आउनु स्वाभाविक पनि हो, किनकि महासंघ अत्यन्त ठूलो छाता संगठन हो, जहाँ विभिन्न क्षेत्र, आकार र प्रकृतिका असंख्य व्यवसायीहरू आबद्ध छन् । सबैको आवश्यकता, प्राथमिकता र अपेक्षा फरक–फरक हुन्छन् । एक समूहलाई सन्तुष्ट पार्दा अर्को समूहको अपेक्षा पूरा हुन नसक्ने अवस्था पनि आउँछ । तर, यसले महासंघले काम नै नगरेको भन्ने होइन । हामीले विभिन्न क्षेत्रका व्यवसायीहरूबीच समन्वय गर्दै मन्त्रालय, सचिवालय र सम्बन्धित निकायहरूसँग ‘पुल’ को भूमिका निर्वाह गर्दै आएका छौं । व्यवसायीहरूका समस्या, चुनौती र सम्भावनालाई सम्बन्धित निकायसम्म पु¥याउने र समाधानका लागि पहल गर्ने काम निरन्तर भइरहेको छ । हामी स्वीकार गर्छौँ कि केही कमजोरीहरू छन् र सुधारको आवश्यकता पनि छ । तर, सम्पूर्ण प्रयासलाई नकारात्मक रूपमा मात्र हेर्नु उचित हुँदैन । विशेषगरी, राजनीतिक अस्थिरताको अवस्थाले पनि निजी क्षेत्रका पहलहरूलाई अपेक्षित परिणाममा पु¥याउन चुनौती सिर्जना गरेको छ । त्यसैले, आगामी दिनमा अझ प्रभावकारी र समावेशी भूमिका निर्वाह गर्ने दिशामा अघि बढ्न आवश्यक छ । 
के अब राजनीतिक स्थिरता कायम भएमा मुलुकको विकासले गति लिन्छ भन्ने अपेक्षा गर्न सकिन्छ ? 
निश्चय नै, हाम्रो पहिलो आवश्यकता नै स्थिर सरकार हो । कुनै पनि काम तुरुन्तै सफल हुँदैन, त्यसका लागि समय चाहिन्छ । तर त्यो समयलाई प्रभावकारी रूपमा उपयोग गर्न पनि स्थायित्व अपरिहार्य हुन्छ । स्थिर सरकार भएमा नीतिहरू निरन्तर रूपमा कार्यान्वयन गर्न सहज हुन्छ र हाम्रा एजेण्डाहरू पनि योजनाबद्ध रूपमा अघि बढाउन सकिन्छ । अहिलेसम्म प्रक्रिया निकै ढिलो र झन्झटिलो रहेको अनुभूति भएको छ । यदि ती प्रक्रियाहरूलाई सरल र छरितो बनाउन सकियो भने कामको गति स्वाभाविकरूपमा बढ्छ, जसले उद्योगी–व्यवसायीहरूको मनोबल पनि उच्च बनाउँछ । हालको अवस्थामा भने लगानी गर्न चाहँदा पनि व्यवसायीहरूमा असुरक्षाको भावना देखिन्छ । लगानीको वातावरण, आवश्यक पूर्वाधार, कच्चा पदार्थको उपलब्धता जस्ता पक्षहरू अझै चुनौतीपूर्ण छन् । यसले गर्दा कतिपय व्यवसायीहरू अन्योलमा परेका छन् । पुँजी पलायनको विषयमा पनि चर्चा भइरहेको छ । यसलाई पूर्ण रूपमा पुँजी पलायन भन्नुभन्दा पनि नीति–नियम, प्रक्रियागत जटिलता र कहिलेकाहीँ हुने असहज व्यवहारका कारण व्यवसायीहरूमा निराशा र अन्योल सिर्जना भएको अवस्था हो । यस्तो अवस्थाले ‘अब के गर्ने ?’ भन्ने प्रश्न उठाउँछ । यसैले अबको सरकारले स्पष्ट, विश्वासिलो र व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्छ । बजारमा फैलिएका नकारात्मक धारणा हटाएर नेपालमै सुरक्षित रूपमा व्यवसाय गर्न सकिन्छ भन्ने सन्देश दिन आवश्यक छ । हामी व्यवसायीहरू नेपालमै लगानी गर्न तयार छौं । यद्यपि, पछिल्लो समय व्यापार र उद्योग दुवै घट्दो क्रममा छन्, जुन चिन्ताजनक पक्ष हो । अब यसलाई कसरी पुनर्जीवित गर्ने, कसरी विस्तार गर्ने र नयाँ उचाइमा पु¥याउने भन्नेमा केन्द्रित हुनुपर्छ । हामी आशावादी छौं, सही नीति र स्थिरतासँगै अर्थतन्त्रलाई पुनः सशक्त बनाउन सकिन्छ । 
महासंघभित्र सुधार गर्नुपर्ने क्षेत्रहरू धेरै छन् भन्ने पनि देखिन्छ । सुधार गर्नैपर्ने कुराहरू के–के देख्नुभएको छ ?
महासंघमा रहँदाको मेरो प्राथमिक एजेण्डा भनेको महिलाकेन्द्रित उद्यमशीलतालाई सुदृढ बनाउनु हो । विगत पाँच दशकदेखि महिला व्यवसायीहरूसँग नजिकबाट काम गर्दै आएको अनुभवका आधारमा मैले उनीहरूको समस्या, चुनौती र सम्भावनालाई गहिरो रूपमा अध्ययन गरेकी छु । विशेषगरी, पछिल्लो समय नयाँ पुस्ता विदेशतर्फ पलायन हुने प्रवृत्ति बढिरहेको छ । त्यसलाई न्यूनीकरण गर्न युवाहरूलाई स्वदेशमै सीप, शिक्षा र अवसर प्रदान गर्दै उद्यमशीलतामा आकर्षित गर्नु आवश्यक छ । यसका लागि अनुकूल वातावरण सिर्जना गर्ने लक्ष्यसहित विभिन्न योजनाहरू अघि सारेका छौं । महिला उद्यमीहरूमा लगानी अभावको गुनासो व्यापक रूपमा सुनिन्छ । सीप र इच्छाशक्ति हुँदाहुँदै पनि वित्तीय स्रोतमा पहुँच नहुनु ठूलो चुनौती बनेको छ । यद्यपि, सरकारले विभिन्न सहुलियत र कार्यक्रमहरू ल्याएको छ, तर ती सुविधाहरू लक्षित वर्गसम्म प्रभावकारी रूपमा पुग्न सकेका छैनन् । अक्सर देखिएको समस्या के हो भने जानकारीको अभाव र पहुँचको कमीका कारण वास्तविक उद्यमीहरूले लाभ लिन सकिरहेका छैनन्, जबकि केही सीमित व्यक्तिहरूले ती अवसरहरू उपयोग गरिरहेका छन् । 
यसले प्रणालीमा असन्तुलन सिर्जना गरेको छ । त्यसैले मेरो प्राथमिकता स्थानीय तहसम्म पुगेर जनचेतना अभिवृद्धि गर्नु हो । गाउँपालिका स्तरबाटै उद्यमीहरूलाई जानकारी दिने, उनीहरूलाई सम्बन्धित निकायसम्म पुग्ने मार्ग देखाउने र उपलब्ध सहुलियतहरूबारे सचेत बनाउने काम गर्नुपर्छ । यससँगै, उद्यमीहरूले पनि सक्रिय रूपमा खोजी, अनुसन्धान र पहल गर्नुपर्ने हुन्छ—कहाँ के सुविधा उपलब्ध छन्, कसरी आवेदन दिने, कुन निकायसँग समन्वय गर्ने भन्ने कुरामा सुधार गर्न आवश्यक छ । उद्योग वाणिज्य महासंघले एक अभिभावक संस्थाको रूपमा सरकार र निजी क्षेत्रबीच ‘ब्रिज’ को भूमिका निर्वाह गर्नुपर्छ । यही सेतुको रूपमा काम गर्दै नीतिगत सहजीकरण, जानकारी प्रवाह र अवसरको समान पहुँच सुनिश्चित गर्नु मेरो प्रमुख उद्देश्य हो । 
के उद्योग वाणिज्य महासंघले केन्द्रदेखि स्थानीय तहसम्म महिला दिदीबहिनीहरूको सीप, रोजगार र प्रविधिलाई उद्यमशीलतामा रूपान्तरण गर्नुपर्ने अवस्था छ ?
अवश्य, रूपान्तरण गर्नु नै हाम्रो लक्ष्य र उद्देश्य हो । यही मेरो एजेण्डा पनि हो । हिजोदेखि लिएर आजसम्म, मेरो हैसियत र क्षमता अनुसार देशभर छरिएका दिदीबहिनीहरूलाई आफ्नो मुलुकमै अवसर प्रदान गर्ने दिशामा काम गर्दैछु । यो प्रक्रिया तत्काल सफल हुँदैन—धैर्य, संयम र इच्छाशक्ति आवश्यक छ । इच्छाशक्ति रहेमा उद्योग वाणिज्य महासंघको ठूलो प्लेटफर्मले सहयोग र सहजीकरण गर्ने क्षमता छ । यसले धेरै कामहरू सहज बनाइदिन्छ । मेरो लक्ष्य र उद्देश्य एउटै छ । त्यो भनेको महासंघ भित्र रहेर समग्र देशभरका महिला उद्यमी दिदीबहिनीहरूको हक, अधिकार र विकासका लागि सक्रिय रूपमा काम गर्नु हो । यही मेरो स्पष्ट एजेण्डा हो । 
महासंघमा चुनावी सरगर्मी बढिरहेको अवस्थामा सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
सबै उद्योगी व्यवसायीहरू, विशेष गरी आगामी चैत ३० गते हुने चुनावमा आफ्नो मत दिन लाग्ने सम्पूर्ण वस्तुगतका अध्यक्षज्यूहरूमा मेरो हार्दिक अपिल छ । मैले लामो समयदेखि काम गरेर मेरो क्षेत्रमा योगदान पु¥याउँदै आएको छु । बोल्नेभन्दा काम गरेर देखाउने मान्यतामामा रहेर अगाडि बढ्न म सबैमा आह्वान पनि गर्दछु । सौन्दर्य कला व्यवसायी संघ मार्फत पनि मैले ९ देखि १२ कक्षसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै योगदान पु¥याएँ । यही कार्य र प्रतिबद्धता देखेर तपाईंहरूको सहयोग र भोटको अपेक्षा मैले महासंघको यो चुनावमा पनि गरेकी छु ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्